साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिन्कौली अनि बालापनको पिरती !

अझ उरन्ठ्यौला साथी हुन्, सिन्का खोज्न राखिएका पञ्जामाथि उनका पञ्जा राखिदिऊन् । सिन्का भेटे जित भयो नभेटे हार । दुई पक्षको सार, कहिले आँखा चार । कहिले प्यार कहिले वार !

Nepal Telecom ad

नारायण नेपाल :

आगत र विगतको बिचको लागत समय र अनुभवको जगत हाम्रो जिन्दगीको परिभाषा हुनेगरेको एक सत्यको काखमा म अतीतको एक पन्ना पल्ट्याएर वर्तमानसम्म फिँजार्न लागिरहेको छु । सिन्कौलीले जुराएको यो खुराक फित्कौलीले पस्कने खबरले रोमाञ्चित पनि छु । दुई अनन्य मित्रका कुनै बेलाका कुरा यस शब्दमञ्चमा नाटकीय उपस्थिति राख्नेछन् र बेलाबेला मेरो मस्तिष्क पनि चुम्दै रहनेछन्, वसन्तले पालुवा छोएजस्तै ! अझ भन्दा उनीहरूबिच रहने तेस्रो पात्रले मेरो मन कपास गरेजस्तै, प्रेमिल भावको चित्रमा रङ भरेजस्तै । सहर्ष स्विकारिने आशा !

कसैले झारपात सिर्जना कोरेर साहित्यकार बन्ने सपना नदेखे हुन्छ । ए स्वनामधन्य सर्जकहरू हो, लेख, नलेख भन्दिनँ र मैले भनिरहन पर्ने पनि होइन तर याद राखेर लेख, शब्दको फूल पार, फल फलाऊ अनि हामीजस्ता दुईचार स्वादुहरूलाई चखाऊ । अनि भनौँला तिम्रो सिर्जनात्मक डुबुल्की कुन गहिराइको पानीमा चल्ने गरेको छ । कागज र मसी खर्च गर्ने ता धेरै छन् । समयको बर्बादी अनि कल्पनाक्षय उत्तिकै ! आफ्नो सिर्जना आफैँले दोहोर्याउन तेहेर्याउन मनलागे पो हुन्छ, जबर्जस्ती गरेर के हुन्छ, पठनमनको बलात्कारबाहेक ! यी म त्यही भएर सर्जकीय सिन्को भाँच्दिनँ, तर हेर बाबु, आफूले केही रचना नगरे पनि अरूको रचना कुन स्तरका छन् बुझ्न चाहिँ बुझ्छु !

सगरका कुराले जेजस्तो सङ्केत गरे पनि जगरलाई भने सिन्को नभाँचेको कुराले कता न कता च्वास्स पारेको यहाँ स्मरण गराउन चाहेको छु । असारेको घोचो लिनजाँदा मैदल बिझेको सम्झियो । अरेली काँडाको च्वास्स गीत सम्झियो । काँडा टिप्न खोज्दा सुरुवालको इजार फ्वास्स खुस्किएको सम्झियो ! कसैले देखे कि भनेर ऐयाआत्थो नगरी इजार कसेको सम्झियो । अनि, छेउमा बसेर जुखुरी मुस्कुराउनु लाजको पसारो भएझैँ मानेको सम्झियो । जिन्दगी सपना त रहेछ नि ! बिपनाको एउटा पाटो ! भविष्य के हो के हो लाग्ने, वर्तमान कष्टकरप्राय लाग्ने र अतीत मानौँ सोह्रै आना ठीक थियोका लागि सम्झनामा छाइरहने ! स्मृतिमा फुल्दै आउने अतीत र यसका छिल्का, बेग्लै आनन्द दिने ! हे अचम्म !

सगर कता हो कताको लेखक भएछ कि क्या हो ? जगरले चासो राखेन । मिडियाबाजीले उचालिएको साहित्यकार रहेछ कि नाइँ ? यो पनि उसको रुचिको अलैँची थिएन । संपर्क सूत्रले विनामलजल हौस्याएको साहित्यिक बन्सो पो हो कि ? मतलब राखेन । खल्तीले चल्ती गराएको विमर्शक पो हो न ? त्यो पनि के बाल र उसलाई ! उसको मनमा त केवल एउटा सवालले बबाल गर्दो थियो र त्यो थियो सिन्कोसित जोडिएको उसको मालको जिन्दगी । पहिलो खेलमै जुखुरीसित पाकेको थियो उसको पिरतीको जाउलो । सिन्कौलीको ड्याङ नै बनेको थियो उसको स्वादिष्ट जाउलो पाक्ने ताउलो ! लडान र उठान फित्कौली थिए । उनीहरूको अवस्थाले खित्कौली छुटेको ममा पनि चाहनाको खीरपाक्तौली भित्रिएको स्मरण छ ।

सगर त धेरै मानक र छनकका कुरामात्र गर्दोरहेछ कि जस्तो पो लागेर आउनथालेको छ मलाई । सिन्कौलीसितै उसले ढ्याप्पा खेलेको याद छ, छोइ-डम्प खेलेको याद छ, लुकाइ खेलेको रुमालको थाक छ । झरेको भोगटे टिपेर लात्तेभकुण्डो खेल्न जानेको धाक छ । उसमा छुर जानेको मात छ, उखपात छ । ऊ कलाकारलाई कलाकारिता सिकाइहिँडेको छ, अनि लेखकलाई लेखकीय । प्रेममा फस्यो कि उक्सियो, चारपाँचसितको उठबस बुझिए पनि उमेरको यो मोडमा एक्लो छ । होला यो पनि कला हो, जीवनको फरक मेखलामा छ ऊ । बेग्लै श्रृङ्खलामा छ ऊ । अनि म सम्झिनपुग्छु जोडाजोडीको चर्चा ।

कतै सुरुदेखि अन्त्यसम्म एउटैले हुने, कतै रुमाल फेरेसरह फेर्दा पनि गतिलो साथमा एक पनि नहुने ! समाजमा यस्ता कुराले धेरैको चियागफको स्थान लिने गरेको र फुर्सदिलाका भलाकुसारीमा पर्नेगरेको अचम्म लाग्ने ! आखिर म पनि त यही थातथलाको हुँ नि ! कसैले थाङ्ने कुरो भन्नुहोला, मलाई गल्ती गरेर माफी माग्ने चाहा छैन । न त मलाई कुनै पाङ्दुरे बाली वा घैया फ्ल्ने आलीले नै पुगेको छ । मिश्रित छ व्यक्तित्व आज । अलिकति सगरको सुझाव र अलिकति जगरको जनाव बोकेको अवस्था ! जिन्दगी यतै कतै !

कुरैकुरा, जगरले जुखुरीसित सिन्कौली खेलेको मैले पनि देखेको हुँ । सायद त्यही भएर यो गद्य लेखेको हुँ । कसैलाई मैले हँसाउनु छैन र फसाउनु पनि छैन । खसाउनु न त झन् कदापि छैन । बरू सगरविचारको प्रश्रयले स्तरीय वाङ्मयको आफ्नो आधार बसाउनु वाञ्छनीय लागेको छ । यत्ति ! आफ्नै सोच र व्यवहारले गिर्नेहरूलाई त म के नै भन्नसक्छु र ! फेरि न फेरि मानसपटलमा आउँछ त सिन्को पाएर जगर उफ्रिन खोज्दा जुकुरीले उसको हात थिचेर उसलाई लडाएको दृश्य । एक त धुलाम्य अनुहार अर्को ज्यानमाथि ज्यान । सहयोग गर्नुपर्‍यो भनेर हात दिन त खोजेकै थियो मैले पनि ! उनीहरू त्यही घटनालाई प्रेमिल स्पर्शले भजाउन थालेको बुझी मैले नदेखेजस्तो गरेको हिजोजस्तो लाग्छ, हिजोमात्रै उनीहरूकी छोरी मलाई नजर लाउन खोज्दै थिइन् एक भोजमा । सायद ठूलो बुवा पर्ने कोही हो बुझेको हुनुपर्छ उनले । जे होस्, सिन्को, सिन्कौली र सम्बन्धको गज्जप तालमेल हुने गरेको यथार्थ यस प्रस्तुतिमा छ र यसकै बोधार्थ यहाँ साझा गरिएको हो । कता सिन्को कता घरबारको कडी, लर्तरो छ र यो विषय । त्यसैले यो विषय यहाँ उठानमा छ, बैठान शब्दको चङ्गुलमा यतिखेर !

सिन्कौली एक मसला पत्ताको नाम हो । थाहा छ । कालो दाल, थोरै अदुवा कुटेर लाएको अनि कसुँडीमा पकाएको, सिन्कौली यानि सिन्के पत्ता हालेको र घिउ तप्क्याएको । जिब्रोमा पानी आउला, त्यो स्वाद हिजोआजका लेन्टिलमा आउँदैन । कुराले कुरामात्रै बढाउने त रहेछ क्यार, फेरि कुरा गर्ने चाहा छ । मनमा डाहा छ । छ त लाहा पनि । के भयो त ? बालुवाको सानो बाँध वा भनौँ सिन्केड्याङ बनाएर सिन्को लुकाउने र दुईहाते औँलाजालोले पहिले थिच्ने र त्यसभित्र सिन्का परे नपरेको हेर्ने अर्थात् खोज्ने एक खेल । एकापक्षले ड्याङ बनाउने र ड्याङको चौडाईभित्र तेर्सो पारेर लुकाउँदा लुक्ने प्रकारको सिन्को औँलाले चेपेर दुवै हातका पञ्जा खेलाउँदै औँलाको चाल मिलाएर अर्को पक्षकालाई सिन्का खोज्न आह्वान गरिने विशेष तरिका । भएन त रमाइलो !

अझ उरन्ठ्यौला साथी हुन्, सिन्का खोज्न राखिएका पञ्जामाथि उनका पञ्जा राखिदिऊन् । सिन्का भेटे जित भयो नभेटे हार । दुई पक्षको सार, कहिले आँखा चार । कहिले प्यार कहिले वार ! केको समाचार ! आइतवार न सोमवार, विदा हुनुपर्थ्यो अनि गोठालो जानुपर्थ्यो । गाईवस्तु कोशीको भङ्गालो हेलीदिएपछि खेलिने सिन्कौली स्मृतिमा यसै आइरहन्छन् त्यसै आइरहन्छन्, बस् कसैले बालापन र खेल सम्झाउनुपर्‍यो । खोला अनि वन नजर पर्दा पनि स्मृतिमा आइरहने त्यो खेल वास्तवमै बेग्लै रमाइलोको हुने ! हो तिनै रनवन अनि गाइचरन सम्झाउनुपर्‍यो ।

भन्नैपर्छ, सगरले विचार उनेको, जगरले व्यवहार चुनेको र मैले सिर्जना बुनेको कतै न कतै एकै चरीका फरक प्वाँख हुन् । तिनै मिलेर कुनै कृतिको पँखेटे काया बन्नसक्छ र पाठकवर्गको माया लुट्ने सुनौलो अवसर मिल्नसक्छ । अनि यसै झझल्कोमा आइरहने जुखुरीको मुस्कानको स्वप्नील छायाँ ! बुझे श्रीखण्ड, अस्तु !

०००
चतरा, सुनसरी हालः बौद्ध, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

नारायण नेपाल
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x