केशव दुवाडीहलो काङ्ग्रेस ! लाल सलाम !!
संविधान फेरियो, व्यवस्था फेरियो, नेता हेरियो, अवस्था जस्ता तस्तै, नेताका गाला मुस्ताङका स्याउ जस्ता हुने जनताको गाला चाउरी परेको च्याउ जस्तो हुने यही होत काङ्ग्रेसको समाजवाद ?

केशव दुवाडी :
यो अल्टरे बाहुन खालि कामरेडहरूको मात्र खेदो खन्छ । काङ्ग्रेसको बारेमा कोर्दै कोर्दैन भनेर खुङ्खार क्रान्तिकारी कामरेडहरू (?)ले भनेको हुनाले आज म यता लागेको । कहिलेकाहीँ काङ्ग्रेसको कुरा पनि किरिमिरी पारौँ भनेर । हुन त नेपालका सबै पार्टी भाइ काङ्ग्रेस नै हुन् क्यार !
अर्को कुरा कामरेडहरूको अगाडिको अक्षर ‘क’लाई धेरैतिरबाट कामरेडहरूकै आचरणले हमला गरेर कपुरी ‘क’लाई दैली ‘द’, अथवा हलो ‘ह’ ले हमला गरेर ‘दामरेड’ र ‘हामरेड’ बनाइ रहेका देखिन्छन् । त्यसैले कोष्टमा प्रश्नवाचक चिन्ह आजभोलि हरेक नेता कार्यकर्ताहरूलाई राख्न पर्ने वाध्यता छ । प्रश्नवाचक राखेको मात्र हो यसलाई ‘गणतन्त्रमाथि हमला’ भनेर विरोधको बाटो नछेक्नु होला । नेताको कुकर्मको विरुद्ध चुइँक्क बोल्यो कि ‘परिवर्तन विरोधी’, ‘प्रतिगामी’, ‘गणतन्त्र माथि हमला’ भनेर नेता कराउँछन् । नेताका चुनावी बैतरणी नदीका सेतु सेना मर्कट छस्तै उफ्रिन्छन् ।
गणतन्त्रमाथि हमला त नेता र कार्यकर्ताहरूले आफन्तको भरणपोषण गरेरै गरिरहेका छन् नि !! यस्तै पारा हो भने पूँजीवाद आफ्नै कारणले धराशायी हुन्छ भन्ने मार्क्सवाद आफैँ गर्ल्यामगुर्लुम गुल्टे जस्तै यो गणतन्त्र पनि गुल्टिन बेर छैन । कुहिएको पञ्चायतले गलाएको नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गाँणमाथिको मङ्गलसूत्र जस्तै भइसकेको कसलाई के थाहा ?
अब कुरो आयो काङ्ग्रेसको । म अलि उटपट्याङ भएको बेलामा एउटा आमसभामा भाषण गर्दा काङ्ग्रेस शब्दको सन्धी विच्छेद गरेको थिएँ ‘काँ’ भनेको नेपाल भाषामा आँखा चिम्लनु, रेस भनेको अङ्ग्रेजी भाषामा दौडनु अब आँखा चिम्लेर दौडिने पार्टी भएपछि खाल्टोमा खस्न के बेर !
काङ्ग्रेसको पारा देख्दा आँखा चिम्लेर नै दौडेको जस्तो लाग्छ नि ! राजाले ‘कु’ गर्दैछन् भनेर न महामानवले थाहा पाए न देउताले थाहा पाए । त्यसैले त राजाको बाउ छोराकै ‘कु’ मा परे । हुँदा खाँदाको प्रधानमन्त्री गुमाए होकि हैन ? नभए इतिहासकारलाई सोध्नोस् । गण्डकी र कोशी सम्झौता र टनकपुर पञ्चेश्वर विकास योजना जस्ता कुरामा काङ्ग्रेस आँखा चिम्लेर नै कुदेको देखियो नि !
हुन त कम्युनिस्टले मार्क्सवादलाई खोपामा राखेर पूँजीवादको पगरी गुते जस्तै काङ्ग्रेसले पनि समाजवादलाई सिरानीमा सुताएर नवउदारवादलाई थै थै पारेर बोकेर हिँडिराछ । जे भन्छ त्यो नगर्ने जे गर्छ त्यो नभन्ने सिद्धान्त नै राजनीति भैराहेको छ हाम्रो नेपालमा।
त्यसो त २०३३ सालतिर राजा र हाम्रो घाँटी जोडिएको छ भन्दै मेलमिलापको नीति लिएको काङ्ग्रेसले राजासँग त सम्बन्ध विच्छेद गरेर गणतन्त्रको गाँठो पारिदियो । तर उसको मेलमिलापको नीति अहिले माओवादीसँग गठबन्धन गरेर कायम राखेको छ । कम्युनिस्टलाई बुईमा बोकेर चुनावी मैदानमा ‘चचहुई’ !! यसकै अनुपम उदाहरण हैन र… ? ढाडमा टेकेर टाउकोमा ट्वाक्क ।
पहिला पहिला काङ्ग्रेस माओवादीको टाउकाको मोल तोक्थ्यो, माओवादी राइफल बोक्थ्यो, काङ्ग्रेसको कार्यकर्तालाई ठोक्थ्यो । कहिले घाँटी रेट्थ्यो कहिले आँन्द्राभुँडी उधिन्थ्यो । तर अहिलेका माओवादीका कार्यकर्ता ‘हलो काङ्ग्रेस लाल सलाम !’ भन्छन् । काङ्ग्रेस कार्यकर्ता ‘हलो कामरेड जय नेपाल !’: भन्छन् । जनता अलमल्ल छन् !
कुरा बुझिसाध्य छैन ! चुनावमा चारपाटी चारतिर हुनुपर्नेमा पाँच पार्टी एक गठबन्धनमा, कुन कुन चिन्हमा कति चोटी भोट हाल्ने जनता कार्यकर्ता बिलखबन्दनमा । आफूले गर्दा पवित्र गठबन्धन, राष्ट्रिय मेलमिलाप, क्षमा र मेलमिलाप, अर्काले गर्दा अपवित्र ठगबन्धन ! यसैको नाम हो राजनीति !
चुनावमा गठबन्धनलाई भोट हाल्दा हाल्दा कार्यकर्ताले आफ्नो पार्टीको चिन्ह र झण्डा नै भुलिसक्यो, नेता कुर्सी मोहमा, लावालस्कर लगाएर सरकारी सम्पत्ति र श्रोत दोहनमा । नेता सरकारी गाडीमा, जनता तातो खाडीमा, साला साली, मामा, भान्जा, काका भतिज सचिवालयमा सुशासन नर्कटझाडीमा !!
संविधान फेरियो, व्यवस्था फेरियो, नेता हेरियो, अवस्था जस्ता तस्तै, नेताका गाला मुस्ताङका स्याउ जस्ता हुने जनताको गाला चाउरी परेको च्याउ जस्तो हुने यही होत काङ्ग्रेसको समाजवाद ? माओवादीको सङ्घीय लोकतान्त्रिक गणतन्त्र ? पहिला पहिला कानमा तेल हालेर कुरा सुन्दैन थे, अहिले कानमा एयरफोन कोचेर कुरा सुन्दैनन् ।
न काङ्ग्रेसी समाजवादको ढुङ्गा टुसायो, न माओवादीको साम्यवादको उनियुँ फुल्यो, जनताको आँगनमा झारपात पलायो, दाँत झरेका बुढा पाकाका निद्रा हरायो । दिउँसै गाउँघरमा स्याल कराउने । बुडाखाडाका छोराछोरी खाडीमा भेडा चराउने ! उल्टै नेताहरू मञ्चमा कराउने । ताइ न तुईको तर्क भाँग न भुटोको भाषण, फस्ट बेन्च र लास्ट बेन्चको फुटानी यस्तो पाराले कसरी मुन्टो उठाउनी ?
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































