सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिन्कौली अनि बालापनको पिरती !

अझ उरन्ठ्यौला साथी हुन्, सिन्का खोज्न राखिएका पञ्जामाथि उनका पञ्जा राखिदिऊन् । सिन्का भेटे जित भयो नभेटे हार । दुई पक्षको सार, कहिले आँखा चार । कहिले प्यार कहिले वार !

Nepal Telecom ad

नारायण नेपाल :

आगत र विगतको बिचको लागत समय र अनुभवको जगत हाम्रो जिन्दगीको परिभाषा हुनेगरेको एक सत्यको काखमा म अतीतको एक पन्ना पल्ट्याएर वर्तमानसम्म फिँजार्न लागिरहेको छु । सिन्कौलीले जुराएको यो खुराक फित्कौलीले पस्कने खबरले रोमाञ्चित पनि छु । दुई अनन्य मित्रका कुनै बेलाका कुरा यस शब्दमञ्चमा नाटकीय उपस्थिति राख्नेछन् र बेलाबेला मेरो मस्तिष्क पनि चुम्दै रहनेछन्, वसन्तले पालुवा छोएजस्तै ! अझ भन्दा उनीहरूबिच रहने तेस्रो पात्रले मेरो मन कपास गरेजस्तै, प्रेमिल भावको चित्रमा रङ भरेजस्तै । सहर्ष स्विकारिने आशा !

कसैले झारपात सिर्जना कोरेर साहित्यकार बन्ने सपना नदेखे हुन्छ । ए स्वनामधन्य सर्जकहरू हो, लेख, नलेख भन्दिनँ र मैले भनिरहन पर्ने पनि होइन तर याद राखेर लेख, शब्दको फूल पार, फल फलाऊ अनि हामीजस्ता दुईचार स्वादुहरूलाई चखाऊ । अनि भनौँला तिम्रो सिर्जनात्मक डुबुल्की कुन गहिराइको पानीमा चल्ने गरेको छ । कागज र मसी खर्च गर्ने ता धेरै छन् । समयको बर्बादी अनि कल्पनाक्षय उत्तिकै ! आफ्नो सिर्जना आफैँले दोहोर्याउन तेहेर्याउन मनलागे पो हुन्छ, जबर्जस्ती गरेर के हुन्छ, पठनमनको बलात्कारबाहेक ! यी म त्यही भएर सर्जकीय सिन्को भाँच्दिनँ, तर हेर बाबु, आफूले केही रचना नगरे पनि अरूको रचना कुन स्तरका छन् बुझ्न चाहिँ बुझ्छु !

सगरका कुराले जेजस्तो सङ्केत गरे पनि जगरलाई भने सिन्को नभाँचेको कुराले कता न कता च्वास्स पारेको यहाँ स्मरण गराउन चाहेको छु । असारेको घोचो लिनजाँदा मैदल बिझेको सम्झियो । अरेली काँडाको च्वास्स गीत सम्झियो । काँडा टिप्न खोज्दा सुरुवालको इजार फ्वास्स खुस्किएको सम्झियो ! कसैले देखे कि भनेर ऐयाआत्थो नगरी इजार कसेको सम्झियो । अनि, छेउमा बसेर जुखुरी मुस्कुराउनु लाजको पसारो भएझैँ मानेको सम्झियो । जिन्दगी सपना त रहेछ नि ! बिपनाको एउटा पाटो ! भविष्य के हो के हो लाग्ने, वर्तमान कष्टकरप्राय लाग्ने र अतीत मानौँ सोह्रै आना ठीक थियोका लागि सम्झनामा छाइरहने ! स्मृतिमा फुल्दै आउने अतीत र यसका छिल्का, बेग्लै आनन्द दिने ! हे अचम्म !

सगर कता हो कताको लेखक भएछ कि क्या हो ? जगरले चासो राखेन । मिडियाबाजीले उचालिएको साहित्यकार रहेछ कि नाइँ ? यो पनि उसको रुचिको अलैँची थिएन । संपर्क सूत्रले विनामलजल हौस्याएको साहित्यिक बन्सो पो हो कि ? मतलब राखेन । खल्तीले चल्ती गराएको विमर्शक पो हो न ? त्यो पनि के बाल र उसलाई ! उसको मनमा त केवल एउटा सवालले बबाल गर्दो थियो र त्यो थियो सिन्कोसित जोडिएको उसको मालको जिन्दगी । पहिलो खेलमै जुखुरीसित पाकेको थियो उसको पिरतीको जाउलो । सिन्कौलीको ड्याङ नै बनेको थियो उसको स्वादिष्ट जाउलो पाक्ने ताउलो ! लडान र उठान फित्कौली थिए । उनीहरूको अवस्थाले खित्कौली छुटेको ममा पनि चाहनाको खीरपाक्तौली भित्रिएको स्मरण छ ।

सगर त धेरै मानक र छनकका कुरामात्र गर्दोरहेछ कि जस्तो पो लागेर आउनथालेको छ मलाई । सिन्कौलीसितै उसले ढ्याप्पा खेलेको याद छ, छोइ-डम्प खेलेको याद छ, लुकाइ खेलेको रुमालको थाक छ । झरेको भोगटे टिपेर लात्तेभकुण्डो खेल्न जानेको धाक छ । उसमा छुर जानेको मात छ, उखपात छ । ऊ कलाकारलाई कलाकारिता सिकाइहिँडेको छ, अनि लेखकलाई लेखकीय । प्रेममा फस्यो कि उक्सियो, चारपाँचसितको उठबस बुझिए पनि उमेरको यो मोडमा एक्लो छ । होला यो पनि कला हो, जीवनको फरक मेखलामा छ ऊ । बेग्लै श्रृङ्खलामा छ ऊ । अनि म सम्झिनपुग्छु जोडाजोडीको चर्चा ।

कतै सुरुदेखि अन्त्यसम्म एउटैले हुने, कतै रुमाल फेरेसरह फेर्दा पनि गतिलो साथमा एक पनि नहुने ! समाजमा यस्ता कुराले धेरैको चियागफको स्थान लिने गरेको र फुर्सदिलाका भलाकुसारीमा पर्नेगरेको अचम्म लाग्ने ! आखिर म पनि त यही थातथलाको हुँ नि ! कसैले थाङ्ने कुरो भन्नुहोला, मलाई गल्ती गरेर माफी माग्ने चाहा छैन । न त मलाई कुनै पाङ्दुरे बाली वा घैया फ्ल्ने आलीले नै पुगेको छ । मिश्रित छ व्यक्तित्व आज । अलिकति सगरको सुझाव र अलिकति जगरको जनाव बोकेको अवस्था ! जिन्दगी यतै कतै !

कुरैकुरा, जगरले जुखुरीसित सिन्कौली खेलेको मैले पनि देखेको हुँ । सायद त्यही भएर यो गद्य लेखेको हुँ । कसैलाई मैले हँसाउनु छैन र फसाउनु पनि छैन । खसाउनु न त झन् कदापि छैन । बरू सगरविचारको प्रश्रयले स्तरीय वाङ्मयको आफ्नो आधार बसाउनु वाञ्छनीय लागेको छ । यत्ति ! आफ्नै सोच र व्यवहारले गिर्नेहरूलाई त म के नै भन्नसक्छु र ! फेरि न फेरि मानसपटलमा आउँछ त सिन्को पाएर जगर उफ्रिन खोज्दा जुकुरीले उसको हात थिचेर उसलाई लडाएको दृश्य । एक त धुलाम्य अनुहार अर्को ज्यानमाथि ज्यान । सहयोग गर्नुपर्‍यो भनेर हात दिन त खोजेकै थियो मैले पनि ! उनीहरू त्यही घटनालाई प्रेमिल स्पर्शले भजाउन थालेको बुझी मैले नदेखेजस्तो गरेको हिजोजस्तो लाग्छ, हिजोमात्रै उनीहरूकी छोरी मलाई नजर लाउन खोज्दै थिइन् एक भोजमा । सायद ठूलो बुवा पर्ने कोही हो बुझेको हुनुपर्छ उनले । जे होस्, सिन्को, सिन्कौली र सम्बन्धको गज्जप तालमेल हुने गरेको यथार्थ यस प्रस्तुतिमा छ र यसकै बोधार्थ यहाँ साझा गरिएको हो । कता सिन्को कता घरबारको कडी, लर्तरो छ र यो विषय । त्यसैले यो विषय यहाँ उठानमा छ, बैठान शब्दको चङ्गुलमा यतिखेर !

सिन्कौली एक मसला पत्ताको नाम हो । थाहा छ । कालो दाल, थोरै अदुवा कुटेर लाएको अनि कसुँडीमा पकाएको, सिन्कौली यानि सिन्के पत्ता हालेको र घिउ तप्क्याएको । जिब्रोमा पानी आउला, त्यो स्वाद हिजोआजका लेन्टिलमा आउँदैन । कुराले कुरामात्रै बढाउने त रहेछ क्यार, फेरि कुरा गर्ने चाहा छ । मनमा डाहा छ । छ त लाहा पनि । के भयो त ? बालुवाको सानो बाँध वा भनौँ सिन्केड्याङ बनाएर सिन्को लुकाउने र दुईहाते औँलाजालोले पहिले थिच्ने र त्यसभित्र सिन्का परे नपरेको हेर्ने अर्थात् खोज्ने एक खेल । एकापक्षले ड्याङ बनाउने र ड्याङको चौडाईभित्र तेर्सो पारेर लुकाउँदा लुक्ने प्रकारको सिन्को औँलाले चेपेर दुवै हातका पञ्जा खेलाउँदै औँलाको चाल मिलाएर अर्को पक्षकालाई सिन्का खोज्न आह्वान गरिने विशेष तरिका । भएन त रमाइलो !

अझ उरन्ठ्यौला साथी हुन्, सिन्का खोज्न राखिएका पञ्जामाथि उनका पञ्जा राखिदिऊन् । सिन्का भेटे जित भयो नभेटे हार । दुई पक्षको सार, कहिले आँखा चार । कहिले प्यार कहिले वार ! केको समाचार ! आइतवार न सोमवार, विदा हुनुपर्थ्यो अनि गोठालो जानुपर्थ्यो । गाईवस्तु कोशीको भङ्गालो हेलीदिएपछि खेलिने सिन्कौली स्मृतिमा यसै आइरहन्छन् त्यसै आइरहन्छन्, बस् कसैले बालापन र खेल सम्झाउनुपर्‍यो । खोला अनि वन नजर पर्दा पनि स्मृतिमा आइरहने त्यो खेल वास्तवमै बेग्लै रमाइलोको हुने ! हो तिनै रनवन अनि गाइचरन सम्झाउनुपर्‍यो ।

भन्नैपर्छ, सगरले विचार उनेको, जगरले व्यवहार चुनेको र मैले सिर्जना बुनेको कतै न कतै एकै चरीका फरक प्वाँख हुन् । तिनै मिलेर कुनै कृतिको पँखेटे काया बन्नसक्छ र पाठकवर्गको माया लुट्ने सुनौलो अवसर मिल्नसक्छ । अनि यसै झझल्कोमा आइरहने जुखुरीको मुस्कानको स्वप्नील छायाँ ! बुझे श्रीखण्ड, अस्तु !

०००
चतरा, सुनसरी हालः बौद्ध, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा