देवीप्रसाद मिश्रबुढ्यौली (काव्य शृङ्खला–२६)
पाका मानिसको समादर हुने निष्कर्षका खोजमा । लागोस् यो सरकार नीति दरिलो निर्माणले रोजमा ।।

देवीप्रसाद मिश्र :
जेठाबा यसो भन्छन्–
वृद्धावृद्ध समस्तका हितकरी गर्दै कुरा कामना ।
केही राहद साथ राष्ट्र तहले राख्दै छ सद्भावना ।।
उठ्छन् बात घुमाउरा कथनका वृद्धत्वका खातिर ।
पाका मानिसभित्रका जटिलता को बुझ्छ खै आखिर ।।१३०।।
भन्ने गर्छ समाज मात्र, बिचरा पाका बढे लोकमा ।
आत्मग्लानि भएर वृद्ध अझ छन्, झन् हीनताबोधमा ।।
मान्दैनन् बिचरा कुनै तरहले पाका बनेका तन ।
भन्छन् होस् अधिकार मात्र दरिलो पारेर हिँड्छौँ मन ।।१३१।।
सारा बालक वा युवा र महिला सान्निध्य सद्भावका ।
आआफ्ना अधिकार सङ्गठन छन् देखिन्न खै वृद्धका ।।
हेर्ने यन्त्र भएन यो मुलुकमा पाकाहरूको कद ।
सक्दैनौँ तर बेच्न आज बिचरा बन्दै भएको पद ।।१३२।।
हाम्रो देह बुढो हुँदा प्रकृति नै सम्मानमा झुक्दछ ।
लौरो एक दियो सहायक बनी सान्निध्यमा जुट्दछ ।।
आत्मज्ञान छ पत्रपत्र दरिलो साथै छ झन् चेतना ।
को गर्ला कदको समादर यता छन् वृद्धका वेदना ।।१३३।।
पाका मानिसको समादर हुने निष्कर्षका खोजमा ।
लागोस् यो सरकार नीति दरिलो निर्माणले रोजमा ।।
पाका छन् सरकारमा तर नयाँ मात्रै लिँदा चिन्तन ।
खासै छैन निकास यो विषयमा लागून् सबै सज्जन ।।१३४।।
क्रमशः
०००
२०८०।४।१४
Subscribe
Login
0 Comments
Oldest






































