भागवत खनालघिउमान्छे
हामीबिच नेपालको राष्ट्रियता र राष्ट्रिय समृद्धिबारे बडो महत्वपूर्ण छलफल भएको थियो । त्यो भेटमा मैले उहाँलाई नजिकैबाट चिन्ने अवसर पाएँ । शाहजी पनि मलाई भेट्न पाउँदा खुसी हुनुभयो र भन्नुभयो, ‘तपाईं नेपालको वास्तविक घिउमान्छे हो ।’

भागवत खनाल :
किशोरावस्थामा प्रवेश गर्दै रहेको समयको कुरा हो । पुस र माघ महिनाभरि विद्यालय बन्द हुने हुँदा गुल्मीतिर नातेदारको घरमा गएको थिएँ । चिसो माघमा आधा बाहुले भोटो र कछाड पहिरेको बुढो हलीले बारी जोतिरहेको देखेर भनेको थिएँ, ‘कस्तो जाडो भइरहेको होला है !’
मेरो कुरा सुनेर समवयी ठिटोले भन्यो, ‘यसलाई जाडो हुन्न । यो त घिउमान्छे हो ।’ मैले ‘घिउमान्छे’ शब्द त सुनेको थिएँ, किन्तु चिसो माघमा बाँकटे भोटो र कछाड पहिरेर हलो जोत्ने बुढो मान्छेलाई घिउमान्छे भन्नुपर्छ भन्ने कुरा थाहा थिएन ।
घिउमान्छे बुढो हलीलाई देखेको करिब साढे चार दशकपछि पुनः अर्का घिउमान्छेलाई देख्ने अवसर मिल्यो । एक जना ढल्दो उमेरका ‘विद्यार्थी नेता’ नयाँ बानेश्वरस्थित एउटा रेस्टुरेन्टमा मम खाँदै थिए । बोल्नमा साह्रै सिपालु उनले चढ्दो उमेरका साथीहरूलाई अनेकौं दिल्लगी गर्दै हँसाइरहेका थिए । उनी युवकहरूका माझमा ‘ढल्दो दाइ’को नामले विख्यात थिए । धेरै जसोलाई उनको वास्तविक नाम ढुसकान्त हो भन्ने पनि थाहा थिएन । केही समयपछि सजिलो र शीघ्रताका लागि उनलाई ढल्दाइ भनेर बोलाउने चलन सुरु भयो ।
ठिटाहरू ढल्दाइलाई नास्तापानी र यदाकदा मदिरासमेत पिलाएर वातावरण रमाइलो पार्थे ।
अर्को प्लेट तात्तातो मम आएपछि ढल्दाइले कपाल साहलाउँदै भने, ‘साह्रै जाडो भयो यार ! मुख त ममले तताउने भयो । ज्यान तताउनलाई यसो सिरक ओड्न पाए ।
डिभी परेर अमेरिकातिर उड्ने तयारीमा रहेको एउटा ठिटोले ढल्दाइको ‘सिरक ओड्ने’ इच्छा पनि पूरा गरिदियो । खुकुरी रममा रनक्क रन्केको तातो पानी मिसाउँदै भने, मलाई सबैभन्दा मन पर्ने मदिरा यही हो । खान त बेला मौकामा काले, सेते, डिम्पले र नीलाम्मे नामका विदेशी लागु पनि खाइएकै हो तर विद्या नास भाइ ! किन हो किन यो खुकुरी रम मलाई मेरो अनन्य मित्र जस्तो लाग्छ ।
हेर साथीहरू हो ! मेरो नामै ‘ढल्दाइ’ राख्नुपर्ने अवस्था आउनुमा मेरो बाको पनि दोष छ । मानिसहरू भन्छन्, नाममा के छ ? जे छ सबै काममा छ तर त्यस्तो होइन नि नाममा पनि बहुतै धेरै कुरा छ नाममा पनि व्यक्तित्वलाई उँचो या निचो बनाउने ठुलो शक्ति छ । ढुसकान्तको अर्थ थाहा छ ? ढुसकान्तको अर्थ हो, म्याद बेमाख या भुस भएको मलाई पनि एक प्रकारले सजिलै भयो । नामै ढुसकान्त राख्ने पितृले म भुसलाई निचोरेर कुनै किसिमको तर्पण या पिण्डदान पाउने आशा राख्न सुहाउने कुरा पनि भएन ।’
पितृऋणबाट स्वतः मुक्त भएका ढल्दाइले आफ्नो राजनीतिक दलका ‘दाइ’को भने ठुलो सेवा गरे । तीन थान चुनाव सकिँदासम्म टिकट नपाउँदा पनि निराश भएका थिएनन् उनी तर संविधान सभाको चुनावमा समेत टिकट नपाएपछि त साह्रै रिस उठेछ । झोक्किँदै दाइलाई भने, ‘अब तपाईंको झोला बोक्दिन ।’ दाइले ढल्दाइलाई यसो नियालेर हेरे । मुसुमुसु मुसमुसाउँदै जवाफ दिने त दाइको पुरानै बानी हो भने, “नामले गर्दा मार खाइस् बाबै । तँलाई टिकट दिएको भए पनि ‘भोट कसलाई ? ढुसलाई भन्दै’ हिँड्न त गाह्रै हुन्थ्यो ।”
खुकुरी रमको मन्द मन्द मादकतामा ढल्दाइले आफ्ना दाइको बखान गर्न थाले । ‘हाम्रा दाइ नेपाली राजनीतिका घिउमान्छे हुन् । उनी धेरै बोल्दैनन् । यसो हेर्दा केही पनि नबुझेको निर्दोष बालक जस्तो । तर उनीकहाँ विद्यावारिधि गरेका एक से एक प्राडाहरू लौन मलाई पनि तपाईंको गोलमा मिसाउनुस् भन्दै निहोरा गर्न जान्छन् । ‘तपाईंबाट देशले के पायो ?’ भनेर प्रश्न गर्ने मान्छेलाई दाइ क्या घिउ जवाफ दिँदै भन्छन, ‘तपाईं बढी बोल्दै हुनुहुन्छ ।’ दाइले बडे बडे चलाख र वाचाल खेलाडीहरूलाई तह लगाएर राखेका छन् । उनको अगाडि उनकै दलका अन्य बुढाहरू नखारिएको घिउ जस्ता लाग्छन् । खालि प्याल्ल प्याल्ल मात्र ।’
अमेरिका जाने चिट्ठा परेको ठिटो खुसीले गदगद थियो । उसले भन्यो, ‘अब चार – पाँच वर्ष हाम्रो भेट हुन् गाह्रै छ ढल्दाइ । जहाँ पुगे पनि ढल्दाई मेरो मन र मुटुमा निवास गर्नुहुनेछ । बरू घिउमान्छे जस्तै अरु कस्ता कस्ता ढाँचा र प्रकारका मान्छे हुन्छन् ? जान्न पाए अमेरिका पुगेपछि पनि यसो गफ हान्न काम लाग्ला ।’ अमेरिका जान लागेको ठिटोले त्यसरी पत्याउनु ढल्दाइका लागि सानो कुरा थिएन । उनले चुरोटको आगोलाई फूउउ गरेर रातो पार्दै भने, ‘यही आगोको कसम ! अरु कसैले सोधेको भए म यो प्रश्नको उत्तर किमार्थ दिने थिइन, परन्तु तिमी त मेरो मनका बन्धु हौ, लौ सुन – “गौमान्छे, सर्पमान्छे, बाँदरमान्छे, राँगोमान्छे, बोकामान्छे, मुखाले, सज्जन, छेपारे, चेपारे, दुर्वासा, ढुङ्गो, नारद, कुत्ता, बेइमान, सोझो, काइते, चैते, जोइटिङ्ग्रे, बहादुर, नामर्द, रुन्चे, स्वादे, पापी, ह्वास्ल्याङ्गे, धोकेवाज, बबाली, बाठो, फजुल, गलत, बेहोसी, कन्जुस, बबुरो, कुखुरे, टाल्टुले, झोले, विद्वान, मूर्ख, चरीनाचे, पिपलपाते, फुलबुट्टे, जोकर, फोहोरी, तिहुन चखुवा, पिराहा, काँतर, चुत्को, भलाद्मी, फटफटे, कचकचे, अरिङ्गले, बोक्रे, चोक्रे, खोक्रे, विनम्र, टाकटुके, भाते, गास्से, जाली, पाखे, असभ्य, सुखी, दुःखी, कडा, नकच्चरो, बेसारे, बेइमान, इज्जतदार, धनी, गरिब, बेइज्जती, ज्ञानी, धर्मात्मा, हँसिलो, फरासिलो, गतिलो, फुर्तिलो, अडिलो, वनचर, जन्तु, घायल, व्यथित, घामड, अप्ठेरो, अबुझ, घारघुरे, थुतुने, कुरौटे, थेचरो, दमदार, चटके, उखाने, दरो, बापती, मन्थरा, केकै, मताहा, चढेको, नुहेको, मण्डले, फाल्तु, सनासे, हठी, निश्छल, दुईजिब्रे, ट्वाँटे, भोगी, रोगी ।”
जिन्दगीमा सबै कुरा गुमाएका ढल्दाइले अरु गुमाउनु पर्ने केही बाँकी थिएन । सिंहदरबारमा रजगज गर्न नपाए तापनि रजगज गर्नेहरूबारे मोटामोटी जाने सुनेका थिए । उनी भन्दै गए, ‘राजनीतिक खेल मैदानको चलाखभन्दा चलाख घिउमान्छे त्यो हो, जो सिंहदरबार छिर्दा एउटा काम्लो पनि सँगै लिएर जान्छ । यो देशमा जो काम्लो ओडेर घिउ खान जान्दछ, त्यही इमान्दार हो र त्यही नै उत्तम प्रकारको घिउमान्छे हो ।’
एउटा ठिटोले सोध्यो, ‘तपाईं चाहिँ कस्तो मान्छे हो ढल्दाइ ?’ ढल्दाइ सोचमग्न हुँदै उठेर टेबलको वरिपरि घुम्न थाले । उनले गम्भीर हुँदै भने, ‘यही प्रश्न कसैले बिस वर्षअघि सोधेको भए म आफैलाई सोध्ने थिएँ होला, कि म को हुँ र के हुँ । आज त म यत्ति मात्र भन्न सक्छु भाइ, म मनको लड्डु घिउमा डोबेर खाने मान्छे हुँ । यथार्थमा म विवशता, लाचारी र पश्चात्तापको पुञ्ज हुँ । अकर्मण्यता, आसक्ति र फुटकर लोभले ग्रस्त लज्जाहीन जीवित अस्तित्व ।
हेर बाबुहरू हो ! तिमीहरू भविष्यका धरोहर हौ । तिमीहरूलाई लाग्ला कि असफल ढल्दाइ बन्नुभन्दा त सफल ढल्दाइको दाइ बन्नुमा श्रेय छ । तर होइन, यो ढल्दाइ आफ्नो एक्लो जीवन खाने धमिरो हो भने दाइ चाहिँ देश खाएर खोक्रो बनाउने धमिरो हो । तिमीहरूको सपना न यो ढल्दाइ हुनुपर्छ न त त्यो दाइ नै । तिमीहरूको सपना त समृद्ध नेपाल हुनुपर्छ ।
ढुसकान्तमा क्षमता नभएको होइन । उनी मेधावी र चतुर थिए । वाणीमा मिठास थियो । समय बित्दै जाँदा सारा क्षमता कसरी ढल्दाइमा परिणत भयो, पत्तै पाएनन् । उनी भन्ने गर्थे, ‘एक पाई ढाँटेको भए उनै अनाथका नाथ पशुपतिनाथले भस्म गरून्, कुनै समयमा म पनि सबैको नजरमा घिउमान्छे थिएँ ।’ मदिराले बढी नै लट्ठ हुँदा उनी भावुक हुँदै बोल्थे, हिन्दुस्तानमा एउटा भनाइ छ नि ‘बुरा वक्त कभी बताकर नही आता ।’
ढल्दाइले वणर्न गरेका अनेकौं थरी मान्छेमध्ये ‘विनम्र र टाकटुके’ले मलाई विद्यार्थी जीवनको समय सम्झना गराए । एक जना शिक्षक थिए । मैले उनी जस्तो विनम्र र शालीन शिक्षक अर्को कोही देखेको छैन । बाटामा जुनसुकै विद्यार्थी भेट भए पनि ‘के छ बाबु, के छ बैनी’ जस्ता शब्दले अभिवादन गरेर प्रसन्न पार्थे उनी । कक्षामा हल्ला होस्, पछाडिबाट उत्ताउलो केटोले कागजको ढल्लाले हानोस् या खिसी गर्दै जिस्क्याओस्, उनी मुसुक्क हाँसिदिन्थे । त्यो बेला आन्तरिक मूल्याङ्कनमा प्राप्त भएकोमध्ये बिस प्रतिशत अङ्क अन्तिम परीक्षाको नतिजामा जोडिन्थ्यो । आन्तरिक मूल्याङ्कनमा अनुत्तीर्ण हुने विद्यार्थी अन्तिम परीक्षामा बस्न नपाउने नियम थियो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका शिक्षकहरू आन्तरिक मूल्याङ्कनमा समेत नम्बर हाल्न कन्जुस्याइँ नै गर्थे । तर यहाँ वणर्न गरिएका सर विनयी मात्र होइन, परम करुणा र दयाभावले ओतप्रोत घिउमान्छे थिए । उनले ‘यदि काममा निपुण छैनौ भने वाणी र दातव्यमा उदार बन’ भन्ने सूक्तिलाई अँगालेका थिए । आन्तरिक मूल्याङ्कनको नम्बर सुनाएर सबैलाई खुसी बनाएका उनको बारेमा कुरा गर्दै विद्यार्थीहरू भन्ने गर्थे, ‘यी गुरु पढाउनमा टाकटुके भए तापनि नम्बर दिने मामिलामा त घिउमान्छे नै हुन् ।’
एउटा मित्र भन्ने गर्थ्यो, ‘कि काम जान्नु कि कूटनीति जान्नु’ । दुवै जाने झनै बेस हो । काम नजाने पनि कुटनीति जानियो भने दुःख नपाई पार भइन्छ । काम नजान्ने या नगर्नेका लागि कुटनीतिका चार उपायमध्ये ‘साम’ निकै बलियो जुक्ती हो ।
एक जना कर्मचारी बडा कामचोर र चाटुकार थिए । उनी बिहान सबेरै मन्त्रीको कार्यकक्ष बाहिर ढुकेर बस्थे । मन्त्री आउने बित्तिकै नुहेको ज्यान लिएर भित्र पस्थे र बस नभन्दासम्म खडा पाउ उभिन्थे । उनको काम नै मन्त्रीको प्रशंसा गर्ने र चुक्ली लगाउने हुन्थ्यो । कामचोरको शालीनता र परम भक्ति देखेर मन्त्री प्रसन्न थिए । मन्त्री कामचोरलाई प्रशंसा गर्दै भन्ने गर्दथे, ‘अरुका लागि तपाईं कस्तो मान्छे हो मलाई सरोकार भएन, तर मेरा लागि तपाईं पस्मिनाको गलबन्दीझैँ हलुका र न्यानो मान्छे हो । तपाईं यो मन्त्रालयको घिउमान्छे हो । ती घिउमान्छे कर्मचारीले निजामती सेवामा रही नेपाल राज्य, सेवाग्राही र राष्ट्रिय समृद्धिको पक्षमा प्रशंसनीय योगदान गरेबापत सरकारबाट तक्मा पाए ।
अर्काथरी घिउमान्छेहरू बडो मनोरञ्जक हुन्छन् । एक जना घिउमान्छेले भाषण गरेछन्, ‘गोरखा भ्रमणमा जाँदा पृथ्वीनारायण शाहलाई भेट्ने अवसर मिल्यो । उहाँको व्यक्तित्वको भव्यता देखेर म त तीन छक परेँ । हामीबिच नेपालको राष्ट्रियता र राष्ट्रिय समृद्धिबारे बडो महत्वपूर्ण छलफल भएको थियो । त्यो भेटमा मैले उहाँलाई नजिकैबाट चिन्ने अवसर पाएँ । शाहजी पनि मलाई भेट्न पाउँदा खुसी हुनुभयो र भन्नुभयो, ‘तपाईं नेपालको वास्तविक घिउमान्छे हो ।’
०००
हाल अष्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest






































