विष्णु नवीनमान्छे भए यस्ता
सर्वहारा, बेसहाराहरू रन्कन्छन् अनि दमन गर्ने टाउकेहरूले लाठी चलाउन लाउँछन् गोली हान्न लाउँछन् राम्रो कुरा बोल्दा पनि । देश टाठा बाठाकै भयो । देश खोक्रो पारे टाउकेहरूले । टाउको फोर्ने दिन कहिले आउने हो कुन्नि !

विष्णु नवीन :
सबैले भन्छन्- मान्छे अब निकै बाठा भए। संघ लाटा भएर बस्न पनि कोही चाहदैनन् । बाठा होऊन् भनेर नै बाबु आमाले पसिना चुहाएका हुन् । अनि बाठा भए त के भए ? तर बाठा पनि यस्ता भए कि एकले अर्कालाई लडाउनु बितिसकेका गल्ती झिकी झिकी छिर्के लाउने काम शिवाय मान्छेबाट अरू काम भएको छैन ।
हामी डुलौं गाउँ घरतिर । प्रत्येकका आ-आफ्ना समस्या छन् । दौडाह, ठूला बडाहाकिम नेताको टपरटुइयाँ भ्रमण आउँदा आइमाईको गुन्यु जतिकै लामो निवेदन दिन्छन् तर हात्ती आयो हात्ती आयो फुस्स भने जस्तै ठूला बडाले भाषण गरे, लाटा सुदा गाउँलेले घुँडासम्म हात राखेर सुने थपडी लगाए । भाषणले थाकेर सुन्तला, कागतीको सर्वत खाए, नभए एकराते दही मोही उड़ाए, राती बसे कुखुराको भाले उडाए, टन्न माते, आकाश पाताल जोडेर गाउँलेलाई छक्याए अनि आफ्नो बाटो लागे यी ठूला बड़ा भनाउँदा हाकिम नेता, मन्त्रीहरू । गाउँले हेरेका हेरेकै लाटाले पापा हेरे झैँ ।
मान्छेमा विद्रोह पसिसकेको छ । आफ्नो असन्तुष्टिपनाले आइमाईको पेटमा नानी पसे । निसासिइसकेका छन- आफ्ना कामहरू नभएर केवल आश्वासन मात्र पाएर । त्यसैले एक दुईजना मान्छे बोल्छन् टयाउँ-टयाउँ अनि लाटाहरू भन्छन् मान्छे बाठा भए, वास्तवमा छन् लाटा नै जस्तो पहिले थिए छन् उस्तै नै ।
कसैलाई पीर, कसैलाई धन र मानको तेज भएर ट्याउँ ट्याउँ बोलेको मान्छे देखेर नै बाठा भनेका हुन् भने मेरो भन्नु केही छैन नत्र धेरै बोल्ने मान्छेले लाटा-बाठा दुबैलाई बोरामा सुताउँछन् भने जस्तै यी वर्षाका भ्यागुता भै ट्याउँ-ट्याउँ गर्ने बिना काम कुरामा गाडीमा बढी घुमेर भाषण गर्ने हाकिम, नेता, मन्त्री आदिले पनि थाङ्नामा होस् कि बोरामा सुताएकै छन्- हुन्छ, तिम्रो काम भरै गरिदिउँला, भोलि गरिदिउँला भनेर । काम हुन्छ कि भनी धाउँदा धाउँदा आम्दानीभन्दा बढी खर्च भइसक्छ, खेतीको काम उम्कन्छ तर काम हुँदैन । भाषणमा जति नै ढिलासुस्ती गर्न हुन्न भने पनि काममा भइनै रहन्छ । भाषण जत्तिकै काम पनि भइदिएको भए न त हाम्रो गति यो हुन्थ्यो न त देशको नै ।
मुलुकी ऐन, भूमिसुधार, गाउँफर्क आदि यस्तै कार्यक्रम आउँदा सबै माईक नै फोरुँला झैँ गरी कुर्लन्छन् यहाँ हुन्छ, त्यहाँ हुन्छ भनी तर दुईचार महिना भाषण गरिसकेपछि शून्यमा शून्य हात लाग्यो केही छैन भने झंै सबै ठ्याक्क बस्छन् । नपत्याए गाउँमा हेरौँ शहरमा आँखा तन्काऔं नोकर बसेको मान्छे मोहियानी खोज्छ, बन्धकी लिएको जमीनको आयस्ता सबै खाएर पनि पछि सबै थैली साहुले खोज्छ, गुहु फ्यालेको फोहर हात नै लिएर होटलको टेवलको चिया अँठ्याउन खोज्छन् मान्छे । माइकमा मादक पदार्थ जाँड, रक्सी, गाँजा, भाङ, अफिम, पान, सिग्रेट आदि छोडेर रात परेपछि त्यही व्यक्ति भित्र-भित्रै कुखुराको चोक्टासँग डढुवा खाएर आदर्श छाँट्छ अनि अर्को पनि तातिन्छ र भन्छ- त्यसले माइकमा फुकी-फुकी खान्छ भने मैले पनि खान हुन्छ अनि मान्छे नचिन्ने गरी खान्छ, त्यसैले नालीमा घोप्टो पनि पर्छ । स्वदेशी वस्तुको प्रयोगमा चियाको सट्टा कफी खाइन्छ, खाँडीको बदलामा जापानी, भारतेली, चिनियाँ, कोरियाली टेरेलिन, ग्याबोडिन पप्लीन, टुइङ्कल लगाइन्छ अनि किन भएनन् त मान्छे बाठा ? जति नै ढिलासुस्ती भइरहन्छ । मालको दाम झुण्ड्याउने परम्परा दोकानमा हराए भैmं कार्यालयमा सिकायत पुस्तिका राख्ने परम्परा हरायो अनि मान्छे भए बाठा !
आगो लागेको छ महिनापछि निभाउनु भन्ने आदेश कुनै शहर हो कि बजारले पाए झैँ बाढी र पहिरो सकिएपछि वा वर्षा सकिएपछि प्रधानमन्त्रीको ‘बाढ पीडित सहायता कोष’ बनिन्छ । कोष- कोषमा नै रहिरहन्छ तर बाँडिने भने होइन । आफ्ना मान्छे भोकभोकै छन्, अर्कालाई चामल बाँडेर बाहिर निकासी गर्ने आदेश दिएर ‘आदर्श’ हुने फोस्रो धारणा राखिन्छ । बेसी बोलेर काम होइन दाम पट्टि लाग्छन् । भित्रभित्र पैसा पाउञ्जेल व्यवस्थापनका उच्च प्रशंसाका कुराहरू गरे, पाउन छोडेको भोलिपल्ट व्यवस्थापन यहाँ भएन, त्यहाँ भएन भनी तिनै मान्छे कुर्लन्छन् । हुन पनि व्यवस्थाका ‘कर्मठ कार्यकर्ताहरू’ ले विल्डिङ बनाए, गाडी किने, आफू र आफन्तहरूलाई खेतबारी जोडे अरू जस्ताको तस्तै अनि मान्छे भए रे बाठा । अनि को चाहि भए त लाटा ? चोखो मनले मरीमरी काम गर्ने भए लाटा । कुरो ठीक हो ।
पुल बनाउने रकमले गाडी कुदाइन्छ । गरीब विद्यार्थीलाई बाँड्ने रकम स्कुल नपढ्ने केटाको ल्याप्चे गराएर हेड मास्टरले खान्छन् । क्याम्पसका गरीब छात्र-छात्रालाई बाँड्ने रकमले सरस्वती पूजाको सरस्वतीको मूर्ति सेलाउने निहुले वनभात खाइन्छ । अर्काले गरेको काममा मैले गरेको भनी घोडाको जत्रै नाक पारेर फुलाउँछन् । कोही कोही जन्तु पत्रपत्रिकामा प्रचार पनि गरिटोपल्छन् । काम बिग्रिएमा तिनै नकच्चरा-नकच्चरीहरू मान्छे कुटाउन लगाएर मैले होइन भनी नाक घोक्रयाएर थाप्लो जोगाउँछन् । एकथरी मन्त्रालयको आदेश पाई कैदी छोडेर मैले छोडेको भनी घिरौला जत्रै नाक फुलाई पत्रिकातिर छपाउँछन् भने अर्को थरीका फटाहाहरू कुनै कर्मचारी सरुवा हुँदा खारेजीमा पर्दा मलाई त्यस गधाको बच्चाले यसो यसो गर्यो र मैले सरुवा वा खारेज गराएको भनी हल्ला गर्दै हिँड्छन् । भएकै कुरा एउटा मान्छेको छाउराको बारेमा खबर छापिदा एउटी मान्छेकै छाउरी चाहिँ स्याँ स्याँ र फूँ पूmँ गर्दै प्रेसमा गएर कुर्लिन्छे यो समाचार इलामबाट कसले पठाएको हो ? – सम्पादकले फलानोले भनी जवाफ दिएछन् । छाउरी गर्जिन्छे ‘ए … त्यस सालेले… पखोस् त्यसलाई मैले जानेकी छु’ फुइँ भने निकै गर्छे । इज्जत, बेइज्जत सहन नसक्ने चोथाले किन नेता भन्नेकी स्वास्नी हुनु ? बरु पशुको हुनु नि ! मान्छे भएछन् क्यार यस्तै बाठा !
छ महिना यहाँ बस्ने मान्छेले जन्मसिद्ध नागरिकता पाउँछ ट्याङ्ग्रोको भरमा । बीसौं वर्ष बसिसकेको मानिसको नागरिकता खोसिन्छ । प्रवासी नेपालीलाई यहाँ आएर बसेपछि नागरिकता दिए हुने हो । जे भए पनि ती नेपाली हुन् तर विचराहरूले पाउँदैनन् । यहाँको नागरिकले प्रवासी नेपाली केटी बिहे गरेर ल्याउँदा केटीलाई नागरिकता नदिएको उदाहरण हाम्रोमा आलै छन् तर पाउनै नमिल्नेहरूले दुई चार दिनमै नागरिकता पाउँछन् जसलाई यस देशको माया मोह नै छैन । अनि किन भएनन् त मान्छे बाठा ! त्यसैले त युवकहरूको विद्रोह बोल्छ, बुढाखाडाको पनि मगज तातिन्छ विद्यार्थीहरूको रगत उम्लन्छ । सर्वहारा, बेसहाराहरू रन्कन्छन् अनि दमन गर्ने टाउकेहरूले लाठी चलाउन लाउँछन् गोली हान्न लाउँछन् राम्रो कुरा बोल्दा पनि । देश टाठा बाठाकै भयो । देश खोक्रो पारे टाउकेहरूले । टाउको फोर्ने दिन कहिले आउने हो कुन्नि !
कसैले काम बिगारे जेल सजाय दिनुपर्छ, दण्ड गर्नुपर्छ तर नेपालीको नागरिकता खोस्नु कुनै पनि नियममा छैन । सकभर त पहिल्यै नदिनु राम्रो । कुनै नेपाली नागरिक होइन भने कुन देशमा पठाउनु पर्ने हो त्यही देशमा पठाइयोस् । हजाम कुर्सीमा बस्नेहरू पनि माथि फेरि त्यस्तै खबर दिन्छन् कुरा नबुझिकन । बचतको धान किसानलाई दिइएन वार्ड अध्यक्षकै अंश सरह भयो । लेबीको चामलमा दौडाहा आउँछ, दुई चार दिन गाडी लगेर थन्क्याउँछ । लाख-लाख रुपैया बाँकीमा एक वर्षको म्याद दिएर जान्छ एक लाखले चार लाख कमाई सक्दा पनि विदेशीले ऋण पाउँछ, कोटा पाउँछ, ठेक्का पाउँछ स्वदेशीलाई केही न केही !
बेसी बोल्ने बुहारी छुच्ची हुन्छे सासु गन्गने भइमाग्छे । म पनि छुच्चो भएँ कि गन्गने कोनि ! नबोल्नेलाई घुसघुसे भने जस्तै जसले कड्केर बोल्यो, जसले जथाभावी गर्यो त्यो माथि पुग्छ भन्छन् अनि घुसघुसे तलको तल नै अरे तर मैले बोले पनि, चिच्याए पनि डाडुमा पानी तताएर डुब्ने वा भुत्ते खुकुरीले सेरिने प्रयास गरे पनि म त दिन प्रतिदिन जमिनमा पो भाँसिदै छु ।
अब मान्छे बाठा भए कि लाटा, कोनि कस्ता भए आफूआफै छुट्याउनोस् ।
०००
विश्वदीप वर्ष १, अङ्क ६ बाट २०३७- विर्तामोड, झापा
‘सोझा नवीनका बाङ्गा निबन्ध’ (२०७८)
Subscribe
Login
0 Comments
Oldest







































