साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झार र जार संस्कृति

जारलाई तह लगाउन नङ्ग्रा तिखारौँ, भुत्ते खुकुरीमा धार लगाऔँ । दारा किटौँ, मुट्ठी पारौँ । तुफानी आन्दोलन सुरु गरौँ । दिमागको पारो तताऔँ । जारलाई नाङ्गेझार पारौँ ।

Nepal Telecom ad

कमल भैरवेली :

‘झार’ शब्द आफैमा नमिठो शब्द हो त्यसमा पनि गन्हाउने झार ज्यादै अप्रिय । कति अप्रिय भन्दा झण्डै यसको गन्धले गर्दा नाक सधैको लागि खुम्चने सम्भावना । झार पलायो कि आँगन कुरुप अनि मन अमिलो । देख्ना साथ खुर्केर नफाल्ने हो भने हलक्क हुर्केर झारले आफ्नो तुजुक देखाउँछ । झार पलाउनु र यसको उपस्थितिलाई प्रिय ठान्नु भनेको जीवनमा हरेस खानु जस्तै हो । चरेस खाएर लट्ठिनु जस्तै हो ।

सबै ठाउँका घाँसपात झार हुँदैनन् । बूढीलाइ आँखा लगाउने सबै जार हुँदैनन् । आँगनमा उम्रने झार करेसोमा घाँस उम्रियो झार । अनि आफ्नी बूढीलाइ टपक्क टिपेर कसैले लग्यो– त्यो हो जार । झार र जार जीवनमा सह्य हुँदैनन् । मिल्काइ हालौँ लाग्ने झार छप्काइ हालौँ लाग्ने जार । जार र झार यिनको महिमा अपरम्पार भनेर कसैले भन्छ भने त्यो महामूर्ख हो । झार आफैमा निर्दोष तर जार देख्नासाथ कोपरौँ र चिथरौँ लाग्दो हो त्यो भोग्नेलाई । जारलाई झोल चोक्टा बनाएर खाए पनि रिस शान्त हुँदैन रे भन्ने समेत सुनेको छु भुक्तभोगीहरूका रक्सीको गन्ध निस्कने मुखारबिन्दबाट ।

झारमा पनि गन्हाउने झार हो जार । गन्हाउने झार दैलो अगाडि देखेर पनि त्यसको उपस्थितिलाई प्रिय ठान्नु जारको उपस्थितिलाई प्रिय ठान्नु जस्तै हो । जार अनेक रूपका हुन्छन् । खान्कीका हुन्छन्, बान्कीका हुन्छन् । साँध, सिमाना मिच्ने छिमेकी होस् । चाहे कृत्रिम अभाव सिर्जना गरी मिलावटको धन्दा गर्ने काला बजारिया, अनुदार सरकार होस् चाहे अनुदानको चरम दुरुपयोग गर्ने हराम खोरहरू, धर्म परिवर्तन गराउने छुचुन्द्राहरू होउन् । चाहे, असभ्य संस्कृतिलाई मलजल गर्नेहरू सबै जारका नमुना हुन् ।

जारको परिभाषा नेपाली शब्दकोशमा आफ्नै खालको होला तर मेरो परिभाषामा जार शब्द यतिमा मात्र सिमित छैन । सत्ता बचाउन र सत्तामा पुग्न दिल्ली दरबारको दैलोमा पुगी म्याऊँ गर्ने पनि जार, हठात् सत्तामा पुग्न क्याउँक्याउँ गर्ने पनि जार, फगत झोले संस्कृति अपनाउने पनि जार, कानून मुट्टीमा लिन खोज्ने पनि जार, निर्दोषको कान निमोठी दोषीलाइ दूध भातले मेजमानी गर्ने पनि जार ।

यसो दैलो चियाएर हेर्छु झारले आँगन त बिजोकै पारेछ । यसो ध्यानपूर्वक गम्छु जताततै जारको साम्राज्य । झार भने मेरो हातमा खुर्पी देखेर तर्सन्छ । आम नेपालीको टाउको दुखाउने जार दिन दुई गुना रात चौगुना बलियो बन्दै गैरहेछ यत्रतत्र सर्बत्र । प्रहरीको हातमा लट्ठी देखेर तर्सन्न जार । सेनाको हातमा राइफल देखेर झस्कन्न जार । अजङ्गको पहाडको रूप धारण गरिरहेछ जार ।

जारलाई तह लगाउने सूत्र सबै फेल खाएका छन् यहाँ । कविका कलमहरू निरिह साबित भैरहेछन् । व्यङ्ग्यकारले के लछारपाटो लाओस् र खै । रूनु न हाँस्नु बनाएको छ जारले । अति उधुम मच्याएको छ जारले । जारलाई यति शक्तिशाली बनायो कल्ले ! जारलाई यति मनोमानी हुन दियो कल्ले !

जार नियमको घेरा बाहिर हुन्छ । जार धर्म संस्कृति नियम कानुनको खिलापमा हुन्छ । जारले गरेको पाप हामी सबैको निम्ति अभिषाप हुन्छ । जार संस्कृति मौलाएको छ अचेल । जारलाई तह लगाउन नङ्ग्रा तिखारौँ, भुत्ते खुकुरीमा धार लगाऔँ । दारा किटौँ, मुट्ठी पारौँ । तुफानी आन्दोलन सुरु गरौँ । दिमागको पारो तताऔँ । जारलाई नाङ्गेझार पारौँ । नेपालभूमीका कर्मचण्डाल जारलाई सदासदाको लागि डाँडा कटाऔ । हाम्रो प्राणप्यारो भूमी जारमुक्त बन्नेछ । जय जारमुक्त नेपाल ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x