क्रान्ति
त्यसैले बुद्धभूमि क्रान्तिपीडित पृष्ठभूमि भएछ जसले पढाइरहनेछ मेरो बिहानी देश जलाउने मसान भनी तिम्रो शान्ति देश पुरिने चिहान भनी ।
प्रदीपरत्न शाक्य :
विद्रोही पानामा
म थिएँ
अक्षर इन्कलाबको
तिमी थियौ
आवाज जिन्दावादको ।
देश देख्न लालायित
घडी हामी
थियौँ एउटै राँको
एउटै खोला ।
तातिन्थ्यो त्यो भूमिगत ओछ्यान
भ्रातृस्नेहको मीठो तापले
चट्टान पनि रुवा हुन्थ्यो
परस्परताको नरमी भावले ।
भेट्दा लास
रुन्थ्यौँ एउटै रोदन
ढाल-तरबार थिएनौँ पटक्कै
एक अरुमा हामी
थियौँ दुरुस्त इन्द्रेणी
देख्नेले भन्थे यिनीहरू
बिहानी कोरस ।
कोल्टे फेरेपछि
घामले रङ फेर्दो रहेछ
सायद यही सत्य
तिम्रो र मेरो नियति भएछ ।
सम्झँदै छु इन्कलाब
दुई किनारा भएको साँझ
जिन्दावाद !
ललकार भएको रात
मुर्दावाद !
आ-आफैमा तीर भएको घडी !
त्यसैले बुद्धभूमि
क्रान्तिपीडित पृष्ठभूमि भएछ
जसले पढाइरहनेछ
मेरो बिहानी
देश जलाउने मसान भनी
तिम्रो शान्ति
देश पुरिने चिहान भनी ।
विद्रोही पानामा
म थिएँ अक्षर इन्कलाबको
तिमी थियौ आवाज
जिन्दावादको ।
०००
म सडकको प्रतिविम्ब (२०८०)