साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयो भो नभेटौँ

अहिले पनि कतिपय अपरिचित पात्रहरूबाट ‘भेटौँ न’ भन्ने आग्रह आइरहेका छन् । सायद उनीहरू पनि बजारले स्वीकार गरेका या नगरेका असली सिक्का नै होलान् । परन्तु म चाहेर पनि उनीहरूलाई भेट्न असमर्थ छु ।

Nepal Telecom ad

भागवत खनाल :

मैले आफूलाई लेखक मान्न थालेपछिको कुरा हो । एक दिन ‘आहत आरोही’ उपनामका परिचित कवि मेरो निवासमै आइपुगे । उनले मलाई भेट्न पाएकोमा ‘बडो खुशी लागेको’ बताए । मेरो अहङ्कार उफानमा पुगेको बखत थियो त्यो । म प्याट्ट अभिमान देखाउँदै बोलिहालेँ, ‘अचेल मलाई भेट्न खोज्ने तपाईं जस्ता अरु पनि धेरै लेखक छन् आरोहीजी !’ मैले गोली र बोली छुटेपछि फर्केर आउन्न भन्ने नबुझेको त कहाँ हो र । परन्तु सेखीको बेलामा नेकीको अक्कल के आउँथ्यो । आक्रोशित आरोही ‘अहङ्कारलाई धिक्कार’ भन्दै हिँडेका कहिल्यै फर्केर आएनन् ।

लेखकीय भुमरीमा परेको मेरो दिनचर्या साह्रै नै निम्छरो हुँदै गयो । ठक्कर खाए पनि बानी सुधार्न सक्दै सकिन । कोही परिचित मानिस भेटियो कि मेरो साहित्यिक यात्राको प्रसङ्ग निकाल्छ कि भनेर यसो मुख बनाएर हेर्ने थालेँ । कसैले ससानो प्रशंसा गर्दा पनि दङ्ग पर्थेँ म । कोही खनालजी ! तपाईं गोर्की र चेखबको समकक्ष पुग्नुभएकोमा बधाईं’ भन्दै हात मिलाउन थाले । कोही गुरुप्रसाद र मुन्सी प्रेमचन्द्रको हाराहारीको कथाकार भनेर उराल्थे । कोही भन्थे, ‘क्या लेख्छौ यार ! क्या ठहरै पार्छौ !’ जागिरे जीवनका परिचितहरू भन्थे, ‘जागिरमा हुँदा त तिमीभित्र यति ठुलो लेखक लुकेर बसेको छ भन्ने थाहै भएन ।’ कोही भन्थे, ‘तपाईंले किताब प्रकाशित गर्नुभयो भने त हातहातै बिक्छ ।’ त्यसै त ठुलो नाक, म झन् ठुलो बनाएर यसरी लसलस महाकवि पाराले हिँड्न थालेको थिएँ, मानौँ बङ्गाली कवि रवीन्द्रनाथ ठाकुर शान्ति निकेतनको उद्यानमा सयर गरिरहेछन् ।

लेख्ने काम त किशोरावस्थादेखि नै गर्न थालेको हुँ । किन्तु जब मैले आफैलाई लेखक सम्झन सुरु गरेँ, खुट्टाले भुइँमा टेक्न छाडे । पहिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आउँदा महिनौँ झुलाउँदै जाँच परख गरेर मात्र स्वीकार गर्ने म लेखक बनेको भ्रान्ति बोक्न थालेपछि तुरुन्तै स्वीकार गर्न थालेँ । कतै कसैले सराहना गरेर मेसेज पठाउला कि, फेसबुकमा लाइक र शेयर बढ्ला कि र दुनियाँका सामुन्ने मेरो लेखकीय यात्राको तारिफ होला कि भन्ने लालसा बढ्दै गयो ।

एक दिन एउटा फेसबुकेले मेसेन्जरमा ‘हाय’ लेखेर पठायो । मैले ‘हजुर’ लेखेर पठाएँ । उसले ‘सन्चै आरामै हुनुहुन्छ लेखकज्यू ?’ भनेर लेख्यो । उसको नाम रहेछ ‘गुमनाम आसिक’ । मलाई त्यो नाम निकै मन पर्‍यो । स्कुल पढ्दाको समयमा साहित्यकारहरूको नामको पछाडि व्यथित, सम, गोठाले, असीम र प्रश्रित आदि उल्लेख भएको देख्दा मलाई खुल्दुली लाग्थ्यो । मैले गुरुलाई त्यस्ता नाम राख्नुको कारण सोध्दा भन्नुभएको थियो, ‘सच्चा साहित्यकारहरूले आफ्नो नामको पछाडि यस्ता उपनाम राखेका हुन्छन् ।’ मेरो नयाँ प्रशंसकको त झन नामै गुमनाम आसिक । मलाई लाग्यो, यति आकर्षक साहित्यिक नाम भएको मान्छे अवश्य पनि सच्चा साहित्यकार नै होला ।

भोलिपल्ट फेरि उसको मेसेज आयो । ‘हेलो हजुर दर्शन ! म त हजुरका रचनाहरू पढेर खुत्रुक्कै भएँ नि । हैन हो हजुर ! ढुङ्गा माटोको बिचबाट परेवाले चारा टिपे झैँ शब्दहरूको उपवनबाट कस्ताकस्ता फूल टिप्न सकेको । म त नतमस्तक भएँ हजुर !’ म खुसीले होस ठेगान नभए झैँ मदमत्त हुन पुगेँ । जवाफमा लेखिदिएँ, ‘तपाईं जस्तो प्रशंसक पाएर धन्य भएको छु । यति आनन्द लागेको छ कि मसँग कृतज्ञता व्यक्त गर्ने शब्दको अभाव छ ।’ उसले लेख्यो, ‘सी यु टुमरो हजुर ।’ मैले लभ साइनमा औँला ठोकिदिएँ ।

म गोठालेको जुजुमानझैँ गजक्क परेर हिँड्न थालेको थिएँ । हात उठाएर नमस्कार नगर्नेलाई मैले एउटा अज्ञानी सम्झेर मनमनै माफी दिन थालिसकेको थिएँ । पर्सिपल्ट त गुमनाम आसिकले मेसेन्जरमा फोन नै गर्‍यो । मैले एक रिङ् पनि पूरा हुन नपाउँदै फोन उठाएँ । ‘हेलो हजुर दर्शन ।’ आवाजमा मिठास र आत्मीयता थियो । मैले ‘नमस्कार आसिकज्यू’ भनेर अभिवादन फर्काएँ । उसले बडो नुहेको अन्दाजमा भन्यो, ‘आसिकज्यू होइन, आसिक भन्नुहोस् हजुर । हजुर जस्तो वरिष्ठ साहित्यकारले ज्यू लगाएर बोल्दा मलाई लाज लाग्छ ।’ मैले भनेँ, ‘तपाईं पनि साहित्यकार नै त हो नि, नामै गुमनाम आसिक ।’

उसका शब्द शब्दमा मिठास थियो । भन्यो, ‘हजुरले जस्तो अनेक फूल टिपेर एक माला बनाउने क्षमता ममा कहाँ । हजुर त गहिराइमा गोता खाएर मोती टिप्ने मान्छे हो । बरू एउटा कुराको खट्का लागिरहेको छ हजुर ।’ आजको जमानामा पनि यस्ता विनम्र र सहृदयी शुभचिन्तकसँग वार्तालाप गर्न पाउनु मेरा लागि अनुपम सौभाग्य थियो । मैले भनेँ, ‘के होला त्यो खट्का ?’ उसले अत्यन्तै विनयी भएर भन्यो, ‘हजुरको नामको पछाडि पनि एउटा मिट्ठो उपनाम भयो भने साहित्यिक सुनाममा चार चाँद लाग्छ । बरू यसो गरौँ, म भोलि बिहानै एउटा अच्छा नाम जुराएर चिया खाने गरी हजुरको घरमा आउँछु । ठेगाना बक्सियोस् त !’

ऊ बिहानै आइपुग्यो । घरमा एक्लै थिएँ । म चिया पकाउन थालेँ, ऊ मेरो सङ्ग्रहमा रहेका किताब हेर्न थाल्यो । ‘किताब छान्न पनि कति निपुण हजुर त । जे कुरामा पनि मिहीन तरिका अपनाउन जान्नु पनि अचम्मै हो ।’ हामी चिया पिउन थाल्यौँ । घिउ रङ्गको सुकिलो सर्टको तलतिर नीलो रङ्गको प्यान्ट सुहाएको थियो । चस्माभित्र लजालु आँखा नाचिरहेका थिए । मोजाबाट कताकता गन्ध आए पनि अखप थिएन । मैले मनमनै सोचेँ, ‘साहित्यकारमा यत्तिको गन्ध स्वाभाविक हो ।’

आसिकले मैले नाई नाई भन्दाभन्दै मेरो कप समेत उठाएर अघचमा लगेर राख्यो । कत्रो विनम्रता ! कस्तो निहुरन जानेको मान्छे । म उसलाई एक टकले हेरिरहेको थिएँ । ऊ मेरो नजिकै सरेर बस्यो । “अब हजुरको नाम ‘अनन्त गुञ्जन’ भयो । यो नाम राखेर लेख्न थालेपछि हजुरका शब्दहरूको गुञ्जन अनन्तसम्म सुनिन थाल्नेछ ।” उसको नाम छान्ने खुबी देखेर म छक्क परेँ । मैले भनेँ, ‘मलाई तपाईंले दिएको नाम असाध्यै मन पर्‍यो । म तपाईंको यो गुन कहिल्यै बिर्सने छैन । बरू साहित्यबारे तपाईंको दृष्टिकोण सुन्न मन लाग्यो ।’ गुमनाम आसिक धारा प्रवाह बोल्न थाल्यो ।

‘लेखिएको विषयवस्तु यस्तो होस्, जसले जीवनका सारा सुख दुःखको छानबिन गरोस् । साहित्य लेखकको छाती फुटालेर बाहिर निस्कोस् र अनि जीवनका हाँसो, रोदन र आरोह अवरोहको पर्दाफास गरोस् । साहित्य यस्तो दर्पण होस्, जुन दर्पणमा जसले हेरे पनि आफ्नो र आफू बस्ने समाजको अनुहार देखोस् । यस जगतमा कुनै कुरा पनि अलेख्य छैन । चरा, पहरा, हिरा, डेरा, सुस्केरा, पँधेरा, सहारा, चेहरा र टुहुरा जेसुकै विषय लेख्य छन्, वर्णनीय छन् । लेखेर पस्केको थालीमा खिर, पुरी, हलुवा, अचार, मोहनभोग, मदिरा र मनोरमा जे पनि अटाओस् ।’

आसिक अचानक गम्भीर भयो । सुन्दर लजालु आँखा डबडबाइरहेका थिए । उसले चस्मा झिकेर पुछ्यो । मैले सोधेँ, ‘के भयो आसिकजी ?’ ऊ ‘आमा आमा !’ भनेर पुकार्न थाल्यो । ‘मेरो आमा बिरामी हुनुहुन्छ हजुर । औषधी गर्दागर्दै भएको नगद सकियो । हेर्नुस् सर ! मेरी आमा अरुकी आमा जस्ती हैन नि । उहाँले जोगाएर राखेको सम्पत्तिले मलाई खान पुगेको छ । भोलि बिहान आधा रोपनी जग्गाको बैनाबट्टा हुँदैछ । मलाई भोलि बिहानसम्मका लागि अलिकता पैसाको अत्यन्त खाँचो छ । हुन त बनेपाको एउटा साथीले दिन्छु भनेको छ, तर टाढा पर्‍यो । हजुरको स्थिति के थियो कुन्नि ।’ यति सज्जन मान्छे त्यो पनि बिरामी आमाको अनमोल छोरो । यस्तो अप्ठेरो त जसलाई पनि पर्छ । म यति सोच्दै थिएँ, उसले भन्यो, ‘भोलि बिहान एघार बजे पैसा फर्काउन आउँछु हजुर । म मेरी वृद्ध आमाको आशीर्वादलाई साक्षी राखेर वचन दिन्छु ।’

मसँग श्रीमतीले एक महिनाको बेसहारा ल्याउन भनेर दिएको बिस हजार रुपियाँ थियो । झिकेर ल्याएर दिएँ । आसिकले भन्यो, ‘एउटा सेल्फी खिचौँ है हजुर ! म अहिले गएर फेसबुकमा राखिहाल्छु ।’ उसले सेल्फी खिच्यो । मैले माताजीको शीघ्र स्वास्थ्यलाभको कामना गरेँ । ऊ उठेपछि मैले हात मिलाएर बिदा गर्न खोजेँ, तर ऊ गुरुसँग कहाँ हात मिलाउनु हजुर भन्दै मेरो घुडामुनि हातले छोएर विनम्र नमस्कार गर्दै निस्क्यो । हर्षातिरेकमा मेरो रोम रोम पुलकित भयो । म यसरी रोमाञ्चित थिएँ, मानौँ व्यङ्ग्य विधाका अग्रणी केशवराज पिँडाली हेलो गुञ्जनजी भन्दै गला मिलिरहेका थिए । दुई घन्टापछि आसिकलाई धन्यवाद दिनुपर्‍यो भनेर उसको प्रोफाइलमा जान खोजेको त फेला नै परेन । गुमनाम आसिक मलाई ‘मुर्गा बनाएर’ गुम भइसकेको थियो ।

एउटा छट्टुले मुर्गा बनाएर हिँड्यो भन्दैमा सधैँका लागि शोक गरेर बस्ने कुरा पनि त भएन । जति नै धूर्त नटवरलाल होस् न, आसिकले मलाई एउटा अद्भूत नाम त दिएर गयो नि । मैले मलाई मन पर्ने उपनाम जुराइदिनेलाई उचित पुरस्कार दिनेछु भनेर सूचना नै निकालेको भए तापनि ‘अनन्त गुञ्जन’ उपनामलाई बिस हजार हालेर खरिद गर्न केही जस्तो मान्ने थिइन ।

केही दिनपछि एउटा ‘बहुनाम वैष्णवी’ नामको आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । यसो हेरेको युवतीको फोटो रहेछ । मनमनै सोचेँ, जस्तो सुन्दर नाम त्यस्तै सुन्दर अनुहार । हेर्दै कविता लेख्न प्रेरित गर्ने खालकी पो रहिछन् बहुनाम नानी त । मनै प्रफुल्ल भयो । आफ्नो फेसबुक पेजमा उनले प्रस्ट लेखेकी थिइन्, ‘हे भगवान ! मलाई लोभ र पापबाट बचाऊ । जीवनमा दुःखीको आँसु पुछ्न सकूँ । मेरो कारणले कसैको आँसु नबहोस् ।’ जीवनबारे कति सुन्दर र अनुपम दृष्टिकोण । यस्ता सोच भएका युवाको खाँचो छ यो देशमा । हामी डिजिटल साथी बन्यौँ ।

एक दिन उनको मेसेज आयो, ‘हेलो गुरुदेव !’ म विभोर भावमा मोहित हुन पुगेँ । आहा ! कति सम्मानित सम्बोधन । मैले लेखेँ, ‘हेलो बहुनामजी ! के छ हालखबर ? निकानन्द हुनुहुन्छ ?’ उताबाट आयो, ‘हजुरको सद्भाव र आशीर्वादले सबै ठिक छ ।’ एक दिन उनको फोन आयो । मैले फोन उठाएर हेलो भनेँ । उनको मृदु वाणीमा आकर्षण र गरिमा थियो । ‘यसो भेट गरेर साहित्यिक वार्ता गर्ने इच्छा थियो ।’ आह्वान सुकोमल र सुखदायी थियो । उताबाट फेरि मधुर आवाज आयो, ‘भागवत खनालका रचनामा जीवनसम्बन्धी चेत र चैतन्य’ शीर्षकमा एउटा कार्यक्रम राख्ने इच्छा छ । कता भेटेर सल्लाह गरौँ ?

म फुलेल भएको देखेर श्रीमतीजीलाई फेरि मुर्गा बन्ने भयो भन्ने शङ्का लागेछ । उनमा म लेखक भएका दिनदेखि नै मेरो मुसुमुसाएको अनुहार देख्यो कि रिस उठ्योको शृङ्खला अविरल छ । उनलाई गुमनाम आसिकले पचाएको बिस हजारको चिन्ता थियो । म भने आसिकले दिएको ‘अनन्त गुञ्जन’ उपनाम र बहुनाम वैष्णवीको निमन्त्रणाको खुसीले उत्फुल्ल थिएँ । मैले भनेँ, ‘तिमी कुरा बुझ्दिनौ बाबै ! तिमी कुरा बुझ्दिनौ ।’

बहुनामले मलाई तीनकुने आउनू भनेर मेसेज पठाइन् । कोटेश्वर पुग्दा अर्को फोन आयो । मनमोहन वाणीको मिठास अद्वितीय थियो । भनिन्, ‘गुरुदेव म बानेश्वरको मान्छे हिँड्ने पुलको उत्तरतर्फ छु ।’ कोटेश्वरमा जाम थियो । आफू भने कहिले बानेश्वर पुगेर बहुनामको सुमधुर बोलीमा ‘भागवत खनालका रचनामा जीवनसम्बन्धी चेत र चैतन्य’बारे योजना सुन्न व्यग्र थिएँ । आधा घन्टापछि बानेश्वर पुगेँ । एक जना मान्छेले हातले ईशारा गर्दै बेकरीतिर लिएर गयो । मनमनै सोचेँ, बाहिर घाम भएको हुनाले रेस्टुरेन्टमा बस्न खोजेको होला । वहुनाम वैष्णवी त शाकाहारी हुन् । चियापानमा खासै कति पो खर्च होला र ।

म मलाई कुरेर बसिरहेकी रूपवती विदुषी ‘बहुनाम’लाई भेट्न आतुर थिएँ । मानिसले इशाराले एक ठाउँमा बसाल्यो । म यताउता हेर्न थालेँ । सायद बहुनाम शौचालयतिर गएकी होलिन् । मानिस मेरो सामुन्ने पूरा ‘कन्फिडेन्स’ साथ बसेर मुसुक्क हाँस्यो । म पनि मुस्कुराएँ । मेरो हृदयको स्पन्दन तीव्र भइरहेको थियो । ऊ फेरि मुस्कुरायो र बोल्यो, ‘नमस्कार गुरुदेव, म बहुनाम वैष्णवी ।’ म स्तब्ध भएँ । यो बहुनामको बोली र फोनमा बोल्ने बहुनामको बोलीमा कुनै अन्तर थिएन ।

म अवाक् थिएँ, किन्तु कुनै अन्यथा बोल्न मिल्ने अवस्था नै थिएन । यसमा बहुनामको कुनै दोष थिएन । बरू म नै श्रुतीदोष र दृष्टिदोषबाट ग्रस्त थिएँ । कुनै कुनै पुरुषको बोली मधुरो र कुनै कुनै महिलाको बोली खस्रो हुन्छ भन्ने कुरा बुझ्न नसक्नु मेरै कमजोरी थियो । तैपनि सोधेँ, ‘अनि त्यो प्रोफाइलको फोटो ?’ उसले भन्यो, ‘त्यो त एआईले बनाइदिएको फोटो हो गुरुदेव ।’ मेरो हृदयको स्पन्दनको तीव्रता शान्त र स्थिर भइसकेको थियो । मेरो चित्त चोर्ने बहुनाम क्षणभरिमै युवतीबाट अधबैँसे पुरुषमा रुपान्तरण भएर मन्द मन्द मुस्कुराइरहेको थियो ।

बहुनाम शालीन र विनयी प्रतीत हुन्थ्यो । उसले वेटरलाई बोलायो । सुमधुर तवरले मलाई हेर्दै भन्यो, ‘म त डबल ब्ल्याक लिन्छु, हजुर के लिने ?’ बहुनामले ममाथि वशीकरणको टुना गरिसकेको थियो । मैले भने, ‘तपाईं जे लिनुहुन्छ, म पनि त्यही लिन्छु ।’ दुई ‘पटियाला पेग’ निमेषमै निलेपछि ऊ फर्ममा आयो । उसका गाला राताराता थिए भने आँखा चञ्चल र अस्थिर । भन्यो, ‘साहित्यबारे हजुरको मुखारबिन्दबाट केही सुन्ने अभिलाषा लिएर आएको छु गुरुदेव ! मैले भनेँ, ‘तपाईंबाटै जाओस् बहुनामजी ।’

ऊ बोल्न थाल्यो, ‘मलाई राम्रो साहित्य पढ्न आउँछ । यो मिलेन र त्यो मिलेन भन्न पनि जानेको छु । साहित्य कहाँ, कहिले र किन जन्मन्छ भन्ने कुराको पनि सानोतिनो हेक्का छ । मैले केही किताब पनि पढेको छु । जहाँसम्म लेख्ने कुरा छ, म त यसै अकारण लेखिदिन्छु । लेख्ने नियममा मलाई विश्वास छैन । लापरबाहीमा अनापसनाप लेखिदिन्छु म । मैले लेख्नुको सर्वोपरि कारण मलाई जिन्दगी दिनेवालासँगको रिस हो । म बदला लिन त सक्दिन तर झ्याँको झार्न लेख्छु । साहिर लुधियानवीको शब्द छ नि, ‘जख्म ऐसा दिया है कि भरता नही‘..जिन्दगी देने वाले सुन् ।’

त्यही बिचमा एउटा मान्छे आएर हेलो हजुर भन्दै कुर्सीमा बस्यो । ‘म संयोग सदाचारी’ हजुर । ऊ मुरुक मुरुक सोँफ चपाइरहेको थियो । सायद उसले पनि म जस्तै कुनै लेखकलाई छलछाल गरेर पठाएको थियो । सदाचारी त मिठो बोलेर छल गर्न झनै माहिर रहेछ । भन्यो, ‘मलाई मेरा गुरुले उपदेश दिँदै भन्नुभएको थियो, जहाँ साहित्यको चर्चा हुन्छ, त्यहाँ अवश्य जानु है वत्स ।’ उसले मैले भेउ नपाउने गरी वहुनामलाई हेर्दै आँखामारी गरिसकेको थियो ।

संयोग सदाचारीले पनि एउटा पटियाला पेग मगाएर एक सासमा निल्यो । अब त ऊ पनि साहित्य झार्न थालिसकेको थियो । ‘कतै सुनेको थिएँ, जसको हृदयमा ठूलो घाउ हुन्छ त्यही नै ठूलो लेखक हुन्छ । यो कुरा पूर्णरूपेण साँचो त नहोला, किन्तु यो भनाइ बिना कुनै आधार फुत्त झरेको पनि अवश्य होइन । मेरो हृदयमा पनि घाउ त छ, परन्तु साह्रै नै निम्छरो । त्यसैले म असली साहित्यकार हुन सकिन गुरुदेव ।’

एकातिर गुरुदेवको सम्बोधन र अर्कोतिर भुत्ल्याएर निर्वाङ्ग बनाउने प्रपञ्चको भुमरीमा फसिसकेको थिएँ म । एक प्रकारले मलाई आनन्द पनि लागिरहेको थियो । दश बिस हजार मूल्यमा मानव जीवनको यो रूप देख्न पाउनु चानचुने कुरा थिएन । मेरो देशको राजधानीको एउटा रूप यो पनि रहेछ । ‘तथाकथित नै किन नहोस्, लेखक भनेको लेखक हो ।’ यसरी मन बुझाएर आफूलाई नै माथि राख्नुमा पनि त मजा छ ।

पाहुनाहरू थपिने क्रम जारी थियो । फेरि एक जना युवती आएर मेरो अगाडि ठिङ्ग उभिइन् । म ‘विभत्स बिन्दासी’, मलाई चिन्नुभो ?’ उनी मुसुमुसु हाँसिरहेकी थिइन् । उनले आफ्नो बायाँ हातले मेरो चिउँडोलाई सहारा दिएर झुकेको टाउको माथि उठाइन् । अधिक मदिरापानको उन्मत्तताले उत्ताउली झैँ देखिए तापनि वाणीमा संयम थियो । उनी पनि आफ्नो भागको साहित्यिक मन्तव्य दिन किन चुक्थिन् । भनिन्, ‘साहित्यले हृदयको अन्तस्तलमा बसेको आँसुलाई शब्दको रूप दिएर बाहिर पोखिदिन्छ रे । हो कि जस्तो लाग्छ । त्यसो भए खुसी र परिहासमा साहित्य पोख्न सकिन्न त ? मलाई लाग्दछ, पोख्न त सकिन्छ, परन्तु साहित्यको रस आँसुको नजिकमा नै ज्यादा रसिलो हुन्छ ।

केही दिनअघि रजत शर्माको ट्विट पढेकी थिएँ । ‘जाने वो कैसे मुकद्दर की किताब लीख देता है, सासेँ गिनती की और ख्वाहिशेँ बेहिसाब लिख देता है ।’ बडो घत लाग्यो ।’ उनले पनि दुइटा पटियाला निलिन् ।
म भालुमाथि चढेर बितरा परेको सिकारीझैँ न चढिरहनु न त ओर्लनुको ऊहापोहमा थिएँ । रात छिप्पिएर विभत्स हुँदै थियो । उता ‘विभत्स बिन्दासी’ले मतिरै हेर्दै साहित्यका तारा झार्न थालिन् ‘हामी बिहानी देख्छौँ । हामी दिवस देख्छौँ । हामी सन्ध्याकाल देख्छौँ र फेरि रात्रिको नीरवता । हामी वन उपवन देख्छौँ । झरना, खोला र नदी देख्छौँ । हामी चरा, पशु ,सर्प र बिच्छी देख्छौँ । हामी धौलागिरीको धवलता देखेर पुलकित हुन्छौँ । कहिले हाम्रो घरमा कोही जन्मेर खुसी दिन्छ । कहिले विवाहका बाजा बज्छन् । कहिले चाडपर्वको रौनक हुन्छ । परन्तु कहिलेकाहीँ हाम्रै आँगनमा तुलसीको मठको छेवैमा कसैको लास पसारिएको हुन्छ । यी सारा परिस्थिति र परिदृश्यमा सबैको मनमा साहित्य उम्लेर आउँछ । साहित्यहीन त यस जगतमा कोही पनि छैन । कोही मुखर भएर प्रकट हुन्छ भने कोही स्वान्त सुखायमा सीमित । कसैबाट प्रस्फुटन भएको साहित्यले शब्दको रूप धारण गर्छ भने कसैको भने आँसु, हाँसो र प्रफुल्लतामा प्रकट हुन्छ ।’

बिन्दासीका कुरा सुनेर म स्तम्भित भएँ । उनी अर्को दुई पेग निलेर आकाशतिर हेर्न थालिन् । मैले सोधेँ, ‘यो तपाईंले भनेको कुरा केमा प्रकाशित भएको छ ?’ उनले मुसुक्क हाँस्दै भनिन्, ‘कतै पनि प्रकाशित भएको छैन । केही वर्षअघि एक दुईवटा प्रकाशन गरेकी थिएँ, तर कसैले पढेन, अनि लत्तो छाडिदिएँ ।’ यति कुरा गरेर बाथरूम जान्छु भन्दै हिँडेकी बिन्दासी कता लागिन्, थाहै भएन ।

होटेल बन्द हुने तरखर शुरु भएपछि बहुनाम मेरो छेवैमा आएर बस्यो । भन्यो, ‘म हजुरलाई ठगेर हिँड्ने गुमनाम जस्तो होइन गुरुदेव ! म त बहुनाम हुँ ।’ म त छाँगाबाट खसेझैँ जिल्ल परेँ । के आसिक र वैष्णवीबिच कुनै साइनो र सम्बन्ध छ ? किन्तु मैले सोध्ने हिम्मत गर्न सकिन । बहुनाम बोल्दै गयो, ‘मेरो आईडी फेक हो, र होइन पनि । मेरा अरु पनि यस्ता आइडी छन् । म जे गर्छु, हाकाहाकी गर्छु । आज तपाईंलाई बोलाएर एउटा नामले खाएँ, भोलि अर्का गुरुदेवलाई बोलाएर अर्कै नामले खानेछु ।’ उसले बुढीको लागि भन्दै एक प्लेट मम र एउटा पिज्जा पोको पार्‍यो । मैले रेस्टुरेन्टको बिल मात्र होइन, पठाओको दुई हजार भाडा समेत तिरिदिएँ ।

आज आएर सोच्दछु, के छुस्करनाथ, गुमनाम आसिक, बहुनाम वैष्णवी, संयोग सदाचारी र विभत्स बिन्दासी समाजका खराब मानिस नै हुन् त ? यो जगतमा कोही गरिबीले लाचार छ भने कोही आदतले । कोही सपनाका मिनार ढलेर विवश छ भने कोही आफ्नै मानिएकाले दिएको धोका र विश्वासघातले ।

आसिक, वैष्णवी, सदाचारी र बिन्दासी सबै बजारले अस्वीकार गरेका असली सिक्का हुन् । उनीहरूसँगको भेट मेरा लागि अविस्मरणीय र प्रेरणादायी पनि छ । अहिले पनि कतिपय अपरिचित पात्रहरूबाट ‘भेटौँ न’ भन्ने आग्रह आइरहेका छन् । सायद उनीहरू पनि बजारले स्वीकार गरेका या नगरेका असली सिक्का नै होलान् । परन्तु म चाहेर पनि उनीहरूलाई भेट्न असमर्थ छु । भेट्ने इच्छा हुँदाहुँदै पनि भेट्न असमर्थ हुनुको कारण चाहिँ भनिरहनु पर्ला र ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x