अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ट्राफिक प्रहरी – १
तिमी त छौ अन्धविश्वासी । भात खान्छौ सधैँ बासी । त्यसैले यस्ता शुभ अशुभका कुरा गर्छाैँ । त्यसो शुभ अशुभ केही हुने भए अस्ति मैले ढकबहादुरको क्यामेरा चोरेँ । ख्वै आजसम्म क्यै भयो त ?

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ :
म श्रीमतीसँग साँझपख बाइकमा घरतिर जाँदै थिएँ । इटहरी चोकमा ट्राफिकले रोकेर भन्यो, “महाशय यो रोडमा २० किलोमिटर प्रतिघण्टा भन्दा बढी स्पीडमा बाइक चलाउन हुँदैन भन्ने थाहा छैन । ट्राफिक नियम उल्लङ्घन गरेकोमा अब सय रुपियाँ जरिवाना तिर ।” मैले भनेँ, “मेरो घर बिर्तामोड यहाँबाट सय किलोमिटर टाढा छ । मेरो बाइकको हेडलाइट खराब छ । साँझ पर्न लागेकोले स्पिडमा नजाउ भने अँध्यारोमा बाइक चलाउन गाह्रो हुन्छ ।” मेरो कुरा सुनेर ट्राफिक पुलिसले जङ्गिँदै भन्यो, “ए ! तिम्रो बाइकको हेडलाइट पनि खराब छ । बिग्रेको थियो भने ठीक गराउनु पर्दैन त ? अब रु. दुई सय जरिवाना तिर ।” मैले भनेँ, “के गरुँ हजुर ! ठीक गराउन मेकानिकलाई दिएको सालेले लाइट त ठीक गरेन गरेन उल्टै हर्न र ब्रेक पनि बिगारी दियो ।” यो सुनेर ट्राफिक प्रहरीको रिस टुप्पामै पुग्यो । उसले भन्यो, “ए ! हर्न र ब्रेक पनि छैन । अब त रु. पाँच सय जरिवाना लाग्छ ।” पछाडि बसेकी मेरी श्रीमतीले मेरो पक्षमा वकालत गर्दै भनी, “ट्राफिक भाइ उहाँलाई माफ गरिदिनुहोस्, उहाँका कुरा पनि नपत्याउनु होस् । किनकि पिएको बेला उहाँ के बोल्नुहुन्छ उहाँलाई थाहा नै हुँदैन ?”
यो सुनेर त ट्राफिक प्रहरीको रिसले त आकाशै छोयो । भन्यो, “ए ! पिएर गाडी हाँकेको ? अब मादक पदार्थ सेवन गरी बाइक चलाएको मा रु. एक हजार जरिवाना लाग्छ । तपाईंलाई लाइसेन्स दिनेबेलामा सिकाएको थिएन पिएर बाइक चलाउनु हुन्न भन्ने कुरा ।” मैले भनेँ, “यो लाइसेन्स भन्ने कुरा के हो ? यो सरकारी नियम, कानुन त मलाई थाहा नै छैन । कहाँ पाइन्छ यो लाइसेन्स के धेरै महँगो पर्छ । पाइने ठाउँ भनिदिनुहोस् म आजै गएर लिन्छु ।”
यो सुनेर ट्राफिक प्रहरीको रिस आगो मात्र हैन ज्वालामुखी नै भएर विस्फोट भयो। भन्यो, “ए ! लाइसेन्स पनि छैन । हिड् अब जिल्ला प्रहरी कार्यालय । त्यहाँ रु. पाँच हजार जरिवाना हुन्छ र बाइक पनि जफत हुन्छ ।” मेरी श्रीमतीले भनी, “मैले त यो मङ्गलबारको दिन अशुभ हुन्छ नजाउँ भनेको तपाईलें मान्नु भएन । लौ अब रु. पाँच हजार गोजीबाट तिर्नुस् । नक्कली नोट दिएर फटाहा रामसँग किनेको मोटरबाइक पनि जफत गराउनुहोस् । तपाईंजस्तो बुद्धिमान त अरू को होला र ।”
मैले भनेँ, “चुप लाग् त्यस्तो शुभ अशुभ केही हुँदैन । तिमी त छौ अन्धविश्वासी । भात खान्छौ सधैँ बासी । त्यसैले यस्ता शुभ अशुभका कुरा गर्छाैँ । त्यसो शुभ अशुभ केही हुने भए अस्ति मैले ढकबहादुरको क्यामेरा चोरेँ । ख्वै आजसम्म क्यै भयो त ? न पुलिसले समात्यो, न ट्राफिकले समात्यो ।” यो सबै श्रीमान् श्रीमतीको गन्थन सुनेर ट्राफिक प्रहरीले भन्यो, “म यी कुरा केही जान्दिनँ कार्यालयमा पुगेपछि अदालतमा मुद्दा चल्दा थाहा पाउला । अहिलेलाई हिँड् मसँग ।
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest







































