याेगीश कृष्णम कवि भएको छु
कवितामा भावको अभाव भए पनि केही फरक पर्दैन । कुनै मार्मिक उपनाम नभए कविता प्रभावहीन हुन्छ । किनभने कविताको मूल मर्म उपनामको गर्भगृहमा लुकेको हुन्छ । मैरै कुरा गर । मेरो उपनााम आसुँ पढनासाथ पाठकहरूको आँखा रसाउन थाल्छ ।

योगीश कृष्ण :
एक दिन एकजना कवि मित्रले भने “तपाईंले आफ्नो रङ्ग न ढङ्गको व्यङ्यमा मेरो चर्चा किन गर्नुभयो ?”
यसो सम्झेँ, मैले उनको बारेमा चर्चा त कतै गरेकै छैन । उनलाई यो कुरा बताए पनि मान्न तयार भएनन् । उल्टै कड्किए “अनि कविज्यू भनेर कसका बारेमा लेख्नुभएको हो त ? मेरै बारेमा त हो ।”
उनैजस्तै विचार गरेर अरु कवि मित्रहरू पनि मेरासामु आए भने मेरो कुन दुर्दशा होला ? सोचेरै मन काँप्यो । उनले आँखा तर्दै भने “तपाईं आफूलाई के ठान्नु हुन्छ ?”
उनको रौद्र रूप देखेर तर्सिएको मैले डराउँदै उत्तर दिएँ “म आफूलाई आफू ठान्छु ।”
“तर म तपाईंलाई तपाईं ठान्दिनँ ।” उनी झनै कड्किए “तपाईं जे कुरालाई पनि हाँसोमा उडाउनु हुन्छ । किनभने तपाईं कायर हुुनुहुन्छ । जो सबल छन्, तिनले जीवनको हरेक पहलुमाथि गम्भीरतापूर्वक विचार गर्छन् । मेरै जस्तो विचार रेन रेण्डको पनि छ । उनले भनेका छन्- ‘धेरैजसो ठाउँमा हाँसो कायरता ढाक्ने प्रयत्न हुन्छ । तपाईंमा गाम्भीर्य छैन, त्यसैले तपाईँ वास्तविक मानिस नै होइन ।”
आफ्नो अस्तित्व नै खतरामा पर्न आँटेकोले मैले भने “रसेललाई पनि सम्झनूस् न । उनले त गम्भीरतालाई वञ्चना .ढाक्ने प्रयत्न भनेका छन् ।”
आफूभन्दा म जान्ने भएको उनी के सहन्थे, झनै उग्र भए- “रसेल ससेललाई मार्नूस् गोली । उनी विवादास्पद व्यक्ति हुन् । म त उनलाई माखो बराबर पनि मान्दिन । तपाईंजस्ता भस्याङभुसुङले हो , उनलाई महान् मान्ने । जे होस्, क्षुद्र मानिस हास परिहासप्रिय हुन्छ । मानव जीवनमा हाँसोको केही महत्व छैन । त्यस्तो जाबो व्यङ्ग्य लेखेर फुइँ गर्नु त लाजै मर्नु हो । सक्नुहुन्छ भने कविता लेख्नूस् , कविता । हुन त तपाईंजस्तोले के कविता लेख्न सक्नुहुन्थ्यो ? प्रयास गर्नूस् ।”
मित्रवरको यत्रो लामो प्रवचन सुनेपछि कुरा ठिकै लाग्यो । अबदेखि व्यङ्ग्य सङ्ग्य नलेख्ने विचार गरेँ । बित्थामा उरन्ठेउलोमा दरिनु । कुनै कुनै परिचित त भेटनासाथ हि हि हि हि गर्दै आदेश दिन्छन्” त्यो एउटा लेख थियो नि, के पो शीर्षक थियो कुन्नि, खूब हाँसो उठेको थियो । त्यसको प्रसङ्ग सुनाउनुस् न । मजा आउँछ ।”
सडक दोबाटोमा अरुको मजालाई मलजल गरिदिनु पर्ने । व्यङ्गयकारको कुनै इज्जत छैन । कविताको क्षेत्रमा इज्जतै इज्जत छ । कविहरू आदिकवि, महाकवि, आशुकवि, कवि शिरोमणिबाट सम्मानित हुन सक्छन्। आजसम्म महाव्यङ्ग्यकार, आदि व्यङ्ग्यकार, आशुव्यङ्गयकारहरूका बारेमा सुन्नु त परै जाओस्, कल्पना समेत गरेको पाइन्न । अबदेखि म कविता लेख्छु । जे हुन्छ, कविताबाटै हुन्छ । जे गर्छ कविताले नै गर्छ ।
कविता लेख्ने विचार त गरेँ तर लेख्ने कसरी ? कवि मित्रको चित्त शान्त पारिदिन भए पनि एउटा कविता त लेख्नै पर्ने हो । कविता त परै जाओस्, शीर्षक समेत फुरेन । यस्तै निराश क्षणमा एउटा आशाको झिल्को देखा पर्यो । कमल दीक्षितको ‘बुइँगल’ चहारेँ- कतै पलाञ्चोके खरेलको कविता छ कि भनेर । पोखरेल भेटिए, खरेलको नामो निशान थिएन । भएको भए नाता जोडेर वंशानुगत कवि हुने बाटो खोल्थ्यो । मानिसहरूले मेरो बारेमा भन्ने थिए “उनको नसामा रगत होइन, काव्यधारा बग्दछ । उनको बोलीबाट शब्द होइन, कविताको झरना कलकलाउँछ ।” नेपाली साहित्यको इतिहास पल्टाई हेरेँ । यस्तो केही हुने संंभावना रहेन । आफ्नै पुर्खाले भावी सन्ततिको वास्ता नगरिदिएपछि कसको के लाग्छ र ?
यस बीच म साह्रै गम्भीर भएँ । हाँसो उठ्दो कुरा सुन्यो भने सुँकसुँकाउँछु । जुन कुराले सामान्य मानिस सुँक्क सुक्क गर्छन्, त्यसले मलाई क्वाँ क्वा रुवाउँछ । तर, कसै गरी कविता लेख्न सकिएन । सानो छँदा विद्यालयमा मधुवनीका गुरुहरूले सुनाउने गरेको तुलसी दासको दोहाशँ सम्झिएँ – ‘गुरु विन भवनिधि तरई न कोइ’ । गुरु खोजे । एक से एक गुरुमध्ये कवि-समालोचक-उपन्यासकार-गजलकार-मुक्तककार ‘आँसु’ । पहिलो दिन नै गुरुजीले काव्यिक महाज्ञान दिए “कवितामा भावको अभाव भए पनि केही फरक पर्दैन । कुनै मार्मिक उपनाम नभए कविता प्रभावहीन हुन्छ । किनभने कविताको मूल मर्म उपनामको गर्भगृहमा लुकेको हुन्छ । मैरै कुरा गर । मेरो उपनााम आसुँ पढनासाथ पाठकहरूको आँखा रसाउन थाल्छ ।”
एक से एक उम्दा उपनाम त अरुले छानिसके मेरो पालो ‘डाँको’ उपनाम रोजेँ । अहा ! क्या सुहाउने- ‘आँसु’ गुरुको ‘डाँको चेला’ । मेरो उपनाम पढेरै पाठकहरू सुँकसुकाउँलान्। कविता पढेर बेहोसै हुने हन् कि । कविता पढेरै बेहोस् हुने भए पनि होऊन् । कवितात्मक बेहोसी मानौँला । केही दिन शब्दको तालमेल सिकाएपछि गुरुले श्रृङ्गार रसको कविता लेख्न आदेश गरे । मैले तुरुन्तै लेखेँ । षोडशीदेखि बृद्धासमेतको श्रृङ्गार बाटोघाटो यत्रतत्र देखेकै थिएँ । एकै छिनमा लेखेँ –
तिम्रो आँखामा कालो गाजल्
शीरमा भने नाइलनको कपाल
निधारमा छ टल्कने टिका
ओठमा लाली गुलाबी फिका
यतिमात्र हो र ? मैले श्रृङ्गार रसदेखि सोम रसको कविता लेखिसकेको छु । भोकवादीदेखि लिएर कोकवादी कविताको क्षेत्रमा ख्यातनाम छु । मेरा गुरुका अनुसार मेरा कविता अबोध, सुबोध र दुर्बोध गरी तीनथरीका छन् । एउटा दुर्बोध कविताको नमूना –
मोटरको हर्न प्याँ प्याँ प्याँ
बच्चो गर्छ च्याँ च्याँ च्याँ
मानवतावाद र भौतिकवादको उच्चतम प्रयोग भएको यस्ता कविता लेख्न सकेकोमा म खुसी छु । जे होस् । अब म कवि भएको छु ।
०००
राजविराज
गोरखापत्र, २०३३ साल
Subscribe
Login
0 Comments
Oldest







































