साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महानगरबाट जीउँदै फर्कें म

जाने कहाँ ? यस महानगरमा आफूले चिने-जानेको भन्नु उही पुराना खटारा पत्रिकाका सम्पादक न थिए। तिनको अफिस कहाँ पर्छ कहाँ केही भेउ पाइनँ। पत्रिका नै अहिलेसम्म जीउँदो छ कि छैन कुन्नि ।

Nepal Telecom ad

घटोत्कच शर्मा :

काठमाडौं महानगरपालिका मयो रे भन्ने त गाउँमै सुनेको थिएँ तर यो साँच्चिकै अमरावतीमा परिणत भयो होला भन्ने सपनामा पनि सोचेको थिइनँ। धेरै वर्षपछि म काठमाडौं आएको थिएँ। थानकोटबाट खाल्डो छिर्ने बितिकै थाहा भयो उहिलेको र अहिलेको काठमाडौंमा नर्क र स्वर्गजस्ता फरक थियो। सडक चिल्ला थिए, दायाँ-बायाँ हरिया चौर, त्यसभन्दा पर रूख वृक्ष। वृक्षमा फलफूल लटरम्म फले-फुलेका। काठमाडौंभित्र पस्नासाथ अर्को बस चढ्न पर्दो रहेछ । बस पनि क्या भव्य, गद्धादार सिट भएका, आवाजनै ननिकाल्ने, हर्न पनि नबजाउने। टिकट काट्ने पनि चिटिक्क परेको सुन्दरी, बस चलाउने पनि महिला। पहिल्यै टिकट काटेर छिर्न पर्ने, उभिन नपाइने अर्थात् सिट अनुसार मात्र मान्छे राखिने। एउटा झोलाबाहेक पोका पन्तुराभित्र नहुल्ने। आफूले काठमाडौँमा के पर्ला कसाे पर्ला भनेर एउटा बोरामा चिउरा-सख्खर ल्याएको थिएँ । टिकट काट्‌ने सुन्दरीले मसक्क मस्केर भनिन्- तपाई पहिलो पल्ट महानगरमा आउनुमा जस्तो छ, डोका डाला, बोरा, थोत्रा छाता त्यहाँ लान पाइन्न ।

त्यस्ता वस्तुलाई यहीं धानकोटमै छोड्नुपर्छ। त्यो बाेरा त्यहाँ परको अफिसमा जम्मा गरेर चिट लिनुहोस् । पछि घर फर्कने बेलामा फिर्ता पाउनुहुन्छ। अनि तपाईंले प्रवेश आज्ञा पनि लिनुभा जस्तो छैन । ऊ त्यहाँ प्रहरी चौकीमा बीस रुपियाँ तिरेर फाराम भर्नुहोस् र प्रवेशाज्ञा लिनुहोस् । महानगरमा बसुञ्जेल त्यो साथमै रहनुपर्छ। सुन्दरीले मुस्कानसाथ यति भन्दा मलाई पहिले त बस छोड्न मन लागेन तर के गर्नु र नियम-कानुन मान्ने पर्याे । म लोत्रे कान लाएर बसबाट ओर्लें र सरासर प्रहरी चौकीतिर लम्केँ। बीस रुपियाँ तिरेर एउटा एक हात लामो फाराम लिएँ जसको सिरानीमै राता अक्षरले काठमाडौं महानगरपालिका प्रवेशपत्र भन्ने छापिएको रहेछ। त्यो भरेर बुझाएपछि अर्को प्रवेशाज्ञा कार्ड पाइने रहेछ। फाराममा तीनपुस्ते नाम र मोफसलको ठेगाना, पेसा सबै भर्नुपर्दो रहेछ। साथमा कति रुपियाँ छ काठमाडौंमा कति दिन कहाँ बस्ने, कसको पाहुना बन्ने हो भने उसको नाम ठेगाना सबै खुलाउनु पर्ने। दुई घण्टा लगाएर बल्लतल्ल फाराम भरेँ। त्यसपछि मेरो जीउको खानतलासी लिइयो । खानतलासी लिंदा मलद्वार भित्री कट्टु पनि छाडिएन।

“के गऱ्या यस्तो ?” भनेर सोद्धा थाहा पाइयाे माओवादीहरूलाई काठमाडौंमा छिर्न नदिने यस्तो कडिकडाऊ गर्नुपरेको रे। पछि थाहा पाएँ, काठमाडौं छिर्ने सबै नाकाहरूमा अहिले यस्तै कडिकडाऊ गरिन्छ रे। तै म माओवादी थिइनँ, प्रवेशाज्ञा पाएँ। त्यसपछि एउटा सानो पुस्तिका दिइयो जसमा काठमाडौँ महानगरपालिकाभित्र गर्न हुने र नहुने कुराको विवरण नेपाली, अङ्ग्रेजी र नेवारी भाषामा दिइएको थियो। प्रहरी दाइले त्यसलाई राम्ररी पढ्ने अनुरोध गरे। मैले पढेँ त्यसमा उल्लिखित गर्न नहुने कुराहरू पढेपछि आङ ढक्क फुल्यो। फाटेका, मैला लुगा लाउन नपाइने, जुत्ता अनिवार्य लाउनुपर्ने, कुनै कुरा खाँदा त्यसका बोक्रा छोक्रा सडकमा जहाँ पाइयो त्यहाँ फ्याँक्न नपाइने। सडकको छेउछाउमा मलमूत्र त्याग्न नपाइने, ख्वाक्क खाेक्न वा थुक्न नपाइने। प्रत्येक दुई किलोमिटरमा आधुनिक शौचालय बनेका छन्, त्यहाँ पैसा तिरेर दिशापिसाब गर्नुपर्दछ। खल्तीमा सधैँ खुद्रा पैसा त्यसका निम्ति अनिवार्यरूपले राख्नुपर्नेछ। सडकमा हिंड्दा वायाँतिरबाट कसैलाई धक्का नदिई हिँड्नुपर्नेछ। लोग्नेमान्छेलाई धक्का लागे सरी भन्नुपर्नेछ र महिलालालई धक्का लागे तिनको उमेर हेरी जरिवाना तिर्नुपर्ने छ। होस गर्नुहोला तरुनी युवतीलाई छोइए मात्र पनि कडा जरिवाना तिर्नुपर्नेछ । जुनसुकै सेवा प्राप्त गर्न क्युमा बस्नुपर्छ। ठाउँ ठाउँमा पार्क बनाइएका छन्। त्यहाँभित्र प्रवेश शुल्क तिरेर मात्र पस्न पाइने छ। सडकमा उभिएर वार्तालाप गर्न सख्त मनाही छ। त्यहाँ अरू पनि धुप्रै नियम थिए। नियमहरू पढेपछि म दोधारमा परेँ महानगरभित्र पसूँ कि नपसूँ ? आ. यहाँसम्म जब आइहालियो त हेराैँ न त नयाँ नगरीको तमासा भन्ने लाग्यो र म लागे महानगरतिर ।

महानगरभित्र चल्ने सबै बस उही अघि बयान गरेजस्तै भव्य। बस छिनछिनमा चल्ने हुनाले कुर्नै नपर्ने। तैपनि म एकजनालाई उछिनेर भित्र पस्न के खोजेको थिएँ उसले प्याच्च भनिहाल्यो “क्युमा बस्न नजान्ने कस्तो पाखे।” म हत्तपत्त सम्हालिएँ र लाममा बसेँ। पहिल्यै पैसा तिरेर भित्र पसेँ, एउटा सिटमा बसेँ। कहाँ ओर्लने भनेर सोध्ने चलन हराएछ, आफैले कुन ठाउँमा ओर्लने निधो गर्नुपर्ने रहेछ। तैपनि मैले टिकट काट्‌ने सुन्दरीसँग बोल्ने निहुँले “बस स्टपमा ओरालिदिनुहोला भनेर अनुरोध गरें। उनले “कुन बस स्टप ?” भनेर मधुर मुस्कान छोडिन्। म अकमक्क परेँ, बस स्टप पनि कुन भन्ने ? ओहो काठमाडौं महानगर बनेपछि दुई दर्जन नयाँ बस स्टप नै बनिसकेछन्। जहाँ पुगिएला देखा जाएगा भनेर म एउटा बस स्टपमा ओर्लें त्यसको नाम जनआन्दोलन बस स्टप रहेछ ।

त्यहाँ ओर्लेपछि कता जाने कुनै निधो नपाएर म ठिङ्ग उभिएँ। यसरी विना काम ठिङ्ग उभिनु महानगरीय सभ्यता विपरीत रहेछ। काम भए पनि नभए पनि सडकमा सरासर फटाफट हिंडिरहनु पर्दो रहेछ। म एक छिन के उभिएको थिएँ महानगरको प्रहरीले गर्धनमा ट्याप्प समातेर ‘कसैकाे खल्ती उडाउने सुर छ कि क्या हो ? हिंड् चौकी मन्न थाल्यो। मैले ‘आफू भर्खर मात्र गाउँबाट आएकोले कता जाउँ मनेर सोचेको, यी प्रवेशाज्ञा’ भनेर देखाएपछि पनि प्रहरीको चित्त बुझेन र भन्यो- सहरमा अपराध बढाउने यस्तै गाउँबाटै आएका त हुन्छन् नि । बिना काम सडकमा उभिएकोमा पच्चीस रुपियाँ जरिवाना तिर्” भनेर खल्तीबाट एउटा प्याड झिकेर ख्वाइँख्वाई लेख्यो र मतिर बढाइदियो। मैले नाईंनास्ति गर्ने कुरै आएन र खुरुक्क पच्चीस रुपियाँ बुझाएर म सरासर एकतिर लागेँ।

जाने कहाँ ? यस महानगरमा आफूले चिने-जानेको भन्नु उही पुराना खटारा पत्रिकाका सम्पादक न थिए। तिनको अफिस कहाँ पर्छ कहाँ केही भेउ पाइनँ। पत्रिका नै अहिलेसम्म जीउँदो छ कि छैन कुन्नि । फेरि ती सम्पादकले मलाई चिन्लान् भन्ने के निश्चय । एकछिन त्यसै लखर-लखर सडकमा भौतारिएँ। साँझ पर्याे, अब मलाई रात कसरी र कहाँ बिताउने भन्ने चिन्ताले सताउन थाल्यो। कतै खाली पाइन्छ कि भनी हेरेँ, अहँ कहीं फेला परेन। एउटा फोहोर फ्याँक्ने ढ्वाङ सडक छेउमा देखेँ, त्यसकै मुन्तिर बसेँ तर कहाँ र. सडकमा जहाँ पायो उहीँ सुत्न त के बस्न पनि नपाइने रहेछ।

फेरि प्रहरीले पक्रिहाले “पक्कै माओवादी मुलुकको रहेछ” भनेर एउटा गाडीमा हालेर कता लगे कता ? रातभर केरकार भयो, दुई चार झापड पनि लगाए। मबाट केही ओकलाउन सकेनन् । मैले हात जोडेर बिन्ती गरेँ-हजुर, म गाउँ जान चाहन्छु मलाई थानकोटसम्म जाने बाटो बताइदिनोस्।” एउटा प्रहरी दाइलाई दया उठेछ र थानकोटसम्म पुऱ्याइदिए। मलाई कहिले यहाँबाट उम्कूँ जस्तो भइरहेको थियो र एउटा ट्रकको पछाडि बसेर लागेँ नौबिसेतिर, हतारमा चिउरा र सख्खरसहितको बोरा पनि फिर्ता लिन बिर्सेछु। जीउँदै महानगरबाट घर फर्कन पाएकोमा ईश्वरलाई मनमनै धन्यवाद दिएँ र अब झुक्किएर पनि त्यहाँ नजाने प्रतिज्ञा गरेँ।

०००
२०५४, भदाै
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

बालमुकुन्द देव पाण्डे
मेटिन नसकेका डाेबहरू

मेटिन नसकेका डाेबहरू

बालमुकुन्द देव पाण्डे
गोड्से साहित्यकार जिन्दावाद

गोड्से साहित्यकार जिन्दावाद

बालमुकुन्द देव पाण्डे
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्द देव पाण्डे
रुई फुई उई दुई ! 

रुई फुई उई दुई...

बालमुकुन्द देव पाण्डे
कैयौँ चिठीः एक उत्तर

कैयौँ चिठीः एक उत्तर

बालमुकुन्द देव पाण्डे
0
Would love your thoughts, please comment.x
()
x