सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रतीक्षा पारिश्रमिकको

चिन्ताले गर्दा म दुब्लाइसकेको छु । सम्पादकज्यू, जीव हत्याको पाप लाग्ला, समयमै विचार पुर्‍याउनु होला है । मेरो दिनचर्या अव्यवस्थित भएकोले जागिरका लागि भनसुन र चाकरी क्रियामा अवरोध आएको छ ।

Nepal Telecom ad

योगीश कृष्ण :

सम्पादकज्यू,
सादर नमस्कार, (यस कारण कि तपाईंको पत्रिकामा मेरो रचना प्रकाशन भएको छ)

तपाईँ चिन्नु न जान्नु मान्छेको मैले केही बिगार गरिदिएको छु जस्तो त लाग्दैन । हाम्रो सम्बन्ध भनेको मैले आफ्नो रचना प्रकाशनार्थ पठाएँ, तपाईंले आफ्नो पत्रिकामा प्रकाशन गर्नुभयो । त्यति मात्र हो । तैपानि मसँग किन र केको बदला लिइरहनु भएको छ, मैले बुझ्न सकेको छैन ।

एक महिनाभन्दा बढी भयो, मेरो मन त्यसरी नै छटपटाइरहको छ जसरी प्रेमिकाको पत्र नपाउँदा प्रेमी महोदयको मन छटपटाउँछ । तर्कना गर्न थाल्छ कतै त्यो फलानो पनि खूबै पछि लाग्दथ्यो, उफ कतै ! मलाई त के पनि लाग्छ कालीदासले मेघदूतको रचना मेरै जस्तो अवस्था भएका बेला त गरेका होइनन् ?

मेरो मन राम्रा नराम्रा अनेक तर्कना गर्न थाल्छ । कतै सम्पादक नै परिवर्तन भए कि ! त्यसो त नहोला । सम्पादक नै प्रकाशन नै हुन् । न मेरो ठेगाना गलत लेखे । होइन, त्यस्तो त हुनै सक्दैन । तलमाथि पर्ला भनेर मैले आफ्नो ठेगाना स्पष्ट लेखेको हो ।

सम्पादकज्यू, तेत्तीस कोटि भगवानलाई तन मन (धन त भए पो) ले प्रार्थना गर्दै आएको छु- उनको गाथमा कुनै तलबितल नपरोस् । स्वस्थ रहून् । प्रशन्न रहून् । सक्रिय रहून्, कम से कम यति सक्रिय त रहून् जसले गर्दा उनी मेरो पारिश्रमिक पठाउन समर्थ होऊन् ।

सम्पादकज्यू, मेरो दुःख यत्रिमात्र हो र ? आजकाल मेरो ध्यान रुस-अफगानिस्थान, भारत- अमेरिका कतैतिर पनि जाँदैन । बस, मेरो पारिश्रमिक कहिले आइपुग्ला । ध्याउन्नै त्यसमा छ । मन एकाग्र भएर त्यसमै लिन छ । चिन्ता यति मात्र छ- कतै यसैगरी समाधिस्थ भएर मेरो पार्थिव देहले मुक्ति त पाउने होइन ? त्यसैले म जबरजस्ती सांसारिक बस्तुतिर लगाउन खोज्छु- पारिश्रमिकबाट प्राप्त रकमले म यो यो काम गर्छु । हुन पनि सम्पादकज्यू, बिहान उठ्दा मेरो आँखामा कचेरा हुन्छ । भित्री आँखामा तपाइँको काल्पनिक स्वरूप र तपाइँले पठाउनुहुने पारिश्रमिक सहितको पत्र ।

बितेको २०-२५ दिनदेखि हुलाक व्यवस्था र सञ्चार मन्त्रालयलाई यति सरापिसकेको छु कि, मेरो सराप फलिभूत हुनेभएको भए अहिले त्यो मन्त्रालयको नाम नै परिवर्तन भैसकेको हुने थियो । मेरो टोलमा नियमित आउने हुलाकीले मलाई राम्रैसँग चिनिसकेको छ । टाढैबाट मुन्टो हल्लाइदिन्छ । अर्थात कुनै पत्र छैन ।

अचानक एक दिन मनमा नयाँ आशा पलायो । पारिश्रमिक लिएर कतै सम्पादक आफैं त आउने होइनन् ? उनले कसरी मलाई चिन्लान् । मेरो बासथलो के गरी पत्ता लगाउलान् ? कसैसँग सोध्लान् ? जसलाई उनले सोध्ने हुन्, उनले मलाई नचिनेके पनि हुन सक्छ । सम्पादकज्यू यत्तिकै फर्किने पो हुन् कि । त्यसो भयो भने बर्बादै पो हुन्छ । त्यसैले बिहान सातदेखि बाह्र बजेसम्म दोबाटोमा तपाईंलाई कुरेर बस्ने गरेको छु । म सधंै, उही समयमा नियमित उभिने गरेकोले मानिसहरू कुरा काट्न थालिसके- काम न काजसँग यो मानिस सधैं यत्तिकै यहाँ उभिन्छ । उनीहरूबीचको एक आध खासखुस मैले सुनिसकेँ- यो मानिस अलि अलि खुस्के जस्तो छ ।

सम्पादकज्यू, हो, मेरो मानसिक अवस्थामा केही न केही असर त पारेको छ । तर त्यति पनि होइन, जति उनीहरूले सोचेका छन् । अँ साँच्चि, आज त झन् हुनु भयो । म जुन ठाउँमा उभिएर तपाईंको प्रतीक्षा गरेर बसिरहेको हुन्छु, त्यतैबाट क्याम्पस गइरहेकी एक जना छात्रा आफ्नी साथीलाई भन्दै थिइन् “ऊ त्यो । दाह्री पाल्ने काले छ नि । हो सधैं मलाई कुरेर बसिरहेको हुन्छ । हेर्दा कस्तो डरलाग्दो छ हगि ? गुण्डा मोरो ।”

सम्पादकज्यू, कहाँ लेखक हुन्छु भनेर लागि परेको मानिस गुण्डामा दरिइसकेँ । लेखक गुण्डा हो भने सम्पादक के हुन्छ, आफै विचार गर्नु होला । म तपाईंको त्यो पत्र जसमा मेरो पारिश्रमिक पनि गाभिएको हुन्छ, त्यसको यति व्यग्रताका साथ पर्खेर बसेको छु, जसरी निम्न तहका कर्मचारी एक गते पर्खेर बसेका हुन्छन् । अब दुईचार दिनमा तलब आइहाल्छ भनेपछि तिनलाई सय पचास रुपियाँको सापटी उधारो पनि पत्याउँछन् । तर म जस्तो वेकारलाई कसले पत्याउने ? पारिश्रमिक आएपछि बरु फिर्ता गरौँला भनेर एक जना साथीसँग बल्लतल्ल ५० रुपियाँ सापटी लिएँ । मेरो साथीले त्यो पैसा फिर्ता पाउने वा नपाउने तपाईंको हातमा छ । तपाईंले मेरो पारिश्रमिक नपठाउँदा म एक जना पीडित थिएँ । अब थपिएर दुई जना भयौँ ।

यो त भयो बिपनाको कुरा । मेरो सपनामा पनि तपाईंको हस्तक्षेप हुन थालेको छ । पहिले. पहिले सपनामा जागिर पाएको. देख्थेँ । बिहान उठ्दा जिउ फूर्तिलो हुन्थ्यो । आजकाल त्यसो हुन्न । कहिले तपाईंले पठाउनु भएको पत्र हराएको देख्छु । कहिले चेक च्यातिएको देख्छु । कहिले पैसा हावाले उडाएको देख्छु त कहिले नदीमा बगेको देख्छु । बिहान उठ्दा खाली हात देखेपछि मेरो उत्साह मरेर जान्छ । चिन्ताले गर्दा म दुब्लाइसकेको छु । सम्पादकज्यू, जीव हत्याको पाप लाग्ला, समयमै विचार पुर्‍याउनु होला है । मेरो दिनचर्या अव्यवस्थित भएकोले जागिरका लागि भनसुन र चाकरी क्रियामा अवरोध आएको छ । एक जना विआइपीले त आफ्नो रुष्टता पनि व्यक्त गरिसके- यस्तो चालमालले जागिर सागिर भेटिन्न है । जागिर खाने लक्षण नै छैन ।

सम्पादकज्यू, मेरो भविष्य समेत धाराशयी हुने अवस्थामा पुग्ने पो कि भन्ने डर लाग्न थालेको छ । त्यो डरबाट मुक्ति दिलाउने एक मात्र आराध्य तपाईं नै हुुनुहुन्छ । तपाईंको पत्रिकाले विज्ञापन र आर्थिक सहयोग पाइरहोस् । शुभकामना ।

तपाईंको
द्रव्याभिलाषी लेखक

०००
नर्घो, सप्तरी
मधुपर्क, (जेठ, २०४०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुखको एकछिन्

सुखको एकछिन्

याेगीश कृष्ण
अन्तर्वार्ता

अन्तर्वार्ता

याेगीश कृष्ण
म कवि भएको छु

म कवि भएको छु

याेगीश कृष्ण
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’