
खन्चुवा (भाग- ३)
भोकै मर्छ गरीब हातहरूमा ठेलाहरू छन् कतै । खन्चुवाहरू लुट्न उद्दत हुने भेलाहरू छन् कतै ॥ खेल्ने एकल स्वार्थमा रहरका खेलाहरू छन् कतै । कालो पोत्न र पिट्न उद्दत हुने चेलाहरू छन् कतै ॥

छविलाल आचार्य :
कस्तो प्रेम बसेछ, प्रीतम सँगै, उस्कै छ रे शासन !
जन्ताका मत च्यातिए कि किन हो ? उस्कै परेँ दास म ॥
भन्दै स्वाधिनता बिकाइ अहिले नेता बने ढँट्टुवा ।
बाँणी फुत्किसक्यो मिलाउँ कसरी ए देशका खन्चुवा !। १॥
सीता जानककी सुपुत्री कहिले सिद्धार्थ छन् हारमा ।
बोल्दैनन् कहिल्यै अराष्ट्रियहरू आमा परिन् मारमा ॥
खाए राष्ट्रियता र स्वाधिन सबै धज्जी उडाई सके ।
पानी तेल घुलाई भिन्न पथको बाटो जुराई सके ॥२॥
खर्चन्छन् उपचारमा छल गरी झुट्टा उनै बक्दछन् ।
साधु सन्त भनौँ कसोगरी भनौँ बोली सबै फेर्दछन् ॥
कोही मर्छ अकालमै छटपटी चक्की नपाए पछी ।
कोही भारत उड्छ लुट्छ ढुकुटी नाकै रसाए पछी ॥३॥
उम्के ह्वेल कतै, कठै ती बुदुना, पर्छन् महाँ जालमा ।
हात्ती तर्सन गो ? बजाई चकटी, सत्ता रह्यो चालमा ॥
नास्तिक् आस्तिक बन्दछन् त कहिले, खाने छ धन्दा सबै ।
गाउँ सङ्ग प्रदेश मन्दिर पनि भो भागबण्डा सबै ॥४॥
साधा उच्च बिचारका प्रतिनिधि, नेता हुने बिच्किए ।
आँफै भक्षक भै, म रक्षक सधैं, भन्नेहरू निस्किए ॥
खाए ऐन र, अख्तियार पनि जो, उन्को छ आफ्नै तय ।
ज्यान्माराहरू , छुट्दछन् सहजले, छक्कै छ न्यायालय ॥५॥
भोकै मर्छ गरीब हातहरूमा ठेलाहरू छन् कतै ।
खन्चुवाहरू लुट्न उद्दत हुने भेलाहरू छन् कतै ॥
खेल्ने एकल स्वार्थमा रहरका खेलाहरू छन् कतै ।
कालो पोत्न र पिट्न उद्दत हुने चेलाहरू छन् कतै ॥६॥
०००
पोखरा १६, कास्की