साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगामुठे दोहोरी !!

काण्ड पनि सुनदेखि नुनसम्म, भेपदेखि रेपसम्म, बोलेकोदेखि पोलेकोसम्म, धरौटीदेखि रखौटीसम्म सबै कुरा मिलिन्जेल सुप खाँदै चुप नमिलेपछि दोहोरीको दौडधुप भइरहेछ यो देशाँ ।

Nepal Telecom ad

ह्यारी- ८० :

दोहोरी भन्नेबितिकै दोहोरी साँझ भनिहिाल्ने रहेछ । हुन त म दोहोरी साँझ छिरेकै छैन, त्यसैले यसबारे कुरा गर्न मसँग त्यस्तो ल्याकत पनि छैन । सहरतिर लरबरिएर हिँड्दा आजसम्म दोहोरी शब्द साँझ शब्दसँग मात्र जोडिएको देखेको छु । कतै पनि दोहोरी बिहान, दोहोरी दिउँसो, दोहोरी रात देखिँदैन । हुन सक्छ यो हेर्दा भ्रष्ट नदेखिएको प्रस्ट तर मतिभ्रष्ट नेता जस्तै यो । दोहोरी खेल्दै जाँदा दिन बित्छ, रात बित्छ अनि बिहान हुन्छ तर दोहोरी भइरहन्छ यो देशाँ । पुरुष सांसदले सुत्केरी भएँ भनी भत्ता खाएको सुनिने देश पनि त हा यो । बाँचिरहनुपर्छ के के सुन्न र देख्न पाइन्छ नै ! छेपाराका झैँ रङ बदलिइरहने मनुवालाई भोट दिएर पठाउँदा पनि हामी एउटै वर्णमा दोहोरी खेलिरहेको देखिरहन्छौँ । कसैलाई पाहा पछारेझैँ पछारेर आफू सत्तामा लिसोझैँ टाँसिइरहने प्रवृत्तिलाई बाध्य भएको भनेर नौटङ्की नरची यहाँ धरै छैन ।

विकृति र विसङ्गति कहाँ छ र ? सत्ता पक्षको आँखाले देखेको कुरा हो यो । जताततै भ्रष्टाचारै भ्रष्टाचार, हत्या, आतङ्क, बलात्कार, भद्रगोल छ भनेर देख्ने चाहिँ विपक्षी मात्रै हुन् । आँखा दुइटा भएपछि दुई थरी देखिनु नौलो कुरा भएन नै ? दुइटा आँखाले एउटै देख्ने त सर्वसाधारण निरपेक्ष जनता भइहाले नि । रोधीघरमा दोहोरी त पक्षी र विपक्षीबिच हुने नै भइगो । पक्षीकाले विपक्षीका एक दुईलाई खुच्चिङ पारिदिने काम त गर्नै पर्छ है । त्यसैका लागि त त्यहाँ जाने हो । आफू बच् अरू सबै फस् नीतिले नै यो देशमा हालीमुहाली चल्ने रहेछ भन्ने कुरा फतुरेले दोहोरीको विश्लेषणबाट निचोड निकालेका हुन् । फतुरे काका पनि यस्ता विषयमा फतरफतर गर्न छोड्दैनन् ।

खाद्यान्नको मिसावट भएझैँ दोहोरी खेल्नेहरूको मिसावट छ भन्नेकै मुखमा मिसावटी घुसेरस छिरेको हुन्छ अनि के दोहोरी नखेल्नु नि ? आदेश दिने व्यक्तिकै जिब्रो लतरपतर हुन्छ । तस्करीवर्गको दोहोरी हेर्ने तहका हामी छैनौँ तर कनीकुथी हेर्नै परेको छ । काण्ड पनि सुनदेखि नुनसम्म, भेपदेखि रेपसम्म, बोलेकोदेखि पोलेकोसम्म, धरौटीदेखि रखौटीसम्म सबै कुरा मिलिन्जेल सुप खाँदै चुप नमिलेपछि दोहोरीको दौडधुप भइरहेछ यो देशाँ ।

तस्करीको गानो पलाइरहँदा सबैसामु कर्कलाको दृष्टिगोचर हुन कठिनाइ भएको छैन । कर्कलाको पातमा अडिएको पानी जस्तो वाणी भएका नेता भइन्जेल देशमा काँचो पिँडालुझैँ कोक्याएको अनुभूत गरिरहन पाइने नै छ । अनि देश कहाँबाट उँभो नलाग्नु र ? आलु जस्ताले कोक्याउने पिँडालु चखाउने परम्पराको अन्त्य सोच्नु नै गलत हो । हुन त देश उँधोतिर भासिँदै गएको महसुस गर्ने जुँगामुठेहरू सद्गुरुले दिएको होलीरस सुरुप्प पारेपछि त केही त दोहोरी न सोहोरी, तैँ चुप मै चुप भएका हुन् भन्छन् क्यार !

अर्कातिर आर्थिक क्षेत्र पनि डामाडोल छ भन्न हुन्छ त ? बहालवाला र भूतवालाको दोहोरी चलिरहेछ त । बाग्मतीमा शुद्ध पानी बगे पो शुद्ध जलको आश गर्न पाइन्छ ? यसका लागि जति बजेट बगायो उति विकारी ढल बगेकै छ क्यारे । अझै ढल थपियोस् भनी धूप हालेर बस्नेले नै यसका लागि बजेट छुट्याउँदै हजम पारेको तथ्य त दोहोरीमा सुनिएकै हो । केटा केटा, केटा केटी, केटी केटी दोहोरी खेलेका त देखेकै छौँ । रोदीघरमा, चौतारीमा, हिजोआज विवाह, व्रतबन्ध, भोजभतेरमा, सांस्कृतिक कार्यक्रममा आनि वनभोजमा, होटेल रेस्टुरेन्ट तथा बारमा दोहोरी खेल्दा जति आनन्द आउँछ त्यो भन्दा बढी त संसद्मा खेलिने दोहोरीको मजै बेग्लै हुन्छ ।

चुट्किले कान्छा, उखाने माइला, जुँगे ठाइँलो, टोपवाला काका, लरबरे काँइलाहरूले सभामा खुब दोहोरी खेल्छन् । आखिर धोका दिनेलाई के भन्नु र खै ? दोहोरी खेल्छन् खेल्छन् अनि भत्ता लिने बेला एक भएर मिली मिली झ्वाम पार्छन् । परिवारवादमा अगाडि बढेको दोहोरी खेलमा तँ कुटेजस्तो गर् म रोएजस्तो गर्छु भन्दै थुनेजस्तो गर्ने र उन्मुक्ति दिँदै चोख्याउन गहुँत छर्दै जाने प्रपञ्च थाहा पाएर होला हिजोआज फतुरे काकाले पनि तराजु साहुकहाँ जाँदा तराजु मिलाउँदे गरेको देखेँ भन्छन् बा । होइन, विचारको दोहोरी खेले त जनताले सुन्थे नि यहाँ त जुँगाको हात्ती आयो हात्ती आयो फुस्सा दोहोरी पो देखिन थाल्यो बा ?

जुँगा चल्यो कुरा बुझ्यो भन्ने फतुरे काकाले अहिले जुँगा त के, मुख, हातखुट्टा र जिउ नै चलाए पनि कुरा बुझेनन् रे । जुँगाको कुरा बुझ्नु र फलामको चिउरा चबाउनु एउटै भएको छ क्यारे उनलाई । नत्र जुँगाको कुरा बुझेको भए आज शक्तिशालीहरू पनि लोप्पा खाई प्रतिपक्षमा बस्नुपथ्र्यो त भनेर फतुरे काका फतफताउँदै छन् । जुँगाको संसार अलि फरक भएरै होला, जुँगा नभएका समानुपातिकका केहीको इसारामा हिँड्दा जुँगा खौरने लरबरे काइँलाबाको झन्डामुनि बस्ने रहर अर्कैले पड्काइदिएको देख्ता राजनीति फोहोरी खेल भएको पुष्टि भएको महसुस हुन्छ । बारीका कान्ला तासेजस्तै जुँगा तास्नेलाई ठुटे जुँगाको दाउ कसले कसले थहा पाउनु हाउभाउ भन्ने भनाइ ठ्याक्क मिल्न जानु संयोग मात्र हो कि ? लास्टाँ जुँगा पाल्नेले भत्ता पनि कति नै पाउला र ? राति उठ्दा जुँगा नै चिलिमच्वाट पारिदिए भने !

जुँगा सान, मान र हैसियतलाई माथि उडाउने यान हो भन्ने सुनिएकै हो । जुँगामा चिटिक्कको दाह्री राख्न सके बेहुलाको रूप आइहाल्छ । इतिहाँस जुँगाको मान र सानले सजिएको छ । जुँगाको जति मान त शरीरका अन्य कुनै अङ्गले पनि पाएका छैनन् । भत्ता खाने पनि यिनै जुँगा, उखेली माग्ने पनि यिनै जुँगा । जुँगा चल्यो कि कुरा बुझ्यो भन्नेहरू मौकामा चौका हानेर जुँगामा ताउ लाउँदै भाउ खाएर बसेका देखिन्छन् नै । त्रिदेवमध्येकै एक देवले जुँगा पालेदेखि आजपर्यन्त जुँगा पाल्ने र काट्नेको दाहोरी चलेकै छ । जुँगाको लडाइँमा हार्ने जित्नेको क्रमले होला कसैका जुँगा घोप्टिएका, कसैका बटारिएका, कसैका भर्खर कलिलिएका, कसैका क्रिम लगाएका, कसैका रङगिएका अनि कसेका उखेलिएका हुने रहेछन् बा । खुलेका र फुलेका, रङ्ग्याएका र बङ्ग्याएका जुँगाको चर्चा परिचर्चा अनि यिनीहरूको खाँटी विशेषता अर्को अध्यायमा हुने नै छ ।

जुँगा हल्काफुल्का देखिनेहरू पनि जुँगेजुँगिनीहरू नै भएका छन् । जुँगा चौर, झाडी र कुइनेटामा रमाउँछन् तर जुँगाको दोहोरी खेलिने ठाउँमा दाह्रीलाई अन्याय भएकै छ । धन्न हिजोआज दाह्रीले पनि स्थान पाउन थालेकाले विवाहका बेला दुलाहका गालामा सानका साथ बस्न पाएको देखिन्छ । जुन दिनदेखि यो देशाँ जुँगाको दोहोरी खेल रोकिन्छ अनि कर्मशील हातहरू उद्यमी बन्छन्, त्यसदिनदेखि देशले दाह्री काट्ने ब्लेड बनाउन सुरु गर्ने नै छ । अनि देशको काँचुली फेरिन्छ भन्ने विश्वास फतुरे काकाले गरेका छन् । फुलेका दाह्री र जुँगालाई आराम गर्न दिएर भर्खरका रेखी बसेका जुँगालाई स्थान दिने हो भने देशमा जुँगाको दोहोरी अन्त्य भई पौरखी जुँगाले स्थान पाउँथ्यो कि । अनि सबैले जुँगाको जयजयकार गर्दथे होलान् ।

खौरे पनि नखौरे पनि, जुँगा भए पनि नभए पनि नि जुँगाले दोहोरी खेलिन्जेल देशले विकासको मुहार देख्न पाउने छैन भन्ने कुरा फतुरे काकाका जुँगाहरू जुँगा मुसार्दा एक ठाउँमा भेट भएका बेला मैले मेरै कानले सुनेको हो भनी जुँगे साहु भन्दै थिए । जुँगा पनि हेर्नाका हुन्छन् नि । कुनै बौलाएर मौलाएका हुन्छन्, घनघोर जुँगा, कुनै बेडाएका जुँगा, कुनै खुम्रे लागेर कतै कतै चैतमा उम्रेका मकै जस्ता जुँगा, कुनै कुनै मुखलाई साष्टाङ्ग दण्डवत गर्न शाष्टाङ्ग दण्डवत् गर्न आतुर जुँगा, कुनै ठाडा, कुनै उम्रँदै नउम्रेका तर नाक र ओठका बिचमा हराएका जुँगा हुन्छन् ।

यी सबका सब जुँगाले जुँङामुठे दोहोरी खेल्ने गरेकाले यस शताब्दीमा आएर पनि रमिते बन्न परेको छ यही देशाँ । जुँगा भए पनि नभए पनि खाने मुखलाई जुँगाले छेक्दैन क्यारे, दोहोरी त खेलिन्छ खेलिन्छ भन्दै खेलिरहेछन् यहाँ । दुनियाँले यही जुँगामुठे दोहोरी खेलेरै सोझासाझासँग कर असुलेर सन्तान दरसन्तानका लागि भविष्य जोहो गरिरहेछन्, भत्ता हजम गरिरहेछन् । के दोहोरी खेल्नु सङ्घीय पेसा हो त ? यसैमा सन्तान दरसन्तानको भविष्य समुज्ज्वल देखिन्छ त ? त्यसो भए खेल्ने कि नखेल्ने त जुँगामुठे दोहोरी ? के छ विचार ?

०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८० चैत १० गते शनिबार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x