भेषजराज शर्माबुद्धिजीवी
कोही आफूलाई मार्क्सका मिक्श्चर ठान्छन् त कोही गान्धीका गया, कोही लेनिनका लगौंटी मान्छन् त कोही हिटलरका हण्टर, कोही आफूलाई टैगोरका टट्टु मान्छन् त कोही गोर्कीका गोरु ।

भेषजराज शर्मा :
पञ्चायत कालमा निर्दलको चाकडी गरेर जागिर खाएको भए पनि म एक खुंकार बहुदलमा गनिएको माष्टर हुँ। तर देशमा संयुक्त जनआन्दोलन सफल भए पछिका जननिर्वाचनहरूमा उम्मेदवारका लागि टिकट नपाएपछि र पार्टी सङ्गठनका नेतृत्वकारी अङ्गहरूमा पनि कुनै स्थान नपाएपछि मेरो मनमा राजनीतिक दलहरूप्रति नै विकर्षणको भाव पैदा भयो । अथवा कुरो नलुकाइ भन्ने हो भने आफ्ना सहकर्मी र चेताचपेटाले समेत मलाई पछि धकेलेर राजनीतिमा फड्को मारेका कारणले उत्पन्न अपमानबोधबाट पीडित मेरो आत्मा प्रतिक्रियाका लागि छट्पटाउन थाल्यो ।
फलस्वरूप मैले अबदेखि राजनीतिक दलहरूलाई राष्ट्रियता टुक्रयाउने र प्रजातन्त्र बोक्रयाउने जमातका रूपमा चित्रित गर्न थालें । मेरो यस आशयका वक्तव्यहरूलाई प्रजातन्त्रका कथित पक्षधर पत्रपत्रिकाहरूले बलढ्याङ्ग्रे अक्षरका शीर्षकमा छाप्न पनि थाले । म अब विस्तार विस्तार स्वदेशी र विदेशी सञ्चार माध्यमहरूका दृष्टिमा देशको एक वरिष्ठ बुद्धिजीवी र जिउँदो शहीद मानिन थालें । कुनै पत्रपत्रिकाले त ममाथि राजनीतिक पार्टीबाट ठूलै अन्याय भएको बेहोरा पनि छापे । आज राजनीतिक दलहरू शहीदको बलिदान र आफ्नै पनि त्याग र तपस्यालाई बिर्सेर देश, जनता, राष्ट्रियता र प्रजातन्त्रको विकास र समृद्धिका लागि नभएर आआफ्नै दलीय स्वार्थका लागि आपसमा टकराइरहेका अवस्थामा देशका बुद्धिजीवीहरूले सङ्गठित भएर र दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण राजनीतिक दलहरूलाई समेत मार्गनिर्देशन गर्नुपर्ने कुरालाई सबैले महसूस गरिरहेका वेलामा मेरो त्यस आशयका मन्तव्यहरूले सञ्चार माध्यमहरूमा अग्रस्थान पाए ।
यस्तो अवस्थामा म (फलानो) जस्तो प्रकाण्ड विद्वान् र बुद्धिजीवी मोफसलको दुर्गम र अशिक्षित ठाउँमा कुक्रुकिएर बसिरहनु मेरो र देशकै लागि दुर्भाग्यको विषय हुन जान्छ भनेर पनि पत्रपत्रिकाले मेरो तौल बढाइ दिन थाले । जसले गर्दा मलाई मेरो नाकको लम्बाइ, चौडाइ हुँदै गइरहेको महसूस हुन थाल्यो भने मेरो जागृत सुषुप्त मथिङ्गलमा देशभक्ति र प्रजातन्त्रप्रेमको भाव उर्लन पनि थाल्यो । मैले तुरुन्तै आफ्नो अभागी जन्मथलो छोडेर देश सेवाका लागि राजधानी प्रस्थान गर्ने निर्णय गरें। मलाई यो निकृष्ट माष्टरी पेशा नछाडेकामा साहै भुल गरेको अनुभव भयो । अब मैले यसलाई सर्पले काँचुली त्यागेझै त्याग्ने निर्णय गरें र विद्यालयलाई सूचना पनि नदिई राजधानीको बाटो समातें ।
सुदूरपश्चिमको विकट जिल्लाबाट काठमाडाैंका लागि नेपालगञ्जमा प्लेन समात्न पनि सात दिन पैदल हिँड्नुपर्ने भएर पनि महान उद्देश्यका अगाडि त्यस्ता बाधाहरूलाई मेरो मानसिकताले तिल बराबर पनि सम्झेन । गर्मीको मौसम थियो । खलखली पसिना आउनुका साथै धपडी पनि भएकाले एउटा पीपलको छहारीमा बसेर पसिना पुछें। टोपीको पड्खा हम्कें । यस्तैमा मेरो कर्णकुहरमा सहानुभूतिको गम्भीर भाव बोकेको एउटा मधुर ध्वनिले प्रवेश गर्यो। माष्टरजी ! मैले यताउति हेरें, चारैतिर नजर फैलाएँ कसैलाई देखिनँ । त्यो शब्दले मलाई फेरि आक्रमण गर्याे – माष्टरजी, नमस्कार ।
म त्यहाँबाट जुरुक्क उठें र त्यस रुखको पछिल्लो दिशापट्टिको खेतमा गएँ । त्यहाँ लामा र तिखा सिङ भएको अग्लो न अग्लो जुरो भएको एउटा गोरु उग्राएर बसिरहेको रहेछ । उसले मलाई आफ्नो अगाडि उभिएको देख्ने बित्तिकै भन्यो- माष्टरजी, मैले नै तपाईलाई नमस्कार गरेको हुँ। मैले तुरुन्त नमस्कार फर्काएँ र भनें– गोरुजी, मलाई माष्टर नभन्नुहोस् किनभने माष्टर शब्द श्रवणले नै पनि मलाई एलर्जी हुन थालेको छ । अब मैले आफ्ना सम्पूर्ण अयोग्यता र मूर्खताहरूसहितको त्यो माष्टरी पेशा परित्याग गरिसकेको छु । अब म देशको एक वरिष्ठ बुद्धिजीवी हूँ, मलाई बुद्धिजीवी भन्नुहोस् । देशमा बहुदलीय शासन प्रणालीको पुनर्वहालीपछि राजनीतिक दलहरूबीचको आपसी खिचातानीले गर्दा अहिले राष्ट्रियता र प्रजातन्त्र खतरामा परेका छन् । यस्तो अवस्थामा म जस्तो प्रकाण्ड विद्वान् र बुद्धिजीवीले मोफसलका विकट ठाउँमा खुम्चिएर बसिरहनु म र देश दुवैका लागि दुर्भाग्य हुन जान्छ । यसकारण आज देशका समस्त बुद्धिजीवीहरूलाई सङ्गठित तुल्यएर र दलीय सङ्कीर्णताबाट माथि उठाई सरकार, जनता र राजनीतिक दलहरू समेतलाई मार्गनिर्देशन गर्नु आवश्यक हुन गएको छ । यस कार्यमा नेतृत्वकारी पहल गर्न म राजधानी जाँदैछु ।
गोरुले भन्यो- माष्टरजी, माष्टर र बुद्धिजीवीका बीच कस्तो सम्बन्ध रहन्छ भन्ने बारे र तपाईलाई माष्टर भन्ने या नभन्ने बारे पछि विचार गरौंला, अहिल्यै निर्णय नगरिहाल्नुहोस् । तपाईंले राजधानीका बुद्धिजीवीहरूलाई देशभक्त, प्रजातन्त्र प्रेमी र दलीय सङ्कुचितताभन्दा माथि उठेर सोच्न र व्यवहार गर्न सक्ने खालका ठान्नु भएको छ भने तपाईंले यसका लागि प्रायश्चित्त नै गर्नुपर्छ । पहिले निर्दलको लगाम समातेर रजाइँ गरेका र प्रजातन्त्रको अस्मितामाथि बलात्कार गरेका कथित बुद्धिजीवीहरू नै अहिले कुनै न कुनै दलको झोला बोकेर मैदानमा उत्रेका छन् र दलीय सङ्कीर्णताबाट दयनीय रूपमा ग्रस्त छन् । यिनीहरू पैसाका लागि उहिले मरिचमानका अठपहरिया बनेका थिए भने अहिले रिचमेनका । यिनीहरू पञ्चायतकालदेखि नै सुर्ती चाेरदेखि लिएर मूर्ति चोरसम्मका सल्लाहकार रहिआएका छन् भने नून तस्करीदेखि लिएर सुन तस्करीसम्मको सञ्चालन पनि यिनैले गरिआएका छन् । यस्तालाई लिएर तपाईले बुद्धिजीवी सङ्गठन बनाउन खोज्न भएको हो भने …
होइन गोरुजी, मैले बीचैमा कुरा काटेर भनें- राजधानीमा यस्ता मात्र छैनन् विदेशबाट पीएचडी गरेका ठूल्ठूला डाक्टर बुद्धिजीवी पनि छन् । गोरुले भन्यो – तिनका पीएचडीका प्रमाणपत्र त विदेशका महाजनले उपहारका रूपमा दिएका हुन् । हाम्रा डाक्टर साहेबहरू दुई चार वर्ष विदेशी महाजन कहाँ घरेलु नाेकर बनेर बस्छन् र घर फर्कदा पीएचडी उपहार लिएर फर्कन्छन् । यसैले त ती डाक्टरहरू कोही काठमाडौँमा बसेर तिब्बतको राजनीति गर्छन् भने कोही टोपीको देशलाई धोतीको देश बनाउनमा व्यस्त छन् । यी सव डुप्लिकेट बुद्धिजीवीहरू हुन् बुझ्नुभयो माष्टरजी । त्यसो नभन्नुहोस् गोरुजी, हाम्रो देशमा सक्कली बुद्धिजीवीहरूकाे पनि कमी छैन । राजधानीमा कस्ताकस्ता बौद्धिक संस्था खडा गरेर बसेका छन् उनीहरू । मेरो जवाफ थियो ।
तपाईं तिनलाई बौद्धिक संस्था ठान्नुहुन्छ ? – गोरुले प्रतिवाद गर्यो । ती संस्थामार्फत् उनीहरूले आफ्नो बौद्धिक दरिद्रताको प्रदर्शनी गरिरहेका छन् । हाम्रो देशको पुलिसठाना होस् कि प्रज्ञा प्रतिष्ठान, शौचालय होस् कि मन्त्रालय, पत्रकार समिति होस् या पत्रकार सङ्घ, पेडा कारखाना होस् या संज्ञा कम्पनी, मानव अधिकार सम्बन्धी होस् या प्रतिकार सम्बन्धी सम्पूर्ण संस्था नक्कली हुन् । उनीहरूको मागी खाने भाँडो हो । तपाई मन्त्रालयलाई नक्कली भन्न पाउनु हुन्न गोरुजी हाम्रो देशको शासनको गाडी गुडाउने सस्था हो मन्त्रालय । त्यसैमा कार्यरत छन् हाम्रा उच्चकोटिका बौद्धिक व्यक्तित्वहरू । मन्त्रीहरूलाई राजनीतिको क, ख सिकाउने पनि तिनै हुन् – मैले प्रतिवाद गरें ।
तपाई भ्रममा हुनुहुँदो रहेछ माष्टरजी । हाम्रो जस्तो सानो र अविकसित मुलुकमा सरकार चलाउने ठेक्का ठूल्ठूला शक्ति राष्ट्रहरूले लिएका हुन्छन् । हिजोआज जो ठेक्का लिनका निम्ति बहुराष्ट्रिय कम्पनीहरू पनि प्रादुर्भाव भएका छन् र हाम्रो मन्त्रालय वा सरकार तिनै ठेकदारहरूले….. । हाम्रो देशमा कुनै मौलिक प्रतिभा नै छैन त गोरुजी ? मैले अलिक निराश भएर प्रश्न तेर्स्याएँ ?
हाम्रो देशमा तपाईं जसलाई मौलिक चिन्तनका धनी ठान्नुहन्छ वास्तवमा उनीहरू त्यस्ता छैनन् । कोही आफूलाई मार्क्सका मिक्श्चर ठान्छन् त कोही गान्धीका गया, कोही लेनिनका लगौंटी मान्छन् त कोही हिटलरका हण्टर, कोही आफूलाई टैगोरका टट्टु मान्छन् त कोही गोर्कीका गोरु, कोही बचामुका काका मान्छन् त कोही सात्रेका सम्धी । बुझ्नुभयो माष्टरजी, अर्काको भजन गर्नु नै यिनीहरूको मौलिकता हो, र यसैमा यिनीहरू आफूलाई महान् प्रतिभाशाली ठान्दछन्, वौद्धिक ठान्दछन् । हाम्रो देशको राजधानी यस्तै हनुमान दासहरूको क्रीडास्थल हो, तपाईं हामीजस्ता सक्कली बुद्धिजीवीहरूको त्यहाँ कुनै सम्मान हुँदैन, तपाई हाम्रो सच्चा कर्मस्थल त गाउँ नै हो, जहाँ हाम्रो मर्यादा, काम र योग्यताको उचित सम्मान र मूल्याङ्कन हुन्छ ।
वास्तवमा भन्ने हो भने हाम्रो देश माष्टरहरूको ठूलो ऋणी छ । माष्टर नहुने हो भने हाम्रा गाउँहरू निर्जीवजस्ता हुन्छन् । हाम्रा माष्टरहरू पढाएर मात्र माष्टर भएका होइनन्, गाउँमा उनीहरूले उठानदेखि वैठानसम्मका काम गर्नुपरेको छ । गाउँमा जे काम परे पनि माष्टर, यो गर माष्टर, त्यो गर माष्टर, यसो गर माष्टर, उसो गर माष्टर, लामाधामी गर्ने पनि माष्टर, डाक्टरी गर्ने पनि माष्टर, झैझगडा मिलाउने पनि माष्टर, जुलुश निकाल्ने पनि माष्टर, जुलुश विथोल्ने पनि माष्टर, योजना बनाउने पनि माष्टर, विकास योजना चलाउने पनि माष्टर, माष्टरी गर्ने पनि माष्टर, …. गिरी गर्ने पनि माष्टर । माष्टरबाहेक यस्ता काम अरूको बौद्धिकताले भ्याउँदैन । आवश्यक पर्दा बात मारे पुग्छ कि लातै मार्नु पर्छ, यस्ता कुरामा पनि गाउँलेले माष्टरबाटै सहयोग पाएका हुन्छन् ।
गाउँको विकासका लागि कोही तन मात्र दिने हुन्छन् त कोही धन मात्र दिने हुन्छन् । तर तन, धन र मन तिनै थोक दिने व्यक्ति माष्टरै हुन्छन् । यसकारण माष्टरजी, देश र जनताको सेवा गर्नु छ भने तपाईं हामी देशभक्तले गाउँ छोड्न कदापि हुँदैन । उ, हेर्नुहोस् त । हलो र जुवा बोकाएर हलीका साथ मेरो जोडा यतै आउँदै छ । यति भनेर गोरु खेततिर लाग्यो, म विद्यालयतिर फर्कें ।
०००
पेखु, स्याङ्जा, वि.सं. २०५०/५/२२
नारदमुनिकाे वालिङ यात्रा (२०७२)
Subscribe
Login
0 Comments
Oldest









































