कलानिधि दाहालसबै एक म देख्दै छु !!
सङ्कीर्ण स्वार्थका साँचा साँचा दल्दल पर्दछन् मानवता भई रित्तो गल्ली गन्ध ती झर्दछन् ! भौतिक रागका रागी भेदकै भूल हुन् सब मान्छे एक महाज्ञानी मान्छेका बिच गौरव !!
कलानिधि दाहाल :
माथि आकाश हेर्दै छु बसी जमिनका तल
एक तरु छ अग्लेको गरी मसँग छल्फल !
सोची सम्झी चलौँ पाउ हल्लाको छैन यो बल
दुनियाँ छ निकै टाढा हल्ला हल्लेर हल्हल !!
आफ्नै तागतले यात्रा गरे अग्लिन्छ जीवन
टेकी जमिनमा पाउ हिँड्दा उघ्रन्छ यौवन !
ऊर्जा यौवनको यात्रा दरो आफैँ हुने छ यो
पला पला गला खोली सङ्गीतले छुने छ यो !!
जिन्दगी मनको यात्रा विभेद हुन्न यो मन
जम्मै ब्रह्मण्ड हुन् एक दुई पाउ हुने जन !
मान्छेको धर्म हो एक मान्छे नै हुनु पर्दछ
मान्छे भेद हुने मान्छे मान्छेले रुनु पर्दछ !!
रुने मान्छे हुने हुन्छन् धर्मको गरी धारण
खाल्डा वारि सधैँ रुन्छन् यही नै हुन्छ कारण !
राजनीति अझै गर्छ चिरा मानिसमा अति
जो पुच्छर बनी हिड्छन् हुने हुन्छन् तिनी खति !!
सङ्कीर्ण स्वार्थका साँचा साँचा दल्दल पर्दछन्
मानवता भई रित्तो गल्ली गन्ध ती झर्दछन् !
भौतिक रागका रागी भेदकै भूल हुन् सब
मान्छे एक महाज्ञानी मान्छेका बिच गौरव !!
नपर्ने छु यता खाल्डा जन्मेनन् भेद यी ममा
न धर्मका कुनै धार अधर्म न जमे ममा !
पुच्छर न कतै लाग्यो राजनीति यता ममा
न जातजातिको भेद लेउ लाग्यो कतै ममा ??
न देव मूर्ति अग्लेर चुम्यो मेरो चढी शिर
न रोटी टपरा टिप्ने भयो जीवन तक्दिर ?
न काजकिरिया टुप्पी सेप्ने हात भए ममा
न देश फुकिने आगो झोस्ने झ्वाक रहे ममा !!
न साना मसिना धन्दा रुन्चे आँसु ममा झरे
न लोभ लालसी टुक्रा जिब्रा किनारमा परे !
न ठगेँ ठगका ओठ जन्मिएर बुइ चढे
न गर्वका कुनै छाती सिँगौरी सानमा बढे !!
न दम्भको शिलाभित्र खोपिए नव तस्विर
न कतै छलका गाँठा कस्न तत्पर भो शिर !
न कतै पदका प्याला पिएँ चाप्लुस हातले
सबै एक म देख्दै छु अझ मानव जातले !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































