साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्षर कि अच्छेर ?

संस्कृतका नाटककारहरूले प्राकृत भाषालाई अनपढ र महिलाको भाषामा खुम्च्याए । भाषा परम्परामा सुरक्षित र वर्तमानमा जीवित हुन्छ तर हामी परम्पराको बिउ मासेर वर्तमानको बिरुवा उमार्ने प्रयत्न पो गर्दै छौँ ।

Nepal Telecom ad

रमेश समर्थन :

‘बाबु, अच्छेर राम्रा बनाएर लेख है !’ मेरी बुढी बुबै (बाकी बज्यै) काठको पाटीमा मसिनो धुलो माटो सम्याएर हातमा सिन्का दिँदै भन्नुहुन्थ्यो र म लेख्न थाल्थेँ । राम्रा लेख्थेँ कि लेख्दिनथेँ भन्ने त सम्झना छैन तर लेखेपछि काँसको कचौरामा राखेको बुबुमाम पनि कुपुक्क खान पाउँथेँ ।

मित्रहरू, म कुनै गम्भीर कुरो लेख्न बसेको होइन है ! भ्रममा नपर्नुहोला । हुनत मेरो रचनामा गम्भीरता हुन्छ भनेर त मेरै श्रीमतीलाई विश्वास छैन भने तपाईंहरूको के कुरो ? तानासर्मालाई आफ्नो नाम तारानाथ भएकाले साथीहरूले तारे गोरु भने भन्ने गुनासो थियो । राम्रालाई पनि नराम्रो पार्ने त हाम्रो स्वभाव नै हो ।

हामी कस्तो अडबाङ्गे स्वभाव भएका मान्छे हौँ भने ठाउँ न ठहरको रहर गरिदिन्छौँ र नाम बिगारिदिन्छौँ । जुन भाँडामा हालिन्छ त्यसलाई बाल्टिन भनिदिन्छौँ र जुन भाँडो बालिन्छ त्यसलाई लालटिन भनिदिन्छौं । भन्नुपर्ने त बाल्टिनलाई हाल्टिन र लालटिनलाई पो बाल्टिन हो नि !

एउटा हिन्दीको ठट्यौलीको सम्झना भयो । एउटा कन्जुस बाबुले छोरालाई बजार घुमाउन लिएर गएछन् । बाटामा छोराले बाबुसित भनेछ, ‘पापा, ये केला ले दो न !’ बाबुले भनेछन्, ‘बेटा ये केला नहीँ केली है । केला तो अच्छा होता है, जो हमारे पडोस में ही मिलता है ।’ यसै गरी छोराले जे मागे पनि कुनै न कुनै बहाना गर्दै अन्तमा ‘पडोस में मिलता है ।’ भन्दा रहेछन् र छोरो निला ओठ लगाएर फर्केछ । घरमा आउनासाथ आमाले सोधिछन्, ‘बेटा, पापा ने तुम्हें क्या क्या दिलवाये ?’ छोराले पनि बाबुकै शैलीमा उत्तर दिएछ, ‘वो पापा नहीँ माँ, वो तो पापी हैं । पापा तो अच्छे होते हैं जो हमारे पडोस में मिलते हैं ।’

राजाको स्त्रीलिङ्गी राजी नभएर रानी बन्छ । रानाको स्त्रीलिङ्गी रानी नभएर रनेनी बन्छ । यसरी यो सैतान दिमागले के के सोच्छ के के र सोच्छ, राणाको स्त्रीलिङ्गी त राणी हुनुपर्ने हैन र ? अनि हाम्रा अङ्ग्रेजीबाजको उच्चारणलाई मान्दा त सोझै ‘राँडी’ पो हुने रहेछ । छ्या…!! सैतान दिमागलाई अझ पराकाष्ठामा पुर्‍याउने हो भने त थापाको स्त्रीलिङ्गी शब्द ‘………’ पो हुनुपर्नेन रहेछ । तर हामी त सोझो कुरो पनि बङ्ग्याएर भन्छौं र त थपिनी बनेको हो । नत्र त उही बन्थ्यो । ‘काका’को काकी बन्छ भने राजाको राजी, रानाको रानी, राणाको राणी र थापाको ……त बन्नैपर्ने हो नि !

अक्षरमा पनि यही कुरो लागु हुन्छ । मलाई कसैले क्, ख्, ग्, घ् आदि अक्षर होइनन् भनेर कसैले पढायो होला र ? तर अहिले आएर त्यही नपढेको कुरो पढाउनु परिरहेछ । पढेको कुरो त पढाउन नजान्नेलाई नपढेको कुरो पढाउन कम्ता गाह्रो होला त ? अनि अ, आ, इ आदि फेरि अक्षर हुन् रे ! हामीले अक्षर भनेर चिनेका त वणर्का आकृति मात्र हुन् रे ! लिपि हुन् रे ! कस्तो चकचके मगज के ? तिम्रा बाजेले तिमीलाई क, ख, ग, घ, अ, आ, आदि अक्षर भनेर लेखाएर र पढाएर तिमीलाई यत्रो विद्वान् बनाए, अनि आज तिमीलाई तिनै अक्षर हुन् भन्न केले रोक्यो ?

मलाई लाग्छ यो अङ्ग्रेजीको पुरा सोच हो । अरूले खाएको छोडेको पुरा भएझैं सोचेर छोडेको पनि पुरा हुन्छ । उनीहरूले सिलेबल भन्ने नयाँ कुरो ल्याएछन् । अनि छ महिना भारत बसेर फर्केको तोरीलाहुरेले ‘कोदो टुप्पामा फलता हे कि जरामा फलता हे’ भनेझैं उनीहरूले पनि ए, यो पनि त रहेछ नि भाषाको एउटा एकाइ जसका बारेमा हामीले केही भनिदियौं भने त नयाँ खोज भइहाल्छ भनेर नै यो अक्षर भन्ने नयाँ हाउगुजी ल्याएका होलान् ।

यिनै महापण्डितहरूले अर्को झ्याउगुजी पनि ल्याए । त्यो के भने हामीले हाम्रा बाजेबराजेका पालादेखि पढ्दै आएका वणर् हाम्रा होइनन् रे ! भर्सेला परोस् यस्तो खुराफाती दिमाग । अं र अः लाई त लौ मानौं अनुस्वार र विसर्ग हुन् र यिनको प्रयोग जुनसुकै स्वरका साथमा हुनसक्ने भएकाले छुट्टै वणर् होइनन् भनौं तर ई, ऊ, ऋ, ऐ, औ को त उच्चारण र प्रयोग दुबै छ । अनि किन लखेट्नु परेको होला ? उच्चारणलाई नै आधार बनाएर ञ, ण, श, ष, क्ष, त्र, ज्ञ लाई पनि हाम्रो होइन भनियो । मानौं यी संस्कृतका वणर् हुन् तर के नेपाली भाषा संस्कृतको सन्तान हो कि अङ्ग्रेजीको भन्ने हेक्का किन नराखेका होलान् ? संस्कृतबाट बनेको नेपालीको वणर्व्यवस्थालाई संस्कृतअनुरूप नै रहन नदिएर अङ्ग्रेजीको झिँगा धपाउने पुच्छर किन बनाएका होलान् ? झिँगा धपाउन मात्र होइन, आची नै पुछ्नु परे पनि अङ्ग्रेजीको भन्दा त संस्कृतकै पुछ्नु राम्रो हुँदो हो नि !

हामीले कखरा पढ्दा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ लाई यसरी पढ्थ्यौं -ञ = गोरुसिङ्गे यौं । जुन पछि गएर यँजस्तो उच्चारण गर्न थालियो । ण = तीनधर्के अडँ, श = मोटो स, ष = पेटफार्‍यो स, क्ष = छेत्री छे, पछि रोमनमा नेपाली वणर् पढ्दा ञ, ण र न का लागि अङ्ग्रेजीको एउटै वर्ण n को प्रयोग पढेपछि पनि ञ, ण र न लाई छुट्टै वणर्का रूपमा पढ्दै आएका थियौँ तर अङ्ग्रेजीको चस्मा लगाउनेहरूले भनिदिए ञ, ण र न का लागि n मात्र लाग्ने भएपछि न मात्र भए पुग्छ र अरू चाहिँदैन । हामीले भन्यौं, उसो भए गणेश लाई गनेस, गणित लाई गनित, व्याकरणलाई ब्याकरन, भन्ने त ? उनीहरूले भने, हैन, गणेश त गँडेस हो, गणित गँडित हो र व्याकरण ब्याकरँड हो ।

लौ त त्यसै हो भने त्यसै गरौँ न त ! यसो गरे कसो होला ? हिहि ! यी शब्दको अक्षरसंरचना यस्तो गरौं, आखिर शुद्ध उच्चारणलाई आधार मान्ने हो भने त यसो पो हुनुपर्ने हो । गणेश = गँ. डेस् , गणित = गँ. डित् , व्याकरण = ब्या. क. रँड् । ‘रँड्’ को रोमन Rand हुन्छ र यो त राँड् पो हुन्छ । यसरी व्याकरण, व्याकरण नरहेर ब्याकराँड् बन्न पुग्ला भन्ने डर ।

‘शाबजी, मई इधरका वाचमैन ।’ भन्दै भारतेलीहरू हाम्रो उच्चारणलाई होच्याउँछन् । उनीहरू भन्छन् बङ्गालीले जस्तै नेपालीले पनि ‘स’लाई ‘श’ उच्चारण गर्छन् । तर हाम्रा विद्वान् भन्छन् नेपालीले ‘श’लाई पनि ‘स’ उच्चारण गर्छन् । अब यो झगडा कसले सल्टाउने । ‘ष’लाई मूर्धन्य भनिन्छ । रोमनले श र ष दुबैका निम्ति एउटै लिपिको प्रयोग गर्छ sha । तर उससँग हाम्रा ध्वनिका लागि वर्ण छैन भन्दैमा उच्चारणमा कुनै न कुनै भिन्नता छ । अङ्ग्रेजीमा a, e, i, o, u बाट अ बन्छ भन्दैमा हामीले ई, ऊ, ऐ, औ तर हामीले ‘ऐना’लाई ‘अइना’ भन्नुपर्ने कस्तो काइते तर्क हो ? ती अडबाङ्गेहरू त म बाट ज र त बाट स पनि बनाउँछन् । नपत्याए यो शब्दलाई हेरौं न, education एजुकेसन रे ! एक हातले ताली बजाउने मन हुन्छ ।

‘क्ष’ लाई छे भनेर पढियो र उच्चारणका आधारमा अक्षर बनाउनेहरू पनि त्यसै भन्छन् भने ‘क्षा’को उच्चारण छेआ हुने भयो । अब यसका आधारमा अक्षरसंरचना गर्दा शिक्षा = सिच्छेआ, कक्षा = कच्छेआ हुने भयो । भनिपुर्‍याउन सजिलो गरिपुर्‍याउन गाह्रो भनेझैं त्यसै त कक्षा कच्छ्या हुँदाहुँदै कच्छा भएर केटाकेटीको गोपनीय स्थलसम्म पुगिसक्यो अझ कच्छेआ के के हुने हो । यसमा त रोमनको खाइदेउ नियम पनि लागु हुन्न । विद्यार्थी सोध्छन्, ‘गुरु, यसको सही उच्चारण के हो नि ?’ मैले बुझेको हुन्छु, यसरी सोधिरहँदा उनीहरू मलाई गुरु हैन, गोरु ठानिरहेका हुन्छन् र त्यो पनि पानी नभएको लोसे गोरु जसको टाङमुनि जति घोचे पनि उसलाई केही हुन्न ।

‘य’लाई बुढो जे भनेर पढेको हो । आर्ज्याबाट सरेकाहरू अर्याल भए र अचार्जहरू आचार्य भए भन्दैमा जेलाई य बनाउन पाइन्छ ? समय हैन, समजे हुनुपर्छ । विद्यालय, (अझ अर्का खुराफातीले त विद्यालय हुनुपर्ने कन्चट सेकाउने तर्क राखेका थिए ।) यसरी उच्चारणलाई नै आधार मान्ने हो भने विद्यालय त बिद्जेआलजे पो हुने रहेछ । जसको उच्चारणमै जे छ त्यसमा ओ मात्रा लगाउँदा के होला ? सोच्नुस् त उच्चारणका आधारमा ‘यो’लाई कसरी लेख्ने र पढ्ने होला ? ‘भाग्य’लाई भाग्जे भन्न सकिएला । के थाहा, सूर्य सुर्जे र यश जस बनेकै छन् ।

‘त्र’लाई तर पढेको हो र सत्रलाई पनि सत्र उच्चारण गरिन्छ, सत्र होइन । यसै आधारमा त्रास तरास बनेको हो भने त्राहि नै तराई बनेको हो पो कि ? के थाहा ? भाषाविज्ञ नै जानुन् । गर्मीमा चर्को घामसितको तातो बतासको, जाडामा बाक्लो कुहिरोसितको शीतलहरको, बर्खामा बाढी र डुबानको, वसन्तमा हावाहुरीको तरास । कहिले लामखुट्टेको त कहिले साँपबिच्छीको त्राहि त्राहि त तराईमै हुन्छ ।

‘ज्ञ’लाई गें भनेर पढियो । अहिले आएर ग्यँ हो भन्ने जानियो । उच्चारणलाई नै आधार मान्ने हो भने यो ग्यँ नभएर गें नै हुनुपर्छ । ‘गेंवा’बाट ‘गेंवाली’ भएकाहरू आफ्नो थरमा किन ज्ञवाली लेख्छन् कुन्नि र नकटो तर्क दिन्छन्, नेपालीमा ज्ञ वर्ण छैन ? अनि भन्छन् ज्ञ हाम्रो होइन । अब ‘यज्ञ’शब्दलाई उच्चारणका आधारमा लेख्दा यस्तो नहोला – जेगें । जग्गे त भएकै छ नि त ! अनि योगी पनि जोगी भएको छ । एकजना मैथिल साथी छन् उनी ‘यौनरोग’लाई जौनरोग भन्थे । त्यो सुनेर उनका साथीले भने यसले ‘युज’लाई के भन्ला ? मेरो मुखबाट झ्वाट्टै निस्केको थियो, ‘जुज’ । जब उनीहरू हाँस्न थाले अनि बल्ल होस आयो, ओहो ! यो त सार्वजनिक रूपमा बोल्न नहुने शब्द पो हो । ‘ज्ञान’लाई गेंआन भन्नुपर्दा कस्तो लाग्ला ? सन्धि गरेर ग्याँन बनाऊँ भने पनि अयादि सन्धि भएर गँयान बन्ने डर छ ।

निबन्धकार माधव काफ्लेले जेठो नातिको अ अक्षरबाट नाम जुराउन भन्दा मैले ‘अक्षर’ नै सुझाएको थिएँ तर उहाँले तानासर्माकै शैलीमा भन्नुभएको थियो, ‘रमेश सर, ‘अक्षर’ लाई त्यसै पनि कसैले अक्षर भन्दैन । सबैले अच्छेर भन्छन् । अब अच्छेरको च् हटेर अछेर र त्यसमा पनि न थपिएर नछेर् हुन बेर लाग्दैन । त्यसैले यो नाम नराखूँ ।’ मलाई पनि लाग्यो विद्यार्थीले ‘कक्षा’लाई कच्छ्या भन्दाभन्दै कच्छा भन्न हुन्छ भने अक्षर नछेर् किन नहोला र ! मैले खामस खाएँ ।

एकजना अभिभावकले एउटा कलेजमा पुगेर सोधेछन्, ‘चेमेस्ट्री विभाग कता छ ?’ सुन्ने मान्छे त जिल्ल ! एकछिनपछि उनले अनुमान लगाएर भनेछन्, ‘केमिस्ट्री भन्नुस् न ।’ आगन्तुक, ‘उसो भए कौधरी सर कता हुनुहुन्छ ?’ अब त सुन्ने मान्छेलाई रिङटा छुटेछ । उनले भनेछन्, ‘ए हजुर, चौधरी सर भन्नुस् न !’ अब पड्किने पालो आगन्तुकको । उनले कराउँदै भनेछन्, ‘म पढाउन्नँ मेरो छोरालाई यस्तो कलेजमा जहाँ मास्टरलाई नै केलाई के भन्ने भन्ने थाहा छैन । एउटै अज लाई कहिले क भनेका छन् कहिले च भनेका छन् । एउटा अक्षरको उच्चारण त एउटा नहुने कलेजमा पढाएर के छोरो बिगार्नु छ र ?’

के हामीले हाम्रो भाषालाई बिगार्ने यत्न त गरेका होइनौँ ?
संस्कृत भाषाको सर्प शब्द प्राकृतमा सप्प भएको कुरालाई कथाकारले तोडमरोड गरेर सर्प र गणिकाबिचको संवाद बनाए । संस्कृतका नाटककारहरूले प्राकृत भाषालाई अनपढ र महिलाको भाषामा खुम्च्याए । भाषा परम्परामा सुरक्षित र वर्तमानमा जीवित हुन्छ तर हामी परम्पराको बिउ मासेर वर्तमानको बिरुवा उमार्ने प्रयत्न पो गर्दै छौँ । भारतामा ‘अंग्रेज गए, औलाद छोड गए ।’ भन्थे तर हामी जानीजानी अङ्ग्रेजी भाषाको गुलामी गर्दै छौँ । दासता हाम्रो रगतमा जो छ ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x