केशव दुवाडीराईमाइलोलाई गाउँ छाड्न देऊ !!
सफा आकाशमा उड्न देऊ चिल्ला सडकमा गुड्न देऊ हावामा कावा खान देऊ। हामीलाई विश्वास छ राईमाइलोहरू दोग्ला हैनन् स्वार्थको लागि नागरिकता च्यात्दैनन् सेलीब्रेटी हुँ भन्दै बच्चा पाउन विदेश जाँदैनन् ।

केशव दुवाडी :
उहिले उहिले देवकोटाको पालामा
लीलबहादुरको पालामा
जेबी टुहुरेको पालामा
त्यो भन्दा धेरै पहिले पनि
जेठा/माइला/साइँला/काइँला/ठाइँला
अन्तरे/जन्तरे/पानी मन्तरे /कान्छाहरूले
गाउँ छाडेकै हुन् ।
पल्टन, लाहुर र मुग्लान पसेकै हुन्
कोही फर्केर आए पनि
कोही उतै बसेकै हुन् ।
हाम्रो बा चम्पारन जाँदा
मेरी आमाले
“तामे ताउलो फलामे ताइ छ
स्वामी परदेशी जान्छु माइत” भनेर
उनकी सासू
मेरी हजुरआमालाई
घुर्की लाएकै हुन्।
देवकोटाले मुनामदन लेखे
लीलबहादुरले बसाइँ लेखे
जेबीले “लाखौँको लागि उजाड छ यो देश”
भनेर गीत पनि गाए।
गाउँलेहरू जीविकोपार्जन गर्न मुग्लान भासिने
कवि/गायकहरू उनीहररूकै गीत गाएर आकासिने !!
यस्तै छ यहाँको चलन !!
कालीप्रसादहरूले गाउँ छाड्न हुने
चमेलीको तेल लगाएर जुल्फी पाल्न हुने
शहरमा सबारीमा सयर गर्न हुने
पिज्जा, बर्गर चपाउन हुने
मटन/चिकनसँगै विदेशी/स्वदेशी मदिरा पिउन हुने
राईमाइलोहरूले गाउँ छाड्न किन नहुने ?
उनीहरूले चाहिँ सधैँ
कोदो फापर, आलु/पिँडालु मात्र खानु पर्ने ?
टालेको कट्टु र फाटेको दौरा मात्र लाउनु पर्ने ?
गाउँमा जन्त मलामी गर्ने ठेक्का
राईमाइलाहरूको मात्र हो ?
कालीप्रसाद र इन्दिराहरूको हैन ?
दयाहाङहरू पनि गाउँ छाडेपछि नै
हिरो भएका हुन् नि !
मान्छेको प्रकृति नै फिरन्ते हो
पूर्खाको इतिहास नै फिरन्ते हो
हिँडडुल उसको नैसर्गिक प्रकरण हो
जीविकोपार्जनको खोजीमा
अनि जिजीविषाको खोजीमा
निरन्तर यात्रा गर्ने जाति हो मान्छे ।
पानी थुनेर थुनिन्न
न थुनिन्छ जवानी
मात्र लेख्न सकिन्छ
गीत काव्य र कहानी !!
गृह त्यागले नै ज्ञान आर्जन हुन्छ
गृह त्यागले नै धनार्जन हुन्छ
वुद्ध र चाणक्यलाई हेर
अनि हेर हुवान साङ र मार्कोपोलोलाई।
स्थानीय जनप्रतिनिधिले
राजधानीमा घर ठड्याउन पर्ने
हुनेखानेहरू सहर झर्नु पर्ने
राईमाइलो मात्रै गाउँमा बस्नु पर्ने ?
नागरिकता त्याग्ने
जन्मभूमिलाई समेत धाबा बोल्छु भन्दै
अङ्गीकृत देशको नागरिकको सपथ लिनेहरू
देशको शासक बन्न हुने
राईमाइलोले गाउँ छाड्न किन नहुने ?
छाडि देऊ यस्ता उपदेश छर्न
बन्द गर यस्ता अर्ति र उपदेश गर्न
छाडि देऊ यस्त भावनात्मक
अत्तो थाप्ने सिर्जना गर्न ।
उनीहरूलाई गाउँ छाड्न देऊ
सफा आकाशमा उड्न देऊ
चिल्ला सडकमा गुड्न देऊ
हावामा कावा खान देऊ।
हामीलाई विश्वास छ
राईमाइलोहरू दोग्ला हैनन्
स्वार्थको लागि नागरिकता च्यात्दैनन्
सेलीब्रेटी हुँ भन्दै बच्चा पाउन विदेश जाँदैनन् ।
अलि पर पुगे हिन्दुस्तान पुग्लान
धेरै पर पुगे रेगिस्तान पुग्लान्
कमाएको विप्रेषण यतै पठाउलान्
आफ्ना भुरा र जहान पाल्लान्
अनि नेता कर्मचारी पाल्लान्
दुई चार वर्षपछि यतै आउलान्।
राईमाइलोलाई गाउँ छाड्न देऊ
मेची, अरुण,कोशी र काली मात्र हैन
सिन्धु तर्न देऊ
व्यक्तित्व विकास गर्न देऊ
नत्र देशको मुखमा माड लाग्दैन !!
०००
धादिङ
२०८१/२/३१
Subscribe
Login
0 Comments
Oldest







































