कमल भैरवेलीथोरै बदलिएको छु
साहित्यिक गोष्ठीहरूबाट फर्कदा बजारमा पसेर श्रीमतीलाइ अलि मिठो लाग्ने सब्जी लिएर आएदेखि गाली खानु परेको छैन । “गोष्ठीहरूमा दर्शकको ताली, घरमा आउँदा श्रीमतीको गाली” भन्ने कथनप्रति हिजोआज अलि सजग छु ।

कमल भैरवेली :
श्रीमतीको उर्दीलाइ फस्ट प्रायोरिटी दिन्छु । ल्याउन भनेको चिज तुरुन्तै ल्याउछु, गर्न भनेको काम तुरुन्तै गर्छु अचेल । मलाई राम्रोसँग थाहा छ यदि त्यसो गरिन भने उनी रिसले पुत्ताउछिन् म अत्तालिन्छु । मरिहालौं या कतै भागिहालौं बनाइदिन्छिन् । बडो कडा छिन् उनी ।
कसैलाइ भेट्छु भनेको दिन भेटिहाल्छु । कसैलाइ दिन्छु भनेको कुरा दिइहाल्छु । बिजुली अफिस र साहु, सहकारीको असाध्यै डर लाग्छ । नत्र चर्को हर्जाना ठोक्छ्न । टाउकाले टेकेर पनि त्यो चुक्ता गर्छु सकेसम्म ।
मलाइ अर्को डर छ । छोरीको आकस्मिक डिमान्डको । उसलाई पनि भरसक दुःखी बनाउन चाहन्न । कहिले थर्काएर माग्छे त कहिले चेपारे घसेर माग्छे । दिनै पर्यो । छोरीको मन नदुखोस् भन्नेमा ज्यादा सजग छु अचेल ।
घरमा एउटा भट्भटे रुपी ठाँडो पनि छ । अहिले थोत्रो भैसकेको छ । पेट्रोल तनतनी प्युँछ जुकारुपि नेताहरूले जनताको रगत चुसे झैं । कतिबेला दगुर्दा दगुर्दै घ्याच्च रोकिन्छ थाहा हुन्न । त्यसैले यसको भर नलागेर अलि ८/१० किमी माथिको दूरीमा जानु परे सार्वजनिक बसमा नै यात्रा गर्छु । कहिलेकसो ससुराली जान परे मुटु दरो बनाएर भटभटेमै जान्छु । ससुराली त्यस्तै १५/१६ किमीको दुरीमा छ । यसरी सम्भावित समस्या नआओस् भन्नेमा ज्यादा सतर्क हुँदा हिजो आज भटभटे बीच बाटोमा बिग्रेर दुःख पाउनु परेको छैन ।
कहिलेकाहीँ दौतरी वा अन्य परिचित, अपरिचितसङ्ग हठात् हात मिलाउदा नङले चिथोरिएको छ । नङले चिथोरिएको उक्त महानुभावले नमिठो प्रतिकृया नदिए पनि आफूलाई अलिकति लज्जा र नमज्जा अनुभूति हुँदो रहेछ । समयमा नङ काट्ने कुरामा सजग छु अचेल । जहान केटकेटीले घरमा माकुराको जालो हटाउलान् भन्ने त एकादेशको कथा भैसक्यो । फेसबुकले गर्दा श्रीमतीको समेत ध्यान जान छोडेको छ यस कुरामा । जालो हटाउनेतर्फ पनि मेरो ध्यान जान थालेको छ । मलाई अलि इरिटेड गराउने मध्ये माकुरोको जालो पनि पर्छ ।
साहित्यिक गोष्ठीहरूबाट फर्कदा बजारमा पसेर श्रीमतीलाइ अलि मिठो लाग्ने सब्जी लिएर आएदेखि गाली खानु परेको छैन । “गोष्ठीहरूमा दर्शकको ताली, घरमा आउँदा श्रीमतीको गाली” भन्ने कथनप्रति हिजोआज अलि सजग छु ।
दाह्री काट्ने कुरामा पनि अलि सजग छु अचेल । झुस्स दाह्री पाल्नेलाई कसले मुस्कान छरोस् । कसले लिफ्ट मागोस् । यसतर्फ पनि ध्यान दिन थालेको छु ।
मोजा धुने कुरामा श्रीमतीको मुख ताक्थें एकताका । धुन दिएको २/३ सेट मोजा समयमा नधोइदिँदा त्यहीं नधोएको अलि कम गन्हाउने मोजा लगाएर पार्टीमा जानु परेको छ एक दुइ पटक । त्यसरी लगाएका मोजामा भने अत्तर छर्कन भुल्दैनथें । हिजोआज भने आफै धुने गरेको छु । त्यसैले कतै जमघटमा कसको मोजा गन्हायो भन्ने गरेको सुन्नु परेको छैन । किनकि अचेल अलि बदलिएको छु ।
तर बदलिएको छु भन्दैमा कसैको बहकावमा लागेर आफ्नो लेखन कर्म बदलेको छैन, सनातन धर्म बदलेको छैन, सामाजिक आचरण बदलेको छैन, माता पिता र गुरुले दिएको स्वाभिमानलाई बिर्सनु हुन्न भन्ने उहाँहरूको अर्ती उपदेशले सिकाएको मार्ग बदलेको छैन । पुराना दौतरीहरूसँगको प्रेम स्नेह बदलेको छैन । छरछिमेकसँगको आत्मीय सम्बन्ध बदलेको छैन । देश प्रतिको प्रेम बदलेको छैन । तर पनि म अचेल थोरै बदलिएको छु ।
०००
भैरहवा, रूपन्देही
२०८० श्रावण २८
Subscribe
Login
0 Comments
Oldest








































