साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु अब सङ्घर्षको मैदानमा

विद्रोह गरेर शहीद बन्ने अधिकारबाहेक अरू कुनै जीवनदायी अधिकार प्राप्त छैन । यसै भएर अब मानिसको चिल्लो बोलीमा विश्वास गर्ने पक्षमा छैन ।

Nepal Telecom ad

हजुर, मेरो नाम गोरु हो, मलाई सबैले गोरु भन्छन् । मेरा बाबुको नाम पनि गोरु नै हो र बाजे बराजुको नाम पनि गोरु नै रहेको छ । संसारमा कुनै यस्तो प्राणी छैन होला जसले मलाई गोरु भनेर नजानेको होस् । मानिसका निम्ति म त अत्यन्तै उपयोगी जन्तुमध्ये रहिआएको छु । वास्तवमा भन्ने हो भने मानिसल मेरो सहयोग बेगर आफूलाई मानिसमा दर्ता गर्न नै पनि सक्ने थिएन अभूतपूर्व प्रगति गर्न पनि सक्ने थिएन । मानव सभ्यताको विकासका हरेक खुड्किलामा मेरो अमूल्य र बलिदानी योगदान रहेको छ । र आज त्यस बेला, जब मानिस ओढारमा र रूखका आश्रयमा जीवन बिताउँथ्यो म स्वच्छन्द रूपले जङ्गलमा विचरण गर्थे । मानिस आहारका निम्ति जब बाहिर निस्कन्थ्यो, मसँग घमासान युद्ध हुन्थ्यो । मैले त्यस युद्धमा असङ्ख्य मानिसलाई सिलटिमुर ख्वाइदिन्थेँ र पनि बुद्धि, ज्ञान र सीपमा मभन्दा शक्तिशाली मानिसको जत्थासित मेरो जोर चल्दैनथ्यो । अन्तमा म मारिन्थेँ। मानिसले मलाई ढुङ्गाले हानेर र लाठीले भकुरेर माथ्यों । मेरो मासु लुछेर खान्थ्यो । ढुङ्गाले थिचेर र चिथोरेर खान्थ्यो ।

मैले यही रीतले मानिसको सेवा प्रारम्भ गरेको हुँ र हजारौँ वर्षदेखि आजसम्म उसको सेवा गरी नै रहेको छु । जीवनयापनको यस्तै सङ्घर्षको दौरानमा मानिसले आफ्नो बुद्धि, ज्ञान र सीपमा विकास गर्दै लग्यो, जसको परिणाम स्वरूप उसले ठूल्ठूला परिवर्तनहरूमा फड्को मार्दै पनि गयो, जुन परिवर्तनहरूलाई उसले महान्, ऐतिहासिक, क्रान्तिकारी आदि विशेषण थप्दै पनि गयो । आगालाई अधीनमा लिन सक्नु उसको त्यस तथाकथित क्रान्तिकारी महान् परिवर्तनहरूमध्ये पहिलो ऐतिहासिक परिवर्तन थियो । प्रकृति माथिको यस प्रथम विजयको कारण मानिसको जीवनमा व्यापक परिवर्तन वा विकासको ढोका खुल्न गयो । अब उसले मेरो काँचो मासुको सट्टा पोलेर र पकाएर खान थाल्यो । पत्थरका औजार एवम् हतियारका ठाउँमा धातुका औजार एवम् हतियार बनाउन थाल्यो । मानिस अब ढुङ्गे युगबाट धातुयुगमा प्रवेश गर्दै गयो। यतिमात्र कहाँ हो र ? अब उसले घुमन्ते जीवन परित्याग गर्दै स्थिर अथवा आवासीय जीवन ग्रहण गर्न थाल्यो । गाउँ, बस्तीहरू बन्दै गए ।

मानिसको सामाजिक सङ्गठनमा विद्यमान प्राचीन विशेषताहरू पनि लुप्त हुँदै जान थाले। सब ऊ पारिवारिक जीवनमा पनि प्रवेश गर्दै गयो । मानिसको यस आश्चर्यजनक प्रगतिको सन्दर्भमा मेरा जीवनमा पनि अभूतपूर्व परिवर्तन प्रारम्भ भयो । त्यो के हो भने, ए हजुर निर्भीक भएर सारा जगलमा स्वच्छन्द विचरण गर्ने मेरो जीवन अब बँधुवा, घरपालुवा पशु अर्थात् दास जीवनमा परिणत हुँदै गयो । म अब मासुका निम्ति मात्र होइन, हलो र गाडा तान्ने कामका निम्ति दूधका निम्ति पनि उपयोगमा ल्याइन थालेँ किनभने यसबखत मानिसले यायावरीय एवम् पशुपालक अवस्थाबाट खेतीका युगमा प्रवेश गरिसकेको थियो । यही युगमा आएर उसले आफ्नो जीवनका भौतिक एवम् आध्यात्मिक दुवै क्षेत्रमा अभूतपूर्व प्रगति गन्यो । श्रम विभाजनका नयाँ नयाँ सिद्धान्त र मान्यताहरू विकसित गर्दै लग्यो। मानवीय मूल्यहरूको खोजी गर्दै गयो, नैतिक मापदण्डहरू निर्धारित गर्दै गयो ।

तर, ए मेरा प्रिय पाठक। उसको नैतिक मापदण्ड तथा मानवीय मूल्य भित्र मेरो शोषण, उत्पीडन र दासत्वको औचित्य नै सिद्ध गरियो । यसो भन्दा म यहाँ के पनि ज्ञापित गर्न चाहन्छु भने प्रकृतिका साथसाथै हजारौं वर्षसम्म मसित जुधेर र विजय प्राप्त गर्दै गएर नै मानिस भनिने तत्कालीन जनावर शारीरिक दृष्टिले मानवाकृतिमा बदलिँदै गयो र उसको मस्तिष्क पनि यसरी विकसित हुँदै गयो कि अब ऊ आफ्ना निम्ति उत्पादनका उच्चतर साधनहरूको निर्माण गर्न सक्ने र आफू स्वयम् एक महान् उत्पादक शक्तिमा परिणत पनि हुँदै गयो । अनि, यसरी नै मेरो वंशाणुगत शूरता र साहस निमिट्यान्न पारेपछि मात्र पो मान्छे शारीरिक दृष्टिले मात्र नभई सामाजिक र चिन्तनका दृष्टिले पनि मानिस बन्यो, सभ्य मानिस बन्यो, सर्वश्रेष्ठ प्राणी बन्यो । सामाजिक विकासको यो खुड्किलो नै, जो मेरो दासत्वको एक ऐतिहासिक चरण थियो, वर्तमान विश्वको आधुनिक मानव सभ्यताको आधार बन्यो ।

प्रिय पाठक । आजको उद्योग प्रधान र वैज्ञानिक युगमा मानिसका निम्ति गोरुको त्यति साहो उपयोगिता छैन, अतएव गोरु माथिको मानिसको सबै प्रकारको शोषण समाप्त भइसकेको छ भन्ने तपाईलाई लागेको छ होला, तर त्यसो होइन। आज मानिसले पेट्रोल, विद्युत् र परमाणुको शक्ति पत्ता लगाएर परिवर्तनको दोस्रो महान् खुड्किलो पार गरिसकेपछि पनि म मानिसका निम्ति उपभोग्य वस्तु मात्र होइन, पूँजी उत्पादन गर्ने श्रमशक्ति मात्र होइन, औद्योगिक मालको कच्चा पदार्थसमेत बन्न पुगेको छु । आज पनि म चोक्टा पारिने र हलो तथा गाडा तान्ने, भारी बोक्ने अवस्थाबाट क्हत हुन सकेको छैन भने मेरा हाड र छालाहरू मिल कारखानामा पिसिने र पेलिने गरेका छन् । दूधको उपयोगिता त मासुको भन्दा पनि बढी छ ।

यसरी आज आएर मेरो शोषणका, मेरो उत्पीडनका रूप र स्तरहरू झन् परिष्कृत र व्यापक बन्न गएका छन् । आज मानिसद्वारा आर्जित विशाल भौतिक एवम् सांस्कृतिक सम्पदालाई देखेर नैतिक पक्षबाट उसको उच्च मूल्याङ्कन गर्दै हुनुहुन्छ भने तपाइँले गल्ती गरिरहनु भएको छ किनभने आजको उच्चतम मानव सभ्यता भन्नु नै मेराे शाेषणको चरम रूपको अर्को पाटो हो ।

मैले इतिहासकै शुरुदेखि यस कुराको धेरै विरोध गरेको छु । जब म काटिन्थें र जोतिन्थेँ त्यसवेला क्वाँक्वाँ रोएर, कान र खुट्टा फट्फट्टाएर र टाउको नचाएर विरोध जनाउँथेँ, विद्रोह गर्थें । जसको परिणाम स्वरूप मानिसले मप्रति केही सम्मान गर्ने परिपाटी पनि बसाल्यो । केही मानिसले त देवताकै सरह मेरो पूजा पनि गर्न थाले । मेरो खान्कीमा केही थप सुविधाहरू पनि प्रदान गर्न थालियो । तर महोदय ! दासकै रूपमा राखेर गरिएको सम्मानलाई कसरी सम्मान भन्ने ! दासलाई दासकै रूपमा राखेर दिइएको सुविधालाई कसरी सुविधा भन्ने ? मैले त दासत्वबाट मुक्ति खाेजेको थिएँ । वास्तवमा मलाई दिइएको त्यो पूजा बलिको निम्ति टक्रयाइएकाे बाेकालाइ  दिइएको पूजा बराबर थियो । त्यो तथाकथित सम्मान र सुविधाहरू मेरा निम्ति होइन, उसकै स्वार्थपूर्तिका निम्ति थियो ।

मेरो ढाडमा टेकेर विकासको सगरमाथा छुन पुगेको आजको मानिसले मेरो विद्राेहलाइ मत्थर पार्ने मन्दविषको प्रयोगलाई अझ प्रभावकारी बनाएको छ । अतीतमा गरिने मेरो उत्पीडनलाई स्वाभाविक र प्राकृतिक मानिन्थ्यो । यसो गर्नु नैसर्गिक अधिकार मानिन्थ्यो भने मेरो नैसर्गिक कर्तव्य । मेरा उपर मानिस थियो । त्यस वेला उसका मानवीय मूल्य र मान्यताहरू, मानव अधिकारका सवालहरू तथा  उसका तमाम दर्शन, चिन्तन र विचारहरूले मेरा विपक्षमा खुलेआम वकालत गर्दथे । तर आज त्यस्तो छैन । आज ती कुराहरूले मेरो विपक्षमा होइन, पक्षमा वकालत गरिरहेका छन् । आजको मानिसले मलाई पनि उछिनेर मेरो क्रान्तिकाे नारा स्वयम् बुलन्द गरिरहेछ । आज स्वयम् मानिसले गोरु मुक्ति अान्दाेलनकाे  नेतृत्व गरिरहेछ । आज उसले मानव अधिकारको सवाल भित्र गोरु अधिकारकाे सवाललाई प्राथमिकता दिनुपर्ने नारा फलाकिरहेछ । आज उसले आफ्ना कला, साहित्य, राजनीति, अर्थनीति र ज्ञान विज्ञानले गोरुकै सेवा गर्नुपर्छ र गोरुको विकासबेगर मानव समाजको विकास सम्भव छैन भनेर अपेक्षाकृत नयाँ ढाँचाको सिद्धान्त प्रतिपादन गरिरहेछ । आज उसले मलाई नै क्रान्तिको वाहक र इतिहास निर्माताको श्रेय प्रदान गरिरहेछ र मलाई सार्वभौम शक्तिको उपाधिले विभूषित गरिरहेछ। आफैबाट मारिएका गोरु शहीदहरूको प्रतिमा बनाई आफैले फूल चढाइरहेछ ।

तर ए हजुर ! यो सब धोका हो । म माथिको आफ्नो ऐतिहासिक उत्पीडन र दासतालाई अझ बलियोसित कायम राखिराख्नु पुरानो तरिकाले सम्भव नभएर अपनाइएको नयाँ प्रविधि हो, नयाँ चालबाजी हो । किनभने तपाईंले देखिरहनु भएको छ आज मानिसले समाजमा अचम्मको परिपाटी कायम गरेको छ । आज गोरु अधिकार पाउनै पर्छ भनिन्छ र भन्न पाइन्छ तर अधिकार चाहिँ पाइन्न । गोरुका पक्षमा सदनमा कुर्लन र सडकमा उर्लन पाइन्छ, आन्दोलन गर्न पाइन्छ, तर आन्दोलनकाे लक्ष्य प्राप्त गर्न पाइन्न । यही हो आज मानिसले मलाई दिएको गोरुतन्त्र र गोरू अधिकार । आज पनि मलाई पुरानै दासतामा जकडिने र विद्रोह गरेर शहीद बन्ने अधिकारबाहेक अरू कुनै जीवनदायी अधिकार प्राप्त छैन । यसै भएर अब मानिसको चिल्लो बोलीमा विश्वास गर्ने पक्षमा छैन । आजसम्मको मेरो आन्दोलन र सङ्घर्षहरूको उपलब्धि र मानव समाजको विकासमा मेरो बलिदानी योगदानकाे उपलब्धि मानिसले मात्र हडपेको छ भने अब म आफ्नै निम्ति, गोरु मुक्तिका निम्ति सङ्घर्षको मैदानमा उत्रेको छु । म माथिको दासतालाई कायम राखिराख्न मानिसले आज प्रयोगमा ल्याएको प्रविधि नयाँ मात्र होइन, यो उसको अन्तिम अस्त्र पनि हाे, यसलाई चिरेर निस्कन सकियो भने अब उसित अर्को कुनै अस्त्र बाँकी रहने छैन । यसैले मानिससितको मेरो युद्ध अन्तिम युद्ध हुनेछ। हारे दासता छँदैछ, जिते दासत्व मुक्ति ! हैन त हजुर !

(थाँक्रो, अङ्क- ३, वि.सं. २०५२)

नारदमुनिकाे वालिङ यात्रा २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा
दोस्ती

दोस्ती

भेषजराज शर्मा
सुँगुर

सुँगुर

भेषजराज शर्मा
काठमाडौँ गनायो

काठमाडौँ गनायो

भेषजराज शर्मा
चोर

चोर

भेषजराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x