आलु क्रान्ति गरौँ
जग्गा प्लटिङ्ग गरेर अलिअलि बचेखुचेका खेतबारीमा आलु, करेसाबारीमा आलु, कौशीमा आलु, गमलामा आलु, पुराना थोत्रा बाकस, थोत्रा भाडा बर्तनमा आलु, जिजुबाजेका पालाका कोपरा ताउलोमा भएपनि आलु लगाऔँ ।
कमल भैरवेली :
दाजुभाइ दिदिबहिनीहरू होअब जागाैँ । यो मुलुकमा अब आलु क्रान्ति गराैँ । कति बाहिरी बिषादीयुक्त तरकारी खाएर मृगौला प्रत्यारोपण मात्र गर्ने ! कहिले काही व्यापक रूपमा आलु प्रत्यारोपण पनि गरौँ । कति सधैं भारतको मात्र आलु खाने । बरू महजोडीले भने झैं भात पनि आलुको, दाल पनि आलुको, अचार पनि आलुको खाम्ला । आफ्नै देशमा फलाएर । आलु खाएरै दशै मनाम्ला, तिहार मनाम्ला । जुवाको खालमा आलुनै राखम्ला । आफ्नै बारीको कोदोको झोलसगँ आलुकै सेकुवा खाम्ला । आलु उसिनेर खाम्ला । पोलेर खाम्ला । आलुको परोठा आलुको झोलमा च्वाप्प चोपेर खाम्ला । आलु खाएर पेडा होइन आलुकै धाक लाम्ला । पाहुनालाई आलुको मालाले स्वागत गरम्ला, दुश्मनलाई आलुको डल्लाले हिर्काम्ला । आलुलाई हाम्रो जीवन पद्दति नबनाई भैन । आलुलाई राष्ट्रियताको पहिचान नबनाई भैन । राष्ट्रपतिको स्वागतमा आलु, प्रधानमन्त्री, मन्त्री, सांसद महासशयहरूको स्वागतमा आलुको माला, गाई,भैंसीलाई आलुकै कुँडो ख्वाम्ला । कुकुरलाई हिर्काउन परे आलुले नै हिर्काम्ला । ढुकुर मार्न परे पनि आलुकै मट्याङ्रा प्रयोग गरेर मारम्ला ।
आलुको आयातमा राज्यले अर्बौ खर्च गर्छ भनेको सुन्दा सारै नमज्जा आयो । हुनत आलुमा मात्र होइन दाल, चामल, लसुन प्याज, सियोदेखि लिएर ठूला गाडीसम्म्को आयातमा खर्बौ खर्च गर्छ यो मूलुकले । तथापि मैले आलु उत्पादनमा मात्र भए पनि जोड दिनुपर्ने कुरालाई अघि सारेँ । किनकी गरिबदेखि सम्पन्नशालीसम्म गोरीदेखी कालीसम्म, मेचीदेखि महाकालीसम्मकाले, मरन्च्यासेदेखि हृष्टपुष्टसम्मकाले, ईष्टदेखि दुष्टसम्मकाले रुचाउने भनेको आलु नै हो । आलुले कतिपयको छाकै पनि टार्ने ल्याकत राख्छ । आलुको एउटो डल्लो खप्ल्याक्क खाएपछि केहीबेरलाई भोक पनि टर्छ । आलुलाई मुख्य भोजनको रूपमा खादै गर्दा शब्जीको आवश्यकता नै पर्दैन । टेस्टी बनाउन अलिकता नुन र खुर्सानीको धुलो छर्के पुग्यो ।
आलुको पिण्डले पितृ पनि खुसी नहुने कुरै छैन । वैतरणी तर्न नसकेर भौतारिएका आत्माहरू आलुको पिण्ड पाएपछि सिधै धर्मराजको सभामा प्रसन्न हुदै आफ्नो उपस्थिति दर्ज गर्नेछन् । परम्परागत पिण्ड बनाउन शुद्ध दुध र चामल आवश्यक पर्छ । अब शुद्ध दुध कहाँ पाउनु ! एकमात्र पिण्ड बनाउन सजिलो यही शुद्ध आलु हो । शुद्ध चिज अर्पण गर्दा पितृले आशिक दिन्छन्, नाच्छन्, गाउछन् र रमाईलो गर्छन् ।
अब चामलको भाउ आकासियो । आम सर्वसाधारण भात खान सक्ने अवस्थामा रहेनन् । त्यसैले आलु क्रान्तिको कुरा गरेको हूँ । जग्गा प्लटिङ्ग गरेर अलिअलि बचेखुचेका खेतबारीमा आलु, करेसाबारीमा आलु, कौशीमा आलु, गमलामा आलु, पुराना थोत्रा बाकस, थोत्रा भाडा बर्तनमा आलु, जिजुबाजेका पालाका कोपरा ताउलोमा भएपनि आलु लगाऔँ । सार्वजनिक जग्गामा आलु, खेल मैदानमा आलु रोपेर तातो आलु खेलाऔ बालबालिका खुसी हुन्छन् । अस्पताल वरिपरी आलु, विद्यालय प्राङ्गणमा आलु, मन्दीरमा आलु, हिमालमा आलु पहाडमा आलु, तराइमा आलु, नदी किनारमा आलु, चिहानघाटमा पनि आलु जताततै आलु खेती गरौ । अनि बल्ल पो हुन्छ आलुक्रान्ति । बल्ल पो बन्छ हाम्रो भाग्य र भविष्य । जय आलु !!
०००
भैरहवा, रूपन्देही ।