साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेटिन नसकेका डाेबहरू

माड्‌सापले आफ्नो जीवनको अधिकांश भाग यही विधाको विकासमा खर्च गर्नुभयो । भैरव अर्यालको उहाँ एक किसिमले भक्त नै हुनुहुन्थ्यो । उनको असामयिक निधन (आत्महत्या) ले माड्सापलाई अरूलाई झैं गहिरो चोट पुर्यायाे ।

Nepal Telecom ad

बालमुकुन्द देव पाण्डे :

हामीलाई हास्य-व्यङ्ग्य लेखनतर्फ रातदिन जसो घचघच्याउने व्यक्ति हुनुहुन्थ्यो माड्साप अर्थात् बासुदेव लुइँटेल । हाम्रा फुटकर कृतिलाई आफ्ने खर्चले पुस्तकका रूपमा छापिदिने, बेला बेलामा पारिश्रमिक दिने, आफू पनि चूप लागेर नबस्ने र हामीलाई पनि बस्न नदिने माड्सापको बानीबाट कहिलेकाहीं त आजित होइन्थ्यो र महिनौं गायब भइन्थ्यो । नेपाली हास्यव्यङ्ग्य विधालाई संस्थागत रूपमा विकसित तुल्याउन कौवा प्रकाशन र त्यसका गोप्य मालिक माड्‌सापको निकै ठूलो मेहनत एवं परिश्रम परेको छ। उहाँले हास्यव्यङ्ग्य लेखक र कलाकारहरूको नवग्रह (केशवराज पिँडाली, बासुदेव लुँटेल, दाताराम शर्मा, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडे, घटोत्कच शर्मा र टेकबीर मुखिया) नै खडा गर्नुभयो। यो नवग्रह झण्डै दुई दशकसम्म सक्रिय रह्यो । त्यस अवधिमा कौवा प्रकाशनद्वारा धेरै पुस्तकहरू प्रकाशित भए जसमा हास्यव्यङ्ग्यकै बाहुल्य रह्यो । माड्साप उमेरका कारणले अहिले त्यस्तो सक्रिय हुनुहुन्न, नवग्रह पनि छ्यान्नब्यान्न भइसकेको छ । काैवा प्रकाशन पनि एक किसिमले बन्द छ।

माड्सापलाई मैले चिनेको सात सालअघि नै हो । जे. पी. हाइस्कूलमा उहाँ विद्यार्थीहरूका माझ निकै प्रिय हुनुहुन्थ्यो । उहाँको पढाउने शैली भिन्नै पाराको हुन्थ्यो ठट्टा गर्ने, क्लासमा छिनछिनमा हाँसोको फोहरा छुटाउने । त्यसभन्दा पनि उहाँको अर्को विशेषता थियो आफूलाई मन परेको छात्कोरहरूकाे अड्बाङ्गे नाम राख्ने ।

उहाँकाे याे नाम राख्ने बानी छात्रहरूमा मात्र सीमित नभई अन्य व्यक्तिमा पनि फैलिएको थियो । जे. पी. स्कूलमा आउनुअघि उहाँ गोरखापत्रमा हो कि ने. भा. प्र. स. मा जागिरे हुनुहुन्थ्यो, उहाँको डेरा पाकोमा लङ्गडो सुचिकारहरूकहाँ थियो । एउटा खुट्टा भए तापनि ती कल राम्राेसंग चलाउने मात्र होइन पानीले भरिएको गाग्राे ठाडो भर्याङबाट गाथि बुइँगलमा पुन्याउँथे । शान्ति भाउजू तान चलाउनुहुन्थ्यो । म त्यहाँ प्रायः गइरहन्थें ।

त्यसैताका माड्सापको भूत छैन भन्ने किताब प्रकाशित भयो । भूतका अनेकाैँ कथा सुनेका र साँझ परेपछि जहिले पनि भूतदेखि डराउने हामी जस्ता बिद्यार्थीमा त्यो किताब लोकप्रिय हुनु स्वाभाविकै थियो । त्यसपछि त उहाँको नामै ‘भूतको भिनाजु’ हुन पुग्यो । त्यही नामबाट उहाँले धेरै हास्यव्यङ्ग्य कृतिलाई तयार पार्नुभयो । साँच्चै भन्ने हो भने माड्‌सापले आफ्नो जीवनको अधिकांश भाग यही विधाको विकासमा खर्च गर्नुभयो । भैरव अर्यालको उहाँ एक किसिमले भक्त नै हुनुहुन्थ्यो । उनको असामयिक निधन (आत्महत्या) ले माड्सापलाई अरूलाई झैं गहिरो चोट पुर्यायाे । आफ्नै खर्चले भैरव वासुदेव-स्मृति पुरस्कार उहाँ स्थापना गर्नुभयो । भैरव जीवित हुँदै उनको जीवनी उनकै आवाजमा टेप गर्नु माड्‌सापको ठूलो बुद्धिमानी मान्नुपर्छ ।

अब एक छिन भैरव अर्यालकै विषयमा जाउँ। माड्सापले भरेको टेपमा भैरवले हास्यव्यंग्यमा कलम चलाउन घचघच्याउनेहरूमा मेरो नाम पनि उल्लेख गरेका छन् । घचघच्याएँ हुँला तर प्रतिभा त उनकै हो । उनलाई जाँड-रक्सी खान सिकाउने पनि मै हुँ, त्यो पनि निमित्त मात्र ठहरिएछु । उनलाई पिउने निहुँ र अवसर मात्र चाहिएको थियो, त्यो लाहोरको एउटा होटलको कोठामा पाए उनले। धेरै पल्ट भैरवले आफ्नो घाँटीसम्बन्धी रोगबाट विरक्तिँदै आत्महत्या गर्न चाहेको कुरा ब्यक्त गर्दा मैले झपारेको थिएँ- जुन कलम र दिमाग पाएका छौ त्यसका अगाडि घाँटी ठूलो होइन, म कान कम सुन्छु तैपनि कलम चलाएकै छु । उनी त्यसबाट केही आश्वस्त बन्थे।

मैले पश्चिम जर्मनीमा कानको अपरेशन गराएँ, दुई चार वर्षसम्म चाहिँदोभन्दा बढी सुनिने समस्याले ग्रस्त भए, कानमा कपास कोच्नु पर्याे । भैरवले पनि पूर्वी जर्मनीमा घाँटीको अपरेशन गराए, त्यो सफल भयो । शुरू – शुरूमा त उनी आफ्नै आवाजबाट तर्से रे । काठमाडौं आएपछि उनले मलाई फोन गरे ‘को बाेल्या चिनिस् ?’ ‘अहँ मैले चिनिनँ’ भन्दा उनले ‘म भैरव बोल्या भैरव’ भने । कहाँ पहिले खिइएको ग्रामोफोनको रेकर्डको जस्तो आवाज, कहाँ अहिलेको टड्‌कारो र धोत्रे आवाज ! मैले उनलाई बधाई दिएँ। अब जीवनमा केही गर्न सकिने आत्मविश्वासका साथ उनी अघि बढ्न थाले अथवा भनाैं उनले नयाँ जीवन पाए। त्यसबाट मभन्दा माड्साप वढी खुशी हुनुभएको थियो ।

‘गोरखापत्र’ मा भैरवको पदोन्नति हुने कुरा सुनेर मैले ठट्टै ठट्टामा ‘तिम्रो तालुमा आलु फल्ने भएछ, बधाई’ भनें । वास्तवमा भैरवले पदोन्नति पाएनन्, उनको ठाउँ लिन पुग्नुभएछ केशवराज पिंडालीले । एक दिन भैरवले जङ्गिदै मसँग भने- ‘मेरो तालुमा आलु होइन पिंडालु फल्यो बुझिस् ।’ म गर्नै के सक्थेँ र !

फेरि फर्कैं माड्सापतिर । शिक्षक पेशा त्यागेर उहाँले जगदम्बा प्रेस र मदन पुरस्कार पुस्तकालयमा प्रवेश गरेपछि नै म उहाँसँग बढी नजिकिन पुगेको हुँ । कुनै आपद्- विपद् वा कठिनाई आइपर्दा मैले हारगुहार गर्ने व्यक्ति माड्साप नै हुनुहुन्थ्यो । जीवनको प्रारम्भिक अवस्था निकै सङ्घर्षमय रहेकाले होला उहाँ अरूलाई सहयोग गर्न पाउँदा सन्तोष अनुभव गर्नुहुन्छ । अरूभन्दा पनि माड्सापको खरो वानी मलाई निकै मन पर्छ । जे कुरा पनि स्पष्ट भन्ने, हुने काम भए तुरुन्तै गरिदिने, नहुने भए हुँदैन, सक्तिनँ भन्ने । आश्वासन र झुलाउने काम उहाँबाट कम-भन्दा कम मसँग भएन, अरूसँग पनि उहाँको व्यवहार यस्तै रह्यो ।

‘गोरखापत्र’ मा म प्रवेश गरेकोमा उहाँ खुशी हुनुभएन, भन्नुभो- ‘बलम्, तिमीले त्यहाँ गएर ठीक गरेनों।’ उहाँको भनाइ साँचो थियो । उत्तम कुँवर (उहाँले राख्नु भएको नाम ‘ नाति जर्नेल) र मेरो जोडी अथवा मनो हामी बीच मेलमिलाप कायम गर्न माड्साप सधैं सक्रिय रहनुभो । जब हामी नछुट्टिई नहुने अवस्थामा पुग्यौं त्यस बेला माड्सापले भन्नुभएथ्यो- ‘भैगो बलम्, नाति जर्नेलले तिमी उपर अन्याय गर्यो, रूप-रेखा पनि डुबाउने भो, तिमी अलग्ग होइदेऊ ।’ मैले उहाँको सल्लाहलाई शिरोपर गरेँ । यहाँ पनि माड्सापको भनाइ सत्य ठहरियो । उत्तमले मउपर अन्याय गरे भन्न सक्तिनँ, तर मलाई हटाएर रूप–रेखाको हित-चाहिँ गरेनन्, यो सबैलाई थाहा भएको विषय हो ।

बादेपा

०००
( मधुपर्क, वर्ष २३ अङ्क १० फागुन २०४७ )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
महानगरबाट जीउँदै फर्कें म

महानगरबाट जीउँदै फर्कें म

बालमुकुन्द देव पाण्डे
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

बालमुकुन्द देव पाण्डे
गोड्से साहित्यकार जिन्दावाद

गोड्से साहित्यकार जिन्दावाद

बालमुकुन्द देव पाण्डे
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्द देव पाण्डे
रुई फुई उई दुई ! 

रुई फुई उई दुई...

बालमुकुन्द देव पाण्डे
कैयौँ चिठीः एक उत्तर

कैयौँ चिठीः एक उत्तर

बालमुकुन्द देव पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x