सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सगरमाथाको गहिराइ

म मर्नुअघि मेरा बूढा भएका बुबाका नङ नदुखाईकन काट्न चाहन्छु म मर्नुअघि मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु म मर्नुअघि मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुरास हेर्न चाहन्छु म मर्नुअघि ।

Nepal Telecom ad

नवराज पराजुली :

यो संसारको
कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससँग सापटी माग्नु
म त गुराँसको देशको मान्छे
तर
यो कुरा पछि गरौँला कि
मैले खाने चामलको रङ किन्न
म आफूचाहिँ अरब आएको छु ।
यो संसारको
कुनै महान् परोपकारीलाई
यो विश्वकै फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशको नदीसँग सापटी माग्नु
तर
यो कुरा पछि गरौँला कि
मेरो घिटघिट गर्दै गरेको छोरोको घाँटीलाई चाहिने
दुई थोपा औषधि किन्न
म आफूचाहिँ अरब आएको छु ।
विद्युत उत्पादनमा
संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले
मेरो बिदाइमा आएकी मेरी श्रीमतीको आँखाबाट खसेको आँसु
भेला गरेर एकैचोटि टर्वाइनमा खसायो रे

एक मेगावाट बिजुली निकाल्यो रे
तर
मेरो देशको आकाशमा अझै पनि काला ताराहरू चम्किरहन्छन् ।
मलाई थाहा थियो
खाडीमा पैसाको बाढी आउँदैन भनेर
तर
भन्दिनेले
मेरो प्वाल परेको छानोबाट राति तारा र्झछन् भन्दिए

भन्दिए
ताराका टुक्राले मेरो परिवारलाई टुक्रा-टुक्रामा फुटाउनेछन्
मेरो मनमा गाँठो पर्‍यो
त्यो पनि सुर्क्याउने बिनाको
भन्दिनेले पैसामा बाआमाले पनि छहारी फेर्छन् भन्दिए
सोचेँ
तातेताते गराउने बुबाको हात किन्नु पर्‍यो भने ?
हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नु पर्‍यो भने ?
बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ?
दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्‍यो भने ?
मैले त मेरो ईश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो ऊ ईश… वर होइन ईश… पर थियो
तर
म त बुद्धको देशको मान्छे
त्यसैले शान्त भएर अरब आएको छु ।
मैले मलाई जन्माउने देवता छोडेर
म आएको यो अरबमा रबचाहिँ कहाँ छ ?
यो मरूभूमिमा मरुँ भन्ने मान्छे मात्र भेट्छु
जब घडीमा बाह्र बजेको देख्छु
यस्तो लाग्छ
यो घडीका तीनैवटा काँटाहरू सामूहिक आत्महत्या गर्दै छन् ।
यो रूवाजस्तो मन बालुवासँग लड्दा लड्दा
यहाँ मेरो जवानी पग्लिन्छ
घरमा रुँदारुँदा
श्रीमतीको सिरानी पग्लिन्छ
ए देश !
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाई !
म मर्नुअघि
मेरा बूढा भएका बुबाका नङ नदुखाईकन काट्न चाहन्छु
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु
म मर्नुअघि
मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुरास हेर्न चाहन्छु
म मर्नुअघि
मेरी छोरीले
उसकी आमाले तिखारी दिएको पेन्सिलले
पहिलोपल्ट लेखेको “क” हेर्न चाहन्छु ।
ए देश !
मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्के भने त ठिकै हो
तर
त्योभन्दा ठूलो रातो काठको बाकसमा
म आफैँ भरिएर फर्के भने ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल