साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उँघमय सदन, सुखी सांसद

सांसद विकास कोषको रकम वृद्धि हुँदा सदनमा प्रशन्नताको लहर फैलिएको थियो । यस्ता रचनात्मक काम भइराख्नुपर्छ । जसले गर्दा सांसदहरू उँघ्ने निदाउने गर्दैनन् ।बेला बेलामा सांसदका परिवारलाई विदेश भ्रमण, भत्ता आदिको व्यवस्था गरिदिए सदनको कारबाही अझ राम्रोसँग चल्थ्यो ।

Nepal Telecom ad

योगीश कृष्ण :

समाचारपत्रमा सदनभित्रको तस्वीर छ । टेलीभीजनमा पनि सचित्र समाचार प्रसारण भएको थियो । केही सांसदहरू आनन्दसँग निदाइरहेका थिए । केही उँघिरहेका थिए । केही भवनबाहिर बेन्चमा निदाइरहेका । तिनका अनुहार कति कोमल छ । कति अबोध । निस्फिक्र छन, शान्त अनि स्थिर छन् । भर्खरै दुग्धपान गरेर निदाएको बच्चा जस्तै । नेपाल आमा पनि आफ्ना विशिष्ट सन्तानको यो अवस्था देखेर कत्ति खुसी भएकी हुँदी हुन्- कठै, मेरा बच्चाहरू कति मायालाग्दा छन् ।

सदनमा सांसदहरू निदाउँछन् । उँघ्छन् । यसबाट प्रमाणित हुन्छ- संसदमा कुर्सी तोडफोड हात हालाहाल मात्र हुँदैन । कुतर्क गर्ने ठाउँमात्र होइन, संसद । सांसदहरू गाली-गलौज र हल्लामात्र गर्छन् भन्ने जनतामा जुन भ्रम छ, त्यसबाट मुक्त गराउन संसद सफल भएको छ । सदनमा सांसदहरू उँघ्छन् र निदाउँछन् पनि । यो संसदको उपलब्धि हो । यी सांसदले संसदको गरिमा उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । धन्य छन् । यस्ता सांसदलाई पुरस्कृत गर्ने संवैधानिक व्यवस्था नै हुनुपर्ने थियो । भविष्यमा संविधान संशोधन गरेर यस्तो प्रावधान समावेश होला नै ।

भरपेट खान नपाउने लाखौँ जनाताको मत प्राप्त गरेर संसदमा पुगेका जनप्रतिनिधि सदनभित्र निदाउनु चानचुने कुरा होइन । यतो काठोर कार्य सम्पन्न गर्न साधारण मानिसको बुताबाट सम्भव पनि हुँदैन । सांसदहरू असाधारण क्षमतावान् छन् । त्यही भएर सदनमा निदाउन सक्छन्, र उँघ्न पनि । नेपाल र नेपालीको अहोभाग्य हो, यस्ता सांसद पाउनु ।

सन्त कविर दासको एउटा दोहा छ –
“सुखिया सब संसार है, खावै और सोवै,
दुखिया दास कबीर है, जागै और रोवै ।

यसको अर्थ जो सुखी छन्, खान्छन् र निदाउँछन् । दुखी जाग्राम बस्छन् र निदाउँछन् । त्यसो भए पेट भरिएका सांसदहरू मात्र निदाउँछन् ? के भोका सांसदमात्र सदनमा उठिरहेका हुन्छन् -खान पाउने आसमा वा अवसर पर्खेर ? संसदीय प्रजातन्त्रको विषयमा अध्ययन अनुसन्धान गर्ने विद्वानले यस विषयमा ध्यान देलान् नै ।

सांसदहरू निदाएको देखेर मलाई डाढ लाग्छ । म अनिँद्राको रोगी हुँ । कथंकदाचित म सांसद भएँ भने निदाउन सक्छु ? कि संसदमा भइरहेका क्रियाकलापले निदाउन बाध्य पार्दछ । यो पनि सम्भव छ कुनै मन्त्री वा सरकार प्रमुखको भाषण सुन्दा निद्रा लागेको होओस् । त्यस्तो हो भने पनि यो महत्वपूर्ण उपलब्धि हो । कुन नेताको कति मिनेटको आकाशपाताल जोडेको भाषण सुन्दा निद्रा लाग्छ, त्यतिमात्र पत्ता लगाए पनि अनिद्राका रोगीहरूले प्राकृतिक उपचार पाउने सम्भावना हुन्थ्यो । चिकित्सा क्षेत्रमा हाम्रो संसदको महत्व कत्रो इज्जत बढछ, अनुमान गरौँ ।

भरपेट खान नपाउने लाखौँ जनताले मत दिएर सदनमा पठाएका प्रतिनिधि उँघिरहेका छन् । कोही निदाइरहेका छन् । बिना कुनै चिन्ता । सभाकक्षमा आफैसरह जनताबाट चुनिएर आएका सांसदहरू मस्तसँग निदाएको देख्दा माथि बसेका सभामुख के सोच्दा हुन् ? आहा , यी कति भाग्यमानी छन् । मन लागे निदाउँछन् । मनलागे उँघेर बस्छन् । बेला बेलामा काठको हथौडी ठोकेर उनी सांसदहरूको आराममा खलल पुर्‍याउँछन् । विचरा, ईर्ष्या लाग्दो हो ।

भनिन्छ- चिन्ता भयो भने निद्रा लाग्दैन । यसको मतलब सांसदहरूलाई कुनै चिन्ता छैन । को भोको छ, को रोगी छ, को बेरोजगार छ, को अन्यायमा परेको छ, यी सब कुराको चिन्ताबाट मुक्त सांसदहरू निदारहेका छन् । उँघिरहेका छन् ।

व्यक्तिगत तवरले म साांदहरूलाई चिन्दिँन । तर उनीहरू बीचको संवाद कस्तो होला, त्यसको अनुमान गर्न सक्छु “माननीयज्यू, आजको सदनको कारबाही कस्तो रह्यो ?”
“त्यति धेरै उपलब्धिमूलक पनि भएन । दुई घण्टा त रामै सुतियो । एकआध घण्टा उँघियो होला । अनि आफ्नो सुनाउनूस् न ।”

“तपाईं सत्ता पक्ष हुनुहुन्छ । जति सुते पनि भो, उँघे पनि भो । हामी प्रतिपक्षीहरूले विरोधमा टेबल ठटाउनु पर्ने, नारा लगाउनु पर्ने काम पनि त गर्नु पर्‍यो नि । त्यही भएर तपाईंहरू जति अवसर पाइएन । माननीयज्यू, हुन त हामी फरक फरक दलका हौँ । तैपनि सांसदहरूको हक अधिकारका लागि एक जुट भने हुनुपर्छ । प्रधानमन्त्री आएर बेहोस हुन पाउने । कोही सांसद आएर रुन पाउने । हामी राम्ररी सुत्न उँघ्न पनि नपाउने ? यो त अन्याय हो कि होइन ?”

“मानन्नेज्यू, मलाई त सदनभित्र आरामगृहको व्यवस्था हुनुपर्छ । जनताका लागि यत्रो मरिमेटेर अहोरात्र खटिरहेका छौँ, हाम्रो आरामको व्यवस्था हुनुपर्छ कि पर्दैन ? यसरी कहीँ देशको विकास हुन्छ ?”
माननीयज्यूले भनेझैँ देश विकास हुने भयो भने सदनमा के होला ? सदन आरम्भ हुनासाथ सभामुखले भन्ने थिए “माननीय सदस्यज्यूहरू, सदनको कारबाही अब आरम्भ हुँदै छ । जुन जुन सदस्यज्यूहरूलाई निदाउनु छ, उहाँहरू देब्रैतिर अवस्थित आरामगृहतिर प्रस्थान गरिदिनु हुन अनुरोध छ । जो सदस्यहरू उँघ्न मात्र चाहनुहुन्छ, उहाँहरू दाहिनेतिरको कक्ष उपयोग गर्न सक्नुहुन्छ । महिला सदस्यहरूका लागि हाललाई निदाउँने र उँघने दुवैका लागि एउटै कक्ष उपलब्ध छ । यसका लागि क्षमा याचना गर्न चाहन्छु । आगामी सत्रमा नयाँ कक्षको निर्माण सम्पन्न भइसक्ने कुरा माननीय सदस्यज्यूहरूलाई सहर्ष जानकारी गराउँछु ।”

मित्रवर बन्धु भने यी सब कुरा ठिक मान्दैन “संसद सधैँ उँघमय हुँदैन । कति पटक सबै सांसद सक्रिय रहको इतिहास पनि छ । सरकारले सबै सांसदलाई भन्सार छुटमा गाडी आयात गर्न दिने घोषणा हुँदा सबै सांसद गदगद भए । सदनभित्र हाँसोको फोहरा छुटेको समाचार समेत प्रकाशन भएको थियो । सांसद विकास कोषको रकम वृद्धि हुँदा सदनमा प्रशन्नताको लहर फैलिएको थियो । यस्ता रचनात्मक काम भइराख्नुपर्छ । जसले गर्दा सांसदहरू उँघ्ने निदाउने गर्दैनन् । बेला बेलामा सांसदका परिवारलाई विदेश भ्रमण, भत्ता आदिको व्यवस्था गरिदिए सदनको कारबाही अझ राम्रोसँग चल्थ्यो ।”

हाम्रा नेता यति प्रतिभाशाली छन्, बन्धुले भनेको भन्दा अझ बढी सक्रिय हुन सक्छन् ।
सांसद निदाउन् वा उँघून् । मलाई कुनै आपत्ति छैन । विभिन्न कालखण्डमा यसरी सुत्ने शासकलाई सदाका लागि सुताइदिएको विश्व इतिहास छ

०००
रचनाकाल २०५३ साल,
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x