काेइराला वत्सराजयौटा कविसम्मेलनको सम्झनामा
शेक्सपियरको “हेमलेट” का चरणहरू नेपाली भाषामा अक्षरशः सुनाए कसैले बुझ्यो कसैले बुझेन पश्चिमबाट इम्पोर्ट गरेको कविता थियो कसैको मगजमा घुस्दै घुसेन ।

कोइराला वत्सराज :
शरद ऋतुमा आयोजित भएर होला
“शरद-साहित्य” नामको कविगोष्ठि थियो
अति व्यस्त कविहरू
अस्तव्यस्त गजलकारहरू
र भीडमा अलमस्त कवयित्रीहरू
फर्याक-फुरुक देखिन्थे ।
काव्यपाठको तँछाडमछाड्
कोही कस्तो नास्ता होला भन्दै चिन्तित थिए
कोही कसले वास्ता गर्ला भन्दै चिन्तित देखिन्थे
कोही अतिथिको आसन पाएर फुरुङ्ग थिए
कोही मञ्च, माइक र श्रोता देखेरै दङ्ग थिए ।
संयोजकले खकार्दै कार्यक्रम शुरु गरे
आमन्त्रित कविहरुलाई बोलाउन थाले
एक-से-एक कविहरु अगाडि सर्दै
आ-आफ्ना रेडिमेट कविता सुनाउन थाले ।
पहिला चान्स पाइन् “मिस” कवयित्रीले
चञ्चल आँखाले श्रोताको दिलमा प्रहार गर्दै
कोकिल कण्ठमा गीत सुनाइन्
एक वरिष्ट गीतकारले उपहारमा दिएको
एउटा झटकेलो गीत गाइन्
सक्कली बाबुको नाम लुकाएर
चोरीको नक्कली त्यो रचना-शव्द
लच्किंदै मस्किंदै गीत सुनाइन् ।
त्यसपछि अर्का कविज्यू आए
हास्यकविको उपमा पाए
धेरै वर्षअघिको पुरानो पत्रिकाको चुट्किला
खुसुक्क ल्याएर मञ्चमा गाए वाह वाही र ताली पाए ।
अर्का कविज्यू झुम्दै आए
लोकगीतको लयमा शोकगीत गाए
छन्दभङ्गको होस रहेन
धन्य अनाडि कवि
मञ्चमा पुग्ने सौभाग्य पाए ।
त्यसपछि अर्का कविज्यू आए
मुक्त कण्ठले गजल सुनाए
उर्दूको एक रुबाई अनुदित गरी
मौलिक रचना भन्दै गाए ।
जोशले उफ्री अर्का कविज्यू आए
माइक हातले च्याप्प समाए
गद्य कविता थियो तापनि
पद्य जसरी पो पढ्न थाले
कहिले ढल्कँदै
कहिले हात नचाउँदै
चिच्याई चिच्याई कविता गाए
घरीघरी भूइँमा गोडा बजार्दै
विचित्र हाउभाउले कविता सुनाए ।
त्यसपछि अर्का कवि महोदय
मस्तसित मुस्काउँदै आए
टाईको गाँठो चट्ट मिलाए
वीररसको कविता सुन्नुहोस् भनी
शेक्सपियरको “हेमलेट” का चरणहरू
नेपाली भाषामा अक्षरशः सुनाए
कसैले बुझ्यो
कसैले बुझेन
पश्चिमबाट इम्पोर्ट गरेको कविता थियो
कसैको मगजमा घुस्दै घुसेन ।
त्यही व्यवसायिक कविहरूको भीडमा
गुपचुप आफू बसिरहेथेँ
कुनै उद्योगपतिद्वारा प्रायोजित उक्त नौटङ्की
“सिल्भर जुबली” मनाउन आँटेका कविता कृति
“सुपर हिट” हुन थालेका कविता कतिकति
बडेबडे कविहरू अनगिन्ती
त्यहाँ विशुद्ध कविता सुनाउँ भने
मलाई मञ्चमा हुटिङ्ग हुने डर लाग्यो
त्यसैले श्रोतामै चित्त बुझाएँ
बेलुकी फर्की यो कविता लेखेँ ।
०००
हेटौंडा
Subscribe
Login
0 Comments
Oldest








































