साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुई फुई उई दुई ! 

आहा ! तमाखु खान पाए पनि हुने, चिलिममा हात सेकाउन पनि पाइने पेटमा धूवाँ पठाएर तताउन पनि पाइने ! कहाँ पाउनू र हुक्का चिलिम-नली-अनि कहाँ पाउनु गोल ! चुरोट छुसी त औँलामा च्याप्न पनि सकिन्न ।

Nepal Telecom ad

बालमुकुन्ददेव पाण्डे :

मेरो जीवनी पढेका पाठकहरुको आँखामा मेरो अहिलेको अवस्था सम्झँदा- डवकामा रक्सी छचल्किए झै आंसु छचल्किएको होला भन्ने मलाई पक्का विश्वास छ । बाफ रे मङ्सिर लाग्दा त यस्तो छ अझ पुस-माघ कस्तो होला सम्झँदै सरकारी भवनमा झण्डा ठडिए जसरी रौं ठाडिन्छन् । मन्त्रीहरुका शीत-ताप नियन्त्रक (एअर- कन्डिसन्ड। कारको आवाज जस्तै सुईय सुस्केरा ओठबाट निस्कन्छन् । रुई माने कपास याने जाडोको साथी । रुईको नाममा आफ्नू त उही गन्जी र लुङ्गी न हो-डस्ना छैन । एउटा रुईकै धागोले बनेको च्यादरले रात काट्नुपर्छ । काठमाडौंमा हामी जस्ताले बहाल तिरेर बस्ने कोठाको बयान म के गरूँ !

ढोका ढ्याम्म नलाग्ने, खापा नभएको भ्याल त्यही पनि उत्तर मोहडाको । गर्मीमा त यस कोठालाई मैले सानदारकै मानेको हुँ, तर जाडो पनि आउँछ भन्ने त्यस बेला के थाहा ? भनेको बेलामा दक्षिण मोहडाको, खुला भ्याल भएको घर कहाँ पाउने ? लौ जाडोले कठ्याग्रिई शर्मा ! घरपेटीलाई दिनको एक पल्ट कमसे कम भयालको खापा हालिदिने बिन्ती गर्छु, उनी पनि यस थोत्रै घरको भए पनि मन्त्री नहुन्, के सुन्थे हामी जस्ता दुनियाँदारका कुरा-खापा आफै हाल, पछि बहाल बढाउँदा मिलाउँला रे !

बोल्नु वेकार कसाईंले राँगो-बोकाको, मन्त्रीले जनताको, धनीले गरिबको तल्सिङले मोहीको, पत्रिकाका सम्पादकले लेखकको, विद्युत कर्पोरेशनले बिजुली बाल्नेको, आर.एन. एसी. ले हवाइजहाज चढ्नेको, न्यायधीशले झगडियाको, ठूला शक्ति राष्ट्रले साना तथा विकासोन्मुख राष्ट्रको, कालाबजारिया व्यापारीले मध्यम र निम्न वर्गीय उपभोक्ताको, समालोचकले सोझा र प्रतिभाशाली लेखकको पीर मर्कातिर ध्यान दिन अथवा दया देखाउन थाले भने पृथ्वीको गति रोक्किन के बेर ! बरू दुःखै होस् पृथ्वीको गति नरोकियोस् । कमसे कम सूर्य त उदाएका छन्, रत्न पार्कमा गएर दिनभर घाम त ताप्न पाइन्छ । पृथ्वीको गति रोकिएर सूर्यतिर हाम्रो भाग परे त-सधै दिन मात्र क्या मज्जा हुन्थ्यो । तर पश्चिमका विकसित देशले यस्तो किन हुन दिन्थे र रकेट र उपग्रह छाडेर सूर्यलाई आफूतिर पारिहाल्छन् नि ।

हे ईश्वर ! धत्, म त प्रगतिशील लेखक पो कहां ईश्वरलाई गुहार्न पुगेछु । हे श्रमिक र ज्यामीवर्ग हो उठ-सबभन्दा पहिला बहालवालाहरुलाई खतम पार कति जाडोले कठ्यांग्रिन्छौं? दाउरा सस्तो होस् भनेर जुलुस निकाल । यसो भएन भने हामी जाडो खप्न नसकेर मछौं-श्रमिकवर्गले जवसम्म रुई, फुई, उई, दुई, हासिल गर्ने छैनन्, तबसम्म जाडोको साम्राज्य खतम हुने छैन । जबसम्म जाडो कायम रहन्छ तबसम्म हाम्रो जिउ तात्ने छैन-जबसम्म हाम्रो जिउ तात्ने छैन तबसम्म हामीले केही गर्न सक्ने छैनौँ । ज्या कस्तो नमिलेको जीउ तताउन केही गर्नुपर्‍यो रे जीउ नताती केही गर्न पनि सकिन्न रे । गर्ने के त ? यो घरपेटी दाजु अस्ति खान नपाएर पैसा माग्न आयो- उसकहाँ दिनको दुई पल्ट चूलो बल्दैन-तैपनि म उपर दया गर्दैन । उसको जागिर छैन, छोरा छोरी पढाउन सक्तैन, जहिले पनि लोग्ने- स्वास्नीको ठ्याकठुक । मैले त उसलाई कमसे कम खान पुग्ने बहाल दिनुपर्नेमा उसलाई नै खत्तम पार भन्ने नारा दिन पुगेछु । भएन वा, आफु पनि त उस्तै हुँ नि, न जागिर न आमदानी । खाली फोस्रो धाकको भरमा काठमाडौंमा टिकिरहेको अदना वाहुन चरी, फु गर्यो भने केही छैन ।

बाफ रे, कुरा कहाँबाट कहाँ पुगेको- नेपाल र भारतका बिच व्यापार तथा पारवहन सम्झौता सम्बन्धी वार्ता लम्बिए झै मेरो कुरा लम्बिएकामा क्षमा चाहन्छु । म जाडोले मर्न आटेँ, काठमाडौंमा टिक्न गाह्रो भयो, यस्तै परिस्थिति कायम रह्यो भने मेरो अवस्था भूमिसुधार लागु भएपछिका जमिन्दार, शोषक र सामन्तहरुको जस्तो हुनेछ । मलाई रुई, फुई, ऊई, दुई-द्वारा मद्दत गर्नोस् । मोटर छुन नपाउनेले मोटर चल्ने सडक बनाउन चन्दा दिए झै मेरा प्रगतिशील लेख नपढ्ने अगतिशील पाठकले पनि मलाई चन्दा दिउन् । म मरें भने एक अपुरणीय क्षति हुनेछ ।

आच्या, म त प्रगतिशील लेखक पो त, कहाँ चन्दा माग्न पुगेछु- धिक्कार छ मेरो वड्ङ्ख्यौंले बुद्धिलाई ! के भन्लान् मेरा गुरुहरुले मलाई-पलायनवादी, सुधारवादी (रिभिजनिस्ट), प्रतिक्रियावादी आदि आदि । हे मान्यवर गुरु हो, म जनै छोएर किरिया खान्छु, अब उप्रान्त प्रगतिशील विरोधी काम कुरो मबाट कदापि हुने छैन । आम्मै जनै पनि त प्रगति विरोधी होनि, किरिया पनि खान नहुने । के गरू त-जाडोमा त्यसै जमु ? मैले नजानेको, जाडो महिना सिद्धेपछि प्रगतिशील लेखक बन्न खोजेको भए भइजानेमा ।

अरू प्रगतिशील लेखक त छालाको जर्किन लाएर बाक्ला पेन्ट पहिरेर बगलमा ठिटी च्यापी हिंड्छन्-म मात्रै किन यस्तो अभागी ! टाइटफिट नभए लुजफिटसम्म त मेरो भाग लाग्नुपर्ने ? त्यो पनि भएन । उनीहरुको कोठामा बाक्ला डस्ना, सिरक, हिटर, कम्बल, र तरुनी समेत सबै हुने मेरो चाहिं किन यस्तो बिचल्ली ।

आहा ! तमाखु खान पाए पनि हुने, चिलिममा हात सेकाउन पनि पाइने पेटमा धूवाँ पठाएर तताउन पनि पाइने ! कहाँ पाउनू र हुक्का चिलिम-नली-अनि कहाँ पाउनु गोल ! चुरोट छुसी त औँलामा च्याप्न पनि सकिन्न ।

सम्पादकहरू कति बाठा-एक बट्टा सगरमाथा किनिदेओ भन्दा पनि पत्रिकै बिकेन भन्छन्- अस्ति यसो छापाखानामा चिहाएको त सम्पादकज्यू प्रेसम्यानसँग कुरा गरिरहेका ‘घटोत्कच आयो भने दुई सय मात्र छापेको भन्नु है।’ मैले सुन्या नसुन्यै गर्नुमै श्रेय सम्झै छापेको डङ्गुर हेर्दा दुई हजारभन्दा कम थिएन । एउटा सुइटर त किनिदिनुपर्ने- चीनले दया गरेर यस्तो सस्तो ऊन दिइरहेछ । बगावत गरूँ, लेखै नदिउँ भने आफै ड्याकमा परिने अलि अलि चल्न थालेको नाम स्वाहा । लौ बरू जाडोले कठ्याङ्ग्रिनु जाति-नाम त चलाउँछु, चलाउँछु चाहे सुनाम होस् या बदनाम ! पुस पासफुस होस् माघेझरी नपरोस् ।

०००
‘दमाहा’ (२०२४)

– खाेजीपाँसुली : माणिकरत्न शाक्य

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
महानगरबाट जीउँदै फर्कें म

महानगरबाट जीउँदै फर्कें म

बालमुकुन्द देव पाण्डे
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

बालमुकुन्द देव पाण्डे
मेटिन नसकेका डाेबहरू

मेटिन नसकेका डाेबहरू

बालमुकुन्द देव पाण्डे
गोड्से साहित्यकार जिन्दावाद

गोड्से साहित्यकार जिन्दावाद

बालमुकुन्द देव पाण्डे
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्द देव पाण्डे
कैयौँ चिठीः एक उत्तर

कैयौँ चिठीः एक उत्तर

बालमुकुन्द देव पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x