अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’सन्तको लीला
यति बेलासम्म महात्मा केही आराम महसुस भए जस्तो गरिरहेका थिए । पसलेले पुनः सोध्यो, “मेरो केही गल्ती भए म सुधार्छ तर हजुरलाई के भएको थियो यति भनी दिनुहोस् ।”

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ :
म एक दूध बेच्ने पसलमा बसी रहेको थिएँ । त्यहाँ सेतै फुलेका सन्त आए । उनले पसलेसँग सोधे, “दूध कसरी दिन्छौ ?” पसललेले भन्यो, “हजुर, चिनी हालेर बीस रु. प्रति गिलास र चिनी नहाली दश रु. प्रति गिलास छ ।” सन्तले अचम्मित भै भने, “बीस रु. प्रति गिलास ?” पसलेले भन्यो, “देख्नुहुन्न चिनी सय रु. किलो छ ।”
सन्तले भने, “ल, ल ! एक गिलास चिनी हालेको दूध देऊ ।” पसलेले दूध ल्याएर दियो । सन्तले घटाघट त्यो दूध पिए । पिइसकेपछि सन्तले भने, “दूधमा त चिनी हालेकै थिएन ।” पसलेले भन्यो, “चिनी त हालेको हो बरू कम हुनसक्छ ।” सन्तले भने, “अब दूध त मैले पिइसके मसँग प्रमाण त केही छैन तर के मैले झुटो भने ?”
वादविवाद बढ्दै गयो । पसलमा भएका अरू मान्छेले पनि सन्तकै पक्ष लिए । सन्त जस्तो मान्छेले दुई चम्चा चिनीका निमित्त अवश्य पनि झुट बोलेनन् भन्न थाले । पसलेले विचार गर्यो अब यो विवाद बढाउनु भन्दा सन्तसँग सोध्यो, “भन्नुहोस् मैले के गर्नु पर्यो ?”
महात्माले भने, “ल्याउ चिनी म त्यसै खान्छु ।” विवाद बढाउनु भन्दा पसलेले चिनी दिनु नै उचित ठान्यो । पसलेले सन्तलाई दुई चम्मा चिनी ल्याएर दियो । सन्तले चिनी खाए । अचम्म चिनी खाना साथ सन्त भूइँमा लडीबडी खेल्न थाले । अनेक थरिथरीका आशन गर्न थाले । यो देखेर त्यहाँका सबैले सोधे, “होइन महात्माज्यू हजुरलाई के भयो ? किन छटपट गर्नु भएको ?”
सन्तले कुने जवाफ नदिइ झन् झन् जोडले लडीबडी खेल्न थाले । पसलेले भन्यो, “म तीन पुस्तादेखि यहाँ दूध बेचिरहेको छु । तर कहिले कसैलाई यस्तो भएन । हजुर भन्नुहोस् हजुरलाई के भयो ?” सन्तले छट्पटाउँदै भने, “के तिमीले मान्छेको ज्यान लिन खोजेको । ल्याउ पैसा फिर्ता नत्र म प्रहरी बोलाउँछु ।”
पसलेले डरले दूधको लिएको पैसा फिर्ता पनि गरिदियो । डरले उसको छिमेकी पसलेहरू समेतले आफ्ना पसलमा भएको दूध र चिनी सबै प्याकिदिए । पुनः पसलेले महात्मासँग सोध्यो, “भन्नुहोस् दूधमा केही खराबी थियो कि ? चिनै नै खराब थियो कि ? अबत मैले दूध र चिनी सबै फ्याँकिसकेँ ।”
यति बेलासम्म महात्मा केही आराम महसुस भए जस्तो गरिरहेका थिए । पसलेले पुनः सोध्यो, “मेरो केही गल्ती भए म सुधार्छ तर हजुरलाई के भएको थियो यति भनी दिनुहोस् ।” महात्माले भने, “खास त्यस्तो केही भएको थिएन । मात्र लडिबडी खेलेर चिनीलाई दूधमा मिसाइ रहेको थिएँ ।”
०००
विराटनगर, मोरङ








































चुड्किला जस्तो निबन्ध