याेगीश कृष्णएउटा असम्मानको अन्त्य
कुहिएको आलु जस्तो साहित्य रचना गर्नेलाई उनी सम्मान गर्न तयार थिए । गतिलो किसानलाई सम्मान गर्ने काम उनलाई जँचेन । राम्रा शिक्षक, प्राविधिक, चिकित्सक, कलाकार मजदुरहरूले समाजलाई र सिङ्गो मुलुकलाई ठूलो गुण लगाएका हुन्छन् ।

योगीश कृष्ण :
म झण्डै झण्डै सम्मानित भएको । उनीसँग टोलतिर यदाकदा देखाभेट भएको थियो । आज बिहान दलबलका साथ म कहाँ आइपुगे । बस्न नपाउँदै उनले भने “तपाईंको विषयमा हामीले एउटा निर्णय गर्याैँ ।”
उनको कुरा सुनेर मेरो सातो उड्यो- कतै यिनी आफैले उजुरी हाल्ने, आफैले फैसला सुनाउने र आफैले सजाय दिँदै जनताले सजाय दिएको घोषणा गर्ने दलका नेता त होइनन् । पक्कै होइनन् । भद्र देखिन्थे । अनुहारमा निर्दयता देखिँदैन थियो ।
उनले निर्णय सुनाए “हामी तपाईंलाई सम्मान गर्न चाहन्छौँ ।”
जीवनमा अपमान त धेरै नै खेपेको थिएँ । उनी सम्मानको कुरा गर्दै थिए । मेरो विस्मयलाई ध्यान नदिँदै उनले भने “तपाईं साहित्यको क्षेत्रमा हुनु हुँदोरहेछ ।”
अब मलाई विश्वास भयो- यी समालोचक हुन् । काकतालिवश मेरा केही फुटकर रचनाहरू कतै पढे होलान् । होइन रहेछ । उनी एउटा प्रतिष्ठानका तर्फबाट आएका रहेछन् । जसको नाममा प्रतिष्ठान खोलिएको थियो उनको जन्मदिनको अवसरमा कुनै साहित्यकारलाई सम्मान गर्ने उनको इच्छा रहेछ ।
मैले स्पष्ट भनिदिएँ “ म सम्मानित हुने कोटीको मानिस त हुँदै होइन, झन् साहित्यकार त कुनै पनि हालतमा होइन ।”
उनी निदाउरिए “हेर्नूस न, समय एकदमै कम छ । म कति दिनदेखि यो काममा लागेको टुङ्गो लाग्न सकेन । यो क्षेत्रको मलाई कुनै अनुभव र जानकारी पनि छैन । पहिले एक आध जनासँग कुरा गरेको त हो, जुरेन ।”
कुराकानीको क्रममा थाहा भो उनका गाउँका एक जना आफन्त बितेको वर्ष दिन पुग्न लागेको छ । साउदी अरबतिर रोजगार गरिरहेका उनका छोरा र अस्ट्रेलिया बस्ने छोरी ज्वाइँहरूको इच्छा रहेछ- बाबुको नाममा प्रतिष्ठान खोल्ने र बर्सेनी एक जना साहित्यकारलाई पुरस्कृत गर्ने । यी सबै काम फत्ते पार्ने अभिभारा उनको काँधमा आइपरेको रहेछ ।
कीर्तिशेष व्यक्तिका सन्तानको औपचारिक प्रशंसा गरेपछि मैले उहाँका बारेमा सोधेँ “उहाँ साहित्यकार हुनुहुन्थ्यो ?”
“होइन” उनले जवाफ दिए “साधारण खेती किसानी गरेर जीवन बिताउनु भयो ।”
साहित्यकार बडो भोलाभाला प्राणी हुन्छन् । सरकार र भुस्याहा कुकुरलाई जसरी जसले पनि गाली गर्ने अधिकार पाएको हुन्छ त्यसैगरी साहित्यकारलाई जसले पनि सम्मान गर्ने अख्तिायारी स्वतः पाएका हुन्छन् । मेरा एक जना मित्र छन् वार्षिक एक आध खादा ओढेनन् भने उनको प्रेसर बढ्छ । गोडा बिसेक हजारको पुरस्कार हात परेन भने उनी थला पर्छन् । धन्य, नेपालमा दिनहुँ यति प्रतिष्ठान खुलिरहेका छन् कि उनको ज्यानमा तल माथि परेको छैन । पुरस्कृत नभए पनि बेला कुबेला सम्मान कार्यक्रममा अतिथिको आसनमा बस्न पाएका छन् । मुलुकले एउटा साहित्यकार सहीसलामत पाएको छ ।
एक दिन उनी खादा ओढेर मकहाँ आइपुगे । निधारमा टीका । शरीरमा गतिलो पहिरन । अनुहारमा खादा र पहिरन सुहाँउदो हाँसो । उनी सम्मानित भएर आएका थिए । उनलाई सोधेँ “कहाँ, कसले सम्मान गर्यो ?”
सम्मान गर्ने संस्थाको नाम लाख प्रयास गरे पनि उनले सम्झिन सकेनन् । पैसाको खाम लिन नबिर्से पनि सम्मानपत्र भने कायक्रमस्थलमा नै छाडेछन् । सम्मानका कारण उनी कहिलेकाहीँ अप्ठेरोमा पनि परेका छन् । एक पटक आयोजकले उनलाई भनेछन् “हाम्रो त्यति साह्रो पहुँच छैन । हाम्रो क्षेत्रको सभासद्को हातबाट सम्मानपत्र दिलाउन सक्छौँ । त्यो भन्दा माथिल्लो स्तरको प्रमुख अतिथि चाहिने भए आफैले व्यवस्था गर्नु होला ।”
आधा हजार भन्दा बढी जनप्रतिनिधि भएको मुलुकमा आधा सय मन्त्री नहुने कुरै भएन । एक जना मन्त्रीलाई प्रमुख अतिथि बनाएर आफू सम्मानित भए । मन्त्री जस्तो व्यक्ति अतिथि भएको कार्यक्रममा गतिलै ठाउँबाट चियाखाजा ओसारियो । कार्यक्रमको बजेटमा नराम्ररी तलमाथि परेपछि आयोजकले उनलाई अनुरोध गरेछन् “कार्यक्रममा खालि खाम लिइदिनु होला । पुरस्कारको धनराशि पछि उपलब्ध गराउँछौँ ।”
दुई वर्षदेखि उनी आयोजकलाई खोजिरहेका छन् । मैले उनै साहित्यकार मित्रलाई सम्मान गर्न अनुरोध गरेँ ।
“उहाँकहाँ पुगिसक्यौँ । कुरा मिलेन ।” उनले दुखेसो पोखे “उहाँले आफ्नो न्यूनतम राशि तोक्नु भएको रहेछ । हामीसँग त्यति भएन अहिले । आगे साल ज्वाइँले पैसा पठाउने हुनु भएको छ, त्यसपछि उहाँको बारेमा सोच्न सकिन्छ ।”
कुनै साहित्यसेवीले यस्तो कोश बनाइदिए हुने जसमा साहित्यकारको नामनामेसीसहित न्यूनतम कति राशिसम्मको पुरस्कार स्वीकार गर्ने हो त्यसको समेत उल्लेख भएको होस् –
फलानो कवि : न्यूनतम पुरस्कार धनराशि पचास हजार रुपियाँ ।
ढिस्कानो उपन्यासकार : न्यूनतम पुरस्कार धनराशि एक लाख रुपियाँ ।
यिनले सोचे होलान्- यसले कतै कुनै पुरस्कार अहिलेसम्म पाएकै छैन । गदगद हुन्छ । त्यसमाथि साहित्यकार भनेर चिनिन्छ पनि । एक मनले त सोचेँ, लिउँ क्यार । एकआध महिना दिनको राशनपानीको जोहो हुन्छ । मनले मानेन । मैले सुझाव दिएँ । “गाउँकै कुनै जेहन्दार विद्यार्थीलाई पुरस्कार दिनुहोस् । उसले आफ्नो पढाइमा खर्च गर्छ । नभए कुनै विद्यालयमा पुस्तकालय बनाइदिनूस् । किताब किनिदिनूस् ।”
“हुन त हुन्थ्यो” उनले भने “गाउँमा गरेको कायक्रम गाउँकाले मात्र थाहा पाउँछन् ।”
उनी चाहन्थे थोर थार रकम खर्च गरेर भए पनि आयोजकको राम्रै प्रचार होस् । अझै म हार मानिन “तपाईंको जिल्लाका कुनै त्यस्तो कुनै किसानलाई सम्मान गरिदिनुहोस् जसले सबैभन्दा बढी आलु वा अन्य तरकारी फलाएको होस् ।”
उनी हाँसे “तपाईं जिस्किनु हुन्छ । जाबो आलु फलाउनेलाई के सम्मान गर्नू र ?”
कुहिएको आलु जस्तो साहित्य रचना गर्नेलाई उनी सम्मान गर्न तयार थिए । गतिलो किसानलाई सम्मान गर्ने काम उनलाई जँचेन । राम्रा शिक्षक, प्राविधिक, चिकित्सक, कलाकार मजदुरहरूले समाजलाई र सिङ्गो मुलुकलाई ठूलो गुण लगाएका हुन्छन् । तिनलाई पुरस्कृत गर्न यिनी पनि कञ्जुस्याइँ गरिरहेका थिए ।
मसँग क्षुब्ध हुनुअघि मैले उनलाई यस्तो साहित्यकारको नाम सुझाएँ जसले सहज रूपले उनको पुरस्कार ग्रहण गर्ने छन् ।
पाठकहरू, समाचार हेर्दै गर्नु होला । उनी सम्मानित भएकाे तस्विरसहितकाे समाचार प्रकाशित हुनेवाला छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































