केशव ज्ञवाली ‘आगत’परिदृश्य
श्रमको पसिनाले महान् बन्छ जीवन तर जलनको कुनै सिमा हुँदो रहेनछ र त निर्दोष श्रीको ईर्ष्यामा सलाईको काटीले जलाएको घरझैँ जलिरहेका छन् मान्छेका मनहरू ।

केशव ज्ञवाली ‘आगत’ :
घर नजिकै हिँडिरहेको उसले
आफ्नै बारीको
बुख्याँचा जस्तै छाया देख्यो
विश्वास नलागेपछि
टक्क अडियो र हेर्यो
उसको आफ्नै छायाँ रहेछ ।
बिहान आफू चाँडै उठ्यो र
उसले नै
सुतिरहेको एउटा मान्छेलाई भन्यो
बाहिर घाम लागिसक्यो
तिमी जाग र
अब नयाँ जिन्दगी उठ
सुतिरहेको तर
ननिदाएको मान्छेले भन्यो
घाम लागेपछि उठ्ने हो भने
भो उठ्दिन
मेरो घैँटोमा अझै घाम लागेको छैन ।
सभामा बसेको एउटा मान्छे
अब सधैँ सुन्दर देख्छु
सुन्दर सोच्छु भन्दै थियो तर
सभा सकिएको एकैछिनपछि
उसले आफू मात्र सुन्दर देख्यो र
कसैका बारेमा
सुन्दर सोच्नु जरुरी ठानेन ।
चैतन्यको चेतनाले सुन्दर बन्छ मन
श्रमको पसिनाले महान् बन्छ जीवन
तर
जलनको कुनै सिमा हुँदो रहेनछ
र त
निर्दोष श्रीको ईर्ष्यामा
सलाईको काटीले जलाएको घरझैँ
जलिरहेका छन् मान्छेका मनहरू ।
०००
रुरुक्षेत्र, गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर ।









































बेजोड!!छुने भित्रै।