याेगीश कृष्णदाह्री, तिम्रो लिला अपरम्पार
दाह्री धार्मिक आस्थासँग पनि सम्बन्ध राख्दो रहेछ । बाबा र योगीहरूले आ-आफ्नो दाह्रीको ‘स्टाइल’ निर्धारण गरिदिए कति राम्रो हुने थियो । को महेश योगी, को रजनीशको भक्त, दाह्रीबाटै पत्तो पाइने ।

योगीश कृष्ण :
किं गहनं ?
मेरो उत्तर- दाह्री चरित्रं
राजा अमोघवर्षले ‘प्रश्नोत्तरमालिका’मा किं गहनं ? स्त्री चरित्रं लेखेका छन् । मैले भने दाह्रीजस्तो गहन वस्तु मैले देखेको छैन । त्यसमाथि यो समानताको युगमा स्त्री चरित्रलाई गहन मान्ने पक्षमा म छैन । स्त्री चरित्रलाई गहन मान्ने अमोघवर्षले आफ्नो राज्यलाई शत्रुबाट जोगाउन यति मिहिनेत गर्नु पर्यो होला कि दाह्रीको बारेमा उनले केही सोच्ने समय नै पाएनन् । अर्को सम्भावना पनि छ, उनको दाह्री नै पो थिएन कि । भए पनि मेरो जस्तो थिएन । मेरैजस्तो भए पनि मेरोजस्तो अनुभव गर्नु नपरेको होस् । यो पनि हुन सक्छ स्त्री चरित्रको अनुसन्धान गर्दागर्दै उनले दाह्रीको विषयमा चिन्तन गर्न समय पाएनन् ।
मेरो दाह्री गजबको छ । कालो रङ्गको टिलिक्क टल्किने दाह्रीको मालिक हुन पाएकोमा मलाई गर्व छ । अध्ययनको सिलसिलामा दुई वर्ष राजधानी बसेपश्चात् राजविराज फर्केकै दिन एक जना कवि मित्रले सोधे “किन हँ ? यही उमेरमा यस्तो हरिविजोग । किन पालेको दाह्री ?”
मैले हाँसेर उत्तर दिएँ “यत्तिकै मन लाग्यो, अनि पालेको ।”
उनले सोधे “खोइ, हामीलाई त मन लाग्दैन । तपार्ईंलाई किन मन लाग्याे, कारण के हो ?”
मैले उत्तर दिएँ “मलाई मन लाग्यो । मैले पालेँ । तपाईंलाई मन लागेन, पाल्नु भएन । यसमा कसलाई दोष दिऊँ ?”
यति भनेपछि उनी चुप होलान् भन्ने सोचेको थिएँ । तर त्यस्तो भएन । यस पटक उनी अलि झर्किए जस्तो गरे “काटेर फ्याकिदिनूस् ।”
मैले हाँस्दै जवाफ दिएँ “काट्नै पर्दैन । दुईचार जना अरुले पनि तपाईं जस्तै दाह्री द्वेष व्यक्त गर्न थाले भने मेरा दाह्रीका एक एक रौँ हिउँदमा रुखका पात झरेझैँ आफै झर्न थाल्छन् । वा दाह्रीका रौँ एक एक गरी गालाबाट झरेर आत्महत्या गर्न सक्छन् ।” तैपनि उनको चित्त बुझेनछ, “संसारका महान साहित्यकारको दाह्री थियो छ । जस्तो- तोल्सतोय, टैगोर, तुर्गनेव, चेखव । तपाईंले लेखक बन्नाका लागि दाह्री पाल्न खोजेजस्तो छ ।”
मैले पारिजात, महाश्वेता देवी, पर्ल बक, महादेवी वर्मालाई सम्झिएँ । उनी जसरी दाह्री र साहित्यको सम्बन्ध जोडिरहेका थिए, त्यस आधारमा उनको बस चल्दो हो त नयाँ साहित्यिक सिद्धान्तकै निर्माण गर्न सक्लान्- दाह्रीको लम्बाइ र साहित्यिक विधाको मापदण्ड तयार गरेर । जस्तो- पुरुषहरूको हकमा गद्य कविको तीन सेन्टिमिटर लामो, छ्न्द कविको पाँच सेन्टिमिटर, उपन्यासकारको दश सेन्टिमिटर, समालोचकको पन्ध्र सेन्टिमीटर लामो दाह्री हुनुपर्ने । लेखकलाई देख्नासाथ चिन्न पनि सजिलो । ऊ त्यहाँ चोकको पूर्वतिर उभिएका गद्य कवि हुन् । पान पसलअघिल्तिरका गजलकार । चिया पसलभित्र उपन्यासकार र समालोचक गफ गरिरहेका रहेछन् । मैले कवि मित्रलाई यी कुरा सुनाउँदै सोधेँ “महिलाहरूको त दाह्री हुँदैन । उनीहरूले साहित्यकार हुन के चुल्ठो बढाउने ? अफ्रिकीले त चुल्ठो बाट्न पनि सक्दैनन् होला । उनीहरू साहित्यकार हुन नपाउने त नहोला नि ?”
ठुस्स परेर उनी बिदा भए । त्यसपछि दाह्रीको बारेमा बोल्न छाडिदिए । भेट हुँदा दाह्रीलाई आँखा तर्न भने छाडेनन् । नवोदित कथाकार मित्रले भने दाह्रीको प्रसङ्ग निकालिहाले “उनी चाहिँ कहाँ छिन् नि ।”
“को उनी”
“उनै उनी”उनले भने “जसको विछोडमा तपाईंले दाह्री पाल्नुभएको छ । ”
“मैले कुरा बुझिँन, के भन्न खोज्नुभएको हो ?”
उनले स्पष्ट पारे “मैले तपाईंको प्रेमिकाको कुरा गरेको । कहाँ छन् उनी । को हुन् ? कहाँकी हुन् ? तपाईंको गालाका प्रत्येक रौँले उनको बारेमा वियोगी गीत गाइरहेका छन् ।”
मलाई आफ्नो दाह्रीसँग रिस उठ्यो भनेँ “आजसम्म मेरी प्रेमिका को हुन् भनेर मलाई भनेन । गीत गाउनु त परै जाओस्, सुसेल्दा पनि सुसेलेन । बसोबास त मेरो कान नजिकै छ । सुटुक्क भनिदिएको भए पनि हुन्थ्यो नि । कस्तो मापाको ?तपाईंलाई भने देख्नासाथ भनिदिएछ ।”
उनले हार मानेनन् “तपाईं भलै मजाकमा उडाउनूस् । बात तो कुछ और हि है । मलाई सुनाउनुस् न । त्यसकै आधारमा कथा लेख्छु ।”
मैले उनलाई खुसी तुल्याएँ “केही समय पर्खिनूस् । अहिले आधि इन्चको दाह्री होला । चार इन्च जति बढ्न दिनूस् । उपन्यासै लेख्नुहोला नि । त्यस दिनदेखि कथाकार मित्र मसँग कुरा गर्नुभन्दा दाह्री कत्तिको बढिरहेछ, त्यतैतिर ध्यान दिन थाले । उनी उपन्यासकार बन्न तत्पर भएजस्तो लाग्यो । दाह्रीको साहित्य र प्रेमसँग सम्बन्ध रहेको ज्ञात भयो । यसअघि मलाई के थाहा थियो भने दाह्रीको सम्बन्ध गालासँग मात्र हुन्छ । हो, दाह्रीकै कारण मेरा नयाँ नयाँ नामबाट विभूषित हुने अवसर पाएको थिएँ- झ्याउरे, दाह्री खरेल आदि ।
मेरा एकजना बालसखालाई दाह्री पाल्ने ठूलो रहर छ । उनको दाह्री भने भूमिगत । गालाबाहिर आउनै नमान्ने । मलाई थाहा छ, मेरो दाह्री देखेर उनलाई दाह्री सुलभ ईष्र्या लाग्छ । निदाउरो अनुहार लिएर भन्छन् “एक्ला एक्लै दाह्री पालिदिने ? साथीभाइलाई के सम्झनुहुन्थ्यो ?”
अब म दाह्री पाल्न ककसँग साझेदारी गर्दै हिँडौँ ? उनलाई सान्त्वना दिँदै भनेँ “मेरो बस चल्दो हो त दुबोघाँस सारेजस्तो चपरा पार्दै तपाईंको गालामा टाँसिदिन्थेँ । मिल्दैन, के गरौँ ?”
उनलाई कसैले भनेका रहेछन्- “तिमीले दाह्री पाल्यौ भने फलानो सिनेमाको देवानन्द जस्तै देखिन्छौ । मैले उनलाई अर्कै सुझाव दिएँ “देवानन्दको जमाना गइसक्यो । बरू अलिकति कपाल मिलायौ भने राजेश खन्ना जस्तो देखिन्छौ, फरक खाँदैन, लु ।”
उनले मेरो सुझाव माने । आजकाल बाटो हिँडदा ‘मेरे सपनो कि रानी’ गीत गुनगुनाउँदै हिँड्छन् । भेट हुँदा मेरो दाह्रीको वास्ता गर्दैनन् ।
यतिमै मेरो दाह्रीले कहाँ सुख पायो र ? एक जना स्थानीय नेताले नेताचोकको कुनातिर बोलाएर मेरो दाह्री तान्दै सोधे “यो के हो ?”
मैले उत्तर दिएँ “दाह्री हो ।”
“त्यो त म पनि देखिरहेकै छु ।” उनले गम्भीरतापूर्वक सोधे “तर वास्तवमा हो के ?” मैले केही भन्न नपाउँदै उनले भने “तिमी मार्क्सवादी राजनीतिमा संलग्न भएजस्तो छ । त्यसैले दाह्री पालेका हौ क्यार ।”
“होइन” मैले जवाफ दिएँ “म त फेबियनस्टि हुँ ।”
उनी चिनजानका सबैलाई फेबियनिस्टको अर्थ सोध्दै हिँडिरहेका छन् अरे । सबैभन्दा रमाइलो त मेरो दाह्री सबसँग बोल्दै हिँडने । म भने उसको भाषा नबुझ्ने । एक दिन पत्रिका पसलमा पुगेको मात्र के थिएँ, पसलले रजनीशका भएजति किताब मेरो अघिल्तिर तेस्र्याइदिए । मैले उनलाई भनेँ “मैले यी किताब मागेको थिइँन त ।”
उनको जबाफ अचम्मको थियो “तपाईंको दाह्री ।”
दाह्री धार्मिक आस्थासँग पनि सम्बन्ध राख्दो रहेछ । बाबा र योगीहरूले आ-आफ्नो दाह्रीको ‘स्टाइल’ निर्धारण गरिदिए कति राम्रो हुने थियो । को महेश योगी, को रजनीशको भक्त, दाह्रीबाटै पत्तो पाइने । यस्तो भएको भए रामकृष्ण परमहंसले विवेकानन्दलाई भनिदिन्थे होलान्- बाबु, सफाचटले काम चल्दैन । पाल्ने भए मेरोजस्तो दाह्री पाल । नभए बाल योगेश्वरतिर लाग । दाह्रीमा के छैन त ? साहित्य, दर्शन, अध्यात्म, प्रेम, राजनीति, सब थोक छ । त्यसैले म विश्वास गर्छु- किं गहनं, दाह्री चरित्रं ।
०००
गोरेटो साप्ताहिक, राजबिराज (२०३२)
Subscribe
Login
0 Comments
Oldest






































