बालमुकुन्द देव पाण्डेकेही नयाँ लोकगीत
खोरै ज्यानका साना डल्ला बाख्रा मट्याङ्ग्रो खेतमा हाले मलै हुन्छ बाख्रा मट्याङ्ग्रो हेर्दा खेरी चना जस्ता बाखा मट्याङ्ग्रो सुँघ्दा खेरी गन्हाउने बाख्रा मट्याङ्ग्रो - तैपनि हातैले सोर्छन् बाख्रा मट्याङ्ग्रो ।

बालमुकुन्ददेव पाण्डे :
अचेल लोक गीतको रिकर्ड भर्ने फेसन छ्यासछ्यास्ती बढेको छ । हाम्रा कैयौँ गायक लोकगीत भनेपछि महका झिँगा बन्छन् ।
हार्मोनियमका एउटा दुईटा फिल्मी तरज बजाउन जानेको भरमा सङ्गीतकार स्वयं बन्न सफल भएका हाम्रा असङ्ख्य गायकको भलो होस् भनेर नै मैले लोकगीत सङ्कलन गरेको हुँ । लोकगीत नामैबाट प्रस्ट छ । व्यक्ति गीत होइन अतः यसमा सर्वाधिकार सुरक्षितको दावा मेरो छैन, खालि विन्ती बिसाई के छ भने मैले तालु र पैताला एक गरी बटुलेका यी गीतमा रेकर्ड भरिँदा लय र बाजा मसँग सोधिए राम्रो हुने थियो ।
‘उकाली ज्यानको चिप्लेटी ढुङ्गा कान्छी मट्याङ ट्याङ’ लोकगीत जुन दिन सुनेथेँ त्यसदिनदेखि मलाई पनि लोकगीतले निकै आकर्षित गर्यो । पहाडमै जन्मे हुर्केकाले मलाई धेरै लोकगीत मुखाग्र छन् । गण्डकी अञ्चलका लोकगीतहरू नेपाल एकेडेमीले सङ्कलन गरेर ल्यायो रे भन्ने समाचार सुनेको थिएँ, तर यस पाला दशैँको विदामा घर जाँदा पो थाहा पाएँ त्यो कुरा पच्चिसै आना गल्ती रहेछ । एकेडेमीका सङ्कलनकर्ता खालि पोखराका केही गीत बटुली फर्केका रहेछन् । घर पुगेको भोलिपल्टदेखि थालेँ गीत सङ्कलन गर्न । अधिकांश त मेरै जहान (शहरी भाषामा ‘वाइफ’) लाई कण्ठाग्र रहेछ । उनलाई ठूलो आग्रह गर्दा सुनाउन थालिन-
वनमा ढुकुर बेँसीमा बकुला
पोइल जान म पनि सकुँला ।
लौ सत्यानास ! म त आफ्नै श्रीमतीलाई सती अनुसूया ठान्थे, तर यो गीत सुन्दा पो रहस्य थाहा पाएँ उनी पोइल जाने सुरसारमा छिन् । ए मैले पनि लोकगीतमै जवाफ दिएँ
एक पैसाको जिरो एक पैसाको पिरोसिलौटोमा ल्यासल्यास्ती
छाताको डण्डी तिमी जस्ती रण्डी काठमाडौंमा छ्यासछ्यास्ती
लाल लाल आँखा पार्दै उनी त दाहा किट्न थालिन् । कहाँको लोकगीत भन्न थालिन् उही पुरानो सत्तो सराप फलाक्न । ‘मलाई थाहा थ्यो तपै किन नेपाल हाम्रो गाउँमा काठमाडौंलाई नै नेपाल भन्ने चलन छ भनेपछि हुरुक्क हुनुहुन्छ भनेर । उहाँ भने जति बेस्से-फुँडी खेलाउन छाडेर ह्याँ बस्न किन मन लाग्थ्यो ।’ पहाडतिर जब्बर स्वास्नीले लुरे पोइलाई गाली गर्दा प्रयोग हुने शब्द लिखित रुपमा प्रस्तुत नगरूँ । मेरो लोकगीत बटुल्ने पहिलो प्रयासको अन्त यसैगरी भयो । तैपनि हरेस खाने टाइपको मान्छे म कहाँ हुँ र। जोइ पोइको झगडा परालको आगो न हो ।
मलाई थाहा थियो हाम्रो गाउँभरमा गीत गाउनमा माहिली सार्किनी सबभन्दा पहिलो छे । हिस्सी पनि निकै परेकी हो । हाम्रा बाहुनीहरू जसको पनि नाक ठुला, आँखाभित्र गाडिने तर माहिली सर्किनी, उसलाई अलि राम्रा लुगा र सिङ्गार पटार गरिदिने हो भने विश्व सुन्दरीको प्रतियोगितामा फस्ट हुन बेर लाउन्न । गाउँ घरमा राति जे जस्तो भए पनि दिउँसो बाहुनले कामी सार्किका घरमा पस्नु त के कुरा टाढाबाट हेर्दा पनि जात जान बेर लाउँदैत । यहाँ मुलुकी ऐन घुसेको छैन । माहिलीलाई घाँस लिन जाँदा भेटेर लोकगीत भन्न लाउने सुर झिकेर झरें बेसीतिर ।
उसले बढो मर्काको कुरा सुनाई ‘दिउँसोको उसको अनुहारसम्म नहेर्ने पण्डित बाजेहरु पनि सांझतिर एक्लै दुक्लै हिड्न दिदैनन् ।’ त्यो दिन गीत बटुलिएन, यस्तै यता उताका गफ भए । सहरमा त बाहुन सार्की सँगै बसेर खान्छन् भनेरे मैले भनिदिंदा ऊ त सहर जान पाए पो हुन्थ्यो भन्न लागि । मलाई पनि अलि अलि उससँग ‘लभ’ होला जस्तो भयो, तर भोलिपल्ट गाउँ हल्लेछ ‘घटोत्कचले माहिली सार्किनीलाई स्वास्नी राख्यो’ भनेर । हिजो माहिलीसँग गफ गर्दा त यताउति कोही देखिएका थिएनन्, यी गाउँलेले कसरी थाहा पाए । सबैको घरमा वायरलेस पो छ कि क्या । मेरी श्रीमतीका कानमा यो कुरा के परेथ्यो- ‘लौं घरबाट तुरुन्त निक्लिहाल्, सहरको हावा गाउँमा घुसाउन खोज्ने बेइज्जती मोरा ।’ यति के सुनेथे मैले तीन त्रिभुवन देखें। सारा गाउँ एकातिर मिलेका वेलामा स्वास्नीलाई केही भर्नु ज्यान जाला भन्ने डर । चुइक्क नबोली आफ्नो तडी-तुम्बडी लिएर लागेँ म सहरतिर । मेरो प्रगतिशीलता गाउँमा कोढी बराबर पनि भएन ।
घर आउने बेलामा केही गायक साथीहरुलाई लोकगीतको डोको लिएर आउने जुन आश्वासन दिएको दिए त्यो सम्झदा मलाई बडो ग्लानी भएर आयो । कनी कुधी केही गीत त तयार पारें तर साथीहरुले के भन्ने हुन् कुन्नि ।
गीत नं. १
गण्डकीको पानी हे मेरी रानी
झम्के बुलाकी त्रिशुलीको पानी
हे मेरी रानी झम्के बुलाकी
बादलै माथि पानीको थोपा झम्के बुलाकी
कुनै दिन आउँला म झम्के बुलाकी
पेटै र भरी गरौला कुरा झम्के बुलाकी
भातै खाई सुतौला झम्के बुलाकी
बिहान सबेरै उठौंला झम्के बुलाकी
दिनभरी घाम तापौंला झम्के बुलाकी
गीत नं २
कान्छीलाई स्वाउने रातो चोलो जेठीलाई मजेत्रो
पानीमा बग्छ सलल माछो म परे अल्पत्रो
मर्स्याङ्दीको चिसो पानी मुटु मेरो काम्छ
नुवाकोटको सात तले दरवारमा राम्रो बलियो थाम्छ
भञ्ज्याङवाट देखिने तीन सहर राम्रो
कान्छी तिम्रो माया मलाई भयो नि चाम्रो
गीत न. ३
खोरै ज्यानका साना डल्ला बाख्रा मट्याङ्ग्रो
खेतमा हाले मलै हुन्छ बाख्रा मट्याङ्ग्रो
हेर्दा खेरी चना जस्ता बाखा मट्याङ्ग्रो
सुँघ्दा खेरी गन्हाउने बाख्रा मट्याङ्ग्रो
– तैपनि हातैले सोर्छन् बाख्रा मट्याङ्ग्रो ।
आजलाई यति । मेरा गीतकार साथीहरुले यी गीतलाई मन पराए भने पछि अरु संकलन पनि अवश्यै गर्नेछु ।
०००
‘दमाहा’ (२०२४)
Subscribe
Login
0 Comments
Oldest







































