सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उसै त बुङ्गो पित्तमा ढुङ्गो !!

तर या मानको ढुङ्गो मेरो पित्तमा कसरी आयो ? भगवान विष्णुले कालीगण्डकीमा शालिग्रामको रुप लिए जस्तै कतै कृष्णकालेले मेरो पित्तमा लिए क्यारे ! आखिर मेरो नाम पनि केशव हो नि केशव पनि त कृष्णकै नाम होनि !

Nepal Telecom ad

केशव दुवाडी :

बुङ्गो भनेको नाङ्गो हो । म पनि नाङ्गो हो । तपाईं पनि नाङ्गो हो । लुगा लगाए पनि न लगाए पनि । आउँदा पनि बुङ्गो जाँदा पनि बुङ्गो । यो नरलोक यात्रीको के छ र टुङ्गो !

जिऊमा खोल राम्रो हाल्नेलाई सबैले राम्रो मान्ने जमानामा मन सङ्लो धमिलोको वास्ता किन हुने ? बरू एकले अर्कालाई बुङ्ग्यायो दिन काट्यो काल पर्खियो ।

त्यसो त म बुङ्गोको पनि के टुङ्गो छ र ? सात बजे सम्म सुत्यो जुरुक्क उठ्यो चिया पसलमा पुग्यो गफ चुट्यो । एउटा कविले “बाउ नपढेर बिग्रिए म पढेर बिग्रिएँ” भन्थे होकि जस्तो लाग्यो । पढ्न त संस्कृत पनि पढेको, अङग्रेजी पनि पढेको मान्छे हेर्दा हलक्कै बढेको तर के गर्नु सालको धूप जस्तो मान्छेको रुप बास्ना नआउने बरू हल्का हरक आउने ।

हुन त म बुङ्गोको पेटमा अहिलेसम्म मदिरा, सोमरस केही पनि परेको छैन । तीन दशकदेखि चुरोटको सर्को छैन दुई दशकदेखि मासु झरेको छैन । तर या मानको ढुङ्गो मेरो पित्तमा कसरी आयो ? भगवान विष्णुले कालीगण्डकीमा शालिग्रामको रुप लिए जस्तै कतै कृष्णकालेले मेरो पित्तमा लिए क्यारे ! आखिर मेरो नाम पनि केशव हो नि केशव पनि त कृष्णकै नाम होनि ! तर कृष्णले यसरी च्वास्स घोच्न त नपर्ने !

अचानक दाहिने हातको पातो मुनि नराम्रोसँग दुख्यो, ढाड र कन्सिरीसम्म रन्का छुट्यो, हैन मलाई किन दुख्यो भनेर सरकारी अस्पताल गाको, टिकटमै लाइन, डाक्टरलाई भेट्न ओपिडिमै लाइन, बेला बेलामा हरक्क नाकमै राग ठोक्किने गरी फोहर गन्हाउने, चर्पीबाट आएको गन्धले नाक फुटाउने, फोहरको डङ्गुरबाट उल्टी गराउने ।

हैन अस्पतालमा सफाइ कर्मचारी छन्, साबुन, सरफ, फिनेल, डिटोल लगायत सफाइका सामानमा छुट्याईको वार्षिक बजेट ३ महिनामै सकिने अस्पताल चाहिँ झन गन्हाउने कुरा बुझिसाध्य छैन भन्या । बल्ल बल्ल पालो आयो, डाक्टर पनि थकाइले चुर भइसक्ने उता क्लिनिकबाट तारन्तार फोन आइ रहने अनि म बुङ्गोलाई कसले हेर्ने ? ल एक्सरे गरेर रिपोर्ट देखाउनु भन्दै डाक्टर क्लिनिकको प्यासेन्ट र आउने फी सम्झँदै कुदे म जुरुक्क उठेँ ।

यसो एक्सरेमा गाको त्यहाँ पनि लाइन । त्यत्रो चाप हुने अस्पतालमा पनि एउटा मात्र एक्सरे कि नाम एकसरे भएर मेसिन एउटा मात्र हो भनेको ल्याउन त चार वटा ल्याको रे आउँदा आउँदै तीन वटा बिग्रियो रे एउटा मात्र चलेको रे ! अलि अलि कमिसनले अलि अलि राजनीतिले कुरा त्यस्तो भएको अरे भन्ने कुरा सुनेँ । अनि एकसरे नगरी कुदेँ । निजी अस्पताल गाको त रिसेप्सनमै मुस्कान, सफा चट्ट परेको आसन ज्वाईंलाई जस्दै मर्यादा र मान । तर के गर्नु एघार सयको भेटी नचढाइ डाक्टरसँग भेट्न नपाइने ।

यसो डाक्टरलाई को रहेछन् भनेर हेरेको त अघि सरकारी अस्पताललकै डाक्टर छरी दारी गरेर चिटिक्क परेर मुसुक्क मुस्कान दिइरहेका । अघि सरकारी अस्पतालमा त यिनको अनुहार झुस्स परेको व्यवहार ठसक्क परेको, हाँस्न बिर्सिएको, बोली ठाडिएको, आँखा गाडिएको, मानवता टाडिएको थियो । पड्केको रुखमा हामफाल्ने जस्तो मान्छे एकाएक कसरी आमूल परिवर्तन भयो भनेको त हजारको हात्तीले पो रहेछ ।

हुन पनि हो नि एक करोड भन्दा बढी खर्च गरेर, बाउको घरखेत सकेर, टुप्पी कसेर बल्ल बल्ल डाक्टर बन्यो सरकारले दिएको तलबले त छाक टार्नै धौ धौ, पढाइ खर्चेको सावाँ त परै जाओस् ब्याज तिर्न पनि धौ धौ पर्ने अनि कसरी अनुहारमा रोसनी भर्ने ?

कक्षामा पहिलो हुने खर्च गरेर डाक्टर बनेर आउँदा कारिन्दा हुने, लास्ट बेन्चमा बसेर जिब्रो पड्काउने मुन्द्रे माइलो ढुङ्गे मुढे आन्दोलन गर्ने नेतागिरी गर्दै मन्त्री बन्ने । डाक्टर बन्ने बाटो लामो मन्त्री बन्ने बाटो छोटो पाउने रकम मोटो । अनि बिचरा डाक्टर नरिसाए को रिसाउने ?

डाक्टरले ढाड छामे, रक्तचाप नापे, कागजमा ख्वास ख्वास नबुझिने अक्षरमा केरे । पैसा तिर्ने ठाउँमा जाउँ भने , कागज देखाएको त बार हजार मागे । किन भनेको त एकसरे, भिडियो एकसरे, डिजिटल एकसरे, सिटी स्क्यान, इसिजी, रगत जाँच, दिसा जाँच, पिसाब जाँच, सुगर जाँच, थाइराइड जाँच इसिजी, इको, टिएमटी के के जाँच जाँच !

तिनै डाक्टर सरकारीमा हुँदा एकसरे मात्र लेख्ने, अहिले किन यत्तिका भनेर सोध्न गाको डाक्टर हिँडिसकेछन् । हात कमाइ कमाई पैसो तिरियो वर्ष दिन भन्दा बढीको कमाई टक्कन टाट बनाएर छाडे । रिपोर्ट आयो डाक्टर साहेब भेट्न गाको पित्तमा या मानको ढुङ्गो छ । कहिले पित्त थैली फोर्छ छैन टुङ्गो भन्छन् । भन न रिङ्गटा छुट्यो, मुटुलाई भट्याक्क पार्‍यो, प्रेसरमाथि सार्‍यो । अप्रेशन गर्न पर्ने भो नाइटो छेड्ने पित्त झिक्ने हे भगवान ! सरकारी अस्पताल जाउँ पालो कुर्दा कुर्दै काल आउला भन्ने डर, प्राइभेटमा जाउँ घर खेत भन्दा बढी भेटी चढाउन पर्ने डर ! नेतालाई पो अठार करोड परे पनि राज्यले दिन्छ जनतालाई कसले दिन्छ उल्टै लिन्छ ।

मर्नु भन्दा बहुलाउनु निको भनेर अप्रेशन गरौँ न त डाक्टर साहेब भनेको मुसुक्क हाँसेर मोबाइल झिके अर्कै अस्पतालमा फोन गरेँ । एक महिना पछि भेट्न भने । यसो विचार गरेँ अर्कै अस्पतालमा जान पर्ने भए अर्कै डाक्टर भेट्छु भनेर घर आएँ । मनमा पित्तो र ढुङ्गो मात्र घुम्छ छटपटीले प्रेसर १५० छुन्छ, रिँगटा लागे पनि पनि, चक्कर लागे पनि, ठक्कर लागे पनि त्यसैले भने झैँ हुन्छ । बर्बन्दी खलबल्लिएला जस्तो।

बिहानै कुकुर नउठ्दै, भाले नबास्दै, जड्याहा नसुत्दै, डिस्को बन्द नहुदै सखारै कुदे काठमाडाैं। देशम संघीयता आयो तर काठमाडौं र नेतालाई मात्र आयो गाउँलाई जनतालाई आएन। उपचार गर्न काठमाडौं , पढ्न काठमाण्डौ, रोजगारी खोज्न काठमाडाै., वैदेशिक रोजगारमा जान काठमाडौं, नेता भेट्न काठमाडौं, समाचार लेख्न काठमाडौं हुँदा हुँदा प्रदेश मन्त्रीहरुको निवास पनि काठमाडाैं। इस संघीयता! नेता व्यवस्थापन गर्न पो संघीयता सेवा अकेन्द्रीकरण गर्न हो र ?

जेहोस् पुगेँ काठमाडौ चहारेँ अस्पताल, तिरेँ पैसा, फालेँ पित्तो, ढुङ्गो र फेरि फर्किएँ मोफसल बनेर बुङ्गो । हस् त जदौ !!

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे