साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आग्रहको उरुङ

नाथे आग्रहहरू यस्ता असुर जस्तो सुरो पार्टीका लागि मुत हो त्यसको न्यानोले उसलाई थाम्दैन । अब आग्रहको सुनको भर्‍याङ लगाउनेहरूले सोचे हन्छ, तिनीहरूलाई आग्रहको ता के आग्रहका बाबुको उरुङ रास लगाए पनि केही लछार्पाटो लाग्ने वाला छैन ।

Nepal Telecom ad

होम सुवेदी :

कुनै बेला पार्टी नै नभका नेपालमा अहिले व्यक्ति पिच्छे पार्टी हुन अवस्था छ । अलिक जोधाहा र अरुका कुरा नटेर्ने पार्टीहरूमा नेपालभित्र अटेरी पार्टी र त्यस्ता पार्टीका कार्यकर्ताहरू नै हुन्छन् । त्यस्ता पार्टीको अटेराइका लागि नेपालका अन्य पार्टीहरूको तर्फबाट त्यस्ता अटेरी पार्टीका अधम, अधमाधन, फुच्चेफाच्चे, अलिक माथिका, साधारण, असाधारण, मध्यम, उत्तम अतिउत्तमदेखि शिष्ट र विशिष्ट तहका नेतानेती, कार्यकर्ता, कार्यकर्ती… आदि इत्यादि सबैका सबैलाई बिहान, बेलुका, रातसाँझ एक होइन अनेकौं पटक आग्रहै आग्रह गरिएको छ, भासनबाट, कामबाट, दामबाट, हामबाट, हात जोडेर, खुट्टा समातेर वा खुट्टामा पस्रिएर । तर यसरी आग्रहको बर्खा गर्दा पनि नडग्मगाएको देख्ता नेपालको यस पार्टीलाई काँधिएको असुर जस्तो सुरो पार्टी भन्न मन लाग्छ । यो सुरो पार्टी हो नेपालको माओवादी पार्टी ।

यसै पार्टीलाई आग्रहका पुकारा वा भासन २०५२ सालदेखि नै देशका सबैले र विदेशीले पनि सुन्ने गरी गरिँदै आइएको छ, देशैले सुन्दै आएको छ, तपाईं सुन्दै आउनु भएको छ, हामी सुन्दै आएका छौँ र म पनि सुन्दै आएको छु । ऊबाहेक देशका अन्य अनेकौं पार्टीहरूबाट त्यस पार्टीलाई यति विधि आग्रह भइसक्यो कि आग्रह भन्ने वस्तु यदि कुनै ठोस पदार्थ हुँदो हो त त्यसका रासले त्यो पार्टीका नेताहरू वा कार्यकर्ता भनिनेहरू पुरिएर निसासिई सक्ने थिए । उनीहरूलाई सासै फेर्न मुस्किल परिसक्ने थियो । तर यो आग्रह पनि हाम्रा घैँटे नेताहरू जनताबाट हराएजस्तै हावामा उडेर हराउने बिलाउने तत्व भएको कारण उनीहरू न निसासिएका हुन्छन्, न पुरिएका हुन्छन् न छोपिएका नै हुन्छन् । उनीहरू ता कुकुर भुक्तै छ हात्ती लमकलमक गर्दै छ भनेझैँ आफ्नो सुरमा लागेका हुन्छन् लागेका हुन्छन् । कतै जग्गा हडपको काम भइरहेको हुन्छ, कतै झन्डा गाड्ने काम भएको हुन्छ, कतै भाटा तिखार्ने काम भइरहेको हुन्छ, एउटाले शान्तिको नाममा सही गर्छ, अर्कोले अशान्तिका भासनको बमन गर्छ, यता देखाउने दाँत शान्ति र सम्विधानको छ उता कोखामा जनताको दुहाइ दिएर जनतालाई नै फाँड्ने छुरी भिरिएको हुन्छ । हो निकै दिन भयो, कसैलाई भौतिक कारबाही भएको सुनिएको छैन । अपहरण गरिएको सुनिएको छैन, बाँकी रहेका प्रहरीका बीटहरूलाई भत्काएको छैन, सेनाहरूका ब्यारेकमा बम हानिएको छैन । यिनको यता केही दिनको फरक भनेको त्यत्ति हो । आफ्ना पुराना काममा सबै उसै गरी लागेकै छन्, लागेकै छन् । अपहरण भएकै छ, चन्दा आतङ्क जारी छ ।

आफूलाई गतिशील र सर्वहाराको विद्रोही पार्टी भनेपछि ता काममा लाग्नु पनि पर्छ, कराउनेले कराउँदैमा आफ्नो लक्ष्यबाट हटेर लक्ष्य पाउन सकिन्छ र ? कतै कसैको जग्गा हडप गर्नु छ कि, कतै कसैको स्वस्ती शान्ति गर्नु छ कि, कतै कसैको जग्गामा झन्डा गाडेर कित्ता काट गर्नु छ कि, कतै कसैको अंशवण्डा गरिदिनु छ कि, कतै जग्गा पास गरिदिनु छ कि, कतै कसैलाई यतियति राज्य तिम्रो भागमा हालिदिन्छौँ भन्नु छ कि, अथवा केके गर्नु छ त्यो नछाडी गरिरहेकै छन् । सुरो पार्टीको यही हो दायित्व । गर्नु पनि पर्छ । प्र्रगतिशील चरित्र भएको पार्टीहरूले नगरी हुन्छ ? विकसित मति भएकाहरूको ढाँचा नै यस्तै हुनु पर्छ । काग कराएर के हुन्छ ? ऊ कराइरहन्छ । पिना सुकिरहन्छ । विकसित र उच्च सोच भएका दक्षिणपूर्व एसियाको सबै भन्दा धनी पार्टीहरूको देशमा पनि आग्रहले केही खालो सार्छ ? अरबपति सर्वहारा वर्गका प्रतिनिधिको सोच नै यही हुनुपर्छ । आग्रहको रासले पुरिए पनि, अदालतका आदेशले ढाकिए पनि त्यस्ता कुरालाई वास्तै नगरी धडाधडी काम गर्दै जानु नै उन्नत सोचको परिणाम हुनुपर्छ । एक थोक गर्‍यो । अदालतले आदेश दियो भने फेरि त्यसबाट हटेझैँ गर्‍यो । बस । अदालतले पनि बिर्सने र कानूनको दफाहरूले पनि नछुने खालका काम गर्‍यो अनि कसका बाबुले फैसला गर्ने हँ ?

आग्रह भनेको कुकुरको भुकाइ न हो । धन्दामा लागेकाहरूलाई आग्रहका धम्कीले के लछार्छ ? हात्तीलाई कुकुर भुकेर के हुन्छ ? उनीहरू हात्ती हुन्, आफ्नो लक्षमा लागेका छन् । सुरो पार्टी हात्ती हो । उ आफ्नो लक्ष्यमा लागेको छ । उनीहरूमाथि कसैको आग्रहको त के आग्रहका बाबुले पनि केही लछार्दैन । हाम्रा जनता भन्यो, जनताको नाममा कुम्ल्यायो, देशको बजेट आप्mना अरौटेभरौटेहरूका पोल्टामा हालेझैँ गरेर आफैँ खोस्यो । यस्ता जनताको दुहाइदिने बहादुरका पनि बहादुरलाई आग्रह मुलाले के छेक्छ ? उनीहरूलाई कसैका आग्रहका धम्कीले केही तछार्दैन, केही पछार्दैन, केही लछार्दैन ।

गिरिजाको प्रचण्डमाथि आग्रह थियो— अब तपाईंको काँधमा आएको छ नेपालको शासन गर्ने दायित्व । गिरिजाको आग्रहलाई आफ्ना हुँदो छँदोतिर बटारेर उनीहरू राज गरिरहेका छन् । गिरिजाका आग्रहको परिणाम हो सुरो पार्टीले शासन गर्न पाउनु । गिरिजाको यो आशीर्वाद रूपीे वरदान उनीहरूले पाएकै हो ।

कुनै भौतिक वा ठोस पदार्थ ता होइन आग्रह भनेको । आग्रह भनेको त मरुभूमिमा चुहिएको एक थोपो पानी न हो । त्यो मरुभूमिमा चुहिएको एक थोपो आग्रहको पानी कता हरायो कता । कसैको जग्गा नहडप, कसैको सम्पत्ति नलुट भनेर त्यसपछि माधव नेपालले आग्रहको बर्खा नै छोडे, सुशील बाबु र शेरबहादुरजीले आग्रहको खोलो नै बगाए, अरु अरु तल्लो तहका अरु पार्टीका नेताहरूले यिनलाई आग्रहको भेलै बग्ने गरी कराए । कसैको आग्रहले यिनलाई लछार्पाटो लगाएको छैन । यी ठुला बालक, किशोर, युवा, तरुण लगायत साना ठुला नेताहरूका आग्रहका रासको के कुरा भयो र ? आग्रहै आग्रहको रास खनिएको छ खनिएको छ । रातो दिन आग्रह मात्र छन् । सुशीलजीले त झ्वाँकमा आग्रहका साथ माओवादीलाई राजा ज्ञानेन्द्रको हालत हुने कुरा पनि बडो आग्रहका साथ राख्न भुल्नु भएको छैन । तर त्यस्तो भालुभुत्ते आग्रह मुलाका कुरा कता जान्छन् कता !

अलिकति धाक पनि आग्रहका साथ दिएको सुन्दछु के.पी.जीले । नडराएको जस्तो गरी अलिकति आग्रह गर्ने मान्छे कोही छन् भने के. पी. जी नै छन् । उनीबाहेक अरु सबै ता आजको खरो र सुरो पार्टीलाई आग्रहको बर्खा गरिरहेका छन् रातोदिन । व्यक्तिको मात्र के कुरा त्यस पार्टीलाई अरु सयौं पार्टीले समेत निकै वर्षदेखि आग्रहको उरुङ खन्याउने गरेका छन् । राष्ट्रबाट मात्र नभई अन्तरराष्ट्रिय तहबाट नै यसलाई आग्रहको खोलो आएको छ नेपाललाई डलको खोलो आएजस्तै । त्यो आग्रह भन्ने कुरा धन्न माटो भइदिएन, नत्र माटो भएको भए माटोभित्र परिसक्थ्यो सुरो पार्टी, आग्रहको कुरा काठमाडौंको फोहोर जस्तो मात्र भएको भए पनि आज यो पार्टीकाले सफा गर्ने थियो होला त्यस आग्रहलाई आफ्नो सेनामेना लगाएर । आग्रह कुनै दलदल पनि भएन नत्र उनीहरू यी अरु पार्टीहरूको आग्रहको दलदलमा फसेर डुबिसक्थे होला ।

यो आग्रह न माटो भयो, न फोहोर भयो, न दलदल भयो, न भास भयो, न पानी भयो न ता माटो ढुङ्गा वा बालुवा नै भयो । म ता के ठान्छु भने यो अनेकौं व्यक्ति र संस्थाले गरेको आग्रह भनेको हाम्रो नेपालको सुरो पार्टीलाई सुनको लिस्नो भएको छ । अरुले गरेका आग्रहका लिस्नामा चढेर यस पार्टीका कार्यकर्ताहरू रजाइँ गरिरहेका छन् । आखिर आग्रह भनेको आग्रहै ता हो, आग्रहमा उनीहरूका जस्ता भाला, कत्ती तरबार, सकेट, बाल्टिन, कुकर लगायतका बम हुन्नन् क्यारे । बमको के कुरा बाँसका भाटासम्म पनि हुन्नन् यी आग्रह गर्नेहरूका आग्रहमा । अनि त्यस्ता आग्रहहरूका अघि डराउनु किन नपरोस् त ?

कुन बेला लगाउने हुन् अस्तिसम्म गल्लीमा गाँजा खाएर रल्लिने र भित्तीका पुच्छरसम्म नछाडेका र आजका चाहिँ चोट्टे खाँटी निख्खरा भएका कार्यकर्ताहरूलाई । लगालगी बजेट चबायो, अर्थतन्त्र चबायो, विद्युतगृह निर्माण भएका छन् भने तिनलाई ढलायो, गा.वि.स भवनहरू ध्वस्त बनायो । आग्रह भनेको हुँदै जान्छ । त्यस्ता नाथे आग्रहहरू यस्ता असुर जस्तो सुरो पार्टीका लागि मुत हो त्यसको न्यानोले उसलाई थाम्दैन । अब आग्रहको सुनको भर्‍याङ लगाउनेहरूले सोचे हन्छ, तिनीहरूलाई आग्रहको ता के आग्रहका बाबुको उरुङ रास लगाए पनि केही लछार्पाटो लाग्ने वाला छैन । पुरानो बानी बेहोरा छाड्न जति आग्रह गर्दा पनि उसले नछाडेझैं अरु पार्टीहरूले पनि जनताको नाममा दुहाइ दिंदै असुर जस्तो सुरो पार्टीसँग आग्रह गर्न भने किमार्थ पनि छोड्नु हुन्न ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x