बालमुकुन्द देव पाण्डेकैयौँ चिठीः एक उत्तर
मन चाहिँ ज्यादै राम्रो छ । मनको फोटो खिच्न सकिने भए त ठिटीहरूको फर्माइस पूरा हुन्थ्यो- अनुहारको फोटो पठाउन थाले भने अहिलेसम्म मप्रति रहे सहेको आस्था, श्रद्धा र प्रेम सावनले मयल पखाले झैँ पखाल्न के बेर ।

बालमुकुन्ददेव पाण्डे :
ढाँटेर किन कुरा गरौँ, आज भोलि म कहाँ धमाधम चिठी आउन थालेका छन् । कुनैमा म प्रगतिशील भएकामा बधाईं दिइएको हुन्छ, कुनैमा प्रगतिशील बन्ने मूल-मन्त्र सोधिएको हुन्छ । कुनैमा प्रगतिशील शब्दको अर्थ सोधिएको हुन्छ र कुनै कुनै त ठिटीका चिठी पनि छन् प्रेम दर्शाउँदै फोटो पठाउने अनुरोध गरिएका । सबैलाई बेग्लाबेग्लै जवाफ पठाउन सम्भव नभएकाले जुन पत्रिकाद्वारा आज मैले यत्रो ठूलो ख्याति पाइरहेको छु त्यसैद्वारा जवाफ दिनु ज्यादै राम्रो ठानेकोले यति लेख्ने दुःख गरिरहेछु ।
सबभन्दा पहिले बधाईं पठाउनेहरूलाई धन्यवाद । मेरो ह्याकुल्लादेखि के इच्छा छ भने घट्टमा मकैको ओइरो लागे झैँ यस्ता बधाई पत्रहरू ओइरियून्, चारैतिर सबैले मेरै चर्चा गरून् प्रशंसा गरून् । बधाईंका साथ एक रुपियाँको नोट नत्थियोस् ! म काठमाडौंमा बाँच्न सकूँ ।
प्रगतिशील बन्न जमजमाइरहेका कमरेड (हामीले कमरेड र अतिरेड दुई शब्दलाई व्यापक रूपमा चलाउनु आवश्यक छ । प्रगतिशील बन्न चाहनेहरूलाई कमरेड (रातो) र बनिसकेकालाई अतिरेड भन्नु राम्रो देखिन्छ । तपैंलाई म के सल्लाह दिन्छु भने सबभन्दा पहिले गाली गलौजका शब्दहरू कन्ठ पार्नुहोस्, त्यसलाई प्रयोग गर्ने तरिका जान आफूले कन्ठ पारेका शब्दहरूको लिस्ट मकहाँ पठाउनुहोस् र त्यसपछि मेरो सल्लाह बमोजिम काम गर्नुहोस्-करिब एक रातमा तपैं सच्चा प्रगतिशील बन्नु हुनेछ । गुरु-भेटी चाहिन्न दिन चाहनेलाई चाहिँ रोक्दिनँ ।
प्रगतिशील शब्दको अर्थ चाहिँ पहिले मलाई पनि राम्ररी आउँदैन, जवाफ नदिउँ ठूलो कम्जोरी । त्यसैले गहन अध्ययन पश्चात् म के निस्कर्षमा पुगेँ भने यो शब्द संस्कृत मात्र होइन । वास्तवमा संस्कृत शब्द ‘प्रगति’ र अंग्रेजी शब्द ‘सिल’ बन्द गर्नु, रोक्नु, टाँचा मार्नु आदि । मिलेर प्रगतिशील बनेको छ जसको अर्थ हुन्छ प्रगतिको मुहान बन्द गर्नु अथवा अर्काको प्रगति हुन नदिनु अथवा प्रगति भन्ने कुरालाई नै ढ्याम्मै बन्द गर्नु । सस्कृत ‘प्रगतिशील’ र झर्रो ‘प्रगतिशील’ शब्दलाई अक्सर धेरैले उही रुपमा लिइदिन्छन् र गर्ने नहुने विराम गर्छन, यस्तो हुँदा मेरो मथिङ्गल जहिले पनि गिजलिन्छ । प्रगतिशील शब्दको अर्को अर्थ हुन्छ, (प्रग चेकोस्लोभाकियाको राजधानी) + अति (धेरै) सिल (रुसको साइबेरियामा पाइने माछा जस्तै प्राणी) अर्थात प्रगका मान्छे सिल धेरै रुचाउँछन् । त्यसैले प्रगतिशील भन्नाले चेकोस्लोभाकीयाका दिग्गजहरूका पछि लाग्नेहरूको समुह पनि हुन सक्छ । तर दोश्रो अर्थ अलि प्रतिकमय भएकाले र प्रतिकदेखि हामीहरूले जहिले पनि तीन वित्ता परै रहनु खाँचो भएकाले र हामी प्रगतिशीलहरूको काम कारवाही पनि पहिलो अर्थसङ्ग ठ्याम्मै मिल्ने भएकाले पहिलो अर्थ नै हरेक दृष्टिकोणले ठिक देखिन्छ ।
ठिटीका चिठी, कुरै सुन्दा ओठबाट तप तप राल चुहिएला भन्ने डर । पहिले त मेरो पनि रात-दिनको तर्कना ठिटीहरूकै विषयमा हुन्थे । अब त कसो कसो ठिटी भन्नासाथ मनै उदास हुन्छ । आज प्रेम गर्यो भोलिदेखि सिनेमा र पिकनीक लैजा भन्ने कच-कच, पर्सिदेखि त टाइटफिट लुगा हालिदे लिपष्टिक-पाउडर, प्वाइन्टेड जुत्ताको फर्माएइस । भनेका कुरा नपुर्याए प्रेम टुट्ने डर, पुर्याए ढाड भाँच्चिने डर । केही पनि फर्माइस नगर्ने गाई जस्ती सोझी लड्कीले प्रेमको लागि अनुरोध गर्ली भन्ने कुरा पत्याउनै नसकिने । एकातिर मुलुकी ऐन अर्कोतिर घरकी ढिडे पतिव्रता-स्त्री ! फेरि चिठीद्वारा मात्र प्रेम चलिदिए हुन्थ्यो नि- फोटो किन चाहिएको । कति फोटो खिचाइसके जहिले पनि भिरमा झुन्डिएको घिरौला जस्तो अनुहारमा नाक झुन्डिने । आँखा चाहि सुंगुरका जस्ता चिम्सा । कपालका ठाडठाडा रौं चाहिँ जगर जस्तो मानौं म सुगुरको अनुहार लिएर जन्मेको मान्छे हुँ । मन चाहिँ ज्यादै राम्रो छ । मनको फोटो खिच्न सकिने भए त ठिटीहरूको फर्माइस पूरा हुन्थ्यो- अनुहारको फोटो पठाउन थाले भने अहिलेसम्म मप्रति रहे सहेको आस्था, श्रद्धा र प्रेम सावनले मयल पखाले झैँ पखाल्न के बेर । त्यसैले सबै ठिटीहरूसँग मलाई प्रेम गरे पनि फोटो चाहिँ नमाग्ने अनुरोध गर्दछु ।
०००
‘दमाहा’ (२०२४)
(खाेजखाज र बटुलबाटुल : माणिकरत्न शाक्य)
Subscribe
Login
0 Comments
Oldest








































