सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टाचारसँग भलाकुसारी

नातावादको विरोध गर्नोस् तर भाइलाई भन्सारमा पठाउन नभुल्नोस् । ससुरालीवादको विरोध गर्नुहोस् सकेसम्म सालीनानीलाई शाखा अधिकृतमा सिफारिस गर्नोस् । चाकरी र चाप्लुसीलाई चट पार्दिन्छु भन्नोस् तर घरसारदेखि टकसारसम्म चम्चाहरूलाई चियरम्यान बनाउनुहोस् ।

Nepal Telecom ad

केशव दुवाडी :

मन्त्रालयदेखि शौचालयसम्म छ्यासछ्यास्ती हुन सफल अरबौँ आय आर्जन गर्न सकिने अचूक औषधि ठहरिएको भ्रष्टाचार पारदर्शी प्रजातान्त्रिक परिपाटीमा त उधुमसँग मौलाउन थालेको छ । पहिला पहिला टेबुलमुनिबाट मुसाको चालले चलखेल गर्ने यो काइदा बहुदलको फाइदा उठाएर बर्षै पिच्छे एकहात माथि उफ्रिन थालेको छ । सरकारी ठेक्कादेखि घरायसी रासनपानीमा समेत प्रवेश गरेको यो भ्रष्टाचार बाह्रवर्षमा बाह्र हात माथि उफ्रने भइसक्यो ।

यसो दुईचार अर्ब लाभ गर्न नपाउने पद पनि लाभको पद हुन्छ र ? घुस नघिच्ने कर्मचारी, रतिराग नगर्ने ब्रम्हचारी, चामलमा ढुङ्गा नमिसाउने व्यापारी, दूधमा पानी नमिसाउने दूध बेचुवा, मासु काट्दा अचानोमुनि चौटा नलुकाउने मासु बेचुवा, चिट नचोर्ने पढुवा, पुरस्कारमा राल नचुहाउने साहित्य लेखुवा, झुटो नबोल्ने भोटमागुवा आदिले प्रगति गर्न सक्दैनन् ।

देश सम्पन्न हुनु भन्दा पहिले समाज सम्पन्न हुनु पर्छ, समाज सम्पन्न हुनु भन्दा पहिले व्यक्ति सम्पन्न हुनु पर्छ । जग बलियो नभए घर पहिरिने डर हुन्छ । व्यक्ति भनेको समाजको जग भएकोले सर्वप्रथम व्यक्ति बलियो हुनु पर्छ भनेर भन्सारबाट संसार परिवर्तन गर्ने अभियान थालेका ती ओजस्वी अनुहारहरू छेक्नु पर्नेगरी तस्वीरखिच्ने म जस्ता पाखण्डी पत्रकारहरूलाई पा पछारे झैँ पछार्नु पर्छ । डाहाडेहरू ! अर्काले मुन्टो लुकाउन भनेर जतनसँग बनाएको गौँथलीकोगुँडलाई तस्वीरेयन्त्रले ठूलो बनाएर पत्रिकामा छाप्ने !

राष्ट्रको चिन्ता गरेर चिट चिट पसिना काढ्दै चित्त दुखाउनु भन्दा व्यक्तिगत स्वार्थ पूर्तिमा लाग्नु उपयुक्त हुन्छ । अवशरवादलाई अङ्गालो हाल्दै समय मुताविक चल्न सकिएन भने त सँधै बल्ड्याँग खाइन्छ । आजको जमानामा ‘सर्वे भवन्तु सुखिन’ भन्दै हिँड्नेले त कुकुरले नपाएको दुख पाउँछ । त्यसैले ‘परोपकार पुण्याय पापाय पर पीडनम्’ भन्ने व्यासबाजेको थोत्रो बहिखाता पल्टाएर हेर्नु भन्दा ‘मौका पाउँदा खाउ र गाउ, किनकि जीवन छोटो छ बिहानीको शीत जस्तै, बिलाँउछ जीवन औधी चाँडो पछि आउँदैन पालो’ भन्ने चिनिया कवि ‘साओ मेङ तेह’ को भावनालाई अनुशरण गर्नु ठीक हुन्छ । ‘क ख ग घ ङ’ हलो जोत्ने तँ पैसा लिने म भन्ने सूत्र अनुसार काम गरेर दाम गोजीमा हाल्नु पर्छ । ‘द मेजर अफ लाइफ इज इट्स एक्सिलेन्स, नट इट्स लेन्थ’ अर्थात जीवनको मापदण्ड भनेको विद्वता हो शरीरको लम्बाइ होइन भन्ने प्लेटोको कुरालाई आधुनिकताको छुराले रेटि सक्यो । त्यसैले ठाउँ पाएको बेलामा जे जे चार गरेर भने पनि पोकोपार अभियानमा लाग्नु पर्छ ।

डाडु पाए पनि भित्र्याउनु पर्छ, खँडकुलो पाए पनि भित्र्याउनु पर्छ । पत्रं पुष्पं, आल, पिँडालु, जेते मेते जे जे भेटाइन्छ त्यै त्यै दुईहातले नसके चारहात खुट्टाले सोहोर्नु पर्छ । भ्रष्टाचारी भनुन् कि घुसिया भनुन् कमाइ सकेपछि के मतलब ? भनेर मान्छे मर्दैन तातोपानीले घर जल्दैन राजाको अगाडि बाबाकि दुहाइ । धनको अगाडि सबै धनुष्टङ्कार !

नातावादको विरोध गर्नोस् तर भाइलाई भन्सारमा पठाउन नभुल्नोस् । ससुरालीवादको विरोध गर्नुहोस् सकेसम्म सालीनानीलाई शाखा अधिकृतमा सिफारिस गर्नोस् । चाकरी र चाप्लुसीलाई चट पार्दिन्छु भन्नोस् तर घरसारदेखि टकसारसम्म चम्चाहरूलाई चियरम्यान बनाउनुहोस् । यसरी चारैतिर आफ्नो सप्ठेरो नपारे धनलक्ष्मीको नाकमा कसरी नत्थी लाग्छ ?

देउ पित्र इष्ट मित्र बाउ बाजे आदिले गर्ने गरेको कुरालाई अनुकरण गर्नु अपराध पनि त होइन । असङ्ख्य देव दानव तथा ऋषिमुनिले भगवानलाई चाकरी (तपस्या) गरेर धेरै कुरा कमाएकै थिए । कति देवी देवतालाई आफ्नो काम सफल पार्नलाका खातिर राँगा बोका, कुखुरा आदिको बलि दिएर घुस घुवाउने चलन छँदै छ । जब देवी देउताहरू नै खान्छन् भने हामी किन नखाने ?

हाम्रा नेपाल खाल्डोलाई कसकास गरेर एक ढिक्का पार्ने ठूला महाराजले घुस लिने दिनेलाई देशको सत्रु माने पनि यमराजको अदालतले बली खाने खुवाउनेलाई ससम्मान स्वर्गको सिटमा सजाइ हाल्छन् रे । परिश्रमको फल अब तीतो हुन थाल्यो, मेहनतको कमाइले चूलो बल्न छाड्यो । साक्षात् लक्ष्मीको अवतार मानिएको गाईले त आची खान थालिन् हामीले भ्रष्टाचार गर्न किन नहुने ? आमा दुब्ली छ भन्दैमा बच्चाले दूध खान छाड्छ र ?

०००
‘गोरखापत्र’ २०५९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’