सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नारद मुनिको वालिङ-यात्रा

नारद सरासर भगवान्को शयन कक्षमा गए । भगवान् नित्यकर्म सकेर भर्खर तमाखु तान्न लागेका रहेछन् । लक्ष्मीजी चिलिमको आगो फु: फु: गर्दै थिइन् । नारदलाई देखेर मन्द मुस्कानकासाथ भगवान्ले भने ओहो नारद !

Nepal Telecom ad

भेषजराज शर्मा :

विष्णु भगवान्ले नारद मुनिलाई चौबीस वर्षे कडा कारावासको सजाय सुनाए । कारावास पनि कुम्भीपाक नरकमा बस्नुपर्ने । यस निणर्यले स्वर्गेली समाजमा निकै खलबली मच्चियो । त्यति सानो अपराधका निम्ति चौबीस वर्षको कारावास बढी भयो भनी स्वर्गेली समाजले विनम्र प्रतिक्रिया जनायो ।

वास्तवमा अपराध त्यति ठूलो थिएन । कुरो के थियो भने महाराज इन्द्रले आफ्नो दशसहस्राँैं जन्मदिवसको उपलक्ष्यमा विष्णु भगवान्लाई सादर निमन्त्रणा गरेका थिए । साप्ताहिक स्वर्ग सन्देशका स्थानीय संवाददाताको हैसियतले नारद पनि समाचार सङ्कलन गर्न भनी भगवान्सँंगै गएका थिए । जन्मोत्सव समारोहको भव्यता र आकर्षकता अवणर्नीय थियो । स्वर्ग ग्रहका अन्य द्विपका मुखियाहरु पनि इन्द्रलाई बधाई र शुभकामनाका खातिर त्यस अवसरमा स्वयम् उपस्थित भएका थिए । दिनको समारोहपछि साँझ रमझम कार्यक्रमको आयोजना भयो । दिनको कार्यक्रम जति उल्लासमय थियो, रातको कार्यक्रम उति नै मनोहारी । तिलोत्तमा, मेनका र उर्वशीको नाचले पाहुनाहरुलाई ज्यादै मुग्ध तुल्यायो ।

सुरा र सुन्दरीको संयोगले सुरनगरीको सौन्दर्यमा हजार गुणा वृद्धि गराएको थियो । उर्वशीको नाच बढी मन परेर हो वा तिनको सहभाव कटाक्षको प्रभावले हो, विष्णु भगवान् तिनीप्रति बढी आकर्षित हुन पुगे ….. कार्यक्रम समाप्त भयो । पाहुनाहरु इन्द्र महाराजलाई धन्यवादका साथै अझ दश हजार वर्ष बाँच्ने शुभकामना बर्साउँदै आ-आफ्नाे आवास (पाहुनाघर) तिर लागे । नारद पनि स्वर्ग सन्देशको आगामी अङ्कलाई जन्मोत्सव विशेषाङ्क बनाउन मसला पर्याप्त भएको महशुस गर्दै त्यहाँबाट सुइँकुच्चा ठोके ।

गरूडवाहन भोलिपल्ट सबेरै आफ्नो महलमा पुग्दा लक्ष्मी सदा झैँ ढोकामा स्वागत गर्न आइनन् । भगवान् सशङ्कित हुँदै सरासर कोठामा पुग्दा त उनी हुस्स फुलेर बसेकी । किन ? के भयो ? आदि प्रश्नहरु नसकिँदै लक्ष्मीले भगवान्लाई झपार्दै भनिन् – “त्यै उर्वशी बेस्सेलाई ल्या भा त भै हाल्थ्यो नि । भगवान् छक्क परे । कुराको गुदी बुझ्नै सकेनन् । लक्ष्मीले रिसको झ्वाँला निकाल्दै फेरि भनिन्- निकै आँखा झिम्काइयाथ्यो रे नि त्यस फुँडीसित ! बेस्से !! पात्तर !!!

यो सारा पर्दाफास नारदले गरेको हो भनी बुझ्न विष्णुलाई गाह्रो परेन । “हिजो कार्यक्रम सकिने वित्तिकै सुँइकुच्चा ठोकेको फुस्रो, कता गयो होला भनेको त यहाँ कुरा लाउन आइसकेको पो रहेछ ।”- विष्णु भगवान्ले लक्ष्मीलाई सम्झाउने भारी प्रयास गरे – “नारद जस्ता कुरौटेका कुरा पनि पत्याउन हुन्छ ! त्यो फुस्रो त साँचो बोल्न कहिल्यै जान्दैन ।” तर लक्ष्मी यसपालि प्रचण्ड भएकी थिइन् । ताता कुराले खसमलाई फेरि झम्टिन् – जान्या छम् ! भाको कुरो को पत्याउन्न ?

भगवान्को केही सीप लागेन । नारदप्रति उनको अखप रिस उठ्यो । उनले हातमा जौ तिल कुश लिएर घोषणा गरे – नारदलाई पूरा चौबीस वर्ष कुम्भीपाक नरकमा बस्नुपरोस् । यो कुरो हावा झैँ फैलिइहाल्यो । श्वेतदीप मात्र होइन । पुरै स्वर्गलोक यसबाट खलबलियो । नारदजस्ता आफ्ना भक्तलाई पनि यति कडा सजाय तोकिनु भगवान्बाट न्याय गर्ने कार्यमा कुनै मुलाहिजा हुँदैन भन्ने कुराको एक ठोस दृष्टान्त हो भनी धेरैले त्यस घोषणाको स्वागत गरेका छन् भनी सरकारी रेडियोले भुक्यो, भगवान्को टीका टिप्पणी गर्नु नियम कानुन र नैतिकताको अवहेलना हो, तोकिएको सजाय समानुपातिक छ भनी सरकारी अखबार पचभैयाले छाप्यो । तर आम प्रतिक्रिया भने त्यस घोषणाको अनुकूल देखिएन । सजाय बढी भयो भनी वकिल समाज करायो, नारदले माफी पाउनै पर्छ भनी स्वर्ग सन्देश मार्फत् पत्रकार जगत्ले विन्तीपत्र चढायो ।

नारदजस्ता लब्धप्रतिष्ठित महात्मा एवम् भगवान्कै परम भक्तलाई पनि यति कडा सजाय हुन्छ भने हामी जस्ताको गुहार छैन भनी शेष महलकै अनुचर वर्ग जुर्मुरायो । सजायमा कटौती हुनैपर्छ भनी स्वर्गका सारा बुद्धिजीवी अबुद्धिजीवीहरुको विशाल जुलूसले नगरपरिक्रमा गर्‍यो । यी सबैको भूमिगत नेतृत्व लक्ष्मीले गरिन् र भगवान् समक्ष एक विनम्र निवेदन पेश गरिन् । सजायको घोषणा रद्द हुनुपर्छ भन्ने उनको माग रहृयो । तर विष्णु भगवान् टसका मस भएनन् । अझ उनले आफ्नो त्यस घोषणाको विरूद्ध स्वर्गेली समाजलाई भड्काएको आरोप लक्ष्मीमाथि लगाए ।

लक्ष्मी पनि खसम सित दब्ने खालकी कहाँ थिइन् र ! फेरि दुर्वाच्य बोलिन् – त्यस रण्डीसित भेट भएर आएपछि जहिले पनि यस्तै भुर्चालो हुन्छ ! एक छिन वाक्युद्ध भएपछि भगवान् केही सम्झौताको स्थितिमा आई चौबीस वर्षलाई चौबीस दिनमा झारे । तैपनि लक्ष्मी मानिन् । भगवान्ले पनि एक पटक जारी गरिसकेको निणर्य रद्द गर्न नमिल्ने कुरा दोहोर्‍याउँदै हातमा जौ तिल कुश लिएर यो अन्तिम घोषणा जारी गरे – “अखिल ब्रहृमाण्डले सुनोस्, चुक्ली लगाउनु जत्तिको ठूलो पाप अर्को छैन, भोलि बिहान सात बजेदेखि पर्सि बिहान सात बजेसम्म पूरा चौबीस घण्टा नारदले कुम्भीपाक नरकमा बस्नै पर्नेछ । जसले यस घोषणाको विरोध गर्ला, त्यसले आजन्म रौरव नरक भोग्नुपर्ला ।

अब लक्ष्मीको केही सीप लागेन । तैपनि उनले हिम्मत हारिनन् । आफ्नो पूरा विजय हुन नसकेकामा रिसले भुत्भुतिँदै आफ्नो कोठामा गइन् र नारदलाई बोलाएर भनिन् – “बुझ्यौ नारद, मेरो पनि यस घरमा केही हक हुनुपर्छ । सोह्र वर्षको उमेरदेखि म यिनको सेवा गर्न लागेकी हुँ, दश हजार वर्ष भइसक्यो, यिनले एक पटक पनि मेरा कुरा खाएका छैनन् । पख, चौबीस घण्टा त के, म तिमीलाई चौबीस मिनेट पनि नरक बस्न पार्दिन । बुझ्यौ नारद, यौटा उपाय छ …. ।”

नारदले दीन स्वरमा भने – “प्रभु, मैले हजुरका निम्ति के के गरिनँ ? साँच्चै भनूंँ भने म अखिल ब्रहृमाण्डकै महिला वर्गको हितका निम्ति पनि भारी प्रयास गर्दै आएको छु । स्वर्ग सन्देशको एक अङ्कलाई प्रतिवर्ष महिला विशेषाङ्क बनाउने कार्यमा मेरो जो प्रयास रही आयो, त्यो पनि हजुरमा जाहेरै छ । अहिलेको पटक पनि मैले जो गरेंँ, त्यसमा पनि हजुरको हित बाहेक मेरो निजी स्वार्थ केही रहेको छैन ….।

पख न पख, त्यो सब तिमीले भनिरहनु पर्छ र ? मलाई थाहा छँदैछ नि ! बुझ्यौ नारद, यौटा उपाय छ तिमीलाई कैदको सजाय भोलि विहान सात बजेदेखि पर्सि विहान सात बजेसम्मका लागि तोकिएको छ । त्यो चौबीस घण्टासम्म तिमी यो लोक मै नबस, अन्तै जाऊ र लुकेर बस । बुभ्mयौ ? तोकिएको म्याद गुजार्न सक्यौ भने त्यो घोषणा स्वतः निष्क्रिय हुन्छ । तर नारदले विन्ती गरे, प्रभु, भगवान्का चर नपुग्ने लोक नै कुन छ र ? बरू, निगाहा भए महलभित्रै….।

पख न पख, तिमीले कुरै बुझेनौ । मेरो आसपासमा त राख्नै भएन नि ! कथम्कदाचित् भेद खुलिहाल्यो भने, तिमीले घोषणा सुनेनौ ? मैले नै आजन्म रौरव नरक भोग्नु पर्नेछ । पख, म तिमीलाई यस्तो ठाउँमा पठाउँछु जहाँ भगवान्को दृष्टि पुगेकै छैन तिमीले नेपालको नाम सुनेका छौ ? प्रभु, नेपाल त ज्यादै खतरापूर्ण छ । म प्रत्येक वर्ष शतवीज छर्न जाने गरेको छु । त्यहाँ त भगवान्का चरहरु स्याउँस्याउँती छन् ।

पख न पख, तिमीले कुरै बुझेनौ । नेपालको गण्डकी अञ्चलमा स्याङ्जा भन्ने एउटा जिल्ला छ । त्यसको मध्य भागमा वालिङ भन्ने ठाउँ छ । जिल्लाको त्यो एउटा ठूलो बजार पनि हो । त्यहाँ गयौ भने, भगवान्का चरहरुले त परै छोड, स्वयम् भगवान्ले पनि पत्तो पाउन सक्नु हुने छैन । लक्ष्मी त्यहाँबाट फत्फताउँदै हिँडिन् – “लौ त नारदलाई कसरी नरक हाल्दा रहेछन् !

भोलिपल्ट बिहान ठीक सात बज्दा नारदलाई आफ्नो शरीरमा अकस्मात् बिजुलीको करेन्ट लागे जस्तो, कस्तो कस्तो, स्वर्गीय विशेषताहरुले आफ्नालाई छोडेजस्तो, विचित्रको अनुभव भयो । उनले यताउति पल्याकपुलक हेरे, तर उनी स्वर्गमा थिएनन्, उनले आपूmलाई वालिङ बजारको मोड (प्रवेश मार्ग) मा फेला पारे । उनको नजर सबभन्दा पहिले “सडक र घर सफा राखौँ” भन्ने लेखिएको रेडक्रसको प्रचार पाटीमा पर्‍यो । रेडक्रसको नाम देखेपछि उनको अन्तःकरणमा एउटा मधुरो सन्तुष्टिको भाव उम्रियो । किनभने रेडक्रस एक महान् परोपकारी संस्था हो । भनी स्वर्ग सन्देश मार्फत् उनी आफैले पनि बखान गरेका थिए । उनले मनमनै भने – यहाँका मानिसहरुले धर्मको सार बुझेका रहेछन्, परोपकाराय, पुण्याय पापाय परपीडनम् ।”

उनी बजारतर्फ बढे । अलिक पर पुगेपछि सडकको दाहिने बायाँ पेटीका छेउमा बसेर साहुनीहरुले आफ्ना नानीहरुलाई आची गराइरहेको देखे । अनि जताततै खसी भुत्ल्याइएका रौँहरु, अनि त्यहीँ नेर बेच्न राखिएका मासुका थुप्राहरुमा र होटेलका बासी खाद्य वस्तुहरुमा नीला हरिया माखाहरु भन्किरहेको पनि उनको नजरमा पर्‍यो र उनले तुरून्त निणर्य गरे । यहाँका मानिसहरु पूर्ण स्वतन्त्रताको उपभोग गर्दा रहेछन् । सुग्घर सफाइका लागि पनि यहाँ कसैलाई बाध्य गरिँदो रहेनछ । स्वतन्त्रता भनेको यस्तै हुनुपर्दछ । बडो राम्रो व्यवस्था रहेछ यहाँ । कसैलाई यो बजार फोहोर लाग्छ भने त्यो यहाँ नआओस् वा नबसोस् । कसैले किन आपत्ति गर्ने ? “सडक र घर सफा राखौँ” भन्न पनि पाइने, फोहोर गर्न पनि पाइने । ओहो ! कस्तो राम्रो स्वतन्त्रता !

नारद अघि बढ्दै गए । त्यो नौ फुटे सडक एउटा ट्रकले पूरै छेकेको रहेछ । दाहिनेपट्टिको पेटीमा मट्टितेलका ड्रमहरु र देव्रे पट्टिको पेटीमा नूनका बोराहरु राखिएकाले उनी पास हुन पाएनन् । मोटरका चालक र खलासीलाई सडकमा थुप्य्राइएका ढुङ्गाहरु पन्छाउन लागेको देखे । उनको अध्ययनको एक अर्को पाना पल्ट्यो । उनले मन मनै भने- त्यस्तो व्यवस्था त स्वर्गमा पनि छैन । मौलिक अधिकार भनेको यस्तै हुनुपर्छ । एक हातले दिने अर्को हातले खोसिने, त्यो के अधिकार ! बजारमा घर बनाउन पाउनेले सडकमा ढुङ्गा थुप्य्राउन पनि पाउनै पर्छ । जसलाई बाटो हिँड्नु छ उसैले ढुङ्गा पन्छाओस्, अरुले किन चासो लिने ! अनि, दुकान गर्न पाउनेले घरमा नअटाएका माल सामान, ड्रम र नूनका बोराहरु पेटीमा र माझ सडकमा थुप्य्राउन पनि पाउनै पर्छ । नत्र दुकान गर्न पाएको स्वतन्त्रताको उपभोग कसरी हुन्छ ?

ट्रक चलेपछि नारद अघि बढे । अलि पर पुगेपछि उनले खसीबोकाहरुको मोलमोलाउ भइरहेको देखे । बगरेहरु तीस रुपियाँ प्रतिकिलोको हिसाबले मोल गर्थे भने विक्रेता किसान पैँतीस रुपियाँको दरमा बेच्न चाहन्थे । नारद शाकाकारी वैष्णव भएकाले यस कुराको कुनै वास्ता नगरी अघि बढे ।

अलि पर पुगेपछि गल्ला दुकानबाट अन्न खरीद गरी बोकी हिँडेका किसानहरुको लाम उनका नजरमा पर्‍यो । यसबाट उनी झन् प्रभावित भए र यस ठाउँको निक्कै प्रशंसा गरे- “ओहो ! यहाँ त रामराज्य पो रहेछ ! कृषि प्रधान देश भनेको त यस्तो पो हुँदो रहेछ ! किसानले कामै नगरी बसी- बसी खान पाउने ! दाम देऊ, अन्न लिअ आरामसित खाऊ ! कति राम्रो व्यवस्था !! यस्तो सुविधा त स्वर्गका किसानलाई पनि प्राप्त छैन ।”

घाम चढ्दै गयो । नारद घाम छल्न भनी एउटा कपडा पसलको पेटीमा गएर उभिएका मात्र थिए । त्यस पसलका बानियाँले लखनौ कटन मिलमा बनेको एउटा मर्दाना धोती देखाउँदै भने- आउनुहोस् महात्माजी, आइए, यहाँ फोरनका माल भी मिलेका है, विदेशका माल भी मिलेका है । देखिये यो धोती चाइना है, बहुत सस्ता पडता है ।

नारदलाई धोतीको आवश्यकता थिएन र उनी त्यहाँबाट पनि निस्के । परन्तु त्यस बानियाँले प्रयोग गरेको ठिमाहा हिन्दीले भने उनलाई प्रभावित नपारी छाडेन । उनले सोचे- यो निक्कै ठूलो बजार रहेछ । अवश्य नै यो अन्तर्राष्ट्रिय बजार हुनुपर्छ र साहुजीले प्रयोग गरेको भाषा पनि अन्तर्राष्ट्रिय सम्पर्क भाषा हुनुपर्छ अनि लखनौ कटन मिलमा बनेको कपडालाई त्यस भाषामा चाइना भनिँदो रहेछ ।

नारद अघि बढ्दै गए । अलि पर पुगेपछि उनले ग्राहकहरुबीच बडा दशैँको उपलक्ष्यमा प्रत्येक मालमा बीस प्रतिशत मूल्यवृद्धि भएको अनि कतिपय मालहरु एकै रातमा अलप भएको चर्चा सुने । उनका आँखा एउटा पसलको भित्तामा टाँगिएको “बडा दशैँको उपलक्ष्यमा मूल्यमा दश प्रतिशत छुट” लेखिएको साइन बोर्डमा पर्न गए । उनले मनमनै भने – ओहो ! यस बजारमा त बडा दशैँ व्यापारीहरुका निम्ति सुनौला अवसर रहेछ । “मूल्यमा दश प्रतिशत छूट” भन्ने साइन बोर्ड टाँग्न पनि पाइने, बीस प्रतिशत मूल्यवृद्धि गर्न पनि पाइने अनि दशैँंको निम्ति अति आवश्यक सामान अलप गर्न पनि पाइने ! “उनले मनमनै ठोकुवा गरे जुन मुलुकमा व्यापारीहरुले यति राम्रो सहुलियत पाएका हुन्छन्, त्यस मुलुकले राजनीतिक सङ्कट भोग्नुपर्ने अवस्था कहिल्यै आउँदैन ।”

नारद अझै अघि बढे । अघि बढ्नु के थियो, उनका आँखा झिँंगा भन्केका मासुका थुप्राहरुमा परिहाले । प्रतिकिलो साठी रुपियाँमा धमाधम विक्रि भइरहेको पनि उनले देखे । बगरे उही थियो जसले अघि भर्खर तीस रुपियाँ प्रतिकिलोको हिसाबमा खसी बोका खरीद गरेको थियो । छक्क पर्दै उनले मनमनै भने यस्तो लोक कल्याणकारी व्यवस्था त यस ब्रहृमाण्डमा अन्यत्र विरलै पाइएला । जुन ठाउँमा मासु बेचेर पनि प्रशस्त पूँजी कमाउन सकिन्छ, दुई घण्टामा नै दोब्बर नाफा आर्जन गर्न सकिन्छ, त्यस ठाउँमा गरीबी र बेकारी भन्ने कुरा दन्ते कथामा पनि सुन्न पाइन्न होला ।

नारद त्यहाँबाट निस्की कुमाल्नी नेर पुग्दा घामले चरक्क पोल्यो र सघन छहारीमा एकछिन विश्राम गर्ने उद्देश्यले एउटा रुखमुनि गएर बसे । बस्दाबस्दै उनलाई निन्द्रादेवीले आक्रमण गरिन् र जराको सिरानी पारेर मस्तसँग सुते । व्युँझँदा साँझ पर्न लागि सकेको थियो । अब बासको खोजीमा उनी भकुण्डेतर्फ लागे । त्यहाँ पुग्दा त उनलाई बस बिसौनीको दृश्यझन् रोचक लाग्यो । बास बस्ने बसका यात्रुहरुको भीड, त्यसमाथि भट्टीवालनीहरुको तँछाड-मछाड बास बस्नुस् दाइ ! …. ए दाइ, बास बस्नुस् के ! ऊ हाम्रामा हिँड्नुस् । …. यता आउनुस् के ! नारद लौ म त फेला परेँ भनेर एक पटक झस्के पनि । किनभने ती नानीहरुलाई उनले झन्डै स्वर्गकै अप्सरा ठहर्‍याएका । तर एकछिनपछि स्वयम् आस्वस्त भएर त्यो आकर्षक वातावरणबाट अझै आनन्द लिने उद्देश्यले सानो पीपलको रुखमुनि के उभिएका थिए, अर्काथरी भट्टीवालीहरु उनलाई घेर्न आए- बास बस्नुस् दाइ ! ऊ त्यो घरमा हिँड्नुस् दाल, भात, तरकारी, सिकार, रक्सी … हिँड्नुस् के ! ए दाइ ! हाम्रोमा हिँड्नुस् … ।

यस पटक त नारदको मनमा चिसो पस्यो । उनले मनमनै भने यसमा भगवान्को षड्यन्त्र अवश्य छ । किनभने यी मोरीहरु पक्कै पनि उनै हुन् । अथवा यो सम्पूणर् वातावरण नै नक्कली पो हो कि ?- शीलनिधि राजाकी छोरीको स्वयम्वर झैँ ! अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्से झैँ भए उनी ।

नारद भकुण्डेमा बास बस्न खतरा सम्झी फेरि वालिङ बजारतर्फ लाग्ने सुरले अलिक अघि बढेका थिए, प्रहरी चेकपोष्ट भवनको निधारमा लेखिएका “सत्य सेवा सुरक्षणम्” भन्ने महावाक्यमा उनका आँखा परे । उनी मनमनमा बोल्दै अघि बढे- अहा ! कति राम्रो उक्ति ! कति गहकिलो भाव ! कस्तो अलङ्कृत पदावली ! ओहो ! सुरक्षा नै सेवाको रुप छ भने यहाँका नागरिकलाई चोरी डकैतीको के भय ?

नारद, बडो निर्भयताका साथ पाइला चाल्दै चिहानेको चौपारीमा के पुगेका थिए, तीन जना ठिटाहरुले उनको बाटो छेके । ठिटाहरु बडा खाइलाग्दा, खानदानी र भलाद्मी खालका देखिन्थे । ती मध्ये दुई जनाले नारदका पाखुरामा च्याप्प समाते, तेस्रो चाहिँले बडो दर्बिलो स्वरमा सोध्यो- “धन कहाँ राखेका है ?” नारदले “म भीख माग्दै हिँडेको जोगी हुँ” भनी नसक्दै उसले नारदको छातीमा छुरीको टुप्पो अड्याएर निर्णायक स्वरमा भन्यो – हेर जोगी, हामी चोर डाँका नहीँ है, विकास गरने के लिये चन्दा मागता है, दिनी भए आफ्नो खुशीले देका है, हैन भने छुरी रोपेका है ।” विदेशको मामिला, के पर्छ, कसो पर्छ भनेर लक्ष्मीले हिँड्ने बेलामा दश रुपियाँ महेन्द्रमल्ली दिएकी थिइन् र उनले धोतीको फुर्कामा अठार गाँठा पारेर राखेका थिए, अनिकालमा बीउ जोगाउनु, हुलचालमा जीउ जोगाउनु भन्ने सम्झी गाँठा फुकाएर दशै रुपियाँ उनीहरुलाई बुझाइदिए । ठिटाहरु लाखापाखा लागेपछि नारद पनि मनमनले लक्ष्मीलाई धन्यवाद दिँदै बजारको बाटो लागेर उनले भने- “दयामयी लक्ष्मीजीको कृपा नभएको भए मलाई यस अद्वितीय ठाउँमा आउने मौका सायदै मिल्दो हो । कस्तो आदर्श समाज रहेछ यहाँ यस ठाउँमा अरुले त परै जाओस्, चोर, डाँका, उचक्काहरुले पनि कसैमाथि जबर्जस्ती गर्दा रहेनछन् । छुरी देखाएर पनि दाताको स्वेच्छाले मात्र धन असुल्दा रहेछन् । जीउ धनको सुरक्षा व्यवस्था कति राम्रो रहेछ यहाँ, कति सार्थक रहेछ, यहाँ “सत्य सेवा सुरक्षणम्” यस ठाउँको प्रभाव परेरै त होला, म जस्तो चुइयाँले पनि अठार गाँठा पारेर राखेको रुपियाँ कसरी स्वेच्छाले फुकाएर दिएँ, मलाई नै आश्चर्य लागिरहेछ ।

अलिक पर पुगेपछि नारदले बजारको पछाडिपट्टि कता कति झल्याक झुलुक बत्ती बलेको अनि माल बिक्री भइरहेको देखे । यो कुरो पनि बुझ्न उनलाई खुल्दुली लाग्यो र अलि लामा पाइला हालेर सडकमा निस्के । सडक चानुमानु, बजार बन्द भइसकेको थियो । सडकमा दुई जना मानिस कुरा गर्दै रहेछन् । “रातमा, त्यो पनि घर पछाडीबाट माल बिक्री हुनाको रहस्य के हो ? – नारदले तिनैसँग सोधे । एउटाले उत्तर दियो- यो कोटाको माल हो । कोटाको माल दिनमै बेच्न हुँदैन । नारदले नालीबेली खोजेको हुँदा अलिक झर्केर उसले सङ्क्षिप्त जवाफ दियो ।
“दिनमा कोटाको माल अलप हुन्छ ।” “दिनमा कोटाको माल किन अलप हुन्छ ?” नारदले फेरि प्रश्न गरे । यसपटक उसले नारदलाई क्वारक्वारति हेर्‍यो अनि यो मानिस सरकारी जासूस पक्कै होइन भन्ने ठहर गरी स्पष्ट जवाफ दियो – “कोटाको मालको मूल्य दिनमा बानियाको इच्छानुसार हुँदैन ।” “धन्य हो वालिङ बजार ! – नारदले भने – यस्तो लोक कल्याणकारी व्यवस्था त यो ब्रहृमाण्डमा अन्यत्र कहाँ होला र ? व्यापारी र उपभोक्ता दुवैको हितमा कस्तो समन्वय ! दिनमा महँगो मान्ने व्यापारीले रातमा बेचून् । रातमा महँगो मान्ने उपभोक्ताले दिनमा किनून् । कुनै पक्षबाट पनि आपत्ति उठाउने ठाउँ नै रहेनछ यहाँ त !

नारद अब बासको खोजीमा लागे । उनी कसैको घरमा बस्न चाहन्नथे । कुनै रुखको फेदमा रात काट्ने उद्देश्यले विस्तार विस्तार अघि बढ्दै गए । बजारको बीचमा एउटा सिमेन्टेड चौपारी देखे । उनी त्यही चौपारीमा वरको रुखुमुनि गएर बसे । सडकमा कताकति मानिसको ओहोर दोहोर र वरपरका घरहरुबाट आएको रेडियो र टेप-रेकडरको आवाज बाहेक वातावरण शान्त थियो । उनको ध्यान रेडियोको आवाज तिर सविशेष आकर्षित भयो । उनको विचारमा स्वर्गको केही न केही खबर रेडियोबाट आउनै पर्छ । आज झन् आफू हराएको दिन, स्वर्गमा निकै खलबली मच्चिएको होला । रेडियो खबर दिँदै गयो, तर स्वर्गको कुनै समाचार दिएन । खबर किन दिएन ? के स्वर्गेली प्रशासनले आफू हराएको कुरो गुपचुप राख्यो ? अथवा लक्ष्मीजीले प्रसारणमा रोक लगाइ दिनुभयो कि ? यो सम्भव छ- नारद सोच्दै थिए, यसै बीच उनका कानमा एउटा रेडियोको आवाज ठोक्किन आइपुग्यो …. आज बिहान सात बजेदेखि हराएको, अझै पाइएको छैन ।”

नारदले पूरा समाचारमा ध्यान नदिएकाले पछुतो माने । त्यो समाचार कसका बारेमा हो, निधो गर्न सकेनन् । मेरै बारेमा पो हो कि ? अथवा कुनै बालक हराएको पो हो कि ? अथवा कुनै देशको जहाज हराएको पनि हुन सक्छ ? अथवा मेरै बारेमा भए पनि भोलि बिहान सात बजे भित्र मलाई पत्ता लगाउने कसको तागत ! मैले पनि ठूलै शक्तिको आड लिएको छु । – नारद आश्वस्त भए ।

नेपाल बैंकको घडीले दश हान्यो । नारद निदाउने सुरले रुखको फेदमा अडेस लाएका मात्र थिए । रेडियो र टेपरेकडरहरुबाट ध्वनि प्रतियोगिता शुरू भइहाल्यो । तिनबाट गीतहरु यस्तरी धन्कन थाले कि नारदकी निद्रा देवीले सुँइकुच्चा ठोकिहालिन् । उनले कैयौँ मुलुकका शहर बजारको भ्रमण गरिसकेका छन् तर वालिङ बजारका आफ्नै विशेषताहरु रहेछन् भन्ने कुरा आज उनलाई राम्रैसँग थाहा भयो । अरु शहर बजारमा त अति मामुली कुराहरुमा पनि प्रतिबन्ध लगाएको उनले देखेका छन् । यहाँसम्म कि एउटा शहरमा उनले रातभर हरिकीर्तन गर्न खोज्दा रातको दश बजेपछि हल्ला गर्न पाइन्न, छिमेकीको निद्रा खलबलिन्छ भनी प्रहरीले उनलाई रोकेको थियो । हरिकीर्तन गर्नमा त त्यसरी रोक लगाइन्छ भने त्यस्ता बजारमा यसरी रेडियो एवम् टेपरेकर्डर घन्काउन पाइने कुरा त सोच्दै नसोचे हुन्छ । वालिङ बाहेक अरु शहर बजारमा त सडकमा फोहोर गर्न, झ्यालबाट सडक तिर फोहोर मिल्काउन त परै जाहोस्, सडकमा केराको भुत्ला फाल्न र थुक्नसम्म पनि मनाही गरिएको हुन्छ ।

सडकमा इँटा, बालुवा र ढुङ्गा थुप्य्राउन प्रतिबन्ध, सडकका पेटीमा माल राख्न वा पसल थाप्न प्रतिबन्ध, कोटाको माल अलप गराउन र रातमा बेच्न प्रतिबन्ध, व्यापारीहरुले मालको मोल आफै निर्धारण गर्ने मौलिक अधिकारमा प्रतिबन्ध, छुरी देखाएर दाताको इच्छाबाट धन असुल गर्न प्रतिबन्ध, जुन कुरामा पनि प्रतिबन्धै प्रतिबन्ध । नारदले कुन चाहिँं बलियो धारणा बनाएका थिए भने यो संसार प्रतिबन्धै प्रतिबन्धको संसार हो । तर उनको त्यस धारणाको विपरीत वालिङ बजार एउटा अपवाद निस्क्यो । यहाँको समाज वास्तविक रुपमा सभ्य, सुसंस्कृत र अति विकसित रहेछ भन्ने लाग्यो उनलाई, जहाँ कुनै कुरामा पनि रोक रोकावटको आवश्यकता पर्दो रहेनछ । उनले अति प्राचीन आदर्श समाजको एउटा चित्र गुन्गुनाए – न राज्य न च राजा सिन्न दण्डो न च दण्डिकः । धर्मेणैव प्रजाः सर्वारक्षन्ति रुप परस्परम् । सच्चा प्रजातन्त्र भनेको यस्तै हुनुपर्छ । यस्तो परिपाटीलाई जसले अराजक भनी निन्दा गर्छ, त्यसले आदर्श समाज कस्तो हुन्छ, बुझेकै हुँदैन ।
घडीले बाह्र हान्यो । रेडियोहरु पनि एकपछि अर्को गरी क्रमशः बन्द हुँदै गए । नारद पुनः निद्रा देवीको आराधना गर्न मात्र के लागेका थिए, बीस पच्चीस ओटा भुस्याहा कुकुरहरु आएर उनको हंस उतार्ने सुर कसे । तैपनि नारद कत्ति विचलित भएनन् ।

किनभने उनी कुनै खराब उद्देश्य लिएर आएका थिएनन् । र लक्ष्मीजीले रक्षा गर्नुहुन्छ भन्ने कुरामा उनीविश्वस्त पनि थिए । कुकुरहरु उनको कानैतिर मुख लगेर भुक्न थाले, तैपनि उनी टसकामस भएनन् । केही कुकुरहरु दुई चार दुई चार गरी भुक्तै रमनाका निम्ति त्यहाँबाट हिँडे भने केही कुकुरहरु थपिँदै पनि आए । कति नै सराप्दा र थर्काउँदा पनि नारदमाथि कुनै प्रभाव नपरेको देखी केही कुकुरहरु उनलाई त्यहाँबाट उम्कन नदिने उद्देश्यले हो या उनकै सुरक्षाको निम्ति हो, उनको वरिपरि घेरा हालेर बसे ।

नारदको विलक्षण मस्तिष्कले यस कुराको पनि व्याख्या गरि छाड्यो – यी कुकुरहरु अवश्य पनि तालिम प्राप्त हुन् । रातमा यहाँका मानिसहरुको जीउ धनको सुरक्षा गर्ने जिम्मा यिनीहरुको रहेछ । बाहिरबाट आएकाहरुको सूचना दिने, खेदो खन्ने र लघार्ने तथा रातभर भुक्दै घुमेर बजारका बासिन्दाहरुलाई जागा राख्ने काम पनि यिनीहरुकै जिम्मा रहेछ । जुन ठाउँमा भुस्याहा कुकुरहरु पनि यति सचेत, सङ्गठित र कर्तव्यनिष्ठ छन् भने यहाँका मानिसहरुको उच्चताको बखान गर्नु त हजार जिब्रा भएका शेषनागले पनि सकोइनन् ।

नारद एक छिन झकाए, झकाउनु के थियो, मोटरको टाइँटुइँ र घर्घर आवाज अनि मानिसहरुको समेत ओहोरदोहोर शुरू भइहाल्यो । बुझ्दा घडीले बिहानको छ हानिसकेको रहेछ । कुकुरहरु पनि त्यही चौपारीमा नित्यकर्म सकेर लाखापाखा लागि सकेछन् । अब नित्यकर्म सक्दानसक्दा सात बजिहाल्छ भनेर उनी उठेर आँधीखोलाको बगरतिर लागे । आँधीखोलाको विस्तृत बगर, उनी पुग्दा त मेरी आम्मै !! लोग्नेमान्छे र स्वास्नीमान्छे एकमेसै बसेका बगरभरी । उनी जिल्ल परे । उनले जनसहभागिता र सामूहिकता बारे भाषण प्रवचनहरु सुन्ने अवसर त प्रसस्त पाएका थिए । तर यसको प्रत्यक्ष उदाहरण भने आज मात्र देखे । उनले मनमनै भने यस्तो समाज त प्राक्वैदिक युगमा मात्र देख्न पाइएको थियो । यो मर्त्यलोकमा कत्रो जनसहभागिता !! तब त, हाम्रा बौद्धिक पुर्खाहरु त्यस युगको सम्झना गर्दै भन्ने गर्थे – संगच्छध्वं संबदध्वं संवो मनांसि जानताम…. । यौटा कुरो भने वेदमा उल्लेख गर्न बिर्सेछन् पुर्खाहरुले, म गएर पितामहलाई वेदमा यो हरफ तुरून्त थप्न लगाउँछु – सह मलत्यागम् करवामहै ।

जे होस्, त्यो सामूहिक महायज्ञमा आपूm सम्मिलित हुन पाएकामा गौरवको अनुभव गर्दै स्नान कार्यका लागि उनी आँधीखोलातिर लागे । आफू वीतराग भएकाले अगलबगलमा नुहाइरहेका पट्ठीहरुको जिउडाल तिर कत्ति वास्ता नगरी उनी खोलामा चुर्लुम्म डुबे । डुबेर निस्कँदा उनलाई बिजृुलीको करेन्टले छोए जस्तो, दिव्यदृष्टि फिरे जस्तो, स्वर्गीय विशेषताहरु फर्के जस्तो बेग्लै अनुभव भयो । अनि उनले आफूलाई आँधीखोलाको तीरमा होइन, आकाश गङ्गाको तीरमा फेला पारे । आफ्ना वालिङ यात्राका घटनाहरु सम्झँदा उनलाई कस्तो कस्तो, प्रत्यक्ष सपना जस्तो लाग्यो । विष्णु भगवान्प्रति एउटा मधुरो क्षोभ बोकेर उनी शेष महलतर्फ लागे ।

नारद सरासर भगवान्को शयन कक्षमा गए । भगवान् नित्यकर्म सकेर भर्खर तमाखु तान्न लागेका रहेछन् । लक्ष्मीजी चिलिमको आगो फु: फु: गर्दै थिइन् । नारदलाई देखेर मन्द मुस्कानकासाथ भगवान्ले भने ओहो नारद ! कताबाट ? हिजो त निकै चलाखी गरिएछ नि !

नारदले विनीत एवम् किञ्चित लज्जायुक्त स्वरमा भने – …. ख्वामित्, चलाखी त कसको थियो कुन्नि, म नरकबाट नै आउँदै छु ।

त्यसपछि लक्ष्मी मरी मरी हाँस्न थालिन् ।

०००
रचनाकाल  २०३४ सालतिर भए पनि  ‘नारमुनिकाे वालिङ यात्रा’ (२०७०) मा  सङ्गृहीत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दोस्ती

दोस्ती

भेषजराज शर्मा
सुँगुर

सुँगुर

भेषजराज शर्मा
काठमाडौँ गनायो

काठमाडौँ गनायो

भेषजराज शर्मा
चोर

चोर

भेषजराज शर्मा
गाली एक समस्या र वास्तविकता

गाली एक समस्या र...

भेषजराज शर्मा
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी