विष्णु नवीनठाँडा पैसा
पनातिको पालामा त जमिन खाली नहोला सबै मान्छेले ढाकेर । त्यतिवेला हाम्रोमा पनि घरमाथि घर होला । हाम्रा खनातिहरू होटलमा नै बस्लान् घर बनाउने झन्झटले वा जग्गा नपाएर । घर सोधे होटल देखायो, तीं बस्यो छोराछोरी पायो ।

यो जुग पनि कस्तो आयो आयो । जता जाउँ पैसा कमाऊ । पैसा भए सबै चीज पुग्यो । हुन पनि पैसा भए जम्मै चीज पाइन्छ तर भगवान पनि न्याय गर्न जान्ने जन्तु होइनन् । जो दानशील छ उसलाई कौडी नभएको बनाएर मरे, जो लोभी छ, उसलाई पैसै पैसा । ‘पैसाले पैसा तान्छ“ भनेको साँचो हो । जति पैसा कमायो उति कमाउन मन लाग्ने स्वास्नी फेर्नेले रातदिन स्वास्नी फेरे झैं ।
शुरुमा मास्टरी जागीर खानु, तरुनी लट्पटाउनु र आदर-सत्कार पाउँदा पाउँदा शरीरले थाम्न मुस्किल पथ्र्यो सर्वेसर्वा मास्टर नै, गाउँमा चिया कमानमा तरुनीहरूलाई नेपाले सिपाहीहरूले टिपेर हिंडे झैँ । भनाइको अर्थ कमानमा नेपाले सिपाही भनेपछि हुरुक्क हुन्थे तरुनीहरू मानौँ सुनकै ठोसा छ जस्तो गरेर कम्ती हिँडेनन् पोइल कमाने केटीहरू ! हिजो आज सम्झँदा पनि आङ जिरिङ्ग गर्छ । यस्तै गर्नुमा मास्टरको चाँदी कटाइ । यसो गाउँ डुल्न गयो, राडीको थाकमाथि बसेर भएको मीठा-मीठा चिजबिज खान्थे । अब त अनिकालले हरायो मास्टर नै धामी, डाक्टर, विचारी जे भन्यो त्यही बन्नु पथ्र्यो । पछि नेपाले सिपाहीले कमाने केटी रुख्याए झैँ आइमाई टिप्दै मास्टर भाग्न थाले इज्जत पनि कम हुँदै गयो, तलब पनि थोर हुँदै गई बल्ल बराबरी हुँदै आएका छन् । मान्छे पनि बाठा भए । सकभर बिहे भएको छोराछोरी भएका मास्टरको खोजी गर्ने प्रथा पनि चल्यो ।
एकपल्ट त पाँचथर मलाया भएछ कि जस्तो पनि लाग्यो जो देख्यो उही पाँचथरमा मास्टरी काम गर्न गएको छ । खाएर तलब पनि प्रशस्तै । घरबारी पनि जोड़े कतिले । एकपल्ट सानो टापु वेलायत बेलुन जस्तै फुलेर संसारभरि फैलियो भरै घामले सुकेको चिप्लेकिरा झैँ सुक्दै-सुक्दै उही टापुमा पुगे जसरी पाँचथरबाट मास्टर फिर्ता हुँदैछन् । अब त उतै पनि मास्टरहरू जन्मे अझै कति फर्कने हुन् के के नै छ जस्तो गरी नेपाले सिपाहीसँग पोइल गई इलाम फर्की वल्लो घाट न पल्लो तीर भएका कमाने केटीहरू !
जे होस् मास्टरहरू भनेको सिपालु हुन् । अब केटी पाउन छोडे पनि, कम्ती तलब पाउन थालेका भए पनि स्कूलको छात्रावास बनाउँदा वर्दा ठेक्का आफै लिन थालेका छन् । जताबाट भए पनि पैसा कमाउनु त हो नि ! तलब कम्ती दिएर, मान कम्ती पाएर के हुन्छ र ? ठेक्का पट्टामा चाँदी कटाई भयो भने दुई दिनमा नै मालामाल !
हुन पनि हिजोआज ठूलो मान आदर सत्कार पाएर के गर्नु छ र ! आज मन्त्री भोलि ढाक्रे । पैसा कमाएको छैन भने मन्त्रीबाट खुस्केको भोलिपल्टदेखि ठेक्का पट्टा वा कुनै पैसा कमाउने बाटोतिर लाग्नुपर्छ । पापी पेट पाल्नै पर्यो । मन्त्री हुञ्जेल पो रटेको आदर्शको कुरा आउँछ । मन्त्रीबाट फुत्केपछि सिक्किम र भारतको बाटो कतातिर हो भन्दै जो पनि धान चामल ब्ल्याक गर्नतिर पो लाग्नुपर्छ । मन्त्रीले मात्र होइन जो सुकैले पनि एउटा न एउटा बाटो लाग्नैपर्छ । गार्ड नभए पनि लप्टन साहाब, मन्त्री साहब भनी हाल्छन् । नोट कमिइ हाल्छ । तारिख गुज्रेको मिसिल जस्तै भए पनि, डेट एक्सपायर इन्जेक्सन जस्तो मात्र भए पनि नोट भए दायाँ बायाँ जति मान्छे पाइन्छ । त्यसो त जनताको प्रतिनिधि भन्दै लेवीको चामल खुलुखुलु कुकुरले सानो नानीको आची खाए झैँ खाने पनि बाँचेकै छन् । यो पनि पैसाको मोहले नै हो ।
अनिकालमा आफूलाई कम्ती फिटिफिटि परेन लालाबाला पाल्न । भारतको रासिन कार्डजस्तै कार्ड त पाइयो तर अनिकालभरि केवल दुईपल्ट मात्र । चामल मूसाका लेँड र ढुङ्गासँगै छोरा छोरीको पक्कापक्की उमेर यति उति, जहान जम्मा यति भनेर गन्ती गरे तर पुरेत अनिकालमा फारो गरेर पन्साए के फलना चीज दिइस वा‘ र्डिस भन्दिए, बाँडे भने जस्तो मात्र भयो । धन्न विहार र उडिसाको जस्तै अनिकाल परेन नत्र के के हुने थियो ।
मलाई त चोरको कथा पो सम्झना आयो । बाबुले चार छोरालाई पाले राखेर भनेछ- कोही आए खोक्नु है । बाबू बारीमा पसेर चोर्न लाग्यो । छोराले खोक्यो । बाबु बारीबाट कुद्दै आएर भन्यो- को आएछ ? कोही नआए पनि ईश्वरले हेर्दैछन्- छोराको जवाफ थियो ।
यस्तै लेवी खाने नेताहरूको पाप भने सरकारले देखेर नै पूर्जी काटेको दुई-दुईपल्ट भयो । जनताले पनि खान पाएनन् रे, उनीहरूले खाए रे, पैसा त तिर्नुपर्छ नि सरकारको ! अझै पो चुप रहेछन् नतिरेको भए जनप्रतिनिधि भन्दै अहिले त चुप रहला सरकार तर प्रतिनिधिवाद खुस्केको दिन गोर्खेलौरी लाएको यी आँखाले हेर्न नपरोस् । ईश्वर सम्झदै गर्छ म जे भए पनि साथी भाइ (यो साफी गर्दै गर्दा केही त असुल पनि भो रे सरकारको रकम) हुन् ।
खान, पनि थोरै-थोरै खाएका भए पो ! चोर बाबुको मन छोराको मन सप्रे झै लेवी खानेहरूलाई गोर्खेलौरी लाएपछि नै सप्रला तर यति भने मलाई पक्का विश्वास छ हाम्रो सरकारले नाति पनातिको पालासम्म छोड्दैन । असुल त गर्छ नै । त्यही पनि पैसाको मामला तर बाबुले खाएर छोरा नातिलाई किन दुःख दिनु, अहिले नै घटाउन राम्रो छ । सरकारले हामी पनि अनिकालभरि भोकै बसेको सन्तोष मान्थ्यौँ सरकारले आफ्नो दिनेमा वर्ष दुई वर्ष झुलाए पनि लिन त छिटै लिन्छ ।
हाम्रो त अञ्चलभरि नै छरिएर रहेछन् लेवी खानेहरू पाहा छरिए झैँँ । कति ठाउँमा भोका जनतालाई बाँडे पनि होलान् । तर हाम्रोमा के कसो भो को नि… । आफूले दुईपल्ट भन्दा बढी साल भरमा भेटेको भए जुनसुकै देउताको थानमा पनि छिर्न सक्छु । दुईपल्ट भन्दा प्रलय होइन माथि भने झैँ मन्साए सरह ।
यसो विचार गर्दा मान्छे खान त होइन पैसा थुपार्न बसेको हो कि जस्तो लाग्छ । पैसा हुनेले पैसा खाएर पैसा नै हग्लान् तर आफूलाई आफै हगेर आफै खाने बेला परिसकेको छ । जे भए पनि हाल्नै पर्यो पेटमा । पैसा नभए त सबै मान्छे भन्थे होला के गर्न चाहियो पैसा ? तर म पैसाबिना पनि बाँचेको छु । भारतीय मुद्राको अवमूल्यनले (नेपाली) मुद्राका अवमूल्यन पनि साफी गर्न भन्दा अगाडि भएको) कतिको टाउको उठ्न सकेको छैन, मुर्दा भने भएका छैनन् । भूमि सुधारको मार खाएर कति होशको कुरै गर्दैनन् । थुप्रो जमीन थुपारेर मोज गर्दा हामीलाई सम्झेका भए पो ‘कठैवरा’ भन्नु । सरकारले जे गर्यो ठीकै गर्यो । अब बरु भएका मील, कारखाना पनि सरकारले लिए स्वाद पाउँथे बेहोसका कुरा गर्नेहरूलाई एउटा पागल खाना प्रत्येक जिल्लामा खोल्ने बेला भइसकेको छ । साह्रै बेहोशीहरूलाई ‘अञ्चल पागलखाना’ मा सरुवा गरिदिनु पर्छ । बरु पागलखानामा पग्ला मान्छेहरू थोरै हुन्छन् भने एकवर्ष पैसा बन्द गराए सबै पागल हुन्छन् । आफूलाई भने मोज छ पैसा छैन । अवमूल्यन पनि लागेन, लेवी पनि पाइएन पैसा छैन भनेर । जमीन छैन, भूमिसुधारको चोट पनि लागेन । एक सोख, एक मोज, रांडी रुवाइ गर्नै परेन ।
हिजो आज भूमिसुधारमा जागीर खानेको लामै ताँत छ । (अब थियो भन्नु पर्यो क्यार यो छानिँदा वर्दा) काम त विहान उठ्ने साथ सुत्ने बेलासम्म रहिछ, पैसा भने मलायाको देशीलाई मात गर्ने भएकाले सबै उतैतिर ढल्कन्छन् । पैसै रहेछ सबैभन्दा ठूलो चीज ।
हामीलाई उहिले पैसा चिन्न सकस परेको भएपनि आजकलका केटाकेटी पैसा चिन्छन् । तब त कलियुग पहेँलो होस् वा जुनसुकै रङ्गको एक पैसे र दुईपैसे मरिगए लिंदैनन् । सकभर त सुकी, नभए पचास पैसै । जन्मनेसाथ आमाको दूध नचिने पनि पैसा चिन्छन् । गर्भमा नै अभिमन्यूले चक्रव्यूहमा पस्न जाने झैँ नानीको आमाहरूले गर्भमा नानीलाई पैसा चिन्हाउँछन् कि क्या हो ?
पैसाको अर्को नाम ठाँडा पनि हो, टिला पनि हो । पैसाले पुगेन, भनेको बेलामा पाइएन भने श्रीमान् श्रीमतीहरू कराउँछन् यो टिलो कति गर्दा पनि पुग्दैन । उहिलेका मान्छे काँचा रुपियाँ, पैसा, सुन. चाँदी भुइँमा गाड्थे अर्काले खान्छ भनेर । त्यसैले त हिजो आज पनि गाडधन पाउँछन् । हाम्रा छोराछोरीले भने गाडधन खोज्ने काम नगरे पनि हुन्छ । काँचा होस् कि पाकेका रुपियाँ पाइने छैनन् आजकलका मानिसले । अब त पैसामाथि पैसाको चाङ राख्छन् र मर्छन् ।
पैसा हुनेहरू लोभले गर्दा, नहुनेहरूले महंगीले गर्दा छातीमा एक मानाको सट्टा चार गेडा चामल, तामाको पैसा हराएर अलमुनियमको एक पैसे मर्दा राख्छन् । जङ्गल सकिदै गएकोले आधाउधी डढाएर फ्याल्छन् । यो पनि जसले मलामी किन्न सक्छ, बाटामा खाजा दिन सक्छ, तेह्रदिने नाम भए पनि बाह्रदिने किराया खान दिन सक्छ । अरूलाई त गिद्ध स्यालकै लागि फ्यालिन्छ । कतै कुनै मुद्दामा किरिया खाँदा तामाको पैसा नपाएर पानीमा पनि नडुब्ने आलमुनियमको पैसा नै टोक्छन् । कागजको नोट चलिरहेछ भने प्लाष्टिक झारपातको पनि पैसा बन्ला पैसाको मोह यस्तो छ । यता, अर्कोतिर मान्छेको सृष्टि झिँगाले औँसा माछा र भ्यागुताले फुल पारे जतिकै छ ।
मान्छे कसो गर्लान् अलिक पछि गएर पैसाको मात्र ध्याउन्ना छ, देश बनाऊँ, विकास गरौं भन्ने छैन । छ भने भाषणमा मात्र । एक छिमल दोश्रो महायुद्धभन्दा अघि र त्यसको केही वर्षपछि जन्मेका मान्छे मरेपछि भने पैसा फुक्ने केटाहरू निकै होलान् । आफ्नै मोज मज्जाको निमित्त । पनातिको पालामा त जमिन खाली नहोला सबै मान्छेले ढाकेर । त्यतिवेला हाम्रोमा पनि घरमाथि घर होला । हाम्रा खनातिहरू होटलमा नै बस्लान् घर बनाउने झन्झटले वा जग्गा नपाएर । घर सोधे होटल देखायो, तीं बस्यो छोराछोरी पायो ।
मान्छे काटिन्छ पैसामा । चोर डाका लाग्छ पैसामा मान्छेको नमस्ते छ, शान छ पैसामा । धेरै स्वास्नी बटुल्छन् पैसाको नै तेजले । पैसा भए अर्काको स्वास्नी ल्याएर जारी भनी गाई-गोरुको दाम तिरे झैं तिर्ने काम पनि भएकै छ । मान्छेले दिनभरि काम गर्छ, कति दुःख गर्छ पैसाको लागि । यति पैसाले यति दिन खान पुग्छ भन्दैनन् । पाँच भए दशतिर लम्कन्छन् । अनि किन नगरून् त मास्टर ठेक्काको काम, मन्त्री र सचिव आदि जागिरमा पुगी खुस्केर ठेक्का पट्टा, मिल, गाडी चलाउने काम, नेताहरूले लेवीको चामल सोहर्ने काम ? बरु फ्रान्सेली प्रसिद्ध लेखक भोल्टेयरको ‘केण्डिजे’ उपन्यासको एक ठाउँमा भने जस्तो सबै स्वर्ग- नगरी भए टण्टै खलास’ हुन्थ्यो । संसार सृष्टि गर्दा ईश्वरले छ््याङ खाई मातेको सुरमा गरे कि क्या हो ? स्वर्ग नगरी भएको भए यति आउने थिएन, मेरो टाउको दुःखाइ हुने थिएन, आनन्द हुन्थ्यो ।
०००
‘आँखा’, शान्तिनगर (झापा) तेश्रो किरण- २०२५
Subscribe
Login
0 Comments
Oldest







































