साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार बन्ने धोको

पहिल्यै बुढियालाई पढ्न दिन्छु थुतुनो बन्द हुने होइन, प्याच्च बोलिहाल्नुपर्ने उसैको बोलीको चुरोलाई टिपेर तीललाई ताड बनाएर खुरुखुरु लेखे भइहाल्यो । हो अब यसै गर्छु किन टेन्सन लिने ?

Nepal Telecom ad

युवराज मैनाली :

थाहा थियो जीउको कुनै भागमा चिल्छ झुसिल्कीरा, माकुरा, कमिला, बारुला आदि इत्यादिले । यसरी चिल्दा फोका उठ्ने, पोल्ने, चिलाउने आदि हुन्छ । यो सबैले थाहा पाएकै कुरा हो तर मलाई भने थाहा थिएन, अहिले थाहा भो । यो थाहा पनि आधा-अधुरो छ । जीउ मात्र होइन मन-मस्तिष्कलाई पनि चिलाउने कुरा हो कि कीरा । जेरीभित्र चास्नीझैँ त्यो कीरो वा कुराले चिल्दाचाहिँ मान्छेलाई गर्न हुने गर्न नहुने कुरा गरूँ-गरूँ लाग्ने गराउँदा रहेछन् ।

यस्तै हुने हुँदा नै भन्ने गरेका रहेछन्- मनै न हो आखिर । मन त मनै हो छाला, हड्डी, बोसो, झिल्ली केकेभित्र रहेको मनभित्र चिल्ने कुरा वा कीरा कस्तो हो, कसरी मनभित्र पसेर यसले आफ्नो काम गर्दछ था’ नपाएको यै कुरा हो तर यो चैँ सबैले था’ पाएकै कुरा हो कि केटाकेटीको खेल अनि उपद्रो, वैँसमा प्रेमको लहर, प्रौढतामा बौद्धिकता, बृद्धावस्थामा धर्मकर्म, भजन अनि उही केटाकेटी अवस्थाको बानी फर्केर आउने मनको चिलाउनी रहेछ । कसैकसैमा यो चिलाउनी अजब गजबले चर्कदो पनि हामी भेट्दछौँ । यस्ता भेट्टाइहरूमा बूढो भएपछि हाड चिलाउने अर्थात् वैश चिल्ने पनि यौटा रमाइलो पक्ष हो । खास खास त अरुअरु धेरैधेरै लक्षण र भावरूपहरू छन् । ती सबको बयान नगरी मेरो मनको चिलाउनीलाई यहाँ कन्याउँदै छु ।

मलाई थाहा नै भएन मेरो मन मस्तिष्कभित्र सुटुक्क पसेर चिल्दै रहेछ । अचानक एकदिन हेक्का भएछ । तुलबुल त थाहा नभएको कहाँ हो र होस् पो नखुलेको रहेछ । होस् खुल्दा त थाहा पाइयो कैयौँ कापी सहिद भैसकेका रहेछन्, कैयौँ उट्पेन रगत छाँदेर सोत्तर परेका रहेछन् । यस्तै पो एक रात निन्द्रादेवी मसँग किन किन रिसाएर मबाट टाढा टाढा पुगेकी । कापी अगाडि, कलम अगाडि छ । पल्टेको पानामा अक्षरको साटो केरमेट धर्माधर्ती गोलो काटकुट् डोलोडोलो के-केन के-के ।

यसो कापीमा हेरेँ, आफैँ छक्क परेँ । कतै कलाकारिताको अमूर्त राग त मभित्र पलाएन ? शून्यमा मनको बोली प्रष्टै सुनियो “हैन” भ्रम पो हो । आवाज सुनेर यताउति हेरेँ, कोठा शून्य । मबाहेक कोही छैन, जवाफ दिने भन्दै जुरुक्क उठेर कोठाको कुनाकुना चियाएँ । यौटा मुसो पनि भेट्टाइन । अनि पो थाहा पाएँ यो जवाफ दिने त आफ्नै मनको बोली पो रहेछ ।

साँच्चि नै मनको बोली मैले पहिलोपल्ट सुन्दै थिएँ विश्मय ! आश्चर्य । उदेक । के के एकमुष्टमा लागिरहेको थियो । यसैमा मज्जा पनि सज्जाका साथ छाएको थियो । यही मुडमा मैले प्रश्न तेस्र्याइहालेँ- यो हैन भने के त ? मन पनि बडो मुडतर्फ मोडिएको रहेछ । “क्या यार मलाई कार बन्न चिलाइरहेछ । चिलाउने कुरा कताबाट आउँछ भन्ने कुरा तँलाई जस्तै मलाई पनि थाहा छैन तर मज्जाले लुतो कन्याइरहेछु । प्रत्येक कन्याइमा कार ! कार !! कार !!! शब्द गुञ्जिरहेछ । कारको मूल्य मेरो कुरा बीचमै काट्दै मनले भन्यो त्यो कार पनि हैन कलाकार पनि हैन । मैले भन्न खोजेको कार त साहित्यकार हो । नबोलीकन कति इशारा गरेँ । कलम कापी उठाएको देख्दा कति दङ्ग परेँ तर तँ भने इसारै नबुझ्ने । त्यसैले नै होला तैँले प्रेमसेम गर्न नजानेको । लौ लौ आजै सुरु गर । तँलाई साहित्यकारको रूपमा नउभ्याई मेरो चिलाइ निको हुन्न, जुनसुकै औषधि लाए पनि । मैले वचन दिएँ ।

उसको वचन पुर्‍याउन मैले फेरि लेखनाथ, देवकोटा, सम, धरणीधर आदिहरू, शेक्सपीयर, वर्डस्वर्थ, दाँते, कामु, गोर्की, प्रेमचन्द्र, कृष्णचन्द्रदेखि गुलशनभन्दा, रानु आदि-इत्यादिलाई पनि फेरि पल्टाएँ । मनको चिलाउनी मेटाउन, पलेटी कसेर बसेँ । पलेटी त लगाएँ अलमल फेरि उठ्यो के के लेख्ने ? कविता । खै के लेख्ने ? कविता हिजोआज त यति लेखिँदै छ कि जहाँ पनि कवितामय वातावरण छ । यसैले कविता लेख्नु हुलमा मिसिइनु हो । हुलमा मिसिइँदा हराउने पनि डर हुन्छ ।

यसैबाट बच्न कवितालाई पन्छाएर कथा नै कथ्ने सुरसारमा लागेँ । खोज्दा खोज्दा हैरान । टुक्रे टुँडिखेलको तीन फन्को लगाई बागमतीको बगर-बगर चहारेँ तैपनि आउँदै आएन । दिक्क लागेर भोटाहिटीको रेष्टुरेन्टमा इन्धन भर्न भित्रिएँ । प्लेटमा चटक्क परेर खानेकुरा आउला । खान्की त आयो तर सोच आएन । यो प्लेटमा खाद्यवस्तु आएजस्तै दिमागमा प्लट आइदिए त कति हुन्थ्यो ।

यही सोचकासाथ इन्धन भरिवरि बाहिर निस्कँदा फुटपाथमा पुराना पुस्तक पत्रपत्रिकाहरूको रास देखियो । सस्तो किताब पत्रपत्रिका काम लाग्छ कि भनेर किनेर ल्याएँ । साँच्चिकै काम पो लाग्यो । यताबाट चार लाइन, उताबाट दुई लाइन यस्तै उस्तै गरेर धमाधम कथामा कस्सिँदैकस्सिँदै एक सातामा एक्काइस कथा तयार भयो । आफू परियो जागिरे । आफैँ प्रकाशन गर्न बाउको श्राद्ध गर्न त नसक्नेले किताब निकाल्ने क्षमता कहाँबाट जुराओस् । यसैले पाण्डुलिपि लिएर धाइयो । न बाउले कसैलाई चिनाइदिएका थिए न बाजेले कतै चाकरी गरेर खन्खन्ती खन्याइदिएका थिए । यसैले अहिले पो बुझियो बाह्र नाति तेह्र पनाति बुढाको धोक्रो काँधमाथि भनिएको कारण के हो । एउटा एउटा गरेर पत्रपत्रिकामा छपाऊँ भने कुनै सम्पादक चिनिएको छैन । बन्धु- बान्धव यस क्षेत्रका जानिएका छैनन् । विडम्बना यो देशको यही त छ भनसुन र खनखन बुवै नभएपछि जेसुकै काम पनि बन्दै नबन्ने ।

तर बेला परेछ घुइँचोको, घुइँचोमा मिसिएको झुत्रो पनि बिक्दो रहेछ नै, अहिलेजस्तो भए त सम्भव छैन । ‘रूपरेखा’ चाउरी परेर दाउरा खातमा बसेको छ । ‘शारदा’ पुरिएर कहाँ छे कसलाई थाहा छ र ? ‘रत्नश्री’ श्रीविहीन भएर लुकेको लुक्यै छ । ‘भानु’लाई सधैँ असार लाग्यालाग्यै छ । कति नामी पुराना साहित्यिक पत्रिकाहरूको यो अवस्था आज जुन छ नि त्यसबेला तिनका साथसाथै वर्ग, वर्गका वर्गीय पत्रपत्रिका ओइरो लागेका हुन्थे । सामयिक सङ्कलनको रूपमा बाढी नै लागेको थियो । त्यै बेला मेरा कथा पनि दुई चारवटा नछापिएको कहाँ हुन् र ? त्यैबाट बढेर, चढेर, फुरेर विस्तारै मुड मौलिकतामा बढ्दै थियो । वर्षभरिमा पोइ आयो म राँडीलाई ज्वरो आयो भनेझै तिनीहरू खहरेझैँ सकेपछि पो थाहा पाइयो । आफ्नो हैँसियत स्तरको रातो चिन्हमा आफू चढ्नै नसकेको कुरा ।

प्रेमचन्द्र बकिमचन्द्रको सपना लक्ष्यमा हिँडेको यो अल्लारे लोकेन्द्र चन्दको छायाँलाई पनि छुन नसकेको रहेछु । त्यसपछि लेखनी त छुटेन, लेख्यो लेखेकै चाङ बढ्दै गएपछि अरु त अरू जीवन सङ्गिनी पनि व्यङ्ग्यको तीर हान्ने भइन् । व्यथित बन्यो मेरो मन पीडाले भन्यो- ‘सुइँकुच्चा ठोक्’ । आशले भन्यो- ‘पीडाको कुरा नसुन्’ । महानहरू व्यवधानबाटै लम्बेतान भएका हुन् । आशको कुरा सुनेर कवितातर्फ मोडिएँ तर देवकोटाको चन्द्र छुनु कहाँ कहाँ भावनामा समको दार्शनिकता, घिमिरेको भक्ति र व्यथा, भूपिको यथार्थपरकता सबका सब उडेर लेखनाथको ‘पिँजडाको सुगा’ मैँ मेरो कविता उड्न सकेन ।

शब्द मिलायो भाव गायब भाव फुरे शब्द फुत्किने । चेतबाबा काशी भएर निबन्ध-प्रबन्धतर्फ मुन्टो बटारेँ शहादत हसन मन्टको टन्टो छाडेर देवकोटा, लामिछानेतर्फ लहसिएँ । हँसाउने अर्ज्याल, पिँडाली र गोतामे सम्झँदै कनिकुथि लेख्न थालेँ । घिमिरे, ढकाल, वाग्लेहरू टुरिष्ट बनेर आफूलाई चाखेपछि अङ्गुर अमिलो छ भनेर बाटो तताउनै लाग्या थिए । परम रूपवती सबका निम्ति सुमती मेरै दुर्गतिका प्रतीक त्यै बुढियाले भनी “हुत्ती न सुत्ती बडो लेखक बनेर पुरुषार्थ देखाउन हिँडेको होइन भइएन, अगतिको घरमा स्वास्नी तर्साएर खानुजस्तो हो र लेख्नु भनेको, हुत्ती हुनुपर्छ क्या मान्छेको” आदि इत्यादि ।

पछि त रनक्क उर्लेर आयो अनि भानुभक्तको चपला अवलालाई बिर्सेर वधुशिक्षाको गजाधर सोती कि बुढिया सम्झेँ । पङ्क्तिलाई विभत्स, रौद्र रसमा मनमनै घोक्दै लेखेँ पहिलो वाक्य- “मेरी नसुहाउने श्रीमती” त्यो व्यङ्ग्य सुटुक्क यौटा साप्ताहिकमा पोष्ट त्यही रनकमा गरिहालेँ । कसो कसो छापिएछ । अरु अरुले पनि माग्दै गए, दिँदै गएँ, छापिँदै गयो । जति छापिँदै गयो अरु डाहीहरू पनि यसमा हास्य नै छैन, मरमसला नै पुग्दैन भन्न थाले ।

एकदिन सालो आइरहेको बेलामा परिएछ । चिया बनाउँदा चिनी अलि मलिनो लागेर चिनी पुग्दैन भनेर के भनेथेँ सालो उपबुज्रुक बनेर प्याट्ट भन्दोरहेछ- “भिनाजुको व्यङ्ग्यझै पो भएछ आज चिया हगि दिदी” । दिदीचाहिँ के कम थिई र खितिति हाँस्दै- “यस्तै हो भाइ बुद्धि सुद्धि भैदिए त भैहाल्थ्यो” भनेर चर्काउँदी पो रहिछ बा । बोले पोल्ने भइहाल्यो तर भन्न त भनेँ मनमनै अब म आलोचना समालोचना लेख्छु ।

आफैँले लेख्न कोर्न नपर्ने, पुस्तक पढ्यो खोटका खोट देखाउने त हो नि । पहिल्यै बुढियालाई पढ्न दिन्छु थुतुनो बन्द हुने होइन, प्याच्च बोलिहाल्नुपर्ने उसैको बोलीको चुरोलाई टिपेर तीललाई ताड बनाएर खुरुखुरु लेखे भइहाल्यो । हो अब यसै गर्छु किन टेन्सन लिने ? यहीँ सोच्दै फुरुङ्ग परेर चिया सालोको मुखमा छ्याप्छु त बुढियाले टेबलमा राखेको बेड टी गिलास लिएर आफ्नै मुहारमा पो छ्याप्न पुगेछु । झल्याँस्स भएर हेर्दा त चिया सेलाइसकेको रहेछ । छ्या । कस्तो सपना देखेको रहेछु ।

०००
काठमाडौं
भ्रष्टाचारको भाङ (२०६५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x