काेइराला वत्सराजगाईजात्राको जुलुस : हाँसो हराएको सहरको यात्रा
यहाँ बाँचेकाहरूले मरेको अभिनय गर्छन् र मरेकाहरू सजीव भएर नाच्छन्। यो हाँसो होइन, हाँसोको शवयात्रा हो। जुन बेला समाजले हाँस्न छोड्छ, त्योबेला गाईजात्रा केवल परम्परामा मात्र सीमित हुन्छ।

वत्सराज कोइराला :
शहर उस्तै थियो, गल्लीहरू उस्तै। भित्तामा कोरिएका पुराना नारा मेटिए पनि पुनः नयाँ नाराहरू लेखिएका थिए। सडकछेउका अधिकांश ढलका ढक्कनहरू खुल्लै देखिन्थे। गाईजात्राको अघिल्लो दिनदेखि चोकमा बाक्लिएको धूलो अझ गाढा देखिन्थ्यो।
गाईजात्राको बिहानचाहिँ केही फरक परिदृष्य थियो। त्यहाँ अहिले अनुहार पोतेका, मुकुण्डो लगाएका मान्छेहरू थिएनन्। न त टिनको भाँडो ठोक्दै नाच्ने केटाकेटी देखिन्थे। अनुहारमा गाइको मुखको पोस्टर टाँसेका मान्छेहरू पनि थिएनन्। बाजागाजा थिएन। गाइ सिंगारेर ल्याएको पनि देखिएन।
ठाउँठाउँमा ब्यानरहरू टाँगिएका थिए, जसमा लेखिएको थियोे; “हामी परिवर्तनका वाहक हौं !” “लोकतन्त्र जिउँदै छ !” “सरकार जनताको सेवामा समर्पित छ !”
ठ्याक्कै बिहान १० बजेतिर घण्टाघरको चोकमा जुलुस सुरु भयो। नेताहरूको जुलुस, कर्मचारीहरूको जुलुस, ठेकेदारहरूको जुलुस, वकिलहरूको जुलुस, ब्यापारीहरूको जुलुस। जुलुस हेर्दा लाग्थ्यो, यो कुनै विजय जुलुस थिएन, यो एउटा हाँसो गुमाएको समाजको अन्त्येष्टि यात्रा थियो।
सबैभन्दा अगाडि हिँडिरहेका थिए, एकजना झकिझकाउ सूट लगाएका नेताज्यू। उनको मुखमा मास्क थियो, तर त्यो मास्क धुलो, धुवाँ रोक्न होइन, हाँसो लुकाउन लगाइएको थियो। नेताले आज टोपी लगाएका थिएनन्। टाउकोमा फन्को पारेर गम्छा बाँधेका थिए। उनको हातमा सानो साइजको एउटा राष्ट्रिय झण्डा थियो। तर उनको आँखामा राष्ट्रप्रेम होइन, झूटोपना र धूर्तता नाचिरहेको थियो।
उनी उँचो स्वरमा फलाक्दै थिए, “जनताले मलाई मानेका छन्, राजतन्त्र आउँदैन, हाम्रो लोकतन्त्र बलियो छ !” उनको पछाडि दायाँबायाँ चारजना अंगरक्षक, उनैका दुईजना सरकारी सल्लाहकार हिंड्दै थिए। अझै पछाडि द्वन्दकालमा एउटा खुट्टा गुमाएको घाइते बैसाखी टेकेर अघि बढ्दै थियो। यो त्यै घाइते नागरिक थियो, जसले पटकपटक यी नेताजीलाई जिताउन मतदान गरेको थियो।
जुलुस अगाडि बढ्यो। सहभागीहरू अनेकथरी थिए। एकजना ठेकेदारको छातिमा लेखिएको थियो, “राष्ट्रनिर्माण मेरो पेशा हो, मन खोलेर देशको सेवा गर्दछु !”
“यी तिनै ठेकेदार थिए जसले बनाएको पुल एक वर्षमै भाँचिएको थियो। अर्का सहभागी शिक्षकले प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “शिक्षा हाम्रो सेवा हो, व्यवसाय होइन !”, तर उनी नामूद व्यापारी थिए। उनको विज्ञापन एफएम रेडियोमा बजिरहन्थ्यो, ‘प्रतिविद्यार्थी ट्युसन फी: मासिक रु. ५००० !’ यी र यस्तै अनेक मान्छेहरूले सडक भरिएको थियो।
जुलुसले एउटा मन्त्रीको कार्यालयअगाडि चक्कर लगायो।
त्यहाँ एक महिला उभिएकी थिइन्। उनले सुँक्क सुँक्क गर्दै भनिन्, “अस्पतालमा बेड नपाएर मैले आफ्नो पति गुमाएँ।”
मन्त्रीजीले मुस्कुराउँदै बोले, “हामीले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सुधार गर्नेछौं ! गाइजात्राको रमाइलोपछि सारा कुरा गरिनेछ !”
कसैले केही बोलेन। पत्रकारले क्यामेरा तेर्स्याएर फोटो खिच्यो। अनि भीड फेरि अघि बढ्यो। गल्लीको कुना कुनामा मान्छेहरू उभिएका थिए। कोही मोबाइलमा भिडियो खिचिरहेका, कोही टाउको हल्लाउँदै गफ दिइरहेका र कोही चुपचाप, आँखाभरि प्रश्न बोकेर हेर्दै थिए।
त्यही बेला, एउटा सानो बालक हातमा गुलेली बोकेर दगुर्दै आयो। उसले बिस्तारै भन्यो, “गाइजात्रा भनेर गाई, गोरु हेर्न आएको, तर यहाँ त गाई छैन, गोरु छैन, हाँसो छैन, जोकरहरू पनि साह्रै सिरियस देखिन्छन् !”
त्यो सुनेर तुरुन्तै एउटा बुढो जोकरले उसको काँधमा हात राख्दै भन्यो, “बाबू, यो गाईजात्रा हो। यहाँ बाँचेकाहरूले मरेको अभिनय गर्छन् र मरेकाहरू सजीव भएर नाच्छन्। यो हाँसो होइन, हाँसोको शवयात्रा हो। जुन बेला समाजले हाँस्न छोड्छ, त्योबेला गाईजात्रा केवल परम्परामा मात्र सीमित हुन्छ।”
बच्चाले केही बुझेन। तर त्यो दृश्य चुपचाप उसले आँखामा खेलाई रह्यो। सायद भोलि, ऊ पनि अर्को गाईजात्राको पात्र हुनेछ। अरू हाँस्न छोडेपछि, ऊ पनि हाँस्ने अभिनय गर्नेछ।
०००
गैंडाकोट- ११ नवलपुर ।
Subscribe
Login
0 Comments
Oldest






































