साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उँघमय सदन, सुखी सांसद

सांसद विकास कोषको रकम वृद्धि हुँदा सदनमा प्रशन्नताको लहर फैलिएको थियो । यस्ता रचनात्मक काम भइराख्नुपर्छ । जसले गर्दा सांसदहरू उँघ्ने निदाउने गर्दैनन् ।बेला बेलामा सांसदका परिवारलाई विदेश भ्रमण, भत्ता आदिको व्यवस्था गरिदिए सदनको कारबाही अझ राम्रोसँग चल्थ्यो ।

Nepal Telecom ad

योगीश कृष्ण :

समाचारपत्रमा सदनभित्रको तस्वीर छ । टेलीभीजनमा पनि सचित्र समाचार प्रसारण भएको थियो । केही सांसदहरू आनन्दसँग निदाइरहेका थिए । केही उँघिरहेका थिए । केही भवनबाहिर बेन्चमा निदाइरहेका । तिनका अनुहार कति कोमल छ । कति अबोध । निस्फिक्र छन, शान्त अनि स्थिर छन् । भर्खरै दुग्धपान गरेर निदाएको बच्चा जस्तै । नेपाल आमा पनि आफ्ना विशिष्ट सन्तानको यो अवस्था देखेर कत्ति खुसी भएकी हुँदी हुन्- कठै, मेरा बच्चाहरू कति मायालाग्दा छन् ।

सदनमा सांसदहरू निदाउँछन् । उँघ्छन् । यसबाट प्रमाणित हुन्छ- संसदमा कुर्सी तोडफोड हात हालाहाल मात्र हुँदैन । कुतर्क गर्ने ठाउँमात्र होइन, संसद । सांसदहरू गाली-गलौज र हल्लामात्र गर्छन् भन्ने जनतामा जुन भ्रम छ, त्यसबाट मुक्त गराउन संसद सफल भएको छ । सदनमा सांसदहरू उँघ्छन् र निदाउँछन् पनि । यो संसदको उपलब्धि हो । यी सांसदले संसदको गरिमा उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । धन्य छन् । यस्ता सांसदलाई पुरस्कृत गर्ने संवैधानिक व्यवस्था नै हुनुपर्ने थियो । भविष्यमा संविधान संशोधन गरेर यस्तो प्रावधान समावेश होला नै ।

भरपेट खान नपाउने लाखौँ जनाताको मत प्राप्त गरेर संसदमा पुगेका जनप्रतिनिधि सदनभित्र निदाउनु चानचुने कुरा होइन । यतो काठोर कार्य सम्पन्न गर्न साधारण मानिसको बुताबाट सम्भव पनि हुँदैन । सांसदहरू असाधारण क्षमतावान् छन् । त्यही भएर सदनमा निदाउन सक्छन्, र उँघ्न पनि । नेपाल र नेपालीको अहोभाग्य हो, यस्ता सांसद पाउनु ।

सन्त कविर दासको एउटा दोहा छ –
“सुखिया सब संसार है, खावै और सोवै,
दुखिया दास कबीर है, जागै और रोवै ।

यसको अर्थ जो सुखी छन्, खान्छन् र निदाउँछन् । दुखी जाग्राम बस्छन् र निदाउँछन् । त्यसो भए पेट भरिएका सांसदहरू मात्र निदाउँछन् ? के भोका सांसदमात्र सदनमा उठिरहेका हुन्छन् -खान पाउने आसमा वा अवसर पर्खेर ? संसदीय प्रजातन्त्रको विषयमा अध्ययन अनुसन्धान गर्ने विद्वानले यस विषयमा ध्यान देलान् नै ।

सांसदहरू निदाएको देखेर मलाई डाढ लाग्छ । म अनिँद्राको रोगी हुँ । कथंकदाचित म सांसद भएँ भने निदाउन सक्छु ? कि संसदमा भइरहेका क्रियाकलापले निदाउन बाध्य पार्दछ । यो पनि सम्भव छ कुनै मन्त्री वा सरकार प्रमुखको भाषण सुन्दा निद्रा लागेको होओस् । त्यस्तो हो भने पनि यो महत्वपूर्ण उपलब्धि हो । कुन नेताको कति मिनेटको आकाशपाताल जोडेको भाषण सुन्दा निद्रा लाग्छ, त्यतिमात्र पत्ता लगाए पनि अनिद्राका रोगीहरूले प्राकृतिक उपचार पाउने सम्भावना हुन्थ्यो । चिकित्सा क्षेत्रमा हाम्रो संसदको महत्व कत्रो इज्जत बढछ, अनुमान गरौँ ।

भरपेट खान नपाउने लाखौँ जनताले मत दिएर सदनमा पठाएका प्रतिनिधि उँघिरहेका छन् । कोही निदाइरहेका छन् । बिना कुनै चिन्ता । सभाकक्षमा आफैसरह जनताबाट चुनिएर आएका सांसदहरू मस्तसँग निदाएको देख्दा माथि बसेका सभामुख के सोच्दा हुन् ? आहा , यी कति भाग्यमानी छन् । मन लागे निदाउँछन् । मनलागे उँघेर बस्छन् । बेला बेलामा काठको हथौडी ठोकेर उनी सांसदहरूको आराममा खलल पुर्‍याउँछन् । विचरा, ईर्ष्या लाग्दो हो ।

भनिन्छ- चिन्ता भयो भने निद्रा लाग्दैन । यसको मतलब सांसदहरूलाई कुनै चिन्ता छैन । को भोको छ, को रोगी छ, को बेरोजगार छ, को अन्यायमा परेको छ, यी सब कुराको चिन्ताबाट मुक्त सांसदहरू निदारहेका छन् । उँघिरहेका छन् ।

व्यक्तिगत तवरले म साांदहरूलाई चिन्दिँन । तर उनीहरू बीचको संवाद कस्तो होला, त्यसको अनुमान गर्न सक्छु “माननीयज्यू, आजको सदनको कारबाही कस्तो रह्यो ?”
“त्यति धेरै उपलब्धिमूलक पनि भएन । दुई घण्टा त रामै सुतियो । एकआध घण्टा उँघियो होला । अनि आफ्नो सुनाउनूस् न ।”

“तपाईं सत्ता पक्ष हुनुहुन्छ । जति सुते पनि भो, उँघे पनि भो । हामी प्रतिपक्षीहरूले विरोधमा टेबल ठटाउनु पर्ने, नारा लगाउनु पर्ने काम पनि त गर्नु पर्‍यो नि । त्यही भएर तपाईंहरू जति अवसर पाइएन । माननीयज्यू, हुन त हामी फरक फरक दलका हौँ । तैपनि सांसदहरूको हक अधिकारका लागि एक जुट भने हुनुपर्छ । प्रधानमन्त्री आएर बेहोस हुन पाउने । कोही सांसद आएर रुन पाउने । हामी राम्ररी सुत्न उँघ्न पनि नपाउने ? यो त अन्याय हो कि होइन ?”

“मानन्नेज्यू, मलाई त सदनभित्र आरामगृहको व्यवस्था हुनुपर्छ । जनताका लागि यत्रो मरिमेटेर अहोरात्र खटिरहेका छौँ, हाम्रो आरामको व्यवस्था हुनुपर्छ कि पर्दैन ? यसरी कहीँ देशको विकास हुन्छ ?”
माननीयज्यूले भनेझैँ देश विकास हुने भयो भने सदनमा के होला ? सदन आरम्भ हुनासाथ सभामुखले भन्ने थिए “माननीय सदस्यज्यूहरू, सदनको कारबाही अब आरम्भ हुँदै छ । जुन जुन सदस्यज्यूहरूलाई निदाउनु छ, उहाँहरू देब्रैतिर अवस्थित आरामगृहतिर प्रस्थान गरिदिनु हुन अनुरोध छ । जो सदस्यहरू उँघ्न मात्र चाहनुहुन्छ, उहाँहरू दाहिनेतिरको कक्ष उपयोग गर्न सक्नुहुन्छ । महिला सदस्यहरूका लागि हाललाई निदाउँने र उँघने दुवैका लागि एउटै कक्ष उपलब्ध छ । यसका लागि क्षमा याचना गर्न चाहन्छु । आगामी सत्रमा नयाँ कक्षको निर्माण सम्पन्न भइसक्ने कुरा माननीय सदस्यज्यूहरूलाई सहर्ष जानकारी गराउँछु ।”

मित्रवर बन्धु भने यी सब कुरा ठिक मान्दैन “संसद सधैँ उँघमय हुँदैन । कति पटक सबै सांसद सक्रिय रहको इतिहास पनि छ । सरकारले सबै सांसदलाई भन्सार छुटमा गाडी आयात गर्न दिने घोषणा हुँदा सबै सांसद गदगद भए । सदनभित्र हाँसोको फोहरा छुटेको समाचार समेत प्रकाशन भएको थियो । सांसद विकास कोषको रकम वृद्धि हुँदा सदनमा प्रशन्नताको लहर फैलिएको थियो । यस्ता रचनात्मक काम भइराख्नुपर्छ । जसले गर्दा सांसदहरू उँघ्ने निदाउने गर्दैनन् । बेला बेलामा सांसदका परिवारलाई विदेश भ्रमण, भत्ता आदिको व्यवस्था गरिदिए सदनको कारबाही अझ राम्रोसँग चल्थ्यो ।”

हाम्रा नेता यति प्रतिभाशाली छन्, बन्धुले भनेको भन्दा अझ बढी सक्रिय हुन सक्छन् ।
सांसद निदाउन् वा उँघून् । मलाई कुनै आपत्ति छैन । विभिन्न कालखण्डमा यसरी सुत्ने शासकलाई सदाका लागि सुताइदिएको विश्व इतिहास छ

०००
रचनाकाल २०५३ साल,
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x