बालमुकुन्द देव पाण्डेरुई फुई उई दुई !
आहा ! तमाखु खान पाए पनि हुने, चिलिममा हात सेकाउन पनि पाइने पेटमा धूवाँ पठाएर तताउन पनि पाइने ! कहाँ पाउनू र हुक्का चिलिम-नली-अनि कहाँ पाउनु गोल ! चुरोट छुसी त औँलामा च्याप्न पनि सकिन्न ।

बालमुकुन्ददेव पाण्डे :
मेरो जीवनी पढेका पाठकहरुको आँखामा मेरो अहिलेको अवस्था सम्झँदा- डवकामा रक्सी छचल्किए झै आंसु छचल्किएको होला भन्ने मलाई पक्का विश्वास छ । बाफ रे मङ्सिर लाग्दा त यस्तो छ अझ पुस-माघ कस्तो होला सम्झँदै सरकारी भवनमा झण्डा ठडिए जसरी रौं ठाडिन्छन् । मन्त्रीहरुका शीत-ताप नियन्त्रक (एअर- कन्डिसन्ड। कारको आवाज जस्तै सुईय सुस्केरा ओठबाट निस्कन्छन् । रुई माने कपास याने जाडोको साथी । रुईको नाममा आफ्नू त उही गन्जी र लुङ्गी न हो-डस्ना छैन । एउटा रुईकै धागोले बनेको च्यादरले रात काट्नुपर्छ । काठमाडौंमा हामी जस्ताले बहाल तिरेर बस्ने कोठाको बयान म के गरूँ !
ढोका ढ्याम्म नलाग्ने, खापा नभएको भ्याल त्यही पनि उत्तर मोहडाको । गर्मीमा त यस कोठालाई मैले सानदारकै मानेको हुँ, तर जाडो पनि आउँछ भन्ने त्यस बेला के थाहा ? भनेको बेलामा दक्षिण मोहडाको, खुला भ्याल भएको घर कहाँ पाउने ? लौ जाडोले कठ्याग्रिई शर्मा ! घरपेटीलाई दिनको एक पल्ट कमसे कम भयालको खापा हालिदिने बिन्ती गर्छु, उनी पनि यस थोत्रै घरको भए पनि मन्त्री नहुन्, के सुन्थे हामी जस्ता दुनियाँदारका कुरा-खापा आफै हाल, पछि बहाल बढाउँदा मिलाउँला रे !
बोल्नु वेकार कसाईंले राँगो-बोकाको, मन्त्रीले जनताको, धनीले गरिबको तल्सिङले मोहीको, पत्रिकाका सम्पादकले लेखकको, विद्युत कर्पोरेशनले बिजुली बाल्नेको, आर.एन. एसी. ले हवाइजहाज चढ्नेको, न्यायधीशले झगडियाको, ठूला शक्ति राष्ट्रले साना तथा विकासोन्मुख राष्ट्रको, कालाबजारिया व्यापारीले मध्यम र निम्न वर्गीय उपभोक्ताको, समालोचकले सोझा र प्रतिभाशाली लेखकको पीर मर्कातिर ध्यान दिन अथवा दया देखाउन थाले भने पृथ्वीको गति रोक्किन के बेर ! बरू दुःखै होस् पृथ्वीको गति नरोकियोस् । कमसे कम सूर्य त उदाएका छन्, रत्न पार्कमा गएर दिनभर घाम त ताप्न पाइन्छ । पृथ्वीको गति रोकिएर सूर्यतिर हाम्रो भाग परे त-सधै दिन मात्र क्या मज्जा हुन्थ्यो । तर पश्चिमका विकसित देशले यस्तो किन हुन दिन्थे र रकेट र उपग्रह छाडेर सूर्यलाई आफूतिर पारिहाल्छन् नि ।
हे ईश्वर ! धत्, म त प्रगतिशील लेखक पो कहां ईश्वरलाई गुहार्न पुगेछु । हे श्रमिक र ज्यामीवर्ग हो उठ-सबभन्दा पहिला बहालवालाहरुलाई खतम पार कति जाडोले कठ्यांग्रिन्छौं? दाउरा सस्तो होस् भनेर जुलुस निकाल । यसो भएन भने हामी जाडो खप्न नसकेर मछौं-श्रमिकवर्गले जवसम्म रुई, फुई, उई, दुई, हासिल गर्ने छैनन्, तबसम्म जाडोको साम्राज्य खतम हुने छैन । जबसम्म जाडो कायम रहन्छ तबसम्म हाम्रो जिउ तात्ने छैन-जबसम्म हाम्रो जिउ तात्ने छैन तबसम्म हामीले केही गर्न सक्ने छैनौँ । ज्या कस्तो नमिलेको जीउ तताउन केही गर्नुपर्यो रे जीउ नताती केही गर्न पनि सकिन्न रे । गर्ने के त ? यो घरपेटी दाजु अस्ति खान नपाएर पैसा माग्न आयो- उसकहाँ दिनको दुई पल्ट चूलो बल्दैन-तैपनि म उपर दया गर्दैन । उसको जागिर छैन, छोरा छोरी पढाउन सक्तैन, जहिले पनि लोग्ने- स्वास्नीको ठ्याकठुक । मैले त उसलाई कमसे कम खान पुग्ने बहाल दिनुपर्नेमा उसलाई नै खत्तम पार भन्ने नारा दिन पुगेछु । भएन वा, आफु पनि त उस्तै हुँ नि, न जागिर न आमदानी । खाली फोस्रो धाकको भरमा काठमाडौंमा टिकिरहेको अदना वाहुन चरी, फु गर्यो भने केही छैन ।
बाफ रे, कुरा कहाँबाट कहाँ पुगेको- नेपाल र भारतका बिच व्यापार तथा पारवहन सम्झौता सम्बन्धी वार्ता लम्बिए झै मेरो कुरा लम्बिएकामा क्षमा चाहन्छु । म जाडोले मर्न आटेँ, काठमाडौंमा टिक्न गाह्रो भयो, यस्तै परिस्थिति कायम रह्यो भने मेरो अवस्था भूमिसुधार लागु भएपछिका जमिन्दार, शोषक र सामन्तहरुको जस्तो हुनेछ । मलाई रुई, फुई, ऊई, दुई-द्वारा मद्दत गर्नोस् । मोटर छुन नपाउनेले मोटर चल्ने सडक बनाउन चन्दा दिए झै मेरा प्रगतिशील लेख नपढ्ने अगतिशील पाठकले पनि मलाई चन्दा दिउन् । म मरें भने एक अपुरणीय क्षति हुनेछ ।
आच्या, म त प्रगतिशील लेखक पो त, कहाँ चन्दा माग्न पुगेछु- धिक्कार छ मेरो वड्ङ्ख्यौंले बुद्धिलाई ! के भन्लान् मेरा गुरुहरुले मलाई-पलायनवादी, सुधारवादी (रिभिजनिस्ट), प्रतिक्रियावादी आदि आदि । हे मान्यवर गुरु हो, म जनै छोएर किरिया खान्छु, अब उप्रान्त प्रगतिशील विरोधी काम कुरो मबाट कदापि हुने छैन । आम्मै जनै पनि त प्रगति विरोधी होनि, किरिया पनि खान नहुने । के गरू त-जाडोमा त्यसै जमु ? मैले नजानेको, जाडो महिना सिद्धेपछि प्रगतिशील लेखक बन्न खोजेको भए भइजानेमा ।
अरू प्रगतिशील लेखक त छालाको जर्किन लाएर बाक्ला पेन्ट पहिरेर बगलमा ठिटी च्यापी हिंड्छन्-म मात्रै किन यस्तो अभागी ! टाइटफिट नभए लुजफिटसम्म त मेरो भाग लाग्नुपर्ने ? त्यो पनि भएन । उनीहरुको कोठामा बाक्ला डस्ना, सिरक, हिटर, कम्बल, र तरुनी समेत सबै हुने मेरो चाहिं किन यस्तो बिचल्ली ।
आहा ! तमाखु खान पाए पनि हुने, चिलिममा हात सेकाउन पनि पाइने पेटमा धूवाँ पठाएर तताउन पनि पाइने ! कहाँ पाउनू र हुक्का चिलिम-नली-अनि कहाँ पाउनु गोल ! चुरोट छुसी त औँलामा च्याप्न पनि सकिन्न ।
सम्पादकहरू कति बाठा-एक बट्टा सगरमाथा किनिदेओ भन्दा पनि पत्रिकै बिकेन भन्छन्- अस्ति यसो छापाखानामा चिहाएको त सम्पादकज्यू प्रेसम्यानसँग कुरा गरिरहेका ‘घटोत्कच आयो भने दुई सय मात्र छापेको भन्नु है।’ मैले सुन्या नसुन्यै गर्नुमै श्रेय सम्झै छापेको डङ्गुर हेर्दा दुई हजारभन्दा कम थिएन । एउटा सुइटर त किनिदिनुपर्ने- चीनले दया गरेर यस्तो सस्तो ऊन दिइरहेछ । बगावत गरूँ, लेखै नदिउँ भने आफै ड्याकमा परिने अलि अलि चल्न थालेको नाम स्वाहा । लौ बरू जाडोले कठ्याङ्ग्रिनु जाति-नाम त चलाउँछु, चलाउँछु चाहे सुनाम होस् या बदनाम ! पुस पासफुस होस् माघेझरी नपरोस् ।
०००
‘दमाहा’ (२०२४)
– खाेजीपाँसुली : माणिकरत्न शाक्य
Subscribe
Login
0 Comments
Oldest








































