सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाम उपनाम

मेरो न्वारनको नाम कोमल राखियो । न म कोमल अथवा मृदुभाषी बन्न सकेँ । झर्रो, टर्रो, खरो, खस्रो, ठाडो, उटपट्याङ कुरा लेख्ने मेरो नाम कोमल ! जुन गोरुको पुच्छर छैन त्यसकै नाम चम्रे ! जुनगोरुको सिङ छैन उसकै नाम तीखे !

Nepal Telecom ad

केशव दुवाडी :

हुन त मानिसहरू नामले हैन कामले चिनिनु पर्छ भन्छन् । तै पनि म आज नाम, उपनामको गफ गर्न गइरहेको छु ।
अरुबाट शुरु गरेर अरुलाई नाम राखेर गाली खानु भन्दा आफ्नै नाम उपनाम राखेर गफ चुट्नु राम्रो ।

हुन त गफ चुट्नु र पानी कुट्नु उस्तै हो । पानी कुटेर केही पनि उपलब्धी हुँदैन । गफ चुटेर पनि देश बन्दैन । तर नेता बन्न सकिन्छ । किनकि मुखको भरमा मुलुक चलाइरहेका छन् गफाडीहरूले ।

आज भन्दा बाउन्न वर्ष अगाडि यो बाउँठो, अडबाङ्गो, कोक्ल्याँटो, कुरा काट्न रुचाउने रुझेको बिरालो जस्तो पिलन्धरेले यो धर्तीमा आमाको गुप्ताङ्गबाट रुँदै झरेको अरे !

कति बजेर कति मिनेट गाथ्यो सुत्केरी व्यधाले व्यथित मेरी आमालाई के थाहा ? भैँसीको भकारो सोर्न लाग्या बेलामा आमाको पेट दुख्या रे ! बलेसीको खाँबोमा बल गरेर कन्दा दैलो उक्लिन नभ्याउँदै पाहा पछारिए झैँ पछारिएको अरे !

म भन्दा त्रिपन्न वर्ष जेठो मेरो बाउ बाँकाटे भोटो र लगौँटी लाएर कतातिर खन्दै थिए कि ! सुत्केरी हुन लागेकी पत्नीको के पत्तो । अत्तो न पत्तो सँधै ऐक छत्तो ।

बाउलाई बोलाएछन् कान्छो बाउले । म नबौरेपछि काइँली आमाले मजेत्रोमा पोको पारेर आफ्नै छातीमा टाँसीछन् ।
दुब्ली, पातली ख्याउटी भएर मुरली नाम पाएकी मेरी आमा सुत्केरी व्यथाले अचेत । न अस्पताल न सुँडेनी न वैद्य न झाँक्री यस्तै थियो त्यो बेला ।

यो जेठी (मेरोबाउ जेठो भाकोले आमाको नाम जेठी भयो) ले खोलापारि घाम तर्दा पाएकी हो यो कान्छोलाई । न्वारन नगर्दै मेरो दाइ पछि जन्मेकोले मेरो नाम कान्छो भै हाल्यो ।

पछि बाउले पात्रो पल्टाएर योग बार, नक्षत्र घडी पला, मुहुर्त, हेरेर नाम जुराएछन् । बाउले अलि अलि ज्योतिष पढेका थिए रे !

नामको अक्षरबाट उठेछ, पुनर्बसु नक्षत्र, मिथुन राशी । मेरो कैलो कपाल र गोरो छाला देखेर बाउले यो कैले कि जोगी हुन्छ कि भोगी हुन्छ भनेर भविष्यवाणी गरेछन् ।

मेरो बाउ पनि नेता जस्तै दुई अर्थी कुरा गर्ने खाले रहेछन् । कि हुन्छ कि हुँदैन, दुईटा मध्ये एउटा त हुन्छ हुन्छ भन्ने । जन्मेको एघार दिन नपुग्दै तीन चार नाम पाइयो । न्वारनको नाम कोमल, बोलाउने नाम केशव उपनाम कैले कान्छो भैसकेछ ।

दमका रोगी मेरा बा म तीन बर्षको हुँदा दुईबीसे सोह्र वर्षको उमेरमै परमधाम पुगेछन् । अब मेरी आमाको नाम बिधुवा, राणी, भएछ । मेरो नाम टुहुरो भयो । कुनै कुनै मुर्दार मुर्दार्नीहरूले त बाउटोकुवासम्म भन्न भ्याए ।

म छ सात वर्ष हुँदा एउटा मगर बाले मलाई देखेर “कैले बाउन, कुइरे खस, जुँगे मगर रस न बस” भनेर उखानै छाने । त्यसपछि हाम्री आमा मलाई बुई बोकेर काठमाडौं गइछन् । एउटाको घरमा भान्छे गर्न थालेपछि उनको नाम भान्छे बाउनी, भान्छे बज्यै भयो । मेरो नाम फुच्चे बाउन, कुइरे बाउन बाउन काठा कति कति !

समय बित्दै जाँदा म वेद विद्याश्रमको गुरुकुलमा पुगेपछि त्यहाँ मेरो थर दुवाडी भएकोले कसैले दवाडी भने कसैले कवाडी भने कसैले धादिङ्गे भने, कसैले पहाडे भने, कसैले पाखे ।

नेवारहरूले ख्याँचा; पर्बट्या बर्मु, कसै कसैले त टुइचा पनि भने । वेद पाठ गर्न सिकेपछि कसैले बटुक भने कसैले गुरु भने, कसैले टपरे बाउन भने । कसैले काट्टे बाउन भन्न पनि बाँकी राखेनन् । टुप्पी पालेको देखेर टुप्पी बाउन भने ।
“थ्री पितानबाट वान पितान घटाउँदा कति बाँकी हुन्छ ?” भनेर सोधे । म त टाठो बाउन “थ्रीबाट वान घटाउँदा टू हुन्छ भनेर “टुपितान” जवाफ दिएको त एउटा बज्याले जरै उखेलिने गरेर टुप्पी तान्यो । छुलुक्कै भयो ।

अलि ठूलो भएर पूजापाती गर्न थालेपछि कसैले बाजे भन्न थाले । हैन बाहुनले कसको के खाइदिएको रैछ र यस्तो हेपिन परेको भनेर दिक्क लाग्थ्यो तर हेप्नेहरूको बाउलाई तार्ने, चामल पोको पार्ने, तिनीहरूको न्वारनदेखि बिहेसम्म क्रियादेखि सरातसम्म गरेर धान चामल र पैसा लिन पाउने भएकोले चुपचाप सहेरै हिँडेको । नत्र जानेको थिएँ ।

अब संस्कृत पढेर भएन अङ्ग्रेजी पनि पढ्छु भनेर गाउँको स्कूलमा भर्ना भाको । हाफछुट्टीमा क्यारमबोर्ड खेलेको सबै गट्टी छिराएर । ल जादु हेर्नोस् भनेर “पुटुर पुटुर” भनेको त भोलिपल्टदेखि नामै पुटुर पुटुर !

जाडो महिना, बाउ सानैमा मरे । आमाको कमाइ नाइँ । कपडा नभएर एउटा पुरानो खास्टो ओढेर हिँडेको त्यो पनि धूलो मैलोले काती दले जस्तो कालै भएछ । धोएर लाउँ भन्दा जाडो भै हाल्छ । हुँदाहुँदा नामै खास्टे, अझै कामी खास्टो भन्न थाले । बाउनबाट एकै चोटी कामी ? ल ठीक छ सबै समान भनेर चूप लागेको ।

बिहे गर्ने बेला भैसक्यो । आफूसँग त्यही खास्टो भन्दा केही छैन । एउटा छोरीको बाउले संस्कृत पढेको बाहुनले टपरी टक्टक्यार पनि स्वास्नी पाल्न सक्छ भनेर छोरी दिन आएका, पल्लाघरकी भाउजूले “काम छैन पाटे अल्छी छन्, “कामीखास्टो ओढेर वल्लो घर पल्लोघर गरेर हिँड्छन्, राँडीले पालेको छोरा भारामाथि खुट्टा” भनेर भड्काइ दिछन् । धन्य होस् !!

जसोतसो एसएलसी पास गरेर काठमाडौं फेरि गइयो । काम नपाएर पत्रिका बेच्न थालेको हक्कर भन्छन्, कोही जनवादी हक्कर भन्छन् कोही खबरी भन्छन्, कोही पत्रकार भन्छन् ।

कलेजको स्वागत कार्यक्रममा काठमाडौंमा बस्न दिक्क लागेर “बाइ बाइ काठमाडौ”ं कविता भनेको नाम नै बाइबाइ काठमाडौं ।

सबैले साथीहरू के छ “बाइ बाइ काठमाडौं” भन्न थाले । गाउँतिर बाउलाई चिन्नेहरूले ऋृषुपाध्याको छोरो भने, मावलीतिर जाँदा कसैले मुरली दिदीको छोरो भने कसैले सानी बैनीको छोरो भने ।

बिहे गरियो ससुराली जाँदा निर्मलीको पोइ भने, कसैले ज्वाईं नारन भने, पत्रकारिता गरेँ पत्रकार भने, लेकतिर जागिर खान जाँदा हाकिम साब पनि भन्थे कसैले त ।

एनजीओ/आएनजिओमा काम गरेँ डलरे भन्न थाले । अहिले पसल गर्न थालेको कसैले पूजाबाजे भन्छन्, कसैले पूजासाहू भन्छन्, कसैले पूजाबा भन्छन् ।

भगवान विष्णुको सहस्रनाम भन्थे, गोपाल सहस्रनाम भन्थे । म गोबर गुइँठे टाइपको बातबहादुरको त हजार नाम हुन आँटी सक्यो !त्यसैले काम गरीकन नाम कमाउने नाम चलेको भरमा दाम कमाउने, ठाम बनाउने कुर्ची पाउन बुर्कुसी मार्ने !!

मेरो न्वारनको नाम कोमल राखियो । न म कोमल अथवा मृदुभाषी बन्न सकेँ । झर्रो, टर्रो, खरो, खस्रो, ठाडो, उटपट्याङ कुरा लेख्ने मेरो नाम कोमल ! जुन गोरुको पुच्छर छैन त्यसकै नाम चम्रे ! जुनगोरुको सिङ छैन उसकै नाम तीखे !

मेरो कानुनी नाम केशव, केशवको अर्थ “यस्य केश स केसव” अर्थात् जसको कपाल छ लामो कपाल छ, घुमरिएको कपाल छ त्यसलाई केशव भनिन्छ । तर मेरो त तालु उहिल्यै खुइलियो । टुप्पी राख्ने ठाउँ पनि छैन । टुप्पी भन्दा उँभो रौँ हुँदैन, दश भन्दा माथि नौ हुँदैन भन्छन् ।

मेरो त कपालै छैन । लाम्खुट्टेको एरपोर्ट जस्तो भाछ मेरो खुइलिएको तालु । त्यसैले आज भोलि मलाई, तालुखुइले बाउन्, टाक्लु बाजे ? भन्न थालेका छन् । थाहा छैन अझै कति नाम जोडिने हो !!
राधे राधे !!

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे