बालमुकुन्द देव पाण्डेचुनाव जिताउने संघको स्थापना
प्रतिभोटका निम्ति दिइने सेवा शुल्क स्पष्ट उल्लेख गरी गोप्य निवेदन जतिसकेको छिटो दिनुहोला । जसले बढी रकम अफर गर्छ त्यसैले हाम्रो सेवा पाउन सक्छ । पछि पछुताउनुभन्दा अहिले नै बढी रकम अफर गर्नु बुद्धिमानी हुनेछ ।

घटाेत्कच शर्मा :
जब देशमा दल भए पनि निर्दलको बोलवाला थियो । त्यसबेला पनि चुनाव धुमधामका साथ सम्पन्न हुन्थ्यो । जनताले जसलाई मत दिन्थे ती उम्मेदवार ठाडै पराजित हुन्थे । त्यस्तो अनौठो चुनाव नेपालको विशेषता नै थियो । बुद्धि हराएपछि कसको बाबुको के लाग्छ । राजधानीको दुई-चार वटा ढोका र एक-दुई वटा कोठा अथवा भनौं कार्यालय भएपछि काम फत्ते हुने, चुनाव जितिने त्यस्तो अभूतपूर्व व्यवस्थालाई लत्याएर प्रधानमन्त्रीजस्ता व्यक्तिले पनि जोगीले झैं घरघरमा गएर भोटका निम्ति अलख जगाउनुपर्ने अहिलेको बहुदलीय प्रजातन्त्रलाई बहुलादलीय भनेमा क्यै फरक पर्दैन ।
सब स्याँ-स्याँ गरेर भोटको पछिपछि दगुरिरहेका छन् । तर त्यो भोट चाहिँ स्याल भागेझै भागिरहेछ उम्मेदवारले नभेट्टाउन् भनेर । आहा भोट बटुल्ने मेसिन कसैले यस्ता बेलामा आविष्कार गरिदिएका भए त्यो हारालुछ भएर बिक्री हुने थियो । तर भोट कस्तो चिप्लो हुन्छ भने कसैले त्यसलाई समात्न खाेज्याे कि त्यो चिप्लेर कता हो कता उछिट्टिन पुग्छ । भोट स्याल जस्तै छ, त्यसलाई समाउन चुनाव चिह्न वा आकाश-पाताल एक गरिएका धोषणापत्र पनि काम लाग्दैनन् । तैपनि उम्मेदवारहरूले निराश हुनुपर्ने कारण देखिन्न । भोट बटुल्न पहिले भीड बटुल्न जान्नुपर्छ । भीड बटुल्ने काम ऐरे गैरे नत्थु खैरेले सक्तैन । यसका निम्ति हामी जस्ता आफू नलड्ने अरूलाई लडाएर आनन्द लुट्ने निष्पक्ष र स्वतन्त्र केही व्यक्ति मिलेर ‘चुनाव जिताउने संघ’ गठन गरेको सहर्ष जानकारी गराउँदछौं । यसलाई सारा उम्मेदवारले खलको समस्या हल माने हुन्छ ।
संघको केन्द्रीय कार्यालय हाललाई राजधानीको खुला मञ्चमा स्थापना गरिए पनि चुनावको अघिल्लो दिनसम्म यसका शाखा, उपशाखा, काखा, पाखा, देशका दुई सय पाँच वटा चुनाउ क्षेत्र, बाइ-तेह हजार मतदान केन्द्र र उपकेन्द्रमा समेत खुलिसक्ने छन् । यसका निम्ति संघले धनुषाका झिंझा र रूपन्देहीका मर्चवार जस्ता ठाउँबाट चुनाव विशेषज्ञहरू एकतित्र गरेको छ । त्यतिले नपुगी भारतका दरभंगा, चम्पारण, भागलपुर, गोरखपुर, झरिया, माहेम आदि स्थानबाट हजारौं विशेषज्ञहरू झिकाइएको छ ।
‘तपाईं भन्नुहोस् हामी पुर्याइछाड्छौँ’ संघको मूल मन्त्र यही हो। चुनाव घ्यू हो, त्यो जित्न सोझो औंला काम लाग्दैन । खालि भाषण गरेका भरमा भोट आउँदैन। पछि कसैले चुनावमा धाँधली गरेर जित्यो भन्ने आरोप लगाउन नपाओस् त्यसका निम्ति मतदान अघि भीडभाडयुक्त आमसभामा भाषण दिनै पर्छ । हाम्रो संघलाई थाहा छ भाषण दिनु र पर्चा-पोस्टर बाँड्नु टाँस्नु भनेको हात्तीका देखाउने दाँत हुन् चपाउने दाँत अर्कै हुन्छ । चुनावको केही दिन अघिदेखि नै प्रचार गर्नुपर्छ- मतदान केन्द्रमा बम विस्फोट हुँदैछ, गोली चल्नेछ, निकै खुन-खराबी हुनेछ, आदि-आदि। ज्यानको माया सबैलाई हुन्छ । त्यस्तो स्थितिमा को भोट खसाल्न जान्छ । अनि त हाम्रा विशेषज्ञहरूले सजिलै कमाल देखाइहाल्छन् । घण्टाको दुई हजार मतपत्रमा छाप हाल्न सक्छन् ती । उम्मेदवारका निम्ति यत्रो सेवा कसले पुर्याउन सक्छ ।
प्रिय उम्मेदवार । तपाईं जुनसुकै चुनाव क्षेत्रबाट उठे पनि केही फरक पर्दैन । भन्नोस् तपाई कति भोटले विजयी हुन चाहनुहुन्छ ? हामी साधारण सेवा शुल्कमा तपाईंको इच्छा पूरा गरिदिने छौं। क्षेत्रअनुसार शुल्क फरक-फरक राखेका छौं । काठमाडौँ क्षेत्र नं. १ का लागि पच्चीस लाख मात्र छ भने मुस्ताङ, मनाङ, डोल्पा जस्ता ठाउँका लागि पाँच लाख । हामी कति इमानदार छौं भने एक क्षेत्रमा एक उम्मेदवारलाई मात्र समर्थन गर्छौं। त्यसैले पहिला, जो आउँछ मौका उसैले पाउँछ। त्यस्ता उम्मेदवारले आफ्नो नाम, उठ्ने जिल्ला, चुनाव क्षेत्र नं., प्रतिभोटका निम्ति दिइने सेवा शुल्क स्पष्ट उल्लेख गरी गोप्य निवेदन जतिसकेको छिटो दिनुहोला । जसले बढी रकम अफर गर्छ त्यसैले हाम्रो सेवा पाउन सक्छ । पछि पछुताउनुभन्दा अहिले नै बढी रकम अफर गर्नु बुद्धिमानी हुनेछ ।
चुनाव जिताउने ग्यारेन्टी हामी लिन्छौं । पछि चुनाव जितेपछि सेवा शुल्क तिर्ने अस्वीकार्य हुनेछ । किनभने एम.पी. भएपछि कसैसँग पनि पैसा असुल्न सकिन्न भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । ‘आज नगद भोलि उधारो’ हाम्रो मूलमन्त्र हो।
मुस्कान (२०४८, वैशाख)
०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)









































बादेपाको सार्वजनिक सूचना पढियो। विशेषज्ञहरु त्यति टाढाबाट झिकाउने प्रस्ताब मलाई चित्त बुझेन। हाम्रा छिमेकी जिल्लामै कार्यकर्ता मात्र हैन नेतालाई नै तराइदेखि ब्रह्मपासमा कसेर ल्याउन सक्ने सक्षम नव दक्ष विशेषज्ञहरु हुंदाहुंदै त्यति टाढादेखि date expired दक्ष झिकाउंदा चुनाव जिताउने क्षमता होला जस्तो लागेन!