केशव दुवाडीधन त जसरी पनि कमाउनु पर्छ
धनले साम्राज्य चलाएको आजको युगमा मान्छेको इज्जत धनको तराजुमा सुनको ढकले जोखिन्छ । तसर्थ ‘एनिहाउ धन कमाउ’को नीति अवलम्बन गर्नु उपुक्त हुन्छ । धनको अगाडि धर्मको नाम पनि लिनु हुन्न ।

केशव दुवाडी :
धन देखेपछि महादेवबको त तीन आँखा बल्छ भने हामी कलीयुगका सर्वश्रेष्ठ प्राणी महामनुवाको मुखबाट सरर पानी नआउने त कुरै भएन । धन बिनाको मानिस अर्थ बिनाको अस्तित्व जस्तै हुन्छ, आजको जमानामा । त्यसैले त हाम्रा शास्त्रीय छन्दका प्रखर कवि लेखनाथ बाले ‘धनै छ सर्बोत्तम सार जे छ सबै धनैभित्र लुकिरहेछ’ भनेर वास्तविकता ओकलेका छन् । कुरा सोह्रै आना मात्र हौइन पच्चीसै आना ठीक हो । धन भए पछि संसारमा नपाइने वस्तु के छ ? ‘छ धन सबैको हाइ हाइ, छैन धन कोही छैन दाजु भाइ’ हो कि होइन ? धन भएपछि ‘कपुरी क’ नजाने पनि विद्वान बन्न पाइन्छ । ‘राजनीतिको र’ नजाने पनि नेता बन्न पाइन्छ । ‘साहित्यको स’ नजाने पनि साहित्यकार बन्न पाइन्छ । चुनाव नजिते पनि मन्त्री बन्न पाइन्छ ।
इमानी गरीब भन्दा बेइमानी धनी पूज्य हुने आजको सभ्य समाजमा इमान, जमान, नैतिकता र मानवतालाई तिलाञ्जली दिएर पनि धन त कमाउनै पर्छ । धनको कैदमा थुने पछि इज्जत मूला कहाँ उम्केर जान पाउँछ ? ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’, हो कि होइन ल भन्नोस् त ? तसर्थ ‘इज्जतको लागि धन खर्च गर धनको लागि इज्जत खर्च नगर’ भन्ने बोक्रे आदर्शलाई आहुती दिएर खरानी पार्नु पर्दछ । सबै मानवहरूको प्राण भन्दा प्यारो वस्तु धन नै हो भन्ने कुरा यहाँहरूलाई थाहौ होला । ‘काटी खाने छोरो र माया मार्ने धन कसैको पनि हुँदैन’ भनेर हाम्रा पुर्खाहरूले उहिल्यै भनेका थिए । त्यसैले आज म धन कमाउने र जोगाउने अचूक उपाय बताउन गैरहेको छु ।
‘मौका आउँछ पर्खिदैन, बगेको नदी फर्कदैन,’ भन्ने कुरालाई ह्याकुलाभित्र लुकाएर औँला पाएको बेलामा डुँडुलो नै खाइदिनु पर्छ । घ्याम्पो फुटे फुटोस् तर चामल झुसी नै झिक्नु पर्छ । सोझो औँलाले घिऊ आउँदैन भेटाएको बेलामा यौटा मात्र होइन बीस वटै औँला बङ्ग्याउनु पर्छ । ‘मह झिक्नेले हात चाट्छ’ भन्ने उहिलेको कुरा खुइली सक्यो अब त मह झिक्नेले मौरीको घार नै चपाउनु पर्छ । ‘दशको सून्य हातमा लाग्यो एक’ भन्ने सूत्र अब पुरानो भैसकेकोले दशको सुन्ना हातमा लाग्यो नौ भन्नु उपयुक्त हुन्छ । आफ्नो घरमा बत्ती बल्छ भने अर्काको घर डढाइदिए पनि हुन्छ । आफ्नो खल्तीमा पर्छ भने अर्काको खातामा चढाइदिए पनि हुन्छ । कुबेरले त औँलामा थुक लगाएर तोरीको गेडा टिपे भने हामी झिँगाको बोसो किन नकाढ्ने ?
डाडु पन्यु हात परेको बेलामा भाँडामा लागेको माउरी कोर्ने मात्र होइन खडकुलो नै पचाइ दिनु पर्छ । धन आचीमै खसेको किन नहोस् हात लाग्छ भने मुन्टाले टेकेर दौडनु पर्छ । नाकमा आची लागेर के नापिन्छ ? खल्ती टन्न भैहाल्छ । धनले धोइदिए पािछ इज्जत सफा र चम्किलो भैहाल्छ नि । कर्मचारी भए घूस खानोस्, घूस भन्दा अप्ठ्यारो लाग्छ भने कमिसन भनि दिनोस् कमिसन खानु त घूस खानु होइन नि । कंपनी घाटामा गए पनि कर्मचारी नाफामा चल्नु पर्छ । आयोजना टाट पल्टिएर टक्टकिए पनि आयोजक ठाँटिएर हिड्नु पर्छ । माउ दुब्लाएर हल्लन टट्टु भए पनि बाच्छो टन्न मोटाउनु पर्छ । नगद खान असजिलो भए कोसेली सौगातको रुपमा जिन्सी नै खाइ दिए पनि हुन्छ । दाताले दिएपछि भूतले खान्छ त अरुले टाउको दुखाएर के नापिन्छ ? जो रिसाउँछ उसकै मुख अँध्यारो हुन्छ । जसले डाह गर्छ उसकै पेट पोल्छ । आफू सप्रन पाए अरु बिग्रोस् त । आफू चन्द्रमामा बस्न पाए पछि पृथिवी पल्टिए पनि के मतलब, भासिए पनि के मतलब ? ‘बाघले खाए पनि किलो रित्तै, भीरबाट लडे पनि किलो रित्तै’ हो कि होइन ?
अगाडि बढ्नु छ भने पछाडि पछाडि जे सुकै होस् वास्ता गर्नु हुन्न । ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ अर्थात् विद्या नै सर्वश्रेष्ठ धन हो भन्ने हितोपदेशको मर्ममा कसेर एक लात हान्नोस् अनि ‘आयुष्यं, वर्चस्वम् रायस्पोषधीम् सुवणर्म्’ अर्थात् आयु इज्जत र सम्पूर्ण औषधी नै धन हो भन्ने यजुर्वेदको ऋचालाई संझेर काम गर्नोस् । लिन बिर्सनु दिन नबिर्सनु भन्ने भन्ने सिद्धान्तलाई रद्दीको टोकरीमा फालि दिनोस् । व्यवहारमा दिन बिर्सनु लिन नबिर्सनु भन्ने कुरा लागु गर्नोस् । सिद्धान्त त सिद्धान्तकै लागि हुन्छ व्यवहारका लागि कहाँ हुन्छ र ? सोझो बाटोबाट कमाउन नसके बाङ्गोबाटो लाग्नोस्, टेबुलमथिबाट नसके मुनिबाट कमाउनोस्, एक नम्बरले नसके दुईनम्बर तरीका अपनाउनोस् । ‘भाङपेल धतुरो पेल,लेमेरो तीनपाथी तेल’ गरेर भने पनि धन चाहिँ कमाउनोस् ।
अर्काकाको पाए तीनपाथी चुक पनि ख्वात्तै खाइदिनोस् आफ्नो कानो कौडी पनि न डगाउनोस् । फाइदा कमाउने हो भने ‘अलिनो पनि नखाने नूनको ढिका पनि नफोर्ने’ काइदा अपनाउनु पर्छ । ऋण उठाउँदा व्याजको स्याज पनि जोड्नोस् । धन खर्च हुने भोजमा भुलेर पनि नजानोस् धन खर्च नहुने भोजमा गलगिद्ध हुनेगरी खानुहोस् । खर्चै गर्न पर्ने घरि आएमा टुमौटे तालले खर्च गर्नोस् । दिएर आफ्नो र खौरिएर मसिनो नहुने भएकोले दिन पटि लाग्दै नलाग्नोस् । दया, माया, भन्ने कुराको आइनो पनि नगर्नोस् । ‘मुखले राम राम खल्तीमा छुरा’ गरे पनि हुन्छ । ‘कुराले ठीक्क, कामले दिक्क’ गरे पनि केही फरक पदैँन । तर धन चाहिँ कमाउनै पर्छ । धनलाई भुँडीभित्र हाल्न पाइन्छ भने देउ, पित्र इष्ट मित्र सबैलाई त्यागे पनि हुन्छ । धनले साम्राज्य चलाएको आजको युगमा मान्छेको इज्जत धनको तराजुमा सुनको ढकले जोखिन्छ । तसर्थ ‘एनिहाउ धन कमाउ’को नीति अवलम्बन गर्नु उपुक्त हुन्छ । धनको अगाडि धर्मको नाम पनि लिनु हुन्न । आएको धन रहेको धर्म भन्ने कुरालाई बिर्सनु हुन्न ।
धन केही होइन भनेर हिड्ने आदर्शवादीहरूको पेट गाडिएर आन्द्रा चेप्टो भैसक्यो । दुब्लाएर फुकिढल्नु भैसकेको हामी पाउन सक्छौँ । उनीहरूको शरीरमा मासु नै छैन जिब्रोमा भन्दा बाहेक । त्यसैले जसरी पनि धन कमाउने तिर लाग्नु पर्छ ।
०००
धादिङ
नेपाल समाचारपत्र, (२०५२)
Subscribe
Login
0 Comments
Oldest







































