केशव दुवाडीकलकत्ता नेपाल पानीजहाजमा सलल
बेरोजगारहरूको खातामा सरकारले अलि अलि पैसा हाल्दिएको छ । अब नेपाली खल्तीमा पैसा नभएको त हुँदै भएन । खानकै लागि त कामै गर्न परेको छैन हरेक टोलमा निःशुल्क मेस सञ्चालन गरिएको छ ।

केशव दुवाडी :
“स्वागत छ नेपाली पानीजहाजको बोर्डमा !” एक जना उदित यौवनाको मन्द मुस्कान सहितको आवाजले मेरो कान झङ्कृत भयो भने मन उद्वेलित भयो । म नेपाली झण्डाबाहक पानी जहाको नर्मल सिटमा गएर बसेँ । कलकत्ताको हाउडा ब्रिजमुनि हुग्ली नदीबाट सलल बगेको त्यो जहाज स्यालदहमा पुगेर केही बेर रोकियो । अनि गंगा नदीको मूलप्रवाहलाई चुनौति दिँदै नदीको बहाव भन्दा विपरीत बहन थाल्यो । नर्मल क्लासको टिकट भए पनि नेपाली पानीजहाजमा धेरै सुविधा रहेछ । एसी, स्लीपर,सिट अगाडि ट्रे, विभिन्न पत्रपत्रिकाहरु, स्मार्ट स्क्रिन आदि ।
एकछिन पछि अर्की एक जना यौवन पुश्पित देहलता ट्रेमा ड्रिंक्स, सलाद र स्न्याक्स लिएर आइन् । “इक्स्क्युज मि सर ! हार्ड ड्रिंक्स अर सफ्ट ?” मुसुक्क हाँसेर उनले बोल्दा म अर्धनिन्द्राबाट झल्याँस्स भएँ सायद । “फेन्टा छ फेन्टा? नेपालीमै बोल्नु न यो नेपालकै जहाज हो क्यारे” मैले भनेँ । “ओके सर, प्लिज टेक योर ड्रिंक” भनेर उसले फेन्टा र पिनट्स दिएर गई ।
पानीजहाजमा धेरै जसो पश्चिमबङ्गालका तीर्थयात्रीहरू थिए । उनीहरु लुम्बिनी, जनकपुर हुँदै पशुपतिनाथ दर्शन गर्न जान लागेका अरे । पानीजहाज २० नोटस प्रतिघन्टाको गतिमा सलल बगिरहेको थियो । यही रफ्तारले चल्दा नारायणी पुग्नलाई करीब २४ घण्टा लाग्न सक्छ । त्यसैले म कहिले सुत्दै थिएँ त कहिले किताबहरू पढ्दै थिएँ ।
जहाजको बालकोनीमा बसेर जलयात्रा गर्नु उधुम मजा हुँदोरहेछ । धन्य छ, नेपालका सम्माननीय प्रधानमन्त्रीलाई जसले आफू प्रधानमन्त्री भएको २ वर्षमै नेपालमा नेपाली ध्वजावाहक पानीजहाज ल्याएर ऐतिहासिक काम गर्नु भयो । भन्ने मनमा सोच्दै गंगाको छाल हेरिरहेको थिएँ ।
ओहो ! हाम्रो सभ्यताको धरोहर पावन गंगा ! जहाँ नेपालका सबै नदी गएर समाहित हुन्छन् ! तर पनि साह्रै फोहर पो भए छ त । भारतीय प्रधानमन्त्रीले “पानी और जवानी पहाडसे मैदान बहति है” भनेर नेपालको संसदमा भनेको याद आयो । यो कुरा ठीक रहेछ । हाम्रो पहाडको पानी सबै भारतकै मैदानमै त पुग्दो रहेछ नि !
हाम्रो प्रधानमन्त्री र मोदीको मित्रतालाई पनि अपारकै मान्नु पर्छ । प्रधानमन्त्रीले चुच्चे नक्सा बनाउनु भएको ३ महिना भित्रै कालापानीबाट भारतीय सेना हट्यो । हामीले जमिन फिर्ता पायौँ । अब नेपाल भारतबीच कुनै सीमा समस्या छैन । यो पानीजहाज पनि नेपाल भारत मित्रताको अनुपम भेट हो । २०५६ सालमा हाम्रा एकजना नेताजीले मर्जी भएको थियो “महाकाली सन्धिबाट नेपाललाई वार्षिक १ खर्ब २० अर्ब आम्दानी हुन्छ ।” साँच्चै हो रहेछ अहिले महाकाली पञ्चेश्वर विकास योजना पनि सम्पन्न भइसकेको छ । अस्ति भर्खर परराष्ट्रमन्त्रीले भारत भ्रमण गर्दा भारत सरकारले महाकाली सन्धि बापतको रोयल्टी २४ खर्ब रुपयाँ नेपाललाई हस्तान्तरण गरेको थियो ।
यस्तो सरकार पो सरकार ! हाम्रो पार्टीको सरकार पो सरकार गलगाँड आच्या ! गणतान्त्रिक सरकार पो सरकार ! पञ्चायती सरकार के सरकार ? अहिलेको सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सबै निःशुल्क गरेको छ संविधानमा ! व्यवहारमा तिर्नुपर्छ त्यो बेग्लै कुरा होनि ! सेवा निशुल्क हुदैन नि ! सबै नीजि अस्पतालहरूलाई कोभिडको बेलादेखि सरकारीकरण गरेको छ ।
बेरोजगारहरूको खातामा सरकारले अलि अलि पैसा हाल्दिएको छ । अब नेपाली खल्तीमा पैसा नभएको त हुँदै भएन । खानकै लागि त कामै गर्न परेको छैन हरेक टोलमा निःशुल्क मेस सञ्चालन गरिएको छ । तब न समाजवादी सरकार ! तब न सुखी नेपाली समृद्ध नेपाल ! धन्य राजनेता ! “ओ दाइ ! थानकोट झर्ने भनेको हैन ? ल छिटो झर्नु, के निदाइरहेको ?” कन्डक्टर भाइको आवाजले झल्याँस्स भएको त खरिको बोट आइसकेछ ।
सपना देख्ने पनि वातावरण छैन भन्या नेपालमा !!
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































