साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखिल नेपाल राष्ट्रिय खैरे दलको योजना

बुहारीहरूलाई सासूले धेरै दुःख दिएकोमा सासूहरूबाट बुहारीलाई मुक्त गर्नेदेखि लिएर देशमा जनतालाई ढेडुबाँदरले दुःख दिएकोमा ढेडु बाँदर खेदिमाग्ने मागहरू पनि रहेछन् ।

Nepal Telecom ad

हाेम सुवेदी :

के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले सोधें जुँगे खैरे बूढालाई । कैलेकाहीं म उनका साथ जिस्कन्छु । उनी बढो रउसे मान्छे छन् । उनलाई पैसाको कमी छैन, उनी पुराना जमिन्दार हुन् । उनको जमिनदारी अझै पनि कायमै छ । उनको जमिनमा काम गर्नेहरू अहिले पनि उनले जे भन्यो त्यही गर्न सक्छन् । यसैले उनका हातमा निकै मान्छे पनि छन् । उनलाई हामीहरू उनको पछिल्तिर खैरे बूढा भन्छौं तर उनी कुलप्रताप सिंहबहादुर हुन् । अहिले पनि उनको परिवारमा राइँदाइँ छ । उनको विरोधी उनका ओरिपरि कोही पनि छैन । अर्थात् खैरे बाको जोरीपारी कोही छैनन् । छोराछोरी कमाउ उद्योगमा छन् । पत्नी बितिन् । मनमा आएको कुरा गरिहाल्नु उनको विशेषता छ । उनका घरमा यदाकदा म पुग्दछु । उनी पनि मेरा घरमा कहिलेकाहीं आउँछन् । उनी एउटा पार्टीमा थिए, पार्टी छाडे अरे भन्ने कुरा गाउँघरमा गाइँगुइँ छ ।

यसै अवस्थामा उनकोमा म पुगेको थिएँ । ‘यसो झन्डाको नक्सा बनाइटोपलेको हाउ सर, निकै खिप्ती गर्दा पनि भइराख्या पो छैन !’ उनले मलाई देख्नासाथ भने । ‘कस्तो बनाउँदा राम्रो पर्ला ?’ उनले मलाई सल्लाह माग्ने गरी सोधे पनि ।

म उनीसँग ठट्टा पनि गर्छु । ठट्टा गर्दै मैले उलाई भनें- ‘केका लागि चाहियो झन्डा ? पार्टी छोडिहाल्नुभो क्यारे । अब के काम झन्डाको ? अब के एक्लैलाई झन्डा चाहियो र ? कमन्डलु लिनु । सन्यासीको लागि हनुमाने झन्डा भए भइहाल्ला नि ! बम भोले भन्नु भिक्षा माग्नु र बाँकी जीवन बिताउनू नि !’

‘तपाईं पनि कुन दुनियाँमा छौ हाउ सर । रिटार भएपछिको समय भनेको नै राजनीति गर्ने हो, बुझ्नु भएन के ? तपाईं पनि अब रिटारी लेऊ, मेरो पार्टीमा प्रवेश गर ।’ उनले बडो चतुरताका साथ भने । ‘तपाईं हेर है, मैले नयाँ पार्टी खोल्ने विचार गरेको छु । अनि झन्डा चाहिएन त !’ उनको भनाइ थियो ।

मलाई पनि रमाइलो गर्न मन लाग्यो । अनि भनेें— ‘नरिओल हातमा बोकेको एउटा एक्ले रातो बुलाहा बाँदर माझमा राखिएको नक्सा भएको झन्डा बनाए भइहाल्यो नि । किन अरु चाहियो ?’

मेरो व्यङ्ग्य उनले बुझेछन् । अनि उनले मलाई अलिक गाली गरे । तपाईंलाई ता मेरो पार्टीमा उच्च स्थान दिने विचार पो राखेको छु त । आजैदेखि तपाईं लाई मनोनित गर्न चैं गरें तर तपाईंको चाला यस्तै हो भने ता कारबाहीमा पर्न सक्नुहुन्छ नि । पार्टीको पोलिटबुरोभित्र वा सोलिट बुरोमा राख्ने मेरो विचार छ । म ता अझै अरु कुनै उच्च पद दिउँला भनेको ता के हो चाला ? खयर भइगो, यी कुरा । तपाईंं दिल्लगी नगर है । मेरो मनले खाएको मान्छे तपाइँ नै हौ । मैले नयाँ पार्टी खोलें भने पनि भो । म सभापति भइहाल्छु यसमा ता कुरै भएन । तर तपाईंलाई महासचिब बनाउँदा राम्रो कि उपसभापति ? कि पोलिटबुरो ? के भन्नुहुन्छ ? तपाइँ को रोज्जा है । जुन मन लाग्छ त्यही लेऊ ।

एक्ला मान्छेको पार्टीमा के पस्नु ? मैले भनें ।
तपाईंलाई ता थाहै रैनछ । धेरै भको पार्टीमा जाँदा के फाइदा हुन्छ ? सबैलाई पदहरू पुर्‍याउँदैका दास्ती । बरु थोरै भएको पार्टीमा बस्यो औसर जति आफ्नै हातमा पर्छन् । पोरपरार गज्जुबाबुको पार्टीबाट एक्ला गज्जुबाबुले हालीमुहाली गरेको देखेका थिएनौ तपाईंले ? यता अहिलेका पनि केही पार्टीहरूका मान्छे एक्लो भएको कारण सधैं मन्त्रीका मन्त्री छन् ।

भइगो मलाई तपाईंको पार्टीमा ठाउँ नभए पनि हुन्छ । मैले भन्या मात्र के थिएँ, उनी कस्सिए, कसरी हुन्छ तपाईंलाई पार्टीमा ठाउँ नदिई ? तपाईं मेरो पार्टीको बुद्धिजीवी फाँटको मान्छे हुन ठहराएको छु । कति माग पत्रहरू तयार पार्नुपर्नेछ, अहिले मैले खाली मसौदा मात्र तयार गरेको छु । बाँकी तपाईंलाई जिम्मा लगाऊँ भनेको ता कुरा बाउँठा पो गर्छौ त । हैन खाने सुर छैन कि क्या हो मन्त्री पद । मलाई अलिक कडो वचनले हकारे । म पनि अलिक चूप लागेर बसें ।

उनले ता पार्टी मात्र नभई पार्टीका नामबाट गरिने मागहरू पनि तयार पारिसकेका रहेछन् । पार्टीको नाम तय भइसकेको रहेछ । पार्टीको नाम ‘अखिल नेपाल एकल खैरे दल‘ राख्ने सर्त रहेछ । उनले चाँडै हडताल गर्ने योजना पनि तयार पारेका रहेछन् । हडतालका लागि मैले मेरा विद्यालयका विद्यार्थीहरू ल्याइदिएर सघाउनु पर्ने उनको विचार रहेछ । वास्तमा म पनि उनकै जमिनमा बस्ने उनकै एक जनता ता थिएँ । उनको ठूलो विरोध गर्नासाथै म सुकुम्बासी हुन सक्थें । यसैले म चूपै लागें । मबाहेक मेरा छिमेकी जो उनकै जमीन खनजोत गरेर मजदुरी गर्थे ती मजदूरहरूलाई हडतालको काममा खटाइसकेको, केही टायर जुटाइदिइसकेको, अलिक होस पुर्‍याएर ढुङ्गा हान्नका लागि जनवल तयार पारिसकेको, राँके जुलुसका लागि केही भाटाहरू तिखारिसकेको, मट्टीतेल तयार भइसकेको, लाठी जुलुस गर्ने योजना तयार गर्दै गरेको र त्यो जुलुसमा सहभागी हुनेहरूलाई ज्याला समेत अग्रिम रूपमा दिएर तम्तयार राखिएको कुरासमेत मलाई उनले स्पष्टसँग राखे । कुरा नढाँटी भनेकोमा उनले मलाई निकै विश्वास गर्दारहेछन् भन्ने लाग्यो ।

म खैरे बाको दिमागमा राजनीतिक भूत चढेको देखेर के गरौं के गरौं भइरहेको थिएँ । अस्तिसम्म मात्र उनी नेपालका ठुला पार्टीमा थिए । पार्टीबाट जोरी खोजेर अहिले उनी निकालामा परेका छन् । म पनि उनैको जमिनमा बसेको र विद्यालयमा पढाएर जीविका चलाएको मान्छे थिएँ । अनि बाध्य भएँ उनको पार्टीबारे केही सोच्न । उनको दीर्घकालीन तयारी देखेर म ता तीनछक्क परिसकेको थिएँ ।

उनले एउटा सिंगो कापी दिंदै मलाई भने- यसमा मैले मागहरूका बुँदा टिपेको छु, यिनमा थप्नुपर्ने र छाँट्नु पर्ने भए तपाईंको जिम्मा भो, लौ यी मागलाई साफी गरेर दिनुहोला । म अहिले झन्डाको परिकल्पना गरिरहेको छु भन्दै उनी कागतमा केके कोर्न थाले । म भने उनका मागहरूको पोथी पल्टाउन र तिनलाई ध्यान दिएर पढ्न थालें । मागहरू के थिए भन्दा पनि कति थान थिए भन्नेतिर मेरो ध्यान पहिले गयो । मागहरूको संख्या जम्मा १६० रहेछ । मेरो ता मागहरूको संख्याले नै दिमाग चटायो । सबै मागहरू सरकारका साथ नै राखिएको भाकामा रहेछन् । ती मागहरू पढ्दै गएँ, देशमा गोठालाहरू नपाएकोमा गोठालाहरू जुटाइदिने, जवान हुनासाथ छोराछोरीको बिहे गरिदिनु पर्नेसम्मका माग रहेछन् । बुहारीहरूलाई सासूले धेरै दुःख दिएकोमा सासूहरूबाट बुहारीलाई मुक्त गर्नेदेखि लिएर देशमा जनतालाई ढेडुबाँदरले दुःख दिएकोमा डेढुबाँदर खेदिमाग्ने मागहरू पनि रहेछन् । यी अनेकौ मागहरूदेखि बाहेक कुनै एकल बूढोको एकल हुनासाथै सरकारले विवाह गरिदिनु पर्नेसम्मका मागहरू पनि जम्मा गरेका रहेछन् । उनको मागका यस पोथीले मलाई रिँगटा छुटाइसकेको थियो । उनको यो करामत देखेर मेरो गिदी नै हल्लियो । अनि भनें- के हो यो मागको महाभारत ? यति पनि माग हुन्छन् ? १६० किन पुर्‍याउनुभएको ?

किन हुँदैनन् ? बारबूँदेदेखि आजसम्मका सबै मागहरू एकै ठाउँमा थुपार्ने हो भने कति पुगे होला ? सबै नेपालीका लगि एकएक ओटा पुग्ने जति भइसके भन्ने तपाईंलाई हेक्का छ ? चालीस बुँदेलाई अरु चालिस बुँदा थप्ता हुन्छ भने अब असी बुँदालाई अरु असी बुँदा थप्न किन मिल्दैन ? ८० भनेका उनै हुन् अरु नयाँ ८० ओटा तिनैलाई तानतुन पारेर मिलाएको हुँ । तपाइँकाे केही भए दफा उपदफामा राख्नु होला । अहिले १६० भन्दा माथि जनाऊँ । लौ, तुरुन्त साफी गर्नुहोस् । मैले पार्टीको घोषणा गर्न लागेको छु । घोषणापत्र तयार गर्ने जिम्मा तपाईंको हुनेछ । त्यसलाई र अहिलेका मागहरूसमेतलाई बैठकमा अनुमोदन गराउने काम मेरो भो । तपाइँ चूप लागेर अध्यक्षले दिएको काम गर्नुहोस् । उनले कडो आदेश दिए । म भने यी कुरालाई अब कसरी साफी गर्ने हो भनेर खिन्न हुँदै घररित लागें ।

०००

खुइलिएकाे तालु (२०७०) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x