वाक्पति
केही समयदेखि दिक्क भएका उनलाई अब हाइसन्च भएको थियो । कसैले आफ्नो मुख खोल्नु पूर्व सामुन्ने रहेको सूचना पाटीतिर इसारा गर्थे ।
मनीषकुमार शर्मा ‘समित’ :
-‘कठै ! ती लालाबालाको बिजोग हुने भयो ।’
-‘बरा ! अझै कति सास्ती बेहोर्नुपर्ने हो ?’
-‘कमाईको मूलनै सुक्यो कसरी गरिखालान् त परिवारले ।’
दिनहुँ यस्ता कारूणिक सहानुभूतिहरूले आजित थिए उनी ।
उच्च रक्तचापको कारण पक्षघात भइ देब्रे हर नचल्ने र वाक् शक्ति क्षीण भएको थियो । निख्लो संवेदित शब्दहरू बोकेर पीडाको व्यापार गर्न आउने वाक्पतिकोहरूको लर्को धेरै हुन थाल्यो । प्रत्येकलाई उनको आँखाले अस्वीकृति र आवेग छल्काउँथ्यो ।
केही समयदेखि दिक्क भएका उनलाई अब हाइसन्च भएको थियो । कसैले आफ्नो मुख खोल्नु पूर्व सामुन्ने रहेको सूचना पाटीतिर इसारा गर्थे ।
सूचना थियो – ‘कृपया बिचरोको संज्ञा नदिनु होला, मेरो आत्मबल अझै मरेको छैन ।’
०००
मध्यपुर ठिमी, भक्तपुर
२०८०/०८/१०