साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्सद खै ?

सेवाग्राहीले फाइलमा फुर्सद छ भने पछि लेखापालले चेक काट्यो । सेवाग्राही हाकिमकोमा गयो हाकिम ढोकामै आएर सेवाग्राहीलाई अङ्गालो हालेर सोफामा बसायो अनि चेकमा सही गरिदियो ।

Nepal Telecom ad

केशव दुवाडी :

फुर्सद भनेको काम नहुनु हो । खाली समय हो । तर समयको त कहिल्यै फुर्सद हुँदैन । चलेको चल्यै गर्छ । हामी समय कटनी, दिन काट्ने काल पर्खने भन्छौँ तर कालले हामीलाई पर्खदैन बरू लखेट्छ ।

यसो हेर्दा काम नभएका भन्दा भएका बढी फुर्सदी देखिन्छन् । कार्यालय समयमा सरकारी/गैर सरकारी कार्यालयका कर्मचारीहरूको, मन्त्री, मेयरहरूको, वडाअध्यक्षहरूको या मानको लामो सामाजिक सञ्जालमा सङ्कथनहरू सम्प्रेषित भइरहेका हुन्छन् ।

उनीहरू टिकटकमा टहलिएका हुन्छन् । फेसबुकमा थुतुनो थुपारिरहेका हुन्छन् । फलाकिरहेका हुन्छन् । सेवाग्राहीहरूको लाइन हुन्छ । कर्मचारीहरू कम्प्युटर चलाएझैँ गरेर फेसबुक चलाइरहेका हुन्छन् ।

कार्यालयका हाकिमहरूको नामाङ्कित काष्ठपाटीमा व्यस्त लेखिए पनि उनीहरू सामाजिक सञ्जालमा अस्त व्यस्त भइराहुन्छन् । त्यसैले नेपालका सबै जसो ठाउँमा फुर्सदै फुर्सद छ । बेफुर्सदीहरू विदेशमा काम गरिराछन्, उनीहरू काममा व्यस्त छन्। त्यही भएर नेपालका अधिकांश मान्छे मस्त छन् ।

बेफुर्सदी श्रमिक खाडीमा काम गर्छन् नेपालमा पैसा पठाउँछन्, नेपालाँ बसेका नेता कर्मचारी गाडीमा सरर देश डुबोस् बालै फरर ।

त्यसोत नेपालका पत्रकार, सम्पादक, युट्युबर र नेताहरू कहिलेकाहीँ बेफुर्सदी देखिन्छन्, भाइरले, भाइहरू टिकटके दिदीहरू, चमत्कारी बाबाहरू, कालाजादु गर्ने धामीझाँक्रीहरू, भविष्य बताउनेछ माताहरू, बेला न कुबेला बर्बराउने नागरिक समाजेहरू पनि वे फुर्सदी देखिन्छन् ।

अरुको कुरा के यो अधबैंसे अक्कडे पनि कुन्नि के जनावर कुकुर हो क्यारे ! जस्तै काम पनि छैन फुर्सद पनि छैन भने जस्तै भाछ । त्यै भएर कहिले वन जङ्गलतिर गएर कुर्लन्छ र डिजिटल कुर्लाइ भन्छ । अँधेरी रातमा राति पिसाबले च्याप्दा बाहिर निस्कनाको डरले बार्दलीबाट तुर्क्याउँदा मकैको खोस्टामा परेर कणर्कटु आवाज निस्केको जस्तै भए पनि गीत गाएर हिँड्छ ।

म फुर्सदी देखेर नै होला बेला बेलामा मलाई सम्पादक साहेबहरूले लेख रचनाले ! आजैले भनेर ताकेता पनि गर्छन् । कत्ति न टन्न पारिश्रमिक दिने जस्तो गरी !

पहिले पहिले पो पत्रपत्रिका थोरै थिए, पत्रिकामा नाम छपाउन पनि रहर हुन्थ्यो । अलि अलि पारिश्रमिक दिने सरकारी प्रकाशनका पत्रिकाहरूमा यसो भनसुन पनि चल्थ्यो अनि लेखेर पठाइन्थ्यो ।

अहिले बर्खाको च्याउ जस्तै अनलाइन छन् । कपि पेस्टको जमाना छ । भर्न समस्या छैन । तान तुन गर्‍यो पत्रिका भर्‍यो ।

पहिला पहिला त एउटा लेख लेखेर पत्रिकामा पठाउँदा छ महिना सम्म पालो नआउने । एकदिन एकजना सरकारी साहित्यिक पत्रिकाका सम्पादकलाई सोधेको नाम चलेका साहित्यकारको खोया भए पनि छिट्टै छापिन्छ अरु फासफुसेहरूको मकै भए पनि समय कुर्नुपर्छ भनेर आफ्नो निरिहता निकाले ।

फेरि सरकारी सम्पादकहरूको सहकार्य गज्जबले चल्ले । आफूले आफ्नोमा पारिश्रमिक लिन नमिल्ने । त्यै भएर एक अर्काको प्रकाशनमा कनिकुथी लेख्ने । पैसो टिप्ने ।

त्यै भएर “अँधेरी रातकी द्रौपदी” “राजमार्गकी रानी” “फुलमायाको कहानी” “दिलमाया दिवानी” जस्ता कथाकुथुङ्ग्रीहरू यता उता छापिइरहने । इतरका अत्तरिला साहित्यको पालो नआउने । हुँदा हुँदा छद्मनामबाट साहित्य लेख्ने परिवारका सदस्यलाई पारिश्रमिक दिने सम्म पनि गर्न थाले अहिलेसम्म गर्दैछन् ।

फुर्सदकै कुरा गर्दा एउटा अर्को प्रसङ्ग आयो । एक पटक एउटा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थी हुन गाको अवकाश प्राप्त सरकारी अधिकारीहरूको बाहुल्यता रहेको ठाउँमा पुगे छु । उनीहरूको भाषा, शब्दहरू प्रशासनिक हुने । श्रीमान्, निवेदन, तोक, भ्रमण आदेश, भत्ता, स्वीकृत, दरपीठ, टिप्पणी तोक, वरबुजारथ, दण्ड जरिवाना, असुली, निर्देशन, निरीक्षण, तामेली, रमाना, सरुवा, वढुवा, दाउपेच आदि ।

यत्तिकैमा एउटा पूर्व प्रशासकलाई एउटा खाम आयो । अर्कोले खाममा फुर्सद कति छ ? भनेर सोध्यो । फुर्सद राम्रै छ भने । हैन, यो फुर्सदको चक्कर के हो ? भनेर सोधेको । यसको कहानी रोचक मात्र हैन घोचक नै रहेछ !

एउटा सरकारी कार्यालयमा काम लिएर सेवाग्राही गएछन् । निवेदन लिएर फाँटवालाले हाकिमकोमा तोक लगाउन पठाएछन् । हाकिमले तोक लाएर फाँटवालाकोमा पठाए टिप्पणी उठाउन । फाँटवालाले भोलि आउन भने ।

सेवाग्राही भोलिपल्ट दश बजे कार्यालय पुग्यो । फाँटवालाले टिप्पणी उठायो सदर गर्न हाकिमकोमा पठायो सेवा ग्राही हाकिमको कोठाको ढोकामा पुग्यो नमस्कार गर्‍यो । हाकिमले आज फुर्सद छैन भोलि आउनु भन्यो ।

भोलिपल्ट गयो । फेरि फुर्सद छैन भोलि आउन भन्यो । यसरी एक हप्ता जति भोलि भोलि भन्दै बित्यो ।
सेवाग्राही आजित भएर फाँटवालालाई गुनासो गर्‍यो । फाँटवालाले म भनिदिन्छु भनेर आश्वासन दियो चिया खान जाउँ भन्यो ।

चिया मात्र हैन खाजा पनि खायो । सेवाग्राहीलाई पैसा तिरायो । सेवाग्राहीले मुख कुच्याएर पैसा तिर्‍यो । फाँटवालाले एकबट्टा चुरोट समेत किनायो । अनि सूप चपाएर चुरोट तान्दै भन्यो । तपाईंको योजनाको पैसा फरफारख गर्नु पर्ने रैछ । हाकिमसाहेबले पनि सबैलाई मिलाउन पर्छ फाइलमा यसो दस बीस वटा हात्ती हालेर लैजानु न अनि फुर्सद हुन्छ ।

सेवाग्राही एटिएममा गयो दश कि बीस सोच्यो । पन्ध्रवटा हात्ती निकाल्यो अनि फाइलमा हालेर गयो हाकिमको कोठामा ।

यस पटक सरासर हाकिमको कोठाभित्र छिरेर नमस्कार भन्यो हात नजोडीकन । अनि सोफामा गएर बस्यो । हाकिमले पुलुक्क हेर्‍यो । सेवाग्राहीको तरीका फरक देखेर छक्क पर्‍यो ।

सेवाग्राहीले फाइल हाकिमको टेबुलमाथि राखेर सदर गर्न अनुरोध गर्‍यो । हाकिमले फुर्सद छैन भोलि आउन भन्यो । सेवाग्राहीले फुर्सद छ, फाइल पल्टाएर हेर्नुस् भन्यो ।

हाकिमले फाँटवालालाई बोलायो । फुर्सद पुग्दो छ त ? भनेर सोध्यो । फाँटवालाले छ भने पछि हाकिमले टिप्पणी सदर गर्‍यो । त्यस पछि सेवाग्राही लेखा फाँटमा गयो र फाइल बुझायो । लेखापालले आज फुर्सद छैन भोलि आउन भन्यो ।

सेवाग्राही फेरि एटिएम मेसिनमा गयो । दशवटा हात्ती निकाल्यो र फाइलभित्र हालेर लेखा फाँटमा गयो । लेखापालले आज फुर्सद छैन भनेको हैन भन्दै हपार्‍यो । सेवाग्राहीले फाइलमा फुर्सद छ भने पछि लेखापालले चेक काट्यो । सेवाग्राही हाकिमकोमा गयो हाकिम ढोकामै आएर सेवाग्राहीलाई अङ्गालो हालेर सोफामा बसायो अनि चेकमा सही गरिदियो । सेवाग्राही लेखामा गएर छाप लगायो र फटाफट बाहिर गयो ।
फुर्सदको किस्सा सकियो । आदरणीय सम्पादक साहेबहरू हामीलाई फुर्सद छैन ?

०००
धादिङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

फित्कौलीलाई नै फुर्सद छैन के गर्नु र ! कतैबाट फित्कौलीलाई फुर्सद जुट्ने हो भने फित्कौलीका लागि अक्षर कोर्नेले पनि फुर्सद पाउँथे कि ? आफूले त अक्षर कोरेबापत कतैबाट पनि फुर्सद पाउन छोडेको जमाना भइसक्यो।

Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x