साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्वार्ता

अन्तर्वार्तामा अनुत्तीर्ण हुने कारण नै यही घोप्टे जुँगा हो । अब ठाडो पार्नु पर्‍यो भनेर मिलाउन कैँची समातेको मात्र थिएँ, मनमा एउटा विचार आयो- अब पनि ठाडो जुँगाप्रेमी हाकिमले अन्तर्वार्ता लेनान् भन्ने कहाँ निश्चित छ र ?

Nepal Telecom ad

योगीश कृष्ण :

केही समयदेखि म धुमधामसँग काम खोज्दैछु । ठीक त्यसैगरी जसरी स्थायी जागिर पाएको केटाका निम्ति केटी खोजिन्छ वा घर गृहस्थीको निम्ति पर्याप्त पढेकी केटीको निम्ति केटो खोजिन्छ । विधिको विडम्बना कतै चिनो मिन्दैन कतै लमी नभएकोले कुरा पुर्‍याउन सकिन्न । म चिन्तामा छु ।

मेरो चिन्ताको कारक तत्व के हो ? सोच्दै जाँदा पत्तो लाग्यो -विश्वविद्यालयको कारणले गर्दा म बेरोजगार हुनुपरेको हो । भनिएला -आफ्नो योग्यता नपुगेपछि विश्वविद्यालयलाई दोष ? हुन त मैले आफूले निर्वाह गर्नुपर्ने सबै काम इमान्दारीपुर्वक सम्पन्न गरेरै स्नातक तह उत्तीर्ण भएको हुँ । थोरबहुत पढेकै हुँ । आँखा छलेर परीक्षामा चोरीचकारी पनि गरेकै थिएँ । अलि लुरेलाम्रै शिक्षकलाई धाक-धम्की दिन कुनै कसर बाँकी राखेको पनि थिइनँ । समयअनुसारको चाकडी चापलुसी पनि नगरेको त होइन । मेरो शिक्षामा कुनै खोट छैन । तैपनि मलाई अन्तर्वार्तामा भने अयोग्य ठानिदिन्छन् ।

म अन्तर्वार्तामा फेल हुने कारण भनेको विश्वविद्यालय र त्यसको पाठ्यक्रम हो । हालसालै एउटा अन्तर्वार्तामा मलाई सोधियो “तपाईंले चिन्नु भएका दुइटा ठूला मनिसको नाम भन्नुस् । मैले दुई जना मन्त्रीको नाम बताइदिए । प्रश्नकर्ताको आवाज मधुरो भयो । अनुहारमा प्रसन्नता छायो । उनले ठस्किएको अनुहारमा अचानक ठूलो परिवर्तन भयो । उनले सोधे “हजुरको नातेदार हो कि, उहाँहरू ?”

“के को नातेदार हुनु ? मैले जवाफ दिएँ “होइन । म पूर्वतिरको कुमाइँ । उहाँहरू पश्चिमका उपाध्याय ।” उनको मुस्कान कम भएन “त्यसो भए पारिवारिक मित्र हुनु होला, होइन त हजुर ?” “अहँ” मैले भनेँ “त्यै बुबाले तिनीहरूको नाम सुन्नुभएको होला । बाजे त रेडियो नेपालको समाचार कहिल्यै सुन्नु हुन ।”
प्रश्नकर्ताको स्वर केही च्याँठियो “त्यसो भए मन्त्रीज्यूहरूलाई कसरी चिन्नु भयो ?”

मैले कुरा खुलस्त पारेँ “सत्ताइस सालको गाउँफर्क कायक्रममा मन्त्रीजीहरू हाम्रो गाउँमा आउनुभएको थियो । माला लगाइदिएर मैले पनि उहाँहरूको स्वागत गरेको थिएँ । फोटो खिच्नुअघि कोदाले कसरी समात्ने भनेर मैले नै उहाँहरूलाई सिकाइदिएको थिएँ । म पनि त्यो फोटोमा देखिन्थेँ । फोटोग्राफरले बीस रुपियाँ माग्यो । नत्र एक प्रति फोटो मसँग पनि हुन्थ्यो । अहिले खल्तीबाट निकारलेर देखाइदिन सक्थेँ । उहाँहरूलाई केही दिनअघि पुतली सडकमा गाडी चढेर दुवै जना कतै जाँदै हुनुहुन्थो । मैले नमस्कार गर्दा मुन्टो हल्लाउनु भएको थियो ।”

प्रश्नकर्ता आगो भए “जाबो नमस्ते गरेको भरमा जागिर खान खोज्ने ? तपाईंको बहुला हो कि क्या हो ?”
मैले विन्ति बिसाएँ “होइन हजूर । बहुला होइन । त्रिभुवन विश्वविद्यालयको स्नातक हुँ । वर्षदिन देखि लिखितमा योग्य भए पनि अन्तर्वार्तामा अयोग्य हुँदै आएको छु । मैले जागिर पाउँछु त हजुर ?”

मेरो बिन्ती बिसाई उनलाई काम लागेन “वाहियात, कस्ता कस्ता मानिस जागिर खान आउँछन् । जानूस् बाहिर ।”
प्रश्नकर्ता महोदय शुरुमा त प्रशन्न नै थिए, पछि किन सन्केका हुन् , मैले अझसम्म बुझ्न सकेको छैन ।
हिजो छाडी अस्ति पनि म एउटा अन्तर्वार्ता दिन गएको थिएँ । कोठामा तीनचारेक खाइलाग्दा मानिस बसेका थिए । ढाडको हाड घरमै छाडेर आए झैँ गरेर सबैलाई नमस्कार गरेँ ।

मलाई गरिएको पहिलो प्रश्न थियो “तपाईंको जुँगा घोप्टे छ किन ? अरु खरेलको जुँगा त ठाडो पो देखेको थिएँ ।”
यो प्रश्न सुन्नासाथ भाउन्न भयो । दाह्री काट्दा नाइले मलाई जुँगा सफाचट गरिदिउँ भनेर सोधेको थियो । मैले पर्दै भनिदिएको थिएँ । हुन्छ भनेको भने मैले यस्तो प्रश्नको उत्तर नै दिनु पर्ने थिएन । मेरो मनमा लाग्यो- खरेल वंशावली लेख्ने प्रैमदास यिनै पो हुन् क्यार । सोधूँ कि ? हैन म त जवाफ पो दिन आएको । प्रेमदास होस् कि चरण दास होस् के मतलब ?

मैले उत्तर दिएँ “हजुर मेरो जुँगा काम नपाएर लुत्रुक्क परेको हो । मैले काम पाउनासाथ मेरो जुगाँले रणजीत सिंहको जुँगालाई पनि बिर्साउने छ । नपत्याए मेरो हातमा नियुक्तिपत्र राखिदिनुस्, मेरो जुँघा जुरमुराउन थाल्छ ।”
यहाँ पनि प्रश्नकर्ता रिसाए “तपाईं नचाहिँदो कुरा बढी गर्नु हुँदोरहेछ । तपाईंबाट के काम होला र ? उहूँ ।”
त्यस कार्यालयको काममा मेरो जुँगाले सघाउँथ्यो वा हानी गराउँथ्यो, मैले बुझेको छैन ।

घर आएर हेरेँ । ओठमाथिका काला जुँगा उखेलेर फालिदिऊँ जस्तो रिस उठ्यो । अन्तर्वार्तामा अनुत्तीर्ण हुने कारण नै यही घोप्टे जुँगा हो । अब ठाडो पार्नु पर्‍यो भनेर मिलाउन कैँची समातेको मात्र थिएँ, मनमा एउटा विचार आयो- अब पनि ठाडो जुँगाप्रेमी हाकिमले अन्तर्वार्ता लेनान् भन्ने कहाँ निश्चित छ र ? टण्टै नास्ती भनेर सफाचट पारिदिऊँ कि भन्ने सोच पनि उत्पन्न नभएको त होइन । फेरि देवकोटा र प्रधानको “जुगाँ” पढेको परे भने के गर्नू ? अन्त्यमा मैले निणर्य गरेँ- अब म जुँगालाई न घोप्टो पार्छु न ठाडो महेन्द्र राजमार्ग जस्तो सिधा पार्छु । मलाई यतिमात्र डर छ- कतै अन्तर्वार्ता दिँदादिँदै मेरो जुँघा नफुलोस् । विश्वविद्यालयसँग भने मेरो गुनासो ज्यूँका तिउँ छ- पाठ्यक्रममा त्यस्ता विषय किन पढाइन्न, जो अन्तर्वार्तामा सोधियोस् ।

०००
राजविराज, मधुपर्क भदौ २०३८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x