साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोस्ती

स्याङ्जाका कीर्तिशेष स्रष्टा भेषजराज शर्मा पछि आएर कविता काव्यमा सक्रिय रहे पनि उहाँको आरम्भकालिन लेखन चाहिँ हास्यव्यङ्ग्य निबन्धतर्फ लहसिएको थियो । दिवङ्गत भएको पनि धेरै पछि २०७२ सालमा उहाँका हास्यव्यङ्ग्य निबन्धहरूको सङ्ग्रह ‘नारदमुनिको वालिङ यात्रा’ प्रकाशित भएको छ । प्रस्तुत छ- २०१६ साल अर्थात ६४ वर्षअघि प्रकाशित शर्माको हास्यव्यङ्ग्य निबन्ध ।

Nepal Telecom ad

भेषजराज शर्मा :

स्याङ्जाका कीर्तिशेष स्रष्टा भेषजराज शर्मा पछि आएर कविता काव्यमा सक्रिय रहे पनि उहाँको आरम्भकालिन लेखन चाहिँ हास्यव्यङ्ग्य निबन्धतर्फ लहसिएको थियो । दिवङ्गत भएको पनि धेरै पछि २०७२ सालमा उहाँका हास्यव्यङ्ग्य निबन्धहरूको सङ्ग्रह ‘नारदमुनिको वालिङ यात्रा’ प्रकाशित भएको छ । प्रस्तुत छ- २०१६ साल अर्थात ६४ वर्षअघि प्रकाशित शर्माको हास्यव्यङ्ग्य निबन्ध ।

मेरा प्यारा दोस्त, ओहो ! … माफ गर्नुहोला । सबभन्दा पहिले म तपाईंसित जम्लेहात जोडेर के बिन्ती गर्छु भने जुँघा हल्लिँदैखेरि कुरा बुझेँ भनेर निबन्धको टाउको देख्दैमा नतर्सनु होला, किनभने म तपार्इंसित कुनै दोस्तीको भीख माग्दै छैन, किन्तु एउटा यस्तो कहानी लेख्दै छु जो पढिसकेपछि तपाईंसित अरु कसैका दोस्ती छ भने मन्साएको (पर्सेको) बोकाले झैंँ कान फड्कार्नु त हुनेछ—हुनेछ । साथै कसैसित तपाईंको दोस्ती छ भने पनि ल्याएर मेरै थाप्लोमा खन्याइदिनुहुनेछ । आखिर म को हुँ र तपाईंसित दोस्ती गरुँ ? तपाईं हुनु होला फलाना मिनिस्टरको सालाका भिनाजुको चपरासीका भानिज, म ठहरेँ विनाकाम रैबार पढेर मिनिस्टरीको दावा गर्ने गबाँर याने विद्यार्थी । या तपाईं हुनुहोला बाइसे या चौबीसे राजाकी साख्खै श्रीमतीका अथवा उपरानीका बाजेकी नातिनीका दाजु, म ठहरेँ तपाईंका बाबुले सुसारेबाट जन्माएर बाँधा घर्तीको घाँटीमा झुन्ड्याइदिएकाले तपाईंको हकमा दावा गरुँला भनेर दुई चार अक्षर पढ्न विदेशतिर लखेटिएको बतासे ! या त तपाईं हुनुहोला फलानो राणाका छोरा जर्साब या कर्साबले हीङ पोको पार्ने गरेको ढाकाको टोपी लगाएर अत्तरे मेम—मैयाँहरूसित कुम जोडेर शहर बजारमा सिनेमा देखाउँदै हिँड्ने साहेब ! म ठहरेँ राणा शासनको जरो उखेल्न कालो झण्डा लिएर स्कूल कलेजमा हड्ताल गर्दै नारा लगाएर हिँड्ने विद्यार्थीहरूको नाइके । अनि भन्नुहोस् । तपाईं सित मेरो दोस्ती कसरी ? यत्तिमात्र होइन, तपाईंमा र ममा अझ कति र कस्तो फरक छ, जान्न चाहनुहुन्छ भने आउनुहोस् म तपाईंको मुटु र गिदी निचोरेर बाहिर राखिदिन्छु ।

एक दिन एक मेरा दोस्त अर्थात् एउटा विद्यार्थी र म आफ्नो कलेजको गरीब—विद्यार्थी सहायता कोषका लागि चन्दा माग्न एउटा मन्त्री कहाँ जाँदै थियौँ, बाटामा उहीँ जान हिँडेका तीनजना मान्छेसित भेट भयो र चिनापर्ची गर्दै पाँचैजना एकसाथ उनको बङ्गलामा पुग्यौँ । अचेलका प्रजातान्त्रिक मन्त्रीज्यूले परिचय—कार्ड पाएपछि बाहिर रोकिराख्न उचित ठान्नुभएन होला । हामी तुरून्तै भित्र बोलाइयौँ, तर त्यत्तिखेर मन्त्रीज्यू विदेशी पत्रकारहरूलाई इन्टरभ्यू दिँदै हुनुहुँदोरहेछ र हामी सबै अफिसको बाहिरपट्टि बेन्चमा बसालियौँ । इन्टरभ्यू सिद्धिएपछि पत्रकारहरूका साथ साथ भित्रबाट घण्टीको आवाज आयो र चपरासी भित्र पस्ने बित्तिकै मन्त्रीज्यूको वचन सुनियो— अरु कोको आएका छन् ? चपरासीको आवाज आयो हजुर ! दुई जना विद्यार्थी— तीन जना मान्छे । मन्त्रीज्यूको वचनामृत फेरि सुनियो विद्यार्थीहरूलाई भोलि आउन भन, मान्छेहरूलाई भित्र बोलाऊ । … ल भन्नुहोस् मन्त्रीज्यूले हामीलाई दर्शन नदिने कृपामात्रै नगर्नु भएन, अपितु उहाँका चपरासीले समेत हामीलाई मान्छेबाट पर राखे । अब भन्नुहोस् तपार्इंमा र ममा कति फरक रहेछ । — तपाईं मान्छे म विद्यार्थी । अनि मान्छे र विद्यार्थीमा दोस्ती कसरी ? तपार्इं भन्नुहोस् म पनि मान्छे होइन, विद्यार्थी नै हुँ । ज्यादा भन्यो नभन्नुहोस्, यस कुरामा पनि एउटा उदाहरण पेश गरिहालूँ ।

उदाहरण दिनुभन्दा पहिले म तपाईंलाई दयापूर्वक एउटा सुझाव टक्राउँछु— त्यो के भने तपाईंले घाँटीमा टाई भन्ने दाम्लो बाँध्नुभएको छ भने तुरून्तै फुकाएर राखिहाल्नुहोस्, नत्र यो उदाहरण पढ्दापढ्दै कसिन कत्ति बेर लाग्ने छैन । अँ, एक दिन म बनारसबाट बक्सरसम्म जाने गरी कलकत्ता—एक्सप्रेसको डिब्बामा पसेको मात्र थिएँ, मेरा एउटा अत्यन्त हितैषी दोस्त अर्थात् एक विद्यार्थी कलकत्ता जान भनेर त्यही डिब्बामा बसिसकेका रहेछन्, र दुवै जनामा राम्राराम्रा गफ हुन थाले । राजघाट—स्टेशनमा पुगेपछि उनका याने मेरा दोस्तका एक दोस्त हाम्रो डिब्बामा बस्न आए । उनको भेष—भूषा र छाँट—काँट देख्दाखेरि मेरा दोस्तसित राम्रैसँग मिल्ने । ऊनीको कोट र फुल—पैन्ट भन्ने हात्तीखुट्टे सुरुवाल, भित्र सेतो कमीज टाई भन्ने डोरीले घाँटी टन्न कसेका, दुवै खुट्टामा मोजा भन्ने खोल हालेका, —जुत्ता भने ठीकै थिए । तालु भरी (अघिल्तिर) जुल्फी भन्ने टुप्पी राखेका र मङमङ् बास्ना, आउने तेल हालेर लरक्क कोरेका, पछिल्तिरका कपाल छटक्क छाँटेका, मुखमा लिपिष्टिक र पाउडर भने देखिएन एक दम मेरै दोस्तजस्ता । उनीलाई देख्ने बित्तिकै मेरा दोस्त कता हो यार ? भन्दै उनीसित हात मिलाउन जाइलागे । अब के थियो र ! कताबाट ? कहाँ जाने ? समाचार के कस्तो छ ? यत्तिका दिनसम्म किन चिठी नपठाएको ? फलानो कहाँ छ ? के गर्दैछ ? फलानीको फलानो कुरा के भयो ? ऊ कहाँ छे ? के गर्दै छे ? सोधिन थाले, कुरा दोहोरै । बहस चल्यो धमाधम । एक अर्कोमाथि दोषारोपण गर्नथाले । सबै यात्रीहरूको ध्यान सजिलैसँग आपूmतिर खिचे । अनि शान्त भए । मलाई त्यतिखेर नरमाइलो लागेको थियो तापनि यहाँ रमाइलै लागेको थियो भनेर लेख्न झुटो नहोला । जे होस्, जोस्पछि होस आइसके पछि आगन्तुक महाशयले मेरो परिचय सोध्न अनुचित ठानेनन् किनभने उनले आफ्नो दोस्तलाई मसित गडेर कुरा गरेका देखेकै थिए । मतिर इसारा गर्दै दोस्तसँग सोधे । यहाँको परिचय ? मेरा दोस्तले छिट्टै नै उत्तर दिए । यहाँ बक्सरसम्म जाँदै हुनुहुँदोरहेछ । बनारसमा पढ्न बस्नुभएको, (मतिर फर्केर) कुन ईयर रे ? जुँघा हल्लिन बेर न कुरा बुझ्न बेर । आगन्तुक महानुभावलाई त्यति भए पुगिहाल्यो । मैले फलानो ईयर भन्न नपाउँदै उनले ए ! भनेर टाउको बटारिहाले । आखिर उनलाई मेरा विषयमा पूरा जानकारी राख्न पो के चासो पर्‍यो र ? किनभने उनको दर्जा, छाँट—काँट त तपाईंले जानिहाल्नु, भयो । मेरा कुरा लेख्न केही दर्कारै परेन याने तेल हालेर कोरेको जुल्फीको सट्टा पछिल्तिर एक हातको टुप्पी झुन्डाएको, आधा कपाल काट्नुकोसट्टा छुराले सप्पै सुइक्याएको, कोटको सट्टा बनारसी बर्को, फुलपैन्टको सट्टा चारहाते कछाडको धोतीपाटा, अनि विना मोजाका खुट्टा र निधारमा तीनधर्के खरानी माथि रातो टीका त मेरा निजी विशेषता !

अनि यति फरक भएपछि उनले मेरो पूरा जीवनी न भएर नाम मात्र पनि जानेर सम्झिराख्न मात्र होइन सुन्नसम्म पनि आफ्नो बेइज्जत हुने सम्भावना देख्नु कुनै अस्वाभाविक थिएन, साथै यति तल माथि भएपछि उनी विद्यार्थी नै भए पनि अर्को विद्यार्थीसित भेट हुने वित्तिकै दोस्ती भइहाल्छ । कुराकानी, सोधपुछको विस्तार बढिहाल्छ भन्न पनि त सकिन्न । तर चिरकालदेखिका मेरा हार्दिक दोस्त जोसित मेरो ज्यादै घनिष्ठता थियो र उनी पनि ममाथि असीमित आत्मीयता (दोस्ती) राख्दछन् भन्ने कुरामा मलाई पूरा विश्वास थियो । दुवै जना सँगै हिँड्डुल गथ्र्यौँ, बस् उठ् गथ्र्यौँ, सँगै पढ्थ्यौंँ । म उनको कोठामा महिनाको बत्तीस दिन जान्थेंँ भने उनी मेरामा तेत्तीसै दिन आउँथे । यस प्रकार छ वर्षसम्मको सहवासले हामी आफ्नो छात्रजीवनको मात्र होइन, दुवैका घरको परिस्थितिसित पनि राम्रै परिचित थियौँ । आज उनै दोस्त एक जना मान्छेको अगाडि मलाई “मेरो दोस्त हो” भन्नमा आफ्नो मानको हानि हुने देखे । भर्खर पहिलो पटक त्यहीँ डिब्बामा भेट भए जस्तो गरेर— “यहाँ बक्सरसम्म जाँदै हुनुहुंँदोरहेछ, बनारसमा पढ्न बस्नु भएको, … कुन इयर रे ?” अब भन्नुहोस्, तपाईं विद्यार्थी हुँ भनेर कसरी नाक जोगाउन सक्नुहुन्छ ? यस कारण हामीजस्ता विद्यार्थीका अगाडि तपाईंले विद्यार्थीपनाको मुकुण्डो लगाएर सक्कली अनुहार ढाक्न खोज्नु त अझ आफ्ना आन्द्राभुँडीसमेत बाहिर निकाल्नु हो । यसैले त म भन्दैछु । तपाईं नडराउनुहोस् किनकि म तपाईंसित दोस्ती गरेर तपाइँकाे  निधारमा कलङ्कको टीका लगाइदिन चाहन्नँ । अब तपाइँ भन्नु होला म त्यस बखतको विद्यार्थी नै होइन । आउनुहोस् यस बारेमा पनि एउटा उदाहरण ओकेलिहालूँ ।

अँ, यो उदाहरण देखेपछि तपाइँ मसित बोलचाल बन्द गर्न त अवश्य सफल हुनुहोला, तर भित्री हृदयले मलाई धन्यवाद नदिन भने कत्ति नसक्नुहुनेछ, किनभने सोझै दसी भेटिएपछि चोरको के हालत हुन्छ, नजानेको भए यो उदाहरण पढिसकेपछि आफैँलाई हेर्नुहोला । यस कारण यहाँ पनि सानो भूमिका बाँधेर तपाइँलाई म कुन कुरामा सावधान गराउन चाहन्छु भने पहिले फोनबाट डाक्टर बोलाउनुहोस् र नोकरद्वारा एकसेर बरफ मगाएर रबरको थैलोमा हालेर थाप्लामा राख्नुहोस् र मात्र यो उदाहरण पढ्नुहोस् किनभने म तपाईंलाई हार्टफेल गराउन या लामो मूर्छामा पठाउन चाहन्नँ । कुरा के हो भने एक दिन तपाईं पूर्वोत्त भेष—भूषाले भूषित भएर बनारसको प्रसिद्ध …. नाम भएको सडकमा रिक्साबाट आवत जावत गर्ने केटीहरूतिर फुर्र्र चुरोटका धूवाँ फाल्दै मन्द गामिनीको गतिले हिँड्दै हुनुहुन्थ्यो, मैले सडकको पल्लो किनारबाट देखेँ र कता हो दोस्त ? भन्ने बित्तिकै तपाईंले देख्दैनदेखे र सुन्दैनसुने झैँं गरेर रिसले नाकका फोन्द्रा फुलाउँदै एक दुई मान्छेले छेकिएर अलि लामा कदम चाल्न थाल्नुभयो र मैले नसुन्ने गरी बीच बजारमा आएर दोस्त भन्छ, कस्तो साला भन्नु भएको होइन ? हातमा पुस्तक (पत्रिका) लिनुभएको छ, देउता पित्तर, झुत्रे—झाँक्री र सातपुर्खा देखिको धर्म सम्झेर भन्नुहोस् । मलाई मेरा बाले झुटो कुरो लेख्न कहिल्यै पनि सिकाएनन्, पहाडमा भैँसी चराउन जाँदा पाडो बाँधेर आफैँले दूध चुसेको कुरा पनि म जस्ताको तस्तै उतार्न सक्ने खालको हूँ … । अँ त, तपाईं भिनाजु, म सालो । अनि साला भिनाजुमा दोस्ती कसरी ? त्यसैले त म भन्दैछु । … ओहो ! …. माफ गर्नु होला । दोस्तीको कहानी लेख्छु भनेको त यो दुईखुट्टे कलम कता दौडेछ कता । आउनुहोस्, अब त्यतैतिर जाऔँ ।

को हँ ? ….. को हो त्यो ढोका घच्घच्याउने ? मुखमा दही जमेको छ कि क्या हो ? ए … ! मिष्टर रमेश ? … लौ हेर्नुहोस्, लेख्न पाइने हो र ? एकखेपमा एउटा आउँछ त अर्को खेपमा अर्को ! भेटै नदिऊँ भने मेरै बारेमा नानाभाँति लेखिदिने हुन् कि भन्ने डर ! … अँ, एक कुरामा भने यिनी आएको मलाई अघोर जाति लाग्यो किनभने यिनी पनि ममाथि निक्कै दोस्ती राख्दछु भन्ने भाका हुन् यस कारण यिनीसँग पहिले भएको गफ गरुँ र पो कहानी लेख्ने मसला पूरा होला ।

अँ, हे मेरा प्यारा दोस्त, अन्तमा म के भन्न चाहन्छु भने म तपाईंको दोस्त नभए पनि यो निबन्ध सर्लक्क पढिदिनु भएर देखाउनु भएको दोस्तीलाई तीन मुरी धन्यवाद !

०००
‘छात्रवाणी’, वर्ष—५, अङ्क—५, २०१६, बनारस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा
सुँगुर

सुँगुर

भेषजराज शर्मा
काठमाडौँ गनायो

काठमाडौँ गनायो

भेषजराज शर्मा
चोर

चोर

भेषजराज शर्मा
गाली एक समस्या र वास्तविकता

गाली एक समस्या र...

भेषजराज शर्मा
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x