साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री हुने पूर्वतयारी

आर्थिक चिहान खनिदैछ खनतन्त्र भने पनि काइदा भो । थाप्लामा करहरूका घनले हानिँदैछ यसैले हनतन्त्र भने पनि भो । ठुलाको मनपरी चलेको छ मनतन्त्र भने पनि भो । भनसुन बेगर एक सिन्को पनि भाँचिन्न भनतन्त्र भने पनि भो ।

Nepal Telecom ad

होम सुवेदी :

सम्माननीय सभामुख महोदय,
माननीय सदस्यहरू, अनि माननीया सदस्याहरू,

अब मेरो पालो बोल्ने आयो । बोल्नु नै त हो गणतन्त्रमा । यसका लागि धन्यवाद छ गणतन्त्र नामक छाउरो पाउने भालेपोथीलाई । केही धम्मरधुसहरूले मेरो पालो अलेलि मिचेर भए पनि आयो, आइछाड्यो । आएकोमा खुसी लागो । मैले देशको गणतन्त्रका बारेमा बोल्नु छ । आखिर बोल्नु नै त हो रहेछ गणतन्त्र भनेको । हामीले यही बोल्न पाएको कुरालाई उपयोग गर्दै म बोल्न चाहन्छु ।

माननीय सदस्यहरू र अनि माननीया सदस्याहरू, हाम्रो यस सभासमक्ष प्रस्ताव राख्न चाहन्छु । काम ता अहिले अरु केही पनि गरिन्न । काम ता जे तन्त्र आए पनि उही न हो । हिनामिना, लुटपाट, तस्करी, घुसखोरी आदि । यसैले अहिले सुहाउँदिलो खालको नाम हाम्रो गणतन्त्रको फेरौँ । यो गणसँग तन्त्र छ, नि हो यो तन्त्र चैँ रहिरहोस् । किनभने हामीले उहिल्यै जिजुबाजेकै पालादेखि तन्त्रमन्त्र धामी धन्वन्तरी गरिआएको हुनाले मान्छेका घाँटीमा पलाएको गाण जस्तो गणसँग जोडिएको गाँड अर्थात् तन्त्र चैँ राखिछाडौँ भन्न चाहन्छु ।
हाम्रोमा उहिल्यैदेखि काम ता उही हो । नाम राख्ने वा नाम फेर्ने कुरालाई महत्व दिँदै आइएको छ । कसले नाम फेरेन र ? कोही बादल भए, कोही विप्लव भए, कोही चण्ड प्रचण्ड भए, कोही ता प्रकाण्ड पनि भएका छन् । नाम फेर्ने कुरालाई विशेष ध्यानका साथ हेरिन्छ । नाम गतिलो भयो कि चल्यो समाजमा उसको नाम । हो अलिकति काम पनि गर्नु त पर्छ । स्वभाव गुण धर्म तिथि बार बेलाका आधारहरूमा नामकरण हुने चलन छ हाम्रोमा । हुन त होलीवाइन खानेहरूले अरु बेग्लै चालले नाम राख्लान् तरै पनि हाम्रोमा अहिलेसम्म उही पुरानो परिपाटी छ नामकरणमा । आइतबार जन्मेकालाई आइतमान, बुधबारकोलाई बुद्धबहादुर, बिहिबार जन्मेकोलाई बिरस्पति, चैतमा जन्मेकोलाई चैते, कात्तिकमा जन्मेकोलाई कात्तिके, पुसमा जन्मेकोलाई पुखे आदि नाम राख्ने चलन छ । हाम्रो गणतन्त्रलाई जन्मका आधारमा नभई गुनका आधारमा अब नामकरण गर्नुपर्छ भन्न चाहन्छु ।

जन्मका आधारमा राख्ता मूल नक्षत्रका दिन जन्मेकोले मूल्याहातन्त्र भन्नु पर्ने भो । मूल नक्षत्रमा जन्म हुनेले सबैलाई पिर्छ भन्ने उ छ हाम्रोमा । त्यसो भएको हुँदा मूल्याहातन्त्र भन्नु पर्ने भो । नाम फेरेपछि अलिक ग्रह सप्रन्थे र जनताले सुख सुबिस्ता पाउँथे कि भन्ने विचारले यो प्रस्ताव राख्न लागेको हुँ । उहिले पनि अरिष्ट हुन आँट्यो भने नाम फेर्थे वा मीत लाइदिन्थे र दशा भगाउँथे । यो चलन पुरानो हो । हाम्रो संस्कार पनि बचाउनु पर्छ । नक्षत्रतिरको नाम राख्नेपट्टि नजाऊँ होला माननीय सदस्य तथा सदस्याहरू । हाम्रा नेता अझ पनि जोतिषीकै भरमा आफू कति पटक प्रम हुने भनेर हेराइरहेका छन् भने जोतिषको परम्परा छँदै छ नि हैन र । ज्योतिषले ता जुन नक्षत्रमा जन्म्यो उही नक्षत्रअनुसार नाम हुनु पर्छ भन्छ । यसैले सही नाम ता मूल्याहातन्त्र नै हो । तर हेर्नोस् माननीय माननीयाज्यूहरू, मूल्याहा भन्ने कुरा जनताका अघि उति राम्रो भएन । भन्नलाई ता मूल्याहातन्त्र भन्नु नै पर्ने हो तर यसो नभनौँ । माननीय सदस्यहरू माननीया सदस्याहरू बरु यसलाई यसका धर्म वा गुनका आधारमा नामरण गरौँ भन्न चाहन्छु ।

यसको जन्म पछि देशमा धनको महत्व बढेको छ । धनका लागि जे पनि गर्ने कुरा आएको छ । सुनको अन्डा पार्ने कुखुराहरू छापछाप्ती भएका छन् । विदेशबाट सुनका अन्डा पार्ने चराहरू प्लेन चढेर एयरपोर्टमा कोरल्छन् र क्विन्टलसम्म ओजन भएका सुनका अन्डा पार्छन् । सुन भनेको धन हो । यसैले पहिलो प्रस्ताव धनतन्त्र नेपाल भनेर नाम परिवर्तन गरौँ भन्न चाहन्छु । विकल्पमा अरु नाम पनि हुन सक्छन् । यो आतङ्क, लुट, गुन्डागिरी, डकैतीको बिउबाट जन्मेको हो । जस्तो बिउ भो उस्तै जन्मन्छ । जस्तो बाबु भो उस्तै न हो बालो । गतिलो बिउ लगायो वा गतिलो राँगो वा गोरु लगायो भने मात्र गाई भैँसीले राम्रो बाछो पाडो पाउँछ । यो कुरा माननीय माननीयाहरूलाई थाहै छ । काउछोको बिउ रोपियो भने तोरी उम्रँदैन । धमिराका सन्तान छिचिमिरासम्म हुन्छन् तर बारुलो हुन्न । यसैले माननीय माननीयाहरू यसको नाम धनतन्त्र पनि हुन सक्ने कुरा सभामा राख्न चाहन्छु ।

अब विकल्पमा अरु पनि नाम पनि हुन छन् । यो जन्मसँगै देशमा डनको उधुम छ । कतै खुमलटारमा, कतै बालुवाटारमा, कतै मन्डिखाटारमा, कतै पालुङटारमा, कतै सिउचाटारमा, डनहरू वैरिएका छन् । टारमा मात्र किन र कोटहरूमा पनि डनहरू छन् । नुवाकोटदेखि धुरकोट, खुरकोट, थानकोट, जाजरकोट सबतिर डनै डन छन् । बालकोटमा ता झन् गजब डन होलान् । कोही डनका राजा छन् कोही उपराजा कोही सहायक राजाहरू छन् । डनराजारजौटाले ता चलाएको छ नि मुलुक । त्यस्ता झिनामसिना डनको कुरा के गर्नु । कति कति ! तिनको कमी हुने कुरै भएन । उज्यालोमा देखिने डन ता छन् छन् राति अँध्यारोमा काम गर्ने र नदेखिने डन कति हो कति ! यिनै डनले यो तन्त्रलाई अहिले चलाएको हुनाले यसलाई यिनको शैलीअनुसारको र शासन गुन र चलनअनुसारको नाम राख्नु पर्छ । यसैले यो तन्त्रलाई अब डनतन्त्र भनौँ भन्ने दोस्रो प्रस्ताव राख्न चाहन्छु ।

हुन त जनतन्त्र नेपाल भन्दा पनि हुन्थो । तर जन जति विदेश निर्यात गरेपछि निर्जनतन्त्र नेपाल भन्नु पर्ने बेला भइसकेकोले जनतन्त्र नेपाल भन्न मिल्दैन । हो बरु गनतन्त्र नेपाल भन्न सुहाउला । किनभने गन बोकेर हिँड्न मन हुनेहरूको निकै चल्ती छ । लुटेका गनहरू जङ्गलमा लुकाएर जनतालाई तिनै गनले धुल्याएर ल्याएकोले बरू गणतन्त्र भन्नु उपयुक्त होला । अस्ति लुट्पाट् गरेर एकठ्ठा गरेका गनहरू अहिलेसम्म पनि पड्किरहेका छन् ठाउँठाउँमा । हुन त बम पनि कम छैनन् । बमको कुरा पनि छ । तर बमतिर नजाऊँ । त्यो पड्किन्छ । खतरा छ । डर लाग्छ मलाई ता । देश बनाउन गनको निकै महत्व छ । गन देखाइदिए पछिलाई काम धमाधम हुने । नक्कली सक्कलीको कुरा छाडौँ । यसैले गनतन्त्र नेपाल भन्दा कसो पर्ला माननीय माननीयाहरू । यसैले यो नाम पनि प्रस्तावका रुपमा वा विचार गर्नका लागि यो सभासमक्ष आग्रह गर्दछु ।

त्यसो त जनताका थाप्लामा अर्थको, विभेदको, तेरो मेरोको, स्वार्थको गतिलो घन पनि चुटिँदैछ । यस अर्थमा सङ्घीय घनतन्त्र नेपाल भन्न पनि सकिने भो । त्यसमा पनि विचार पुगोस् माननीय माननीयाहरू । उसो त जनताको आर्थिक चिहान खनिदैछ खनतन्त्र भने पनि काइदा भो । थाप्लामा करहरूका घनले हानिँदैछ यसैले हनतन्त्र भने पनि भो । ठुलाको मनपरी चलेको छ मनतन्त्र भने पनि भो । भनसुन बेगर एक सिन्को पनि भाँचिन्न भनतन्त्र भने पनि भो । जनतालाई साधारण काममा पनि फनफनी घुमाउने काम छ यस विशेषतालाई हेरेर यसको नाम राख्ने हो भने फनतन्त्र भने पनि भो । आर्थिक सामाजिक राजनीतिक दुष्कर्मीहरूका पापाचारी वृत्तिले देश टनटन पिलो बल्केझैँ बल्किएको छ । यस अर्थमा टनतन्त्र भने पनि भो । गुनकै आधारमा नाम फेरौँ । अरु नाम पनि उपयुक्त नै होलान् तैपनि १ सङ्घीय धनतन्त्र नेपाल, २ सङ्घीय गणतन्त्र नेपाल, वा ३ सङ्घीय डनतन्त्र नेपाल मध्येमा एउटा नाम उपयुक्त हुने कुरा माननीय सदस्यहरू र सदस्याहरूमा राख्न चाहन्छु ।

र, मेरो भनाइको अन्त्यमा..
रोस्टममा उभिएर भासन गर्दै दिएँ अचानक जिउमा तातो पानी खनिएकोले झल्याँस्स भएँछु । सँगै सुतेका नातिले मेरै जिउतिर फर्काएर सुसु गरिदिएछ ।
ज्या है सपनैमा भए पनि मन्त्री हुन तयारीका लागि काम गरिँदै थियो । यो पनि खतम… !!

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x