साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कवि भएको छु

कवितामा भावको अभाव भए पनि केही फरक पर्दैन । कुनै मार्मिक उपनाम नभए कविता प्रभावहीन हुन्छ । किनभने कविताको मूल मर्म उपनामको गर्भगृहमा लुकेको हुन्छ । मैरै कुरा गर । मेरो उपनााम आसुँ पढनासाथ पाठकहरूको आँखा रसाउन थाल्छ ।

Nepal Telecom ad

योगीश कृष्ण :

एक दिन एकजना कवि मित्रले भने “तपाईंले आफ्नो रङ्ग न ढङ्गको व्यङ्यमा मेरो चर्चा किन गर्नुभयो ?”

यसो सम्झेँ, मैले उनको बारेमा चर्चा त कतै गरेकै छैन । उनलाई यो कुरा बताए पनि मान्न तयार भएनन् । उल्टै कड्किए “अनि कविज्यू भनेर कसका बारेमा लेख्नुभएको हो त ? मेरै बारेमा त हो ।”

उनैजस्तै विचार गरेर अरु कवि मित्रहरू पनि मेरासामु आए भने मेरो कुन दुर्दशा होला ? सोचेरै मन काँप्यो । उनले आँखा तर्दै भने “तपाईं आफूलाई के ठान्नु हुन्छ ?”
उनको रौद्र रूप देखेर तर्सिएको मैले डराउँदै उत्तर दिएँ “म आफूलाई आफू ठान्छु ।”

“तर म तपाईंलाई तपाईं ठान्दिनँ ।” उनी झनै कड्किए “तपाईं जे कुरालाई पनि हाँसोमा उडाउनु हुन्छ । किनभने तपाईं कायर हुुनुहुन्छ । जो सबल छन्, तिनले जीवनको हरेक पहलुमाथि गम्भीरतापूर्वक विचार गर्छन् । मेरै जस्तो विचार रेन रेण्डको पनि छ । उनले भनेका छन्- ‘धेरैजसो ठाउँमा हाँसो कायरता ढाक्ने प्रयत्न हुन्छ । तपाईंमा गाम्भीर्य छैन, त्यसैले तपाईँ वास्तविक मानिस नै होइन ।”

आफ्नो अस्तित्व नै खतरामा पर्न आँटेकोले मैले भने “रसेललाई पनि सम्झनूस् न । उनले त गम्भीरतालाई वञ्चना .ढाक्ने प्रयत्न भनेका छन् ।”

आफूभन्दा म जान्ने भएको उनी के सहन्थे, झनै उग्र भए- “रसेल ससेललाई मार्नूस् गोली । उनी विवादास्पद व्यक्ति हुन् । म त उनलाई माखो बराबर पनि मान्दिन । तपाईंजस्ता भस्याङभुसुङले हो , उनलाई महान् मान्ने । जे होस्, क्षुद्र मानिस हास परिहासप्रिय हुन्छ । मानव जीवनमा हाँसोको केही महत्व छैन । त्यस्तो जाबो व्यङ्ग्य लेखेर फुइँ गर्नु त लाजै मर्नु हो । सक्नुहुन्छ भने कविता लेख्नूस् , कविता । हुन त तपाईंजस्तोले के कविता लेख्न सक्नुहुन्थ्यो ? प्रयास गर्नूस् ।”

मित्रवरको यत्रो लामो प्रवचन सुनेपछि कुरा ठिकै लाग्यो । अबदेखि व्यङ्ग्य सङ्ग्य नलेख्ने विचार गरेँ । बित्थामा उरन्ठेउलोमा दरिनु । कुनै कुनै परिचित त भेटनासाथ हि हि हि हि गर्दै आदेश दिन्छन्” त्यो एउटा लेख थियो नि, के पो शीर्षक थियो कुन्नि, खूब हाँसो उठेको थियो । त्यसको प्रसङ्ग सुनाउनुस् न । मजा आउँछ ।”

सडक दोबाटोमा अरुको मजालाई मलजल गरिदिनु पर्ने । व्यङ्गयकारको कुनै इज्जत छैन । कविताको क्षेत्रमा इज्जतै इज्जत छ । कविहरू आदिकवि, महाकवि, आशुकवि, कवि शिरोमणिबाट सम्मानित हुन सक्छन्। आजसम्म महाव्यङ्ग्यकार, आदि व्यङ्ग्यकार, आशुव्यङ्गयकारहरूका बारेमा सुन्नु त परै जाओस्, कल्पना समेत गरेको पाइन्न । अबदेखि म कविता लेख्छु । जे हुन्छ, कविताबाटै हुन्छ । जे गर्छ कविताले नै गर्छ ।

कविता लेख्ने विचार त गरेँ तर लेख्ने कसरी ? कवि मित्रको चित्त शान्त पारिदिन भए पनि एउटा कविता त लेख्नै पर्ने हो । कविता त परै जाओस्, शीर्षक समेत फुरेन । यस्तै निराश क्षणमा एउटा आशाको झिल्को देखा पर्‍यो । कमल दीक्षितको ‘बुइँगल’ चहारेँ- कतै पलाञ्चोके खरेलको कविता छ कि भनेर । पोखरेल भेटिए, खरेलको नामो निशान थिएन । भएको भए नाता जोडेर वंशानुगत कवि हुने बाटो खोल्थ्यो । मानिसहरूले मेरो बारेमा भन्ने थिए “उनको नसामा रगत होइन, काव्यधारा बग्दछ । उनको बोलीबाट शब्द होइन, कविताको झरना कलकलाउँछ ।” नेपाली साहित्यको इतिहास पल्टाई हेरेँ । यस्तो केही हुने संंभावना रहेन । आफ्नै पुर्खाले भावी सन्ततिको वास्ता नगरिदिएपछि कसको के लाग्छ र ?

यस बीच म साह्रै गम्भीर भएँ । हाँसो उठ्दो कुरा सुन्यो भने सुँकसुँकाउँछु । जुन कुराले सामान्य मानिस सुँक्क सुक्क गर्छन्, त्यसले मलाई क्वाँ क्वा रुवाउँछ । तर, कसै गरी कविता लेख्न सकिएन । सानो छँदा विद्यालयमा मधुवनीका गुरुहरूले सुनाउने गरेको तुलसी दासको दोहाशँ सम्झिएँ – ‘गुरु विन भवनिधि तरई न कोइ’ । गुरु खोजे । एक से एक गुरुमध्ये कवि-समालोचक-उपन्यासकार-गजलकार-मुक्तककार ‘आँसु’ । पहिलो दिन नै गुरुजीले काव्यिक महाज्ञान दिए “कवितामा भावको अभाव भए पनि केही फरक पर्दैन । कुनै मार्मिक उपनाम नभए कविता प्रभावहीन हुन्छ । किनभने कविताको मूल मर्म उपनामको गर्भगृहमा लुकेको हुन्छ । मैरै कुरा गर । मेरो उपनााम आसुँ पढनासाथ पाठकहरूको आँखा रसाउन थाल्छ ।”

एक से एक उम्दा उपनाम त अरुले छानिसके मेरो पालो ‘डाँको’ उपनाम रोजेँ । अहा ! क्या सुहाउने- ‘आँसु’ गुरुको ‘डाँको चेला’ । मेरो उपनाम पढेरै पाठकहरू सुँकसुकाउँलान्। कविता पढेर बेहोसै हुने हन् कि । कविता पढेरै बेहोस् हुने भए पनि होऊन् । कवितात्मक बेहोसी मानौँला । केही दिन शब्दको तालमेल सिकाएपछि गुरुले श्रृङ्गार रसको कविता लेख्न आदेश गरे । मैले तुरुन्तै लेखेँ । षोडशीदेखि बृद्धासमेतको श्रृङ्गार बाटोघाटो यत्रतत्र देखेकै थिएँ । एकै छिनमा लेखेँ –
तिम्रो आँखामा कालो गाजल्
शीरमा भने नाइलनको कपाल
निधारमा छ टल्कने टिका
ओठमा लाली गुलाबी फिका

यतिमात्र हो र ? मैले श्रृङ्गार रसदेखि सोम रसको कविता लेखिसकेको छु । भोकवादीदेखि लिएर कोकवादी कविताको क्षेत्रमा ख्यातनाम छु । मेरा गुरुका अनुसार मेरा कविता अबोध, सुबोध र दुर्बोध गरी तीनथरीका छन् । एउटा दुर्बोध कविताको नमूना –
मोटरको हर्न प्याँ प्याँ प्याँ
बच्चो गर्छ च्याँ च्याँ च्याँ

मानवतावाद र भौतिकवादको उच्चतम प्रयोग भएको यस्ता कविता लेख्न सकेकोमा म खुसी छु । जे होस् । अब म कवि भएको छु ।

०००
राजविराज

गोरखापत्र, २०३३ साल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x