सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कामरेड नसा !!

यो कामरेड भन्ने त झन् कोकिन भन्दा पनि कडा रहेछ नि । छाड्नै नसक्ने । कामरेड लिडरको कुरा काट्नै नसक्ने, नेतृत्व साँट्नै नसक्ने, ठूलो कामरेडसँग बोल्न आँट्नै नसक्ने । उनीहरु ढाँट्न खप्पिस आफू ढाट्नै नसक्ने !!

Nepal Telecom ad

केशव दुवाडी :

कामरेड भन्नु होस् या कमरेड भन्नुस् या छोटकरीमा कण नै भन्नुस् नेपालका बायाँ बायाँ बाटो हिड्नेहरू दङ्गदास भएर दह्रो हात मिलाउँछन् ।

यो कामरेड भन्ने शब्द अन्तर्राष्ट्रिय भए पनि नेपाली खाँटी राष्ट्रवादी कमरेडहरू जोड जोडले भन्छन्- सामन्तवाद, साम्राज्यवाद तथा दलाल नोकरशाही व्यवस्था मुर्दावाद ।

उसो त कामरेड शब्द नेपालमा ७६ वर्षदेखि प्रचलित छ । पञ्चायतकालमा भूमिगत, बहुदल आएपछि खुल्ला र सशस्त्र विद्रोहकालमा फेरि भूमिगत !

कामरेडहरू अन्तर्राष्ट्रिय जातिको कुरा गर्थे, हामी राता मान्छे हामी ताता मान्छे, आगोलाई निल्न सक्ने समुद्रलाई पिउन सक्ने सामन्तलाई गिँड्न सक्ने हामी क्रान्तिमान्छे भन्थे ।

बन्दुक पड्काउने, बम धड्काउने, गाला चड्काउने, घाँटी घटाउने, आन्द्रा टुक्र्याउने, छिपारी छिनाउने, तास कोचाउने, रक्सीको घ्याम्पो फुटाउने, कामरेडहरुको दैनिकी हुन्थ्यो ।

बैक लुट्ने, हाकिम कुट्ने, मास्टर मार्ने पनि गर्थे र भन्थे क्रान्तिको समयमा क्रान्तिकारी विरुद्ध सुराकी गर्ने, सामन्तको दलाललाई हलाल गरिने छ ।

पुराना संस्कारलाई सिनित्त पारिन्छ, जनवादी संस्कृति र संस्कार ल्याइन्छ ।
मान्छेहरु कमरेड भनेपछि थरर ! पुलिस, प्रशासन, आर्मी, नेता, अभिनेता, साहू, आसामी, सबै थचक्क !
जब कामरेड चुनावमा आए, क्रान्तिकारी गीत गाए, नारा लाए, जनताले जिताए, बनवासबाट घरबास आए सहर पसे त्यस पछि कामरेडहरूको कपुरी क हटेर दैली द भयो । त्यस पछि दामरेड, खामरेड, हामरेडको रूपमा विकास भए ।
अन्तर्राष्ट्रिय जाति हुन्छ, एउटै भाषा, एउटै भेष, सबै साम्यवादीको देश भन्ने कामरेडहरू आफै तीन न तेह्रको विचार बोकेर, बाह्र सत्ताईस कुरा बटार्दै आफै अठार टुक्रा भए ।

एउटाले अर्कोलाई संशोधनवादी विसर्जनवादी, उग्रवादी, दक्षिणपन्थी भन्दै बर्बराउँछन ्।
सत्ता र स्वार्थ भत्ता र भाग मिले जुट्छन्, भाग मिल्दैन गाँड कोराकोर गर्छन्, फुट्छन्, विद्रोह भन्छन् फेरि कार्यकर्ताहरुको दिमाग चाट्छन् ।

एनजीओ चलाउने कामरेड, चर्चको पाष्टर पनि कामरेड, मस्जिदको मियाँ पनि कामरेड, क्रसरवाला, ठेक्कावाला, बैदेशिक बिचौलिया पनि कामरेड जताततै कामरेडै कामरेड ।

छिमेकी उत्तरी कमरेडले निजी सम्पति थुपार्ने कामरेड हुन सक्दैन भन्थे तर यहाँ त जति धेरै थुपार्‍यो त्यति खाँटी कामरेड !

क्यानटोनमेन्टको कर खाने, सत्तरी करोडको दर खाने, औषधिको, खोपको, कमिसन खाने, मान्छे बेच्ने, बतास् चलाउने, बालुवाटार बेच्ने, चियाबगान बेच्ने सबै कामरेड !!

हुँदाहुँदा भैँसी पूजा गर्ने, लिङ्ग पूजा गर्ने, रामनामी ओढ्ने, गेरुवस्त्र लाउने, रुद्राक्षको माला लाउने, पशुपति धाउने, जलहरीको जर्ति चाट्ने सबै कामरेड !

ठोरीको राम भन्ने, जनकपुर जाम भन्ने मोदीको नाम जप्ने, पिङ्को पैताला ढोग्ने, सामन्ती रलाई रातीराती ओछ्यानमा भेट्ने सबै कामरेड !

खान्न खान्न लोकाचार, खानलाग्यो माना चार, लोकतान्त्रिक लोकाचार भित्रभित्रै पोको पार, दिउँसो तेल खान्न भन्ने राती उठेर कोल चाट्ने, कम्मल ओढेर घिऊ चोर्ने, बिपक्षीसँग निउँ खोच्ने, घोची घोची बोल्ने, खरानी बेच्नलाई घर पोल्ने सबै कामरेड !!

यत्र तत्र सर्वत्र कामरेड, जलमाफिया कामरेड, स्थल माफिया कामरेड, कामरेड सर्वत्र देशमा !!
पिउन कामरेड, हाकिम कामरेड, ठेकदार कामरेड, मास्टर कामरेड सबै कामरेड ।

माओवादी कामरेड, खाओवादी कामरेड, मार्क्सवादी कामरेड, लेनिनवादी कामरेड, स्टालिनवादी, जनवादी कामरेड, धनवादी कामरेड, गनवादी कामरेड, डनवादी कामरेड, मलवादी कामरेड, सर्पवादी कामरेड, कक्रक्कवादी कामरेड जताततै कामरेडै कामरेड !!

होलीवाइन घिच्ने कामरेड, खोला नाला मिच्ने कामरेड, सर्वहाराको घाँटी थिच्ने कामरेड, अर्बमारा कामरेड, वामपन्थी कामरेड, हामपन्थी कामरेड, शरणार्थी कामरेड, मरणार्थी कामरेड, योग्य कामरेड, अयोग्य कामरेड, लडाकु कामरेड, झगडालु कामरेड ।

छलाङ मार्ने कामरेड, पलङ भाच्ने कामरेड, नाङ्गै नाच्ने कामरेड, कुरा काट्ने कामरेड, मह काढ्ने कामरेड, हात चाट्ने कामरेड, जनता ढाँट्ने कामरेड, भाँषण छाँट्ने कामरेड, टाउको काट्ने कामरेड ।

सूरापानी कामरेड, सुन्दरीगामी कामरेड, फर्गेट यस्टर्डे कामरेड, फर्गेट सिद्धान्त कामरेड, मन्दिर फोर्ने कामरेड, मन्दीर ढोग्ने कामरेड, बाइबल बोक्ने कामरेड, वेद च्यात्ने कामरेड, सर्प पाल्ने कामरेड, राजा फाल्ने कामरेड सबै गर्ने कामरेड ।

यी कामरेडहरुको लीला अपरम्पार छ । यिनीहरूको तुक्का र उखानको बखान गर्न, फूँदाको बूँदा लेख्न, चाला र माला बुझ्न, यिनकै रफ्तारमा कुद्न मैलै ३ दशकमा पनि सकिन । तै पनि अझै मलाई कामरेड नै मन पर्ने !

धर्म भनेको अफीमको नसा जस्तै हो भन्ने हे मार्क्स कामरेड !

यो कामरेड भन्ने त झन् कोकिन भन्दा पनि कडा रहेछ नि । छाड्नै नसक्ने । कामरेड लिडरको कुरा काट्नै नसक्ने, नेतृत्व साँट्नै नसक्ने, ठूलो कामरेडसँग बोल्न आँट्नै नसक्ने ।
उनीहरु ढाँट्न खप्पिस आफू ढाट्नै नसक्ने !!
हस्त लाल सलाम कामरेड !!

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे