बालमुकुन्द देव पाण्डेमेटिन नसकेका डाेबहरू
माड्सापले आफ्नो जीवनको अधिकांश भाग यही विधाको विकासमा खर्च गर्नुभयो । भैरव अर्यालको उहाँ एक किसिमले भक्त नै हुनुहुन्थ्यो । उनको असामयिक निधन (आत्महत्या) ले माड्सापलाई अरूलाई झैं गहिरो चोट पुर्यायाे ।

बालमुकुन्द देव पाण्डे :
हामीलाई हास्य-व्यङ्ग्य लेखनतर्फ रातदिन जसो घचघच्याउने व्यक्ति हुनुहुन्थ्यो माड्साप अर्थात् बासुदेव लुइँटेल । हाम्रा फुटकर कृतिलाई आफ्ने खर्चले पुस्तकका रूपमा छापिदिने, बेला बेलामा पारिश्रमिक दिने, आफू पनि चूप लागेर नबस्ने र हामीलाई पनि बस्न नदिने माड्सापको बानीबाट कहिलेकाहीं त आजित होइन्थ्यो र महिनौं गायब भइन्थ्यो । नेपाली हास्यव्यङ्ग्य विधालाई संस्थागत रूपमा विकसित तुल्याउन कौवा प्रकाशन र त्यसका गोप्य मालिक माड्सापको निकै ठूलो मेहनत एवं परिश्रम परेको छ। उहाँले हास्यव्यङ्ग्य लेखक र कलाकारहरूको नवग्रह (केशवराज पिँडाली, बासुदेव लुँटेल, दाताराम शर्मा, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडे, घटोत्कच शर्मा र टेकबीर मुखिया) नै खडा गर्नुभयो। यो नवग्रह झण्डै दुई दशकसम्म सक्रिय रह्यो । त्यस अवधिमा कौवा प्रकाशनद्वारा धेरै पुस्तकहरू प्रकाशित भए जसमा हास्यव्यङ्ग्यकै बाहुल्य रह्यो । माड्साप उमेरका कारणले अहिले त्यस्तो सक्रिय हुनुहुन्न, नवग्रह पनि छ्यान्नब्यान्न भइसकेको छ । काैवा प्रकाशन पनि एक किसिमले बन्द छ।
माड्सापलाई मैले चिनेको सात सालअघि नै हो । जे. पी. हाइस्कूलमा उहाँ विद्यार्थीहरूका माझ निकै प्रिय हुनुहुन्थ्यो । उहाँको पढाउने शैली भिन्नै पाराको हुन्थ्यो ठट्टा गर्ने, क्लासमा छिनछिनमा हाँसोको फोहरा छुटाउने । त्यसभन्दा पनि उहाँको अर्को विशेषता थियो आफूलाई मन परेको छात्कोरहरूकाे अड्बाङ्गे नाम राख्ने ।
उहाँकाे याे नाम राख्ने बानी छात्रहरूमा मात्र सीमित नभई अन्य व्यक्तिमा पनि फैलिएको थियो । जे. पी. स्कूलमा आउनुअघि उहाँ गोरखापत्रमा हो कि ने. भा. प्र. स. मा जागिरे हुनुहुन्थ्यो, उहाँको डेरा पाकोमा लङ्गडो सुचिकारहरूकहाँ थियो । एउटा खुट्टा भए तापनि ती कल राम्राेसंग चलाउने मात्र होइन पानीले भरिएको गाग्राे ठाडो भर्याङबाट गाथि बुइँगलमा पुन्याउँथे । शान्ति भाउजू तान चलाउनुहुन्थ्यो । म त्यहाँ प्रायः गइरहन्थें ।
त्यसैताका माड्सापको भूत छैन भन्ने किताब प्रकाशित भयो । भूतका अनेकाैँ कथा सुनेका र साँझ परेपछि जहिले पनि भूतदेखि डराउने हामी जस्ता बिद्यार्थीमा त्यो किताब लोकप्रिय हुनु स्वाभाविकै थियो । त्यसपछि त उहाँको नामै ‘भूतको भिनाजु’ हुन पुग्यो । त्यही नामबाट उहाँले धेरै हास्यव्यङ्ग्य कृतिलाई तयार पार्नुभयो । साँच्चै भन्ने हो भने माड्सापले आफ्नो जीवनको अधिकांश भाग यही विधाको विकासमा खर्च गर्नुभयो । भैरव अर्यालको उहाँ एक किसिमले भक्त नै हुनुहुन्थ्यो । उनको असामयिक निधन (आत्महत्या) ले माड्सापलाई अरूलाई झैं गहिरो चोट पुर्यायाे । आफ्नै खर्चले भैरव वासुदेव-स्मृति पुरस्कार उहाँ स्थापना गर्नुभयो । भैरव जीवित हुँदै उनको जीवनी उनकै आवाजमा टेप गर्नु माड्सापको ठूलो बुद्धिमानी मान्नुपर्छ ।
अब एक छिन भैरव अर्यालकै विषयमा जाउँ। माड्सापले भरेको टेपमा भैरवले हास्यव्यंग्यमा कलम चलाउन घचघच्याउनेहरूमा मेरो नाम पनि उल्लेख गरेका छन् । घचघच्याएँ हुँला तर प्रतिभा त उनकै हो । उनलाई जाँड-रक्सी खान सिकाउने पनि मै हुँ, त्यो पनि निमित्त मात्र ठहरिएछु । उनलाई पिउने निहुँ र अवसर मात्र चाहिएको थियो, त्यो लाहोरको एउटा होटलको कोठामा पाए उनले। धेरै पल्ट भैरवले आफ्नो घाँटीसम्बन्धी रोगबाट विरक्तिँदै आत्महत्या गर्न चाहेको कुरा ब्यक्त गर्दा मैले झपारेको थिएँ- जुन कलम र दिमाग पाएका छौ त्यसका अगाडि घाँटी ठूलो होइन, म कान कम सुन्छु तैपनि कलम चलाएकै छु । उनी त्यसबाट केही आश्वस्त बन्थे।
मैले पश्चिम जर्मनीमा कानको अपरेशन गराएँ, दुई चार वर्षसम्म चाहिँदोभन्दा बढी सुनिने समस्याले ग्रस्त भए, कानमा कपास कोच्नु पर्याे । भैरवले पनि पूर्वी जर्मनीमा घाँटीको अपरेशन गराए, त्यो सफल भयो । शुरू – शुरूमा त उनी आफ्नै आवाजबाट तर्से रे । काठमाडौं आएपछि उनले मलाई फोन गरे ‘को बाेल्या चिनिस् ?’ ‘अहँ मैले चिनिनँ’ भन्दा उनले ‘म भैरव बोल्या भैरव’ भने । कहाँ पहिले खिइएको ग्रामोफोनको रेकर्डको जस्तो आवाज, कहाँ अहिलेको टड्कारो र धोत्रे आवाज ! मैले उनलाई बधाई दिएँ। अब जीवनमा केही गर्न सकिने आत्मविश्वासका साथ उनी अघि बढ्न थाले अथवा भनाैं उनले नयाँ जीवन पाए। त्यसबाट मभन्दा माड्साप वढी खुशी हुनुभएको थियो ।
‘गोरखापत्र’ मा भैरवको पदोन्नति हुने कुरा सुनेर मैले ठट्टै ठट्टामा ‘तिम्रो तालुमा आलु फल्ने भएछ, बधाई’ भनें । वास्तवमा भैरवले पदोन्नति पाएनन्, उनको ठाउँ लिन पुग्नुभएछ केशवराज पिंडालीले । एक दिन भैरवले जङ्गिदै मसँग भने- ‘मेरो तालुमा आलु होइन पिंडालु फल्यो बुझिस् ।’ म गर्नै के सक्थेँ र !
फेरि फर्कैं माड्सापतिर । शिक्षक पेशा त्यागेर उहाँले जगदम्बा प्रेस र मदन पुरस्कार पुस्तकालयमा प्रवेश गरेपछि नै म उहाँसँग बढी नजिकिन पुगेको हुँ । कुनै आपद्- विपद् वा कठिनाई आइपर्दा मैले हारगुहार गर्ने व्यक्ति माड्साप नै हुनुहुन्थ्यो । जीवनको प्रारम्भिक अवस्था निकै सङ्घर्षमय रहेकाले होला उहाँ अरूलाई सहयोग गर्न पाउँदा सन्तोष अनुभव गर्नुहुन्छ । अरूभन्दा पनि माड्सापको खरो वानी मलाई निकै मन पर्छ । जे कुरा पनि स्पष्ट भन्ने, हुने काम भए तुरुन्तै गरिदिने, नहुने भए हुँदैन, सक्तिनँ भन्ने । आश्वासन र झुलाउने काम उहाँबाट कम-भन्दा कम मसँग भएन, अरूसँग पनि उहाँको व्यवहार यस्तै रह्यो ।
‘गोरखापत्र’ मा म प्रवेश गरेकोमा उहाँ खुशी हुनुभएन, भन्नुभो- ‘बलम्, तिमीले त्यहाँ गएर ठीक गरेनों।’ उहाँको भनाइ साँचो थियो । उत्तम कुँवर (उहाँले राख्नु भएको नाम ‘ नाति जर्नेल) र मेरो जोडी अथवा मनो हामी बीच मेलमिलाप कायम गर्न माड्साप सधैं सक्रिय रहनुभो । जब हामी नछुट्टिई नहुने अवस्थामा पुग्यौं त्यस बेला माड्सापले भन्नुभएथ्यो- ‘भैगो बलम्, नाति जर्नेलले तिमी उपर अन्याय गर्यो, रूप-रेखा पनि डुबाउने भो, तिमी अलग्ग होइदेऊ ।’ मैले उहाँको सल्लाहलाई शिरोपर गरेँ । यहाँ पनि माड्सापको भनाइ सत्य ठहरियो । उत्तमले मउपर अन्याय गरे भन्न सक्तिनँ, तर मलाई हटाएर रूप–रेखाको हित-चाहिँ गरेनन्, यो सबैलाई थाहा भएको विषय हो ।
बादेपा
०००
( मधुपर्क, वर्ष २३ अङ्क १० फागुन २०४७ )
Subscribe
Login
0 Comments
Oldest








































